सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

ललितपुर महानगरलाई अन्तर्राष्ट्रिय स्तरको ‘स्मार्ट सिटी’ बनाउने योजना छ : चिरिबाबु महर्जन

‘राम्रो व्यवस्थापनले ललितपुरमा फुटपाथ व्यापारी समेत खुसी छन्’
शनिबार, ३० वैशाख २०८०

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन महानगरलाई स्मार्ट सिटी बनाउने योजना निरन्तर अघि बढिरहेको बताउँछन् ।

महानगर क्षेत्रलाई हरियाली क्षेत्र बनाउन वृक्षारोपणदेखि बिरुवाको संरक्षणका कामहरू भइरहेको महर्जन सुनाउँछन् । उनले यो वर्ष सुशासनलाई प्राथमिकतामा राखेका छन् । चार वर्षभित्र सम्पदा संरक्षणका सम्पूर्ण काम सक्ने महानगरको योजना छ । यसै सन्दर्भमा स्थानीय निर्वाचन सम्पन्न भएको एक वर्ष पुरा भएको अवसरमा निकेश खत्रीले मेयर महर्जनसँग गरेको कुराकानीको सम्पादित अंशः

तपाई दोस्रो पटक ललितपुर महानगरको मेयर बन्नुभएको एक वर्ष बितिसकेको छ । एक वर्षमा के–के काम गर्नुभयो ?

स्थानीय तहको चुनाव सम्पन्न भएको आज एक वर्ष पुगेको छ । यस अवधिमा आफूलाई चित्त बुझने गरी काम गरेको छु । यसबीचमा ललितपुर महानगरमा वडा स्तरीय काम द्रुत गतिमा भइरहेको छ । यस्तै, महानगरको केन्द्रीय स्तरको काम समेत अघि बढिरहेको छ । 

यस अवधिमा ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना निरन्तर अघि बढिरहेको छ । यही लक्ष्यसहित यही वर्ष ललितपुर महानगरभित्र १४ सय वटा ‘स्मार्ट स्ट्रीटलाइट’ जडान भइसकेको छ । एक दुई स्थानमा आएको प्राविधिक समस्याबाहेक अन्यत्र सबै स्थानमा स्मार्ट स्ट्रिट लाइट बलिसक्यो । स्मार्ट स्ट्रिटलाइट जडान भएका स्थानमा १४ सय वटै सीसीटीभी समेत जडान गर्दैछौ । यस्तै, स्थानीय उपभोक्ता समितिमार्फत ललितपुर भित्र पर्ने सांस्कृतिक सम्पदाको संरक्षणमा काम गरिरहेको छ । उदाहरणका लागि पाटन दरबार स्क्वायरमा कुमारी मन्दिर, तलेजु मन्दिर बनिरहेको छ । रातो मछिन्द्रनाथ र खोकनामा रुद्रवानीको मन्दिर बनिरहेको छ ।

यसबाहेक, ललितपुर महानगरले एक वर्षको दौरानमा १३ वटा पाटीपौवा बनिसकेका छन् । अघिल्लो कार्यकालमा १०० वटा हाराहारी पाटी पौवा बनेका थिए । यस्तै, यो महानगर क्षेत्रलाई हरियाली क्षेत्र बनाउने लक्ष्यसहित वृक्षारोपण सम्पन्न भइसकेको छ  यतिबेला वृक्ष हुर्किरहेका छन् । ती बिरुवाको संरक्षण समेत भइरहेको छ । देशका अन्य महानगरको तुलनामा ललितपुर सानो भौगोलिक अवस्थामा छ । र, यो महानगरलाई अन्तर्राष्ट्रिय स्तरको स्मार्ट सिटी बनाउने हाम्रो लक्ष्य छ । अन्तर्राष्ट्रिय स्तरको स्मार्ट सिटी बन्न १० प्रतिशत खुला जमिन चाहिन्छ, जबकि ललितपुरमा जम्मा ३ प्रतिशत मात्रै खुला जमिन छ । यसलाई बढाउनका लागि महानगर लागिरहेको छ ।

पर्यटनलाई ललितपुरमा थप लोभ्याउनका लागि ‘पाटन सिटी डजनट स्लिप’ भन्ने योजना ल्याउँदैछौं । यसका लागि यतिबेला महानगरले गृहकार्य गरिरहेको छ ।

एक वर्षको कार्यकालमा सुशासनको क्षेत्रमा पनि काम भइरहेको छ । एक वर्षको अवधिलाई हामीले राम्रो काममा बिताएका छौँ ।

यो एक वर्षको अवधिमा महानगरवासीको जीवनस्तर उकास्नका लागि के–के काम भएका छन् ?

हामीले यो अवधिमा महानगरवासीलाई विभिन्न प्रकारका तालिम दिएका छौँ । यस्तै, ललितपुर महानर ह्याण्डीक्राफ्टमा विश्वको ३५औँ नगरी हो । यस अर्थ, यो क्षेत्रमा धेरै नै हस्तकलाका उत्पादन हुन्छन् । यसको प्रवर्द्धनका लागि पाटन ढोकामा यल्लो कोसेली घर स्थापना गरिएको छ । यो घरमा ललितपुरवासीले आफ्नो उत्पादनलाई बिक्री गर्न पाउनुहुन्छ । जसले यस क्षेत्रको आम्दानी बढाउन मद्दत पुग्छ ।

पर्यटन क्षेत्रको कुरा गर्दा ललितपुर महानगर चाहिँ काठमाडौँको छायामा परेको जस्तो देखिन्छ । जबकि, ललितपुर महानगरमा धेरै घुम्न योग्य सांस्कृतिक सम्पदा छन् । यो अवस्थालाई बदल्ने केही योजना छन् ?

पर्यटनलाई ललितपुरमा थप लोभ्याउनका लागि ‘पाटन सिटी डजनट स्लिप’ भन्ने योजना ल्याउँदैछौं । यसका लागि यतिबेला महानगरले गृहकार्य गरिरहेको छ । पर्यटक ललितपुर आएर घुम्ने र काठमाडौँ फर्कने भन्ने विषय छ । यद्यपि, यस क्षेत्रमा धेरै महँगा होमस्टे पनि छन् । यसबाहेक, हिमालय, गुडविल र भिभान्त होटल छन् । समिट होटल भने यतिबेला पुनःनिर्माण भइरहेको छ । ललितपुर महानगरमा थप पाँचतारे होटल चाहिने विषय उठिरहेको छ र थप ४ वटासम्म होटल निर्माणाधीन अवस्थामा छन् । यसपछि ललितपुरमा बस्ने पर्यटकहरूको सङ्ख्या बढ्दै जानेछ ।

अबको एक वर्षपछि ललितपुरमा रात्रिकालीन पर्यटकको घुइँचो हुन्छ । यस्तै, महानगरले अबको केही समयमा रात्रिकालीन ई–बस सञ्चालन गर्ने योजना अघि बढाइरहेको छ । यसपछि ललितपुर महानगर पर्यटनमा धेरै अघि बढ्नेछ ।

पहिलो कार्यकाल सकेर दोस्रोमा दौडिँदै हुनुहुन्छ । समग्रमा तपाईंको १० वर्षे कार्यकाल सकिँदासम्म हामीले कस्तो ललितपुर पाउनेछौँ ?

हामीलाई भू–गोलले पनि धेरै कुरामा नियन्त्रण गरेको छ । यो महानगरको भूगोल सानो र जनसङ्ख्याको घनत्व धेरै छ । नेपालको राजधानीपछिको दोस्रो ठुलो सहरका नाताले ललितपुरमा धेरै आर्थिक गतिविधि हुन्छ । यो अवधिमा ललितपुर क्षेत्रका हस्तकलाकर्मीको विकास गर्ने योजना महानगरको छ । यसबाट मनग्य आम्दानी बढाउन सकिन्छ । यसका लागि महानगरले आवश्यक तालिम दिन्छ र ऋणको मोडलमा बिना ब्याजको लगानी समेत गर्छ । यसको रकम ४–५ वर्षसम्म चुक्ता गर्नुपर्ने हुन्छ ।

ललितपुर महानगरले मेट्रो चलाउने कन्सेप्ट पेपर तयार पारेको छ । यही कन्सेप्ट पेपर काठमाडौँ महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिका, बनेपा नगरपालिका, धुलिखेल नगरपालिका र भक्तपुर नगरपालिकालाई र नेपाल सरकारको सम्बन्धित स्टेकहोल्डरलाई समेत सहकार्यको प्रस्ताव गर्नेछौँ ।

महानगरको नेतृत्वमा बसेर अबको ४ वर्षमा के–कस्ता काम गर्ने योजना छ ?

