आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
कला

प्रोमोटिङ वुमन इन बिजनेस : कला र आर्थिक विकासको समिश्रण

शनिबार, ३० वैशाख २०८०, १५ : ३४
शनिबार, ३० वैशाख २०८०

विराटनगरस्थित इस्टर्न स्टार होटलको परिसरमा रहेको एक अलग्ग कक्षमा स्थानीय महिला कलाकारका कला र हस्तकलालाई प्रदर्शन गरियो । हस्तकलाका आकर्षक सामानका कारण प्रदर्शनीले चाडपर्व वा मेलापातको तामझाम आभास गराउँथ्यो । 

उसै खेर जाने प्रकृतिका सामान प्रयोग गरेर बनाइएका सजावटदेखि दैनिक जीवनमा उपयोग र उपभोग हुने कलात्मक वस्तुको प्रदर्शनीले माहोल नै मनमोहक लाग्थ्यो, त्यसमाथि कक्षमा हुलका हुल महिलाको जमघट हुँदा थप सौन्दर्य प्रतीत हुन्थ्यो । महिलाहरू उन्मुक्त भएर बोल्नु, ख्यालठट्टा गर्नुले वातावरण उल्लासमय बनेको थियो । 

१६ वैशाखमा एक दिनका लागि भएको यस प्रदर्शनीमा व्यवसायकै रूपमा बनिरहेका कलाहरूदेखि खाद्यवस्तु (मस्यौरा, गुन्द्रुक, गेडागुडी, विभिन्न खाले अचार आदि) ले ठाउँ पाएका थिए । जुटका झोलाहरू, मैनबत्ती, धूप, नाङ्लो–डालो, स–साना गमला, मुकुन्डो, पुतली, मैथली र थारु चित्रकला, जौका फूलहरूको सजावटका सामान, ढाकाका ब्याग, टोपी, थरीथरीथरीका माला, नक्कली गरगहना आदि प्रदर्शनी गरेर महिलालाई जागरूक र स्वावलम्बन हुन प्रशस्तै प्रेरित गरेको अनुभूत सबैले गरे । 

महिला उद्यमी संघ, मोरङ च्याप्टरको प्रायोेजनमा भएको यस प्रदर्शनीमा यसपालि आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान गरेका पाँच महिलालाई सम्मान गरियो । नेतृत्व विकासका लागि सुनिता थाराङ (घरेलु महिला समितिकी अध्यक्ष), खेलकुदबाट रीना श्रेष्ठ (कराते प्रशिक्षक), उद्यमीको तर्फबाट सोमी चौलागाईं (रुचि मसाला बनाएर नाम कमाएकी उद्यमी), साहित्यको तर्फबाट लक्ष्मी पोखरेल (युवाकवि) र चन्द्रकला राई (गत ४० वर्षदेखि ब्युटिसिएन पेसामा संलग्न) यसपालि सम्मानित भए । 

यही संस्थाबाट विगतका वर्षमा पुरस्कृत भएका महिलालाई उनीहरूकै पालिकाले समेत थप हौसला दिएका अनेकौँ उदाहरण छन् । अघिल्लोपटक बुढीगंगा गाउँपालिकाकी अञ्जु राई पुरस्कृत भएकी थिइन्, उनलाई गाउँपालिकाले एक लाख अनुदान दिएर उत्प्रेरित गरेको रहेछ । 

कार्यक्रममा महिला कविहरूले महिलाकै सन्दर्भ उठाएर कविता वाचन समेत गरे । प्रदेश सरकारको पनि संलग्नता रहेको कार्यक्रममा लैंगिक विभेदका कुरा गहिरो गरी उठे । समग्रमा कलाको सीपका सँगसँगै महिलाका सवाल र महिला सशक्तीकरणको विषयलाई उठान गरिनु यस कार्यक्रमको अलग्ग विशेषता देखिन्थ्यो । कला वा कलात्मक वस्तुका माध्यमबाट आयआर्जन बढाई महिला सशक्तीकरण गर्ने वा गराउने नै यस कार्यक्रमको ध्येय थियो । 

346109122_619850853394586_8082328492569570647_n

आयोजक संस्थाले उद्यम वा सीपका माध्यमबाट महिलालाई सशक्तीकरणका लागि विविध गतिविधि गर्दै आएको छ । यस संस्थाकी अध्यक्ष तथा उद्यमी कृति उपाध्याय श्रेष्ठले कला सिर्जना समेत गर्र्छिन् । इन्टेरिअर डिजाइनर समेत रहेकी कृति विभिन्न कलागत गतिविधिका सक्रिय छन् ।

हिजोआज नेपालमा यस्ता क्राफ्ट कलाको चर्चा अलि बढी मात्रामा हुन थालेको छ । हिजोका दिनमा सामान्यतः क्राफ्ट कलालाई व्यवसायी कला अनि ललित कलालाई सिर्जनशील कला भनेर अलग्गाउँदा ललितकलाका सन्दर्भ बढी मात्रामा चर्चामा आउने गथ्र्र्यो । यस्ता कलालाई हिजो व्यवसायका रूपमा मात्रै हेरेर विदेशमा निर्यात समेत गरिन्थ्यो तर वस्तुमा अन्तर्निहित कलाको मर्म र सौन्दर्यका कुरा उठ्दैनथे । यसर्थ यसका कलाकारलाई कलाकार नभनेर कालिगड भनिरहन कसैलाई अप्ठेरो लागेन । सिर्जनशीलताको रूपमा चर्चामा नआउँदा यस्ता क्राफ्ट कलालाई सिर्जना गर्ने कलाकारलाई एक कालिगडका रूपमा मात्र हेर्ने गरिएको थियो । कलाको रूपमा नहेरेपछि यसको कलागत इतिहास पनि बनेन । 

अहिले अवस्थामा केही परिवर्तन आएको छ । राष्ट्रभर नै स्थानीय सरकारको संरचनामा कला, साहित्य र संगीत औपचारिक रूपमा अटाएका छन् । साहित्यको ढाँचा अलग्ग ढंगबाट विकास हुन खोज्दै छ । विशेष गरेर कविता, कथाको सिर्जना र वाचन गर्ने तौरतरिकामा समेत नौलो शैली देखिन थालेका छन् । नाटकमा सिनेमा, कवितामा नाटक, नाटकमा पर्फमेन्स कला मिसिएर आएका छन् । चित्रकलाहरू र चित्रका क्यानभासमाथि कविता कोल्याबोरेटिभ रूपमा देखिन थालेका छन् । व्यक्ति दैनिकी र सामाजिक चालचलनमा फरकपन देखिँदै छन् । स्वभावतः थरीथरीका कला पनि गाँसेर–गाँसिएर, मिलेर–मिलाएर आज समग्रमा कलाको एउटा पृथक् रूप देखिन थालेको छ । यस्तै कलामा आज पहिचानको खोजी, विभेदको सन्दर्भ र राजनीतिक सवाल सम्बोधन गर्ने संस्कार बसेजस्तो भएको छ । यस्ता विषयलाई टिप्न अब समसामयिक कला भइरहनुपरेन । क्राफ्ट कलाले पनि यस्ता सवाललाई अर्कै ढंगले टिपेर अगाडि बढ्न थालेको देखिन्छ । आज यसलाई समसामयिक कलाको एक भागका रुपमा लिइएको छ ।

यस महिला उद्यमी संघले विशेषतः राष्ट्रिय स्रोतको पहुँचबाट टाढा रहेका महिलालाई किसिम–किसिमका सीपका तालिम दिँदै उनीभित्र अन्तर्निहित कलालाई उजागर गर्ने र उत्पादित कला वा कलात्मक वस्तुलाई आर्थिक गतिविधिसँग जोड्ने उपक्रम गर्दै आइरहेको छ । यसको नारा पनि गजबकै छ– ‘सामाजिक र आर्थिक रूपान्तरणका लागि मिलेर काम गरौँ’ । कलाका माध्यमबाट आम्दानीको नौलो अवधारणा र लैङ्गिक विभेदका मुद्दा लिएर आएको यस कार्यक्रम धेरै ढंगले अर्थपूर्ण रूपमा देखापरेको छ । 

आज क्राफ्ट कला, लोककला वा हस्तकला, वास्तुुकला, चित्रकला, मूर्तिकला आदि–इत्यादि समग्रमा एउटैजस्तो भएर देखापरेको छ । यो परिवेशमा क्राफ्ट कला चर्चामा आउनुका केही खास कारण छन् । पहिलो र महत्त्वपूर्ण कारण यो हो– क्राफ्ट आफैँमा निश्चित समुदायको मौलिक कला हो, यो कलाले निश्चित समुदायको पहिचान मात्र दिँदैन, यसले बाँच्नुका लागि निश्चित आधार पनि खडा गरिदिन्छ । 

प्राचीनकालदेखि जीवन निर्वाह गर्ने क्रममा वस्तु बन्न थालेपछि त्यसभित्र कलात्मकता थप्ने उपक्रम कलाकारले गर्दै आए । यसरी बनेका वस्तु संस्कृति र संस्कारमा विधिवत रुपमा संलग्न हुने क्रम पनि सुरु भयो र आज यसले क्राफ्ट कलाको नाममा आफ्नो पहिचान बनायो । समाजमा यसका कलाकार बढी हुन्छन् । परम्परागत कला, लोककला, पुराना सम्पदालाई क्राफ्टका रूपमा रूपान्तरित गरी आज विश्वभरि फैलाउँदा यसको व्यापार र महत्त्व थप बढेको छ । 

विशेषतः म्यानुुअल–स्वभाव (आफ्नो हातैले एकै प्रकारको बढी मात्रामा बनाउने) क्राफ्ट कलाको प्रकृति हुन्छ । सदियौँदेखि इन्डिजिनस आर्टका रूपमा रहेको कलालाई सर्वाधिक मान्छेमा पु¥याउने सन्दर्भमा पनि यो कला देखापरेको हो । यस्ता कला बढी मात्रामा विदेशी पर्यटकले मन पराउने हुँदा यसको बिक्री बढी हुन्छ । 

346106959_625117676197189_3017802177454086716_n

क्राफ्ट कला 

क्राफ्ट कलाको परिभाषा अलिकता भेग टर्ममा गरिएको देखिन्छ । जस्तो ः क्राफ्ट कला भनेको आममान्छेले बनाएको यस्तो कलात्मक काम (आर्ट वर्क) हो, यसको प्रत्यक्ष नाता आर्टिस्टको वर्कम्यानसिप (अचेल वर्कवुमनसिप पनि भनिन्छ)सँग जोडिएको हुन्छ । क्राफ्ट आर्ट कलाकारको कल्पना शक्ति र उसको हातसँग (यसर्थ यसलाई हस्तकला भन्ने चलन छ) जोडिएको हुन्छ, जुन स्पष्ट देखिने, बुझिने र छोइने रुपमा दृश्यावलोकन हुन्छ । अझ यसलाई विस्तारमा भन्नुपर्दा– केबाट के बनाएको, केका लागि बनाएको भन्दा पनि बनाइएको वस्तुभित्र कलाकारको शिल्प–दक्षता स्पष्ट रुपमा देखापर्छ । निश्चित समुदायको संस्कार, दिनचर्या र विशेषतालाई बोकेर खास प्रकृतिमा विकास भएकाले यस्ता कला थुप्रै संख्यामा बनेर त्यही समुदायका लागि समेत आयको भरपर्दो स्रोत बन्न जान्छ ।

क्राफ्ट कलाको बहस

अहिले आएर क्राफ्ट कलाको एक अलग्ग प्रकारले बहस सुरु भएको छ । यसलाई अनेक विशेषताका साथ व्याख्या–विश्लेषण गर्न थालिएको छ । अमेरिकन क्राफ्ट काउन्सिलले ठूलो बहस चलाई यसका अनेक विशेषतालाई केलाउने प्रक्रिया सुरु गरेको छ । क्राफ्ट कलाका बारेमा ठुल्ठूला विद्वान्को भनाइलाई जनतामाझ ल्याउने प्रयास समेत गरिएको छ । यसलाई विशाल रूपमा अभिलेखन गरिएको छ । क्राफ्ट कलाबारे केही विद्वान््का भनाइ हेरौँ :

जेनिफर ज्विलिङका अनुसार क्राफ्ट कला सीप र सिर्जनशीलताको अन्तक्र्रिया हो । लिनो ट्यालिअपिएट्राका अनुसार क्राफ्ट कला ‘आर्टिजाअनो’ हो । जसको समग्र अर्थ केलाउँदा कलाकारको दिमागमा अवस्थित संस्कृतिसँग गाँसिएर सिर्जना भएको कला भन्ने बुझिन्छ । ‘आर्टिजाअनो’ शब्दको अर्थ ‘स्किल्ड वर्कम्यानसिप’ हो, अर्थात् शिल्पदक्ष हस्त–शिल्पकार । 

एरिक डिमाइनेका अनुसार क्राफ्ट भनेको म्याटेरियल प्लस टेक्निकको मास्टरी हो । यही अमेरिकन क्राफ्ट काउन्सिलले ‘क्राफ्ट सिरिअस्ली ह्वाट डज द वर्ड मिन ?’ शीर्षकको आलेख प्रकाशनमा ल्याएको छ । यसले क्राफ्ट कलाका थुप्रै विशेषतालाई उद्धृत गरेको छ । जस्तै ः क्राफ्ट आफैँमा अनुशासनको पुलिन्दा, सिर्जित सीप र सिर्जनशीलताको सेवा हो, विशेष रूपले गरिने यो एउटा विशेष काम हो, तनमनका साथ गहिरो अध्ययन र अभ्यासका साथ गरिने काम हो, अभिव्यञ्जना हो, जीवनको बाटो हो । क्राफ्ट आफैँमा एउटा विचार हो, आदि ।  

झन्डै इसापूर्व ६५०० मै अस्तित्वमा रहेको कल्पना गरिएको यो कला कुनै न कुनै रूपमा आज पनि जीवन्त रूपमा मानवबीचमा छ । यसको निरन्तरता प्रक्रियागत रूपमा आममान्छेको जीवनसँग गाँसिएर आएको देखिन्छ । ललित कलाको आधुनिक कलाको सन्दर्भ देखापर्न थालेपछि यो क्राफ्ट कलाले एक अलग्गै स्वरूपमा फड्को मारेको देखिन्छ । एउटा फड्को भनेको– यसैको आधारमा आधुनिक कलाको विकास भयो । अर्को, आजका अधिकांश आधुनिक कलाका सर्जकका लागि मोटिफका रूपमा यस्ता क्राफ्ट कला प्रयोग हुन थालेका छन् । हिजोआज यस्ता क्राफ्ट कला नै समसामयिक कलाको मेलामा यथेष्ट रूपमा राख्ने चलन बढिसक्यो । समसामयिक कलाको राष्ट्रिय–अन्तर्राष्ट्रिय कलाका प्रदर्शनीमा उद्घाटनका बेला विभिन्न क्राफ्ट कलालाई समावेश गराउने संस्कार बसिसकेको छ । 

सन् १८६२ मा आधुनिक कलाको सन्दर्भमा आर्ट एन्ड क्राफ्टका रूपमा बेलायतमा एउटा कलागत आन्दोलन भयो । कलाकार विलियम मोरिसको अगुवाइमा भएको यस आन्दोलनले क्राफ्टको क्वालिटीलाई विशेष रूपमा सम्बोधन गरेको थियो । विलियम भन्ने गर्थे– ‘कला केही सानो समूहका लागि हुनुपर्छ भन्ने म मान्दिनँ (व्यापक ठूलो समूहलाई सम्बोधन गरिनुपर्छ भन्ने सन्दर्भमा), बरु थोरैमा पनि स्वतन्त्रताको अनुभूत हुनुपर्छ (सिर्जनाको अभिव्यञ्जनाको सन्दर्भमा) भन्ने मलाई लाग्छ ।’ 

यसैबेला कलामा अन्तर्निहित एस्थेटिक्सको सन्दर्भ र यसले आर्थिक सुधारलाई कसरी योगदान गर्दछ भन्ने सन्दर्भ अझ गहिरो गरी उठाइएको थियो । ‘इन द फर्म अफ आर्ट’को रूपमा समेत यसलाई हेरिन थालेपछि व्यापारका दृष्टिले यसको मूल्य धेरै बढेर गएको थियो । यसैले त डिजाइन आइडिओलजीको कुरा त्यतिबेला बढी मात्रामा गरिन्थ्यो । अर्थात् क्राफ्ट कला डिजाइन (सजाउने सन्दर्भ) भन्दा पनि आइडिओलजी बढी मात्रामा हो । जसले खास समुदायको मूल विशेषतासहितको पहिचानलाई स्थायित्व प्रदान गर्दछ भन्ने चलन आइसकेको छ । 

त्यसबेलाको आन्दोलनले डिजाइनको विविध तरिका, वास्तुकला, टाइपोग्राफी, बुक प्रिन्टिङ, टेक्स्टाइल, इन्टेरियर डिजाइन लगायत धेरै क्षेत्रको पुनव्र्याख्यासहित सम्बोधन गरेको थियो । त्यसबेला ‘भेल्यु अफ सोसाइटी’को सन्दर्भलाई गहिरो गरी उठाइएको थियो । त्यसबेलादेखि कुनै पनि समुदायका यस्ता इन्डिजिनस आर्टलाई विशेष महŒव दिने, सजधजका साथ विश्वभरि फैलाउने काम विभिन्न राष्ट्रबाट हुन थालेका थिए । कुनै पनि यस्ता क्राफ्ट कलालाई सामान्य मात्र वस्तुको रूपमा नहेरेर कलाको एक अंशका रूपमा नेपालमा कहिलेदेखि हेरिने हो, यो एक चुनौतीको विषय बन्न गएको छ । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप