‘प्रचण्डजस्तै पिता हामीसँग पनि भए वीरगन्जले विकासमा धेरै फड्को मार्थ्यो’
दक्षिणमा भारतसँग सीमा जोडिएको वीरगन्ज महानगरपालिकाले मुलुकको आयात–निर्यातमा ६० प्रतिशत योगदान पुर्याउँछ । यस महानगरले राजस्वमा वार्षिक २ खर्ब ६१ अर्ब योगदान पुर्याउँदै आएको छ ।
यस महानगरमा प्रमुखको जिम्मेवारी सम्हालेको एक वर्ष पुग्दै गर्दा समीक्षा गर्ने उद्देश्यले नगरप्रमुख राजेशमान सिंहसँग रातोपाटीकर्मी शारदा पोखरेलले गरेको वार्ताको सम्पादित अंश :
वीरगन्ज महानगरपालिकाको नेतृत्वको एकवर्षे अवधिलाई व्यक्तिगत रूपमा यहाँले कसरी मूल्यांकन गर्नुहुन्छ ?
मेरो एक वर्षको कार्यकाललाई मैलेभन्दा पनि मेरा वीरगन्जवासीले मूल्यांकन गर्छन् । यो अवधिमा गरेको कामबाट म व्यक्तिगत रूपमा खासै सन्तुष्ट छैन । कामको स्पिडलाई अझ बढाउनुपर्ने मैले ठानको छु । आउने आर्थिक वर्षमा नेपालमा देखिएको आर्थिक अभावले मनमा शंका लागेको छ । कतै आर्थिक कारणले हाम्रो कामको गति कम हुने त होइन !
त्यसमा एउटा कुरा के छ भने, हामीले सामूहिक रूपमा काम गरेका छौँ । त्यसैले हाम्रो टिमवर्कलाई आर्थिक कारणले फरक पर्दैन । कतै न कतैबाट व्यवस्थापन गर्छौं । जुन एक वर्षको उपलब्धि छ, आगामी आर्थिक वर्षमा त्योभन्दा दोब्बर काम गर्ने लक्ष्य हाम्रो छ ।
यो अवधिमा जनताले अनुभूति गर्ने खालको काम कुन कुन क्षेत्रमा सुरुवात गर्नुभयो ?
सबैभन्दा पहिला वीरगन्ज महानगरलाई सफासुग्घर राख्ने कामको सुरुवात गरेका छौँ । अहिले मुख्य सडकहरू सफा देखिन्छ तर शाखा सडक त्यति सफा छैनन्, यसबाट म आफैँ सन्तुष्ट छैन । मूल सडक मात्रै होइन, वीरगन्ज नगरीमै हुनुपर्छ । यसको अलावा हामीले वीरगन्जलाई सौन्दर्यकरणको काम गरेका छौँ । यो आर्थिक वर्षमा वीरगन्जलाई धार्मिक पर्यटकीय हब बनाउनेमा जोड दिएका छौँ । जसअन्र्तगत पशुपति नाथको मन्दिर, १४० वर्ष पुरानो नेपालको एउटै मात्र नरसिंह भगवानको मन्दिरको डिपिआर तयार गरेर अगाडि बढेको छ ।
वीरगन्जमा सात दिदीबहिनीका रुपमा बिन्दवासिनी शक्तिपीठहरू प्रख्यात छन्, ती सात दिदीबहिनीको मन्दिरलाई जीर्णोद्धार गरेर त्यसलाई धार्मिक पर्यटकका रूपमा अगाडि बढाएका छौँ । साथै विभिन्न पार्क निर्माण भएका छन् । उज्यालो वीरगन्ज कार्यक्रमअन्तर्गत १ देखि ३२ वडासम्म सम्पूर्ण ठाउँमा बत्ती बलेका छन् । ‘उज्यालो वीरगन्ज’ पूर्णरूपमा हामीले सफल बनाएका छौँ ।
वीरगन्जलाई आर्थिक नगरी त भनिन्छ तर आर्थिक नगरीको अनुभव वीरगन्जवासीले गर्न पाएका छैनन् । खासगरी यहाँका युवाले गर्न पाएका छैनन् । यत्रो औद्योगिक प्रतिष्ठान छन्, तर यहाँका युवा बेरोजगार छन् । यी सब कुरामा हामी अगाडि बढ्दै छौँ । खासगरी वडा १७ देखि ३२ वडासम्म, जुन पुराना गाउँपालिकाहरू थिए । तिनलाई महानगरले सडक सञ्जालले जोड्ने योजना बनाएको छ । यसलाई आगामी आर्थिक वर्ष (२०८०/८१) मा यो कार्यक्रममार्फत थालनी गर्नेछौँ । यसका अलाबा अरु धेरै काम छन् । अहिले मुख्य–मुख्य काम जनताको दैनिकीसँग जोडिएका कुरालाई हामीले प्राथमिकता दिएर अगाडि बढेका छौँ ।
सार्वजनिक जग्गाको खोजी गरेर संरक्षणको काम सुरु गर्नुभएको छ, चुनौती कति छन् ?
चुनौतीलाई सामना गरेरै हामी यो ठाउँसम्म आएका हौँ । चुनौतीबाट मुख फर्काएर भाग्ने कुरा हुँदैन । काम गर्दा चुनौती आउँछन्, समस्या पनि आउँछन् । त्यो समस्या आयो भन्दैमा पछाडि सर्ने कुरा हुँदैन । हाम्रो मान्यता वीरगन्ज महानगरपालिकाभित्रका सार्वजनिक सम्पत्ति सबै महानगरपालिकाको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, सोहीबमोजिम अगाडि बढिरहेका छौँ ।
आज मठ–मन्दिरहरू भूमाफियाले आफ्नो कब्जामा लिएका छन् । त्यहाँ श्रद्धालुलाई जान निषेध गरिएको छ । यी सबैको व्यवस्थापन र नियन्त्रणमा हामी अगाडि बढेका छौँ ।
भूमाफियाले घडिहवा रामजानकी मन्दिर कब्जा गरेका थिए, त्यसलाई हामीले एक महिनाअघि सर्वसाधारणका लागि खुला गरेका छौँ । वीरगन्जमा रहेको पशुपति मन्दिरको जग्गा, गुठीका जमिनहरू, जुन भूमाफियाहरूले कब्जा गरेका छन् । ती गुठीका जमिन पनि संरक्षण गरेर गुठीले महानगरसँग समन्वय गरेर यी जमिन महानगरलाई दिने र गुठीको आम्दानीको स्रोत पनि हुने, जमिन पनि संरक्षण गर्ने गरी नीति बनाएर अगाडि बढेका छौँ ।
वडा १७ र १९ सीमा क्षेत्रमा रहेका ऐलानी, पर्ती गरी मोटामोटी ३७ बिघा जमिन निकालेका छौँ । त्यहाँ अहिले ठूलो ताल र ग्रिन पार्क बनाउन महानगर लागेको छ ।
यस्ता अरू पनि थुप्रै जग्गा छन् । केही दिनअघि वडा २९ मा हामीले ५७ बिघा जग्गा निकालेका छौँ । ३८ वर्ष पहिले नगर विकास समितिले प्लटिङ गरेका जमिन जसले किन्नुभयो उहाँहरूले उपभोग गर्न पाइराख्नुभएको थिएन, त्यो जमिनको काम यही साता सम्पन्न भयो । नापीले जग्गा छुट्ट्याएर हस्तान्तरण गरेको छ । त्यहाँ अलग्गै एउटा राम्रो सहर बन्छ ।
सार्वजनिक सम्पत्तिको विषयमा त्यस्ता धेरै जमिन छन् । अब वीरगन्जवासी स्वयं आएर यहाँ यस्तो जमिन छ, तपाईंहरूले संरक्षण गर्नुपर्यो भनेर कागजपत्र सहित आएर निवेदन दिएका छन् । आगामी वर्ष यसका लागि छुट्टै बजेटको व्यवस्था गरेर, जमिन छुट्ट्याएर घेर्ने हाम्रो योजना छ ।
सार्वजनिक जग्गामा मालपोत, नापी र स्थानीय प्रशासन कर्मचारीको पनि मिलेमतो देखिन्छ नि !
बिनाटिमवर्क कुनै काम सम्भव छैन । आज हाम्रो एउटा टिम छ । यसका अलाबा हामीलाई सम्पूर्ण राजनीतिक दलहरूले साथ र सहयोग गरिरहनुभएको छ । उहाँहरूसँग नै हामीले सरसल्लाह गरेर अगाडि बढेका छौँ । वीरगन्जलाई बनाउनु छ भने सबैलाई लिएर हिँड्न अति आवश्यक छ– चाहे राजनीतिक दल होस्, पत्रकार होस् । वीरगन्ज एउटा राजेशमान सिंहको मात्रै होइन, यहाँ बसेर विभिन्न पार्टीमा राजनीति गर्ने, व्यवसाय गर्ने र मजदुरी गर्ने सबैको हो । टिमवर्कले हामीलाई कुनै बाधा अड्चन आउँदैन् भन्ने हामीलाई विश्वास छ ।
शिक्षामा सुधार ?
शिक्षाको काममा हामीले ११ महिनापछि भर्खरै हात हालेका छौँ । शिक्षामा कसरी अगाडि बढ्ने भनेर हामीले नीति बनाएका छौँ । पहिला वीरगन्ज महानगरभित्र ६ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुन्थ्यो । जथाभावी शुल्कको कुनै हिसाबकिताब थिएन । महानगरका कर्मचारीकै मिलेमतोमा केही शैक्षिक माफियाको मनोमानी थियो, त्यसलाई हामीले अन्त्य गरेका छौँ ।
शिक्षा ऐनमा स्पष्टसँग व्यवस्था छ, स्कुल कम्तीमा ६ घन्टा चल्नैपर्छ तर त्यो भइरहेको थिएन । अंग्रेजी माध्यममा बिहान ६ः३० देखि ११ बजेसम्म चलाउँथे, फेरि ११ बजेदेखि नेपाली माध्यममा पढाइ हुन्थ्यो । सामुदायिक विद्यालयमा यतिसम्म बदमासी हुन्थ्यो कि कहिले सरस्वती पूजाको नाममा कहिले परीक्षा शुल्कको नाममा विभिन्न दस्तुर लिइन्थ्यो ।
अहिले त्यो सम्पूर्ण कामलाई हामीले निषेध गरेका छौँ । अब जे लिने हो, महानगरपालिकाले सम्पूर्ण व्यवस्थापन गर्छ तर अभिभावकसँग कुनै चिजमा सामुदायिक विद्यालयले एक रुपयाँ पनि उठाउन पाउँदैन । हामीकहाँ सामुदायिक विद्यालयमा शिक्षक अभाव छ । यसमा हामीले एउटा रणनीति बनाएका छौँ, जसअनुसार हामीले निःशुल्क रूपमा शिक्षक–शिक्षिका लिन लागेका छौँ । त्यसको सूचना आजभोलिमा जारी हुन्छ । महानगरवासीको साथ पायौँ भने शिक्षामा पनि ठूलो परिवर्तन गर्ने र फड्को मार्ने हाम्रो लक्ष्य छ ।
स्वास्थ्य क्षेत्रको सुधार ?
यहाँ सबैभन्दा ठूलो दुर्भाग्यको कुरा के छ भने, वीरगन्जमा एउटा संघीय सरकारले सञ्चालन गरेको नारायणी उपक्षेत्रीय अस्पताल छ । त्यसमा यति बेथिति छन्, उपचारभन्दा बढी राजनीति हुन्छ त्यहाँ । यहाँबाट वीरगन्जवासीले जुन सेवा पाउनुपर्ने हो, पाइरहेका छैनन् ।
यो अस्पताल वीरगन्ज महानगरभित्र परेकाले हामीले अहिले त्यहाँ हस्तक्षेप सुरु गरेका छौँ । अहिले हामीले ‘मेयर घरदैलो’ कार्यक्रम भनेर प्रत्येक वडामा साताको ६ दिन कार्यक्रम सञ्चालन गरेका छौँ । यसअन्र्तगत एमबीबीएस डाक्टरद्वारा फिजिसियन, गाइनो, बालरोग विशेषज्ञ स्वास्थ्यकर्मीसहित निःशुल्क रूपमा उपचार महिलाका लागि निःशुल्क भिडियो एक्सरेदेखि नेपालका सरकारले दिएको बाहेक थप औषधि गरेर एक सय १८ प्रकारका औषधि निःशुल्क रूपमा वितरण गर्दै आएका छौँ ।
यो कार्यक्रमलाई प्रभावकारी बनाउन वडा १७ देखि ३२ सम्मका ६ वटा स्वास्थ्य चौकीमा प्रत्येक दिन क्लिनिक सञ्चालन गर्न लागेका छौँ । विशेषज्ञ डाक्टरसहितको एक सय १८ प्रकारका औषधि निःशुल्क रूपमा पाइन्छ । जेठको दोस्रो सातादेखि यो सेवा सुरु हुन्छ । १७ देखि ३२ वडाको बीचमा २ वटा बर्थिङ सेन्टर हामीले सञ्चालन गर्न लागेका छौँ ।
यहाँको कार्यकालमा वीरगन्जको स्वरूप कस्तो होला ?
वीरगन्जलाई आर्थिक नगरी भनिन्छ, तर नामको आर्थिक नगरी होइन, पाँच वर्षको कार्यकालमा एउटा वैभवशाली वीरगन्ज बनाउने हाम्रो लक्ष्य र योजना छ ।
वास्तवमा वीरगन्जको बाटो हुँदै भारतीय पर्यटक सिधै सौराहा, पोखरा, काठमाडौँ जान्छन् । वीरगन्जमा रोकिँदैनन् । अब भारतीय पर्यटक वीरगन्जमा रोक्न, पर्यटकीय हब बनाउन रात्रि बजार सञ्चालनमा ल्याएका छौँ ।
यसले गर्दा यहाँका युवाले पनि रोजगारी पाउने, अहिले आएको आर्थिक तरलतालाई पनि चलायमान बनाउने हाम्रो लक्ष्य छ । नयाँ वर्षको दिन चैत ३०, वैशाख १ र २ गते हामीले रात्रिबजार सञ्चालनमा ल्याएका थियौँ । यो कार्यक्रम पुनः प्रत्येक महिनाको अन्तिम शुक्रबार र शनिबार दुई दिन सञ्चालन गर्दै छौँ । विश्वास छ, यसबाट खासगरी यहाँका साना व्यापारी, होटल व्यवसायी र युवालाई फाइदा पुग्ने छ । आर्थिक अवस्था चलायमान हुनेछ ।
पहिलो आर्थिक वर्षमा राजस्व संकलन कस्तो रह्यो ?
आन्तरिक राजस्व संकलनमा म सन्तुष्ट छु, तर संघ र प्रदेशको राजस्वबाट हामी धेरै असन्तुष्ट छौँ । भन्नलाई आर्थिक नगरी भन्ने तर यहीँबाट राज्यको ४८ प्रतिशत राजस्व उठाउने । धुलो–माटो खाने वीरगन्जवासीले, सम्पूर्ण पैसा दामासाही हिसाबले बाँड्ने, यो प्रकियाको हामीले विरोध गरेका छौँ ।
प्रदेशबाट पाउने मालपोत राजस्व पनि हामीले पाएका छैनौँ । राजस्वमा खासगरी हामी संघीय अनुदानमा भर पर्नुपर्ने अवस्था छ । संघले पनि अहिले ५० प्रतिशत राजस्व कटौती गरेको छ । वित्तीय समानीकरणमा हामीले पाइरहेको ४५ करोडलाई कटौती गरेर ३६ करोड छुट्ट्याइएको छ । यसकारण संघ र प्रदेशबाट हामी धेरै पीडित छौँ तर आन्तरिक आयमा गत आवमा भन्दा यो आवमा केही न केही वृद्धि भएको छ ।
प्रदेशमा जसपा नेतृत्वको सरकार छ, त्यस हिसाबले यहाँलाई धेरै सहयोग हुनुपर्ने !
मधेस प्रदेशमा जसपाको सरकार त छ तरचुनावले गर्दा प्रदेशको बजेट अहिलेसम्म आएको छैन । हामी जाँदै छौँ, भिड्दै छौँ, अबको दुई महिनामा के गर्न सकिन्छ । चालू आबको बजेट आजसम्म पठाएको छैन । यो सबैमा लागेका छौँ । आशा छ, आउने आर्थिक वर्षमा राम्रो पाइएला ।
यहाँहरुको काममा प्रदेश र संघीय सरकारको सहयोग के कस्तो छ ?
कलियुग हो, बच्चा नरोएसम्म आमाले दूध खुवाउँदैनन् भनेजस्तै नकराएसम्म पाउला भन्ने छैन । संघ र प्रदेशलाई घचघचाइरहेका छौँ, कति सहयोग गर्ने हुन्, आउने दिनले बताउला ।
देशभरका अरु पाँचवटा महानगरसरह वीरगन्जलाई संघीय सरकारले सहयोग गरेन भन्ने यहाँको गुनासो छ नि !
काठमाडौँ महानगरसँग हामीले आफूलाई तुलना गर्ने कुरा भएन, उसले संघीय सरकारबाट वार्षिक २५ अर्ब बजेट पाउँछ । पोखराले १४ अर्ब, ललितपुरले नौ अर्ब, भरतपुर महानगरले ६ अर्ब, विराटनगरले चार अर्ब र वीरगन्जले सबैभन्दा कम ३ अर्ब ३० करोड मात्रै पाउँछ ।
काठमाडौँ, पोखरा, ललितपुरभन्दा हाम्रो आन्तरिक राजस्व पनि कम उठिरहेको छ, त्यसलाई बढाउन खोजिरहेका छौँ । उहाँहरू पर्यटकीय हिसाबले पनि अगाडि हुनुहुन्छ ।
आज भरतपुर महानगरले विकासमा फड्को मारेको छ, त्यो हामीकहाँ छैन । त्यस्ता प्रचण्ड हामीहरूसँग भइदिएनन्, भरतपुरको रेनुदिदीसँग प्रचण्ड पिता साथमा हुनुहुन्छ, वीरगन्ज महानगरमा राजेशमानसँग साथमा त्यस्ता पिता छैनन् । प्रचण्डजस्तै पिता हामीसँग पनि भएको भए वीरगन्ज महानगरले फड्को माथ्र्यो । त्यस्तो नभएका कारण पनि वीरगन्ज महानगरपालिका कता कता पछि परेको छ ।
यहाँहरुको काममा विपक्षी पार्टीको सहयोग कति छ ?
विपक्षीको सहयोग पाएका छौँ । विरोध गर्नेले विरोध गर्छन्, हामी विकास निर्माणमा विकास गर्छौं । विपक्षीको कामै र धर्म नै हो विरोध गर्ने, त्यसबाट डराइँदैन ।
तपाईंका पार्टीका कार्यकर्ता नै तपाईंको विरोधमा छन् भन्ने चर्चा छ नि ?
जसपाका कार्यकर्ता मसँग धेरै असन्तुष्ट छन्, रुष्ट भएका छन् । कार्यकर्तालाई समय दिन पनि सकेको छैन । कार्यकर्ताले मसँग जुन अपेक्षा राखेका छन्, राजेशमान सिंहले जितेर आएपछि हामीलाई केही होला, युवाहरूले रोजगार पाउनेछौँ भन्ने अपेक्षा थियो, यो साढे ११ महिनाको अन्तरालमा मैले उनीहरुको अपेक्षा पूरा गर्न सकेको छैन । आशा राखौँ, आउने दिनमा सबैको साथले हामीले केही न केही गर्छौं । सबैको सहयोग पाए, वीरगन्ज महानगरले मुहार फेर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शमीले बोर्डर-गावस्कर ट्रफी खेल्न अस्ट्रेलिया जान नपाउने, मेडिकल टोलीद्वारा अयोग्य घोषित
-
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको समस्या मिलाउन सहजीकरण समिति गठन
-
सरकारले कर आतंक मच्चायो, संघर्षको विकल्प छैन : साह
-
काठमाडौँ महानगरपालिका नगर सभाको अधिवेशन आह्वान
-
विनोद काम्बली अस्पताल भर्ना, अवस्था चिन्ताजनक
-
सिरहामा दुई समूहबिच झडप, प्रदेश सांसद खातुनसहित १८ जना घाइते