अबको ४ वर्षको अवधिमा यस क्षेत्रका सम्पदा संरक्षणका सम्पूर्ण काम सकिनेछ । महानगरमा रहेका पुराना पुरातात्त्विक पाटी पौवा बनाइसक्छौँ । महानगरलाई बस्न योग्य सहर बनाउनका लागि योजना छ । यो योजनामा खुला क्षेत्र, हरित सहर, बागमती किनारलाई राम्रो बनाउँछौँ । यसबाहेक, न्यून सङ्ख्यामा रहेका सुकुम्वबासीको समस्या समेत समाधान हुन्छ । अबको ४ वर्षको दौरानमा रात्रिकालीन समयमा उज्यालो बन्नेछ र यो नगर अहिलेभन्दा धेरै सफा बन्छ ।

यसबाहेक उपत्यका क्षेत्रमा रहेको यातायात क्षेत्रको अस्तव्यस्त अवस्थालाई सुधार गर्नुपर्छ । उपत्यकामा मोटरसाइकलको सङ्ख्या बढी छ । यही कारण सहर अस्तव्यस्त छ । यसलाई सुधार गर्न अध्ययन भइसकेपनि लागू गर्न बाँकी छ ।

यही विषयमा तपाईंले काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहलाई एउटा चिठ्ठी लेख्दै मेट्रो चलाउन सहकार्य गर्न पत्र समेत लेख्नुभएको थियो । यसमा केही प्रगति भइरहेको छ ?

मेरो सम्पर्कमा रहनुभएका विज्ञ साथीहरूको सुझाव लिएर काठमाडौँ उपत्यकामा मेट्रो सञ्चालनको विषयमा अध्ययन सम्पन्न भइसकेको छ । उपत्यकामा १३ लाखवटा मोटरसाइकल र ३ लाखवटा चार पाङ्ग्रे सवारी छन् । उपत्यकामा २०७७ सालभन्दा अघि नै बनेका सडक संरचना छन् । त, सवारी थपिइरहेका छन् । यही कारण, उपत्यकामा मेट्रो चलाउनै पर्छ । यतिबेला पूल्चोकबाट काठमाडौँ पुग्न झण्डै एक घण्टा लाग्छ । यसबाट ऊर्जा र समय खेर गइरहेको छ । मेट्रो महँगो भए पनि चलाउन पर्छ भन्ने निष्कर्षसहित ललितपुर महानगरले सहकार्यको प्रस्ताव गरेको हो ।

ललितपुर महानगरले मेट्रो चलाउने कन्सेप्ट पेपर तयार पारेको छ । यही कन्सेप्ट पेपर काठमाडौँ महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिका, बनेपा नगरपालिका, धुलिखेल नगरपालिका र भक्तपुर नगरपालिकालाई र नेपाल सरकारको सम्बन्धित स्टेकहोल्डरलाई समेत सहकार्यको प्रस्ताव गर्नेछौँ । निकट भविष्यमै ललितपुर महानगरले मेट्रो सम्बन्धी एक दिने सम्मेलनको आयोजना गरेर आवश्यक पहल सुरु गर्नेछ ।

त्यसो भए अबको ४ वर्ष भित्र काठमाडौँ उपत्यकामा मेट्रोको काम धमाधम भइरहेको हुनेछ ?

४ वर्ष भित्रै उपत्यकामा मेट्रो निर्माणको काम सुरु भइसकेको हुने छ भन्नेमा विश्वास लाग्दैन । किनकि, यो निकै ठुलो र महँगो योजना हो । यसका लागि ४ वटा रुटको परिकल्पना गरेका छौँ । यी रुटहरूमा मेट्रो चलाउनका लागि समय लाग्न सक्छ । यद्यपि, यो ४ वर्षमा डीपीआर तयार पारेर अन्तर्राष्ट्रिय लगानी ल्याउन सकियो भने त्यसलाई नै सफलता मान्नपर्छ ।

हामीले बिहान र बेलुका फुटपाथ सञ्चालनका लागि समय तोकेर व्यवस्थापन गरियो । यसबाट फुटपाथ व्यापारी पनि खुसी बने भने महानगर पनि व्यवस्थित बन्यो ।

सार्वजनिक यातायातको विषयलाई नै जोडौँ । काठमाडौँ महानगरको सडक सवारी चापका कारण अस्तव्यस्त हुँदा ललितपुर किन यति शान्त छ ? सवारी जामको व्यवस्थापन कसरी भइरहेको छ ?

महानगरले सवारी चापलाई नियन्त्रण गर्नका लागि धेरै बाटोलाई ‘वानवे’ बनाएका छौँ । तर, ग्वार्कोमा सुरु भएको फ्लाईओभरको काम सुरु भएपछि जाम बढ्न थालेको छ । यो काम सुरु भएपछि सुरु भएको ट्राफिक समस्याका कारण ललितपुरका अन्य स्थानमा समेत समस्या उत्पन्न भइरहेको छ । सवारी धनीले ग्वार्कोको विकल्प रोज्दा लगनखेल लगायतका स्थानमा समेत सवारी जाम भइरहेको छ । थप ३ स्थानमा फ्लाई ओभर निर्माणको योजना अघि बढेको छ । एउटा फ्लाई ओभरको काम सक्न २४ महिना लाग्छ र थप २ वटा फ्लाई ओभर सक्दा ७२ महिना लाग्छ । यसअनुसार आगामी ७२ महिना निरन्तर जाममा बिताउनुपर्ने देखिएको छ । तर, अहिलेको कामको गति हेर्दा तोकिएको समयमा समेत काम सकिने देखिँदैन । यो समस्या समाधान गर्न ३ वटै आयोजनालाई एकैपटक निर्माण सुरु गर्नुपर्छ ।

ललितपुर महानगरले फुटपाथको व्यवस्थापन एकदमै राम्रोसँग गरिरहेको छ । तर, काठमाडौँलाई हेर्दा फुटपाथ व्यवस्थापन गर्न घम्साघम्सी गर्नुपर्ने देखिन्छ । ललितपुरले कसरी व्यवस्थापन गरिरहेको फुटपाथ ?

ललितपुरले फुटपाथमा पसल सञ्चालन गर्नेलाई बल प्रयोग गरेनौँ । हामीले बिहान र बेलुका फुटपाथ सञ्चालनका लागि समय तोकेर व्यवस्थापन गरियो । यसबाट फुटपाथ व्यापारी पनि खुसी बने भने महानगर पनि व्यवस्थित बन्यो । यसबाहेक, ललितपुरका फुटपाथ क्षेत्र पनि सुन्दर बनाएका छौँ र यी स्थान अपाङ्गमैत्री छन् । धुवाँधुलो पनि छैन र धुलो व्यवस्थापनका लागि ३ वटा ब्रुमर सञ्चालनमा छन् ।

थापाथली पुल तर्न साथ ललितपुरका सडक निकै नै उज्याला छन् । महानगरका सडकहरू रातीको समयमा एकदमै उज्यालो बनाउन कसरी सम्भव भयो ?

काठमाडौँ महानगरले १४ सय वटा रात्रिकालीन स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । यी लाइटहरू ब्याट्री र सोलारबाट चल्ने होइनन् । सोलारबाट चल्ने लाइटहरू राम्रोसँग चल्दैन र त्यसमा प्रयोग भएका ब्याट्री समेत कमसल छन् । काठमाडौँका सडकमा राखिएका सोलार बत्ती जुनकिरी जस्तै बल्छन् र जमिनसम्म उज्यालो दिँदैनन् । मेरो पहिलो कार्यकाल अघि ललितपुरमा पनि १ हजार २६ वटा सोला बत्ती जडान गरिएको थियो । नगरवासीसँग २० प्रतिशत योगदान लिएर जडान गरिएका बत्ती असफल योजना थियो । मेरो कार्यकालमा सोलार बत्ती जडान नै नगर्ने भन्ने निर्णय नै गरेर कुलमान घिसिङसँगको सहकार्यमा स्मार्ट स्ट्रिट लाइट जडान गरियो । रातीको समयमा जडान गरिएको बत्तीको मासिक शुल्क भुक्तान गर्नुपरे पनि ललितपुरका सडक उज्याला बनेका छन् ।

स्मार्ट लाइटलाई मानवले नियन्त्रण गर्नै पर्दैन । रात पर्नसाथ आफैँ बल्ने र उज्यालो भएसँगै आफैँ निभ्छन् । यस्तै, ८० वाटका लाइट जडान गरिएकोमा भिडभाड र बढी आवतजावत हुने समयमा पूर्ण क्षमतामा स्वचालितरुपमा चल्छन् । र, आवतजावत कम हुन साथ ६० वाटमा स्वचालित प्रणालीबाट घट्छ । यही कारण ललितपुर काठमाडौँभन्दा धेरै उज्यालो छ ।

काठमाडौँका मेयर बालेनसँग विभिन्न विषयमा समन्वय भइरहेको हुन्छ । तर, कहिलेकाहीँ कुनै विषयमा सोध्नुहुन्न र अन्त्यमा सोध्नुहुन्छ । जबकि, उक्त समयसम्ममा काम बिग्रिसकेको हुन्छ ।

महानगरलाई व्यवस्थित बनाउनमा ललितपुरबाट काठमाडौँले के सिक्न जरुरी छ जस्तो लाग्छ ?

धेरै स्थानीय पालिकाहरूमध्ये कुनै पालिका एउटा कामका लागि र अर्को पालिका अर्कै कामका लागि उत्कृष्ट छन् । ललितपुर महानगरले भक्तपुरबाट शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षण गर्न सिक्न जरुरी छ । यस्तै, ललितपुरबाट अन्य पालिकाले हरियाली वृद्धि, स्मार्टलाइट र स्वच्छ र सफा राख्ने विषय सिक्दा फाइदा हुन्छ जस्तो लाग्छ ।

काठमाडौँ र ललितपुर महानगरबीच समन्वय भइरहेको छ ? समन्वय भएको छ भने कस्ता विषयमा भइरहेको छ ?

काठमाडौँका मेयर बालेनसँग विभिन्न विषयमा समन्वय भइरहेको हुन्छ । धेरै विषयमा काठमाडौँका मेयरले मसँग समन्वय गर्नुहुन्छ । तर, कहिलेकाहीँ कुनै विषयमा सोध्नुहुन्न र अन्त्यमा सोध्नुहुन्छ । जबकि, उक्त समयसम्ममा काम बिग्रिसकेको हुन्छ । यसलाई सुधार गरे हुन्थ्यो जस्तो लाग्छ ।

काठमाडौँ महानगरलाई ललितपुरकातर्फबाट सुझाव दिन पर्‍यो भने कस्ता सुझाव दिनुहुन्छ ?

काठमाडौँका मेयरलाई सुझाव दिनुपर्ने विषय धेरै छैनन् । तर, उहाँलाई सुझाव दिनुपर्दा स्मार्ट स्ट्रिट लाइट जडानका विषयमा सुझाव दिएको थिए । र, उहाँले छिट्टै १० हजार लाइट जोड्छु भन्नु भएको छ । यस्तै, हामीले काठमाडौँसँग आर्थिक विधेयकका विषयमा सुझाव माग्छौँ । यसबाहेक फोहोर सङ्कलनको विषय र संस्कृति संरक्षणका विषयमा समेत हामी सुझाव आदानप्रदान गर्छौँ । यस्तै, दमकल व्यवस्थापन लगायतका विषयमा समेत समन्वय हुन्छ ।

सुरु–सुरुमा हामीले दमकल व्यवस्थापनको विषय काठमाडौँबाट सिकेका थियौँ । अब भने हामी धेरै व्यवस्थित बनिसकेका छौँ । हामी एउटै छानामुनिबाट दमकल, एम्बुलेन्स र शव वाहन सेवा सञ्चालन गर्दै आइरहेका छौँ । यस्तै, दमकलको पछिपछि एम्बुलेन्सको व्यवस्था गरेका हुन्छौँ र आगलागी भएको स्थानको मागअनुसार नगर प्रहरीको तैनाथ समेत गर्दै आइरहेका छौँ । यो विषय काठमाडौँले सिक्न जरुरी छ ।

ललितपुरको नगर प्रहरीका कारण पनि स्वच्छ, सुन्दर र सभ्य नगर बन्न सफल बनेको हो ?

संविधानको अनुसूची ८ मा नगर प्रहरी व्यवस्थापन सम्बन्धी विषय छ । नगर प्रहरीको व्यवस्थापनमा चाहिँ नगर प्रहरी अग्रस्थानमा छ । ललितपुरमा जम्मा ७२ जना नगर प्रहरी छन् । र, त्यसको नेतृत्व सीताराम हाछेथुले गर्दै आइरहनुभएको छ । उहाँको नेतृत्वमा रहेको नगर प्रहरीले फुटपाथ व्यवस्थापनदेखि नगरलाई स्वच्छ राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । धेरै मेयर सापहरूले आफ्नो पालिकामा उहाँ (सिताराम हाछेथु)लाई लिएर जान खोज्नुहुन्छ । तर, हामीले पठाएका छैनौँ । बरु, उहाँले अन्यत्र तालिम दिनुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया