सडकमा फक्रिएका कवि असीम सागर
काठमाडौं । र, दृष्टिविहीन भोका पेटहरू
एक गाँस उज्यालोको पर्खाइमा छन्,
उनीहरूकै छेउमा बसेर
खुइलिएका मजेत्राहरू साग बेच्दैछन्
उध्रिएका कमिजहरू मोजा बेच्दैछन्,
र हजारौँ जुत्ता, मोजा र टोपीहरू
सडकमा आवतजावत गर्दै छन्
कृपया त्यो सातौँ तलाको झ्यालबाट
बाहिर नथुक्नु होला ।
प्रस्तुत कविता कवि असीम सागरको ‘सडकको आवाज’ शीर्षकको कविता अंश हो । निम्नवर्गीय मानिसका भोगाई र राष्ट्रप्रेमलाई कविताको विषयवस्तु बनाउने कवि असीम सागर ललितपुरको मङ्गलबजारमा बसोबास गर्छन् ।
असीम सागरका दुःखको असीम सागर छन्, जुन उनले कविताका पंक्तिमार्फत् पोख्छन् । मुखमा माड लाउन काठमाडौंको सडकमा साग, आलु बेच्छन् । उनी आफूले बेच्न राखेका तरकारी ओल्टाई पल्टाई हेर्छन् । फर्सीको बोटले अलिकति मुन्टो उठायो कि निमोठ्ने निष्ठुरी किसानलाई सागको दुःख नसम्झिएको कुण्ठा कवितामा पोख्छन् ।
असीम सागर अर्थात् फत्तेमान श्रेष्ठ कविता लेखेर कविताजस्तै बाँच्न सकूँ भन्छन् । “मैले राम्रो कविता सुन्ने, पढ्ने तपार्इंहरूको मनोकामना पूरा गर्न सकेँ भने त्यसलाई जीवनको सबैभन्दा ठूलो उपलब्धि ठान्ने छु,” उनी भन्छन् ।
सरल अनि सोझा कवि उनको कविता कक्षा १२ को ऐक्षिक नेपाली पुस्तकमा भर्खरै समेटिएको छ । ‘टोको’ शीर्षकको सो कविताले घर, परिवार, राष्ट्र र राष्ट्रियता बचाउन गर्नुपर्ने सङ्घर्ष र जिम्मेवारीलाई प्रतीकात्मक अभिव्यक्ति दिएको छ ।
कविता पाठ्यक्रममा नै परेपछि उनी अहिले थप चर्चामा छन् । “कक्षा १२ मा मात्र होइन, काठमाडौँ विश्वविद्यालयको बीएसडब्ल्यूको कोर्समा पनि मेरो कविता परेको छ ।
‘सडकको आवाज’ भन्ने कविता”बारे असीम सागरले रमाउँदै भने, “म जसरी पागल जस्तो भएर, के खाने, के लगाउने यावत् चिन्तालाई पर राखेर कवितामा रमाउने जुन आदात थियो, त्यो चाहिँ मैले ठिकै गरेछु भन्ने अहिले आएर लागेको छ ।” उनले त्यसैको साधनाको प्रतिफल र पुरस्कार ठानेका छन् ।
सङ्घर्षको अविरल यात्रा
कवि असीम सागर अर्घाखाँचीको वाङ्ग्लामा जन्मिएका हुन् । कृष्णप्रसाद श्रेष्ठ र कृष्णकुमारीका ज्येष्ठ सुपुत्रका रूपमा जन्मिएका उनका पाँच जना दाजुभाइ र तीन जना दिदीबहिनी छन्।
असीम सागरको शिक्षा वाङ्लामै रहेको सरस्वती प्राविबाट सुरु भएको थियो । कक्षा ३ सम्म त्यस विद्यालयमा अध्ययन गरेपछि वाङ्लाकै जीवनोद्वार माविमा १० कक्षासम्मको अध्ययन गरे । त्यसपछि भारतको दिल्ली गए ।
बुवा अवकाशप्राप्त इन्डियन आर्मी थिए । उनको पेन्सनले परिवार पाल्न केही भरथेग त गथ्र्यो तर परिवार ठूलो भएकाले त्यो ‘हात्तीको मुखमा जिरा’ सरह हुन्थ्यो ।
ठुलो परिवार भएकाले आर्थिक भरथेगको जिम्मेवारी असिमलाई पनि थियो । बुवा र समाजसमेतकोे निकै दबाब उनले झेल्नु पर्यो । कडा स्वाभावका बुवा र परिवारप्रतिको जिम्मेवारीका कारण पैसा कमाउन भनेर असीम सागर गाउँकै साथीहरूसँग २०४७ सालतिर दिल्ली हिँडेका थिए ।
त्यो क्षण सम्झँदै असीम सागर भन्छन्, “साथीहरूसँग दिल्ली जा भन्दै आमाले पटुकाको गाँठो फुकाएर ४ सय रुपैयाँ दिनुभएको थियो, दिल्ली गएँ तर भनेजस्तो जागिर पाइएन ।” त्यहाँ उनले विभिन्न व्यक्तिका घरमा, होटलमा, दोकानमा काम गर्दै छोड्दै हिँडे ।
दिल्लीपछि उनी नागाल्यान्ड गए । त्यहाँ बस्दा कालेबुङका सहदेव धिताल आर्मी क्याम्पभित्र काम गर्थे । सीआरपी क्याम्पभित्र उनी अर्कैको टेलिफोन बुथ चलाएर बस्थे ।
असीम सागर जहाँ पनि, जहिले पनि गजल र मुक्तक लेखेर सुनाउने गर्थे । सोही क्रममा धितालसँग भेट भएको थियो । धितालले यस्तो राम्रा गीत, गजल र मुक्तक लेख्ने तपाईं दार्जिलिङ, कालिम्पोङतिर गएमा राम्रो प्लेटफर्म पाउनुहुन्छ भनेर सल्लाह दिएका थिए । अनि उनीसँगै असिम दार्जिलिङ, कालिङपोङतिर लागे । उनकै घरमा पाँच ६ महिना बसे ।
त्यसपछि असीम सागर आफ्नै घर अर्घाखाँची फर्किए । घर आएपछि पनि उनलाई केही गर्नुपर्छ भन्ने हुटहुटीले छोडेन अनि हेलिए काठमाडौँतिर ।
सिर्जना यात्रा
असीम सागरले फाट्टफुट्ट कविता लेख्न थालेको विद्यालय अध्ययन गर्दाकै समयदेखि हो । प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै भएको २०४६ सालको आन्दोलनमा पनि उनले जोशिला कविता लेखेका थिए । त्यो परिस्थितिका कविताको प्रतियोगिताहरूमा उनले पनि भाग लिएको अझै सम्झन्छन् । तर छाप्न लायकका कविता भने २०५०/५१ सालदेखि लेख्न थालेको उनी बताउँछन् ।
उनी नेपालमा मात्र होइन, जनजीविकाका लागि दिल्ली पुग्दा पनि आफ्नो कवि प्रतिभा मर्न दिएनन्, लेखिरहे । “मैलेचाहिँ सुनौली, दिल्लीतिर काम गर्दा कविता लेख्ने अनि साथीहरूलाई सुनाउने गर्थें,” असीम सागर भन्छन्, “अहिले पनि ती पुराना डायरीहरूमा छन्, मुसा, धमिराले खाएका ।” तर उनको पहिलो पटक छापिएको सिर्जना भने गजल हो । सो गजल सम्पादक मधु लम्सालले खोजतलास पत्रिकामा छापिदिएको सम्झन्छन् ।
बिजु वज्राचार्यले गजल लेखाउन काठमाडौँ बोलाए
२०५७ सालसम्म असीम सागरका गीत गजल निकै चर्चित भइसकेका थिए, विभिन्न गायकगायिकाले समेत गाउने गर्दथे । २०५८–५९ तिर रामकृष्ण ढकालले पनि उनले लेखेको एउटा गीत गाएका थिए । शिखर एल्बमा सङ्कलित सो गीतको बोल थियो– सुन चाँदी हीरा मोती औँठी र हार भए... ।
असीम सागर भन्छन्, “२०५७ सालताका मेरो गीत रामकृष्ण ढकालले गाएका थिए । त्यसका सङ्गीतकार बिजु वज्राचार्यले यो गीतमा सङ्गीत भरेपछि मलाई काठमाडौँ बोलाए ।” यसरी उनको प्रतिभालाई पहिचान गरी अर्घाखाँचीबाट काठमाडौँ ल्याउने काम बिजु वज्राचार्यले गरेका रहेछन् । तर त्यतिबेला उनी फत्तेमान श्रेष्ठ भनेर चिनिन्थे ।
काठमाडौं आएपछि उनी सङ्गीतकार बिजु वज्राचार्यकै घरमा बसेको उनी सुनाउँछन्, “बबरमहलमा दुई महिना जति उहाँसँगै बसेँ ।” वज्राचार्यले बजाउने धुनअनुसार उनले गीत लेख्थे ।
त्यो दुई महिना त्यहाँ बस्दा गीत, गजल थुप्रै लेखे । कति रेकर्डमा आए, कसका नाममा आए, असीम सागरलाई थाहा छैन । भन्छन्, “मेरा नाममा आए, आएनन्, मैले खोजतलास पनि गरिनँ । यति वटा छोडेर आएको छु भनेर रेकर्ड पनि राखिनँ ।”
आफ्ना सिर्जनाको सङ्कलन र व्यवस्थापन अझै पनि गर्न नसकेको उनी स्वीकार्छन् । सङ्गीतकार वज्राचार्यसँग असीम सागरको गीत लेखनको सहकार्य दुई महिनापछि टुट्यो । किनकि गीत लेखेर मात्र बाँच्न सक्ने अवस्था उनको थिएन, अनि लागे आर्टतर्फ ।
आर्ट तथा पेन्टिङ व्यवसायको सुरुवात
वज्राचार्य निवासबाट बाहिरिएपछि जीवन निर्वाहका लागि असीम सागरले आर्टको काम सुरु गरे । खासमा उनी आर्टिस्ट बन्छु भनेर नै काठमाडौँ आएका थिए । आर्ट तथा पेन्टिङमा सानैदेखि उनको रुचि थियो । अर्घाखाँचीमा हुँदै उनले स्तरीय आर्ट गर्न सिकेका थिए । विभिन्न प्रतियोगितामा भाग पनि लिन्थे र पुरस्कार पनि जित्थे । पैसा कमाउन भनेर दिल्ली पुग्दा पनि आर्टको काम छोडेनन् ।
सानैदेखिको यो सोखलाई उनले काठमाडौँमा पेसा बनाउने अठोट गरे । कोठामै बसेर पेन्टिङ तयार गरेर स्वयम्भू, भक्तपुर, पाटन ग्यालरीमा लगेर बेच्न दिए । तर ती ग्यालरीले बिक्री भएका पेन्टिङको पैसासमेत दिएनन् ।
“कतिले आफ्नो मुहारचित्र बनाउन दिए, उनीहरूले पनि पैसा दिएनन्,” असीम सागर भन्छन्, “लगभग दुई वर्षसम्म आर्ट गरेँ, त्यसपछि क्यानभास किन्न, कलर किन्न खर्च धान्न नसकेर यो पनि छोडेँ ।”
चुलै बाल्न पनि असीम सागरलाई धौ धौ परेपछि यो पेसा छोडे । अनि ठेला किनेर तरकारी व्यवसाय सुरु गरे ।
ठेलामा तरकारी बेच्दाको स्वतन्त्र अनुभूति
आर्ट तथा पेन्टिङ व्यवसाय असफल भएपछि असीम सागर काठमाडौँकै एक जना नेवार साथीसँग २०५९ सालमा ३६ सय रुपियाँ हालेर एउटा ठेला किने । अनि थाले तरकारी बेच्न ।
ठेला किनेर व्यवसाय गर्दा उनलाई निकै स्वतन्त्र भएको महसुस भयो । “सकेजति बेच्ने, आफ्नो कमाइ, आफूमाथि कसैको दबाब र रवाफ नरहने, एकदमै स्वतन्त्र भएको अनुभूति भएको थियो,” असीम सागर सम्झन्छन् ।
ठेला किनेर तरकारी व्यवसाय सुरु गरेको करिब एक वर्षपछि उनलाई परिवार पाल्न सक्ने आँटसमेत आयो । “यति भएपछि परिवार पाल्न सक्छु भन्ने भएपछि अर्घाखाँचीबाट परिवार लिएर आएँ,” असीम सागर भन्छन्, “भाडा तिरेर कालीमाटीबाट तरकारी ल्याउँथेँ, अनि घरबाट ठेलामा राखेर डुलाउँदै बेच्दै हिँड्थेँ ।” यसबाट उनलाई निकै राम्रो आम्दानी भयो । कसैको गाली सुन्नु पनि नपरेको, आफ्नो स्वाभिमानले बाँचेको र गौरवको महसुस भयो ।
यो पेसा अपनाएर उनी करिब दुई वर्ष परिवारसँगै बसे । त्यतिबेला माओवादी आन्दोलन चरमोत्कर्षमा थियो । देशमा सङ्कटकाल लागेको थियो । देशमा बसेर अब केही गर्न नसकिने अनुभूति उनलाई भइरहेको थियो । २०६१ सालको एक बिहान, तरकारी लिन कालीमाटी जान्छु भनेर हिँडेका असीम सागर एकाएक बेपत्ता भए ।
लगनखेलको डेरामा काखे दुई छोरा र श्रीमती थिए । कालीमाटी तरकारी लिन भनेर गएका उनी एकाएक बेपत्ता भएपछि परिवार पाल्ने सबै जिम्मेवारी श्रीमतीमा आयो ।
अनि उनको त्यो ठेला चलाएर मसिना छोराछोरीको भोक मेटाउने जिम्मा श्रीमतीको काँधमा आयो । “राम्रोसँग जोख्न, पैसा फिर्ता दिन नजान्ने श्रीमतीले ठेला चलाइन्,” असीम सागरले अँध्यारो अनुहार लगाउँदै भने, “काखे बच्चालाई पिठ्यूँमा बोकेर लगनखेलका गल्ली गल्ली ठेला डुलाउँदै तरकारी बेचिछन् ।”
एक्लै हुँदा पनि गाउँ नगई यतै केही गर्छु भन्ने हिम्मत श्रीमतीमा पलाएकोमा उनी गर्व गर्छन् । आफू हिँडेपछि नै महिला भएर पनि केही गर्न सक्छु भन्ने आँट श्रीमतीमा पलाएको उनी सुनाउँछन् । “मैले छोडेर गएपछि उनका आफन्तहरू कोही पनि आएनछन्,” असीम सागर भन्छन्, “दुःखमा आफन्त भन्ने कुरा पनि हुँदो रहेनछ, सबै तर्केर हिँड्दा रहेछन् ।” पछिल्लो समय डेराबाटै त्यो ठेला चोरी भयो ।
दार्जिलिङमा पाएको त्यो सम्मान
लगनखेलबाट विरक्तिएर हिँडेका असीम सागर एकाएक दार्जिलिङ पुगे । त्यहाँ बस्दा उनले पेन्टिङ बनाएर बेचे, सँगसँगै गजलहरू लेखे, विभिन्न कार्यक्रमहरूमा सुन्ने सुनाउने काम गरे । दार्जिलिङमा त्यतिबेला गोर्खाल्यान्ड आन्दोलन निकै चर्किएको थियो ।
भारतीय नेपालीहरूलाई त्यहाँको प्रशासनले भारतीय नागरिकका रूपमा नहेरी दोस्रो दर्जाका रूपमा हेर्ने गरेकाले आफ्नो पहिचानका लागि छुट्टै प्रान्तको माग गर्दै थिए । त्यो परिवेशलाई समेटेर असीम सागरले प्रभावशाली गजल र कविता लेखेका थिए ।
“एउटा गजल लेखेर पचास हजार रुपियाँसम्म मैले थापेँ,” दार्जिलिङको आन्दोलनको स्मरण गर्दै असीम सागरले भने, “त्यो रकम गोर्खा आन्दोलनका नायक विमल गुरुङले दिएका थिए ।” उनले त्यसबेलाको गजल सम्झिए–
अन्धकारमा हिँड्नलाई
पुल्ठो या त जून चाहिन्छ
गोर्खाल्यान्ड त्यसै हुन्न
थोपा थोपा खुन चाहिन्छ ।
यो पचास हजार रुपियाँ पुरस्कारको रूपमा नभई जनसभामा उनले गाएको गजलबाट प्रभावित भई दिइएको थियो । “यो गजल सुनाएपछि मान्छेहरू एकदमै उत्साहित भए, अनि यस्तो मान्छेलाई हामीले सहयोग गर्नुपर्छ, बचाएर राख्नुपर्छ भनेर सहयोग गर्नु भएको थियो,” असीम सागर भन्छन् ।
दार्जिलिङ बस्दा भारतीय नेपालीहरूको नेपाली भाषाप्रति सम्मान र प्रेमलाई नजिकबाट उनले नियाले । त्यस क्रममा उनले सन् २००७ मा ‘जून पोखिएको रात’ गजल सङ्ग्रह प्रकाशित गरे । दार्जिलिङमै रहँदा उनले २००८ मा ‘अस्तित्वका आवाजहरू’ र २००९ मा ‘स्वर्गको सपना’ गजल सङ्ग्रह प्रकाशित गरे । “त्यहाँ यी गजलहरू व्यापक रूपमा बिक्री भएका थिए,” असीम सागर सम्झन्छन् ।
त्यस्तै, त्यतिबेला गृहमन्त्री जसवन्त सिंह कालेबुङ आउँदा पनि उनलाई भारतीय नेपालीहरूले समग्र भारतीय साहित्यको नेतृत्व गरेर गजल सुनाउन लगाएका थिए । त्यहाँ असीम सागरले यो गजल प्रस्तुत गरेका थिए–
मक्सद हे इस देशमे
सर उठाकर जिना हमारा,
गोली से भी कुछ नहोगा
पत्थरका ये सिना हमारा...
यो गजल जनसभामा सुनाउँदा उनको समर्थनमा तालीका पर्रा छुटेका थिए ।
उनी दिल्ली, गोवा जहाँ धेरै ठाउँमा गजल लेखे, सुनाए । त्यसलाई मञ्च दिने काम, कला र क्षमताको पहिचान गराउने काम भने कालेबुङले गरेको असीम सागर बताउँछन् ।
शरीरमा काँडा उमार्ने गजल
असीम सागरका कविता र गजल कुनै दार्शनिक खालका नभई मान्छेका हृदय स्पर्श हुने खालका छन् । उनले भारतीय नेपालीको राष्ट्रप्रेमले भरिएको टिस्टा रङ्गीन शीर्षकको कविता यसरी सुनाए–
सम्झीकन देशका सहिद
गोर्खाहरू थिए पुग्छ
धेर केही चाहिया छैन
गोर्खाल्यान्ड दिए पुग्छ
सौतेनीको छोरा जस्तो
हेला किन गर्छौ आमा
अलिकति ममताको
बोध मात्र सिए पुग्छ ।
अंशवण्डा गर्दिंदैमा
अपुताली हुन्न आमा
मर्नु परे मर्छौं हामी
केवल सम्झिलिए पुग्छ
सिन्की खार दिनभर
कोरा तान्न पर्छ परोस्
हामी आफ्नो अस्तित्व र
स्वाभिमानमा जिए पुग्छ
बङ्गालबाट छुट्टिँदैमा
भोकै मर्नु पर्छ भने
टिस्टा रङ्गीन छँदै छ नि
त्यहीँको पानी पिए पुग्छ ।
आफ्नो गजल सुनेर भारतीय नेपालीहरूको शरीरमा काँडा उम्रिन्थे भन्छन् उनी । “हेर्नुस् त, तपाईंको गजल सुनेर शरीरमा काँडा उम्रियो भनेर देखाउँथे,” असीम सागरले हाँस्दै भने, “न आफ्नो ठाउँ, न आफ्नो राज्य तर पनि तपाईंले गोर्खाल्यान्डका लागि यस्ता गजल लेखिदिनु भयो भन्दै काँडा उमे्रको देखाउँथे ।” उनले अर्को गजल सुनाए–
कति बस्नु रातमा अझै
शीत लाग्छ पातमा अझै
इतिहास पल्टाइ हेर
ढुङ्गा लाग्छ दाँतमा अझै
हरेस खाएनौ भने कतै
जित छ हाम्रो हातमा अझै
दम छ कति देखा असीम
यो गोर्खालीको जातमा अझै..
यस्ता दमदार गजल लेख्ने उनको साहित्यिक योगदानलाई दार्जिलिङले अझै सम्झिँदै छ । दुई महिनाअघि भारतीय नेपाली गजल समाजले डुबर्समा उनलाई बोलाएर सम्मान गरेको थियो । “भारतीय नेपाली गजलको सन्दर्भमा जहाँ जहाँ कुरा उठ्छ, त्यहाँ मेरो चर्चा हुन्छ,” असीम सागर गर्व गर्दै भन्छन्, “यो इतिहास चाहिँ मैले बनाएँछु ।”
अहिले आएर रुपियाँ पैसा नकमाए पनि जे गरेँ ठीक गरेँ ठिक गरेँ भन्ने उनलाई लागेको छ । यो इतिहास पैसाले कमाउन नसक्ने हुनाले आफू मात्र नभई परिवार पनि सन्तुष्ट रहेको उनी बताउँछन् ।
कविता सिकाएर सिकिने विधा होइन
कविता सिकाएर सिकिने विधा होइन, जीवन भोगाइबाटै जन्मिने असीम सागरको अनुभव छ । तर त्यसका लागि अरूको कविता पनि अध्ययन गर्न आवश्यक ठान्छन् ।
हरिभक्त कटुवाल, भूपि शेरचन, मोहन कोइरालालगायत अग्रज धेरै कविका कविता अध्ययन गरेर त्यसबाट प्रेरित भएको उनी सुनाउँछन् । “कविता लेख्छु भनेर भाव र दुःखेसो थुपारेर मात्र कविता बन्दैन,” असीम सागर भन्छन्, “त्यसलाई मन छुने हिसाबले कसरी पाठकमाझ सम्प्रेषण गर्ने हो, त्यो कला पनि चाहिन्छ ।”
कविगोष्ठीमा कविता सुनाउँदा कतिपय पाठकले वा...वा... गरेर दिने प्रतिक्रियाको पनि भाव बुझ्न आवश्यक ठान्छन् । कुन आशयले, कसरी वा...वा... गरिरहेका छन् भन्ने विचार पुर्याउनुपर्ने ठान्छन् असीम सागर ।
यस क्रममा कुनै प्रतियोगितामा कम ताली पिटे भने घरमा आएर उनी त्यो कविता १०–१५ चोटि परिमार्जित गर्थे । यसरी परिमार्जन गर्न असीम सागरलाई कहिल्यै अल्छी लागेन । जहाँ बस्यो त्यहीँ कविता लेख्ने, जस्तो पायो त्यस्तै कविता लेख्नु हुँदैन, कविता भनेको भित्रबाट आउनुपर्छ भन्छन् उनी ।
झर्दै गरेको पातलाई पनि कल्पना र जीवन्तता दिन सक्ने सिर्जनशील क्षमता कविमा हुनुपर्ने उनको बुझाइ छ ।
सिर्जनाबाट सन्तुष्ट
कविता राम्रो लेख्न सक्यो भने अरूले नै प्रचारप्रसार गर्छन्, आफूले गर्नै पर्दैन भन्छन् असीम सागर । आफूले पनि निरन्तर लेख्दै सुनाउँदै हिँड्दा सबैले मन पराएर नै अहिले पाठ्यक्रममा परेको सुनाउँछन् । केही समय अघि उनले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक राजन पनेरुलाई आफ्ना कविता सङ्ग्रहहरू दिएका थिए । त्यसको उचित मूल्यङ्कनबाट कक्षा १२ को पाठ्यक्रममा समावेश हुन सकेको उनी बताउँछन् ।
तर दुई चार कविता सङ्ग्रह निस्किए, केही मान्छेले मनपराए, पाठ्यक्रममा पनि समावेश भयो भन्दैमा म कवि हुँ भन्दै हिँड्न सक्दिनँ भन्छन् उनी । आफूलाई अरू सामान्य मानिस जसरी सबैले चिने पुग्छ भन्छन् ।
“देशविदेश घुमेर हन्डर नखाएको भए मेरै देशको सडक पेटीमा दुई मुठा साग बेचेर भए पनि बाँच्छु भन्ने साहस आउने थिएन,” असीम सागर भन्छन्, “मनमा देशप्रेम जाग्ने थिएन, देशप्रेमका कविता फुर्ने थिएनन् ।” असल मान्छे बन्न दुस्मनहरू र उत्कट चाहना र साधना पनि चाहिने उनको ठहर छ । आफ्नी श्रीमतीले कविता नबुझे पनि अरूले आफ्नो चर्चा गरेको सुनेर खुसी हुने गरेको उनले सुनाए ।
अहिले पनि लगनखेल आसपासमा बिहान बेलुकी सडकमै व्यवसाय गर्दै आएका असीम सागर कविता लेख्न भने छोडेका छैनन् । सिर्जना उनको नशा नै बनेको छ । “मसँग पुलिसले लखेटेका, खोसेका, सडकभरि छरिदिएका जुत्ता, मोजा र तरकारीका कविताहरू छन्,” उनी भन्छन्, “तिनमा भारतमा बसेर घर, दोकान, फ्याक्ट्रीमा काम गर्दा र पाले हुँदा बहादुर भनेर हेपिएका चेपिएकाहरूको आवाज समेटिएका छन् ।” असीम सागरले संवादको अन्त्य गर्दै सडकको आवाज शीर्षकको पुरै कविता सुनाए–
कृपया त्यो सातौँ तलाको झ्यालबाट
बाहिर नथुक्नु होला
तल सडक पेटीमा
केही असाह्य फुलेका केशहरू
हात या खुट्टा नभएका केही जोर आँखाहरू
र, दृष्टिविहीन भोका पेटहरू
एक गाँस उज्यालोको पर्खाइमा छन्,
उनीहरूकै छेउमा बसेर
खुइलिएका मजेत्राहरू साग बेच्दैछन्
उध्रिएका कमिजहरू मोजा बेच्दैछन्,
र हजारौँ जुत्ता, मोजा र टोपीहरू
सडकमा आवतजावत गर्दै छन्
कृपया त्यो सातौँ तलाको झ्यालबाट
बाहिर नथुक्नु होला ।
बाढीले बनमारा र सिस्नु मात्र बगाउन्न
पहिरोले घरको आँगन र मठ मात्र पुरिन्न
अलिकति फर्सीको बोटले मुन्टो उठायो कि
निमोठ्नु हुन्छ तपाईं ?
फैलिन खोजेको दूबो
उखेल्नु हुन्छ तपाईं ?
खेतका गराझैँ पट्पटी फुटाएर बाजेले कुर्कुच्चा
घाँस दाउराका भारीले पिल्साएर बजैले ढाड
बाबुलाई साक्षार बनाउनु भएको
बाबु साक्षार भएपछि मात्र सहर पस्नु भएको तपाईं
र, बनाउनु भएको हो त्यो सातौँ तलाको भवन
याद राख्नुस्, माथि बसेर जहाँ थुकिरहनु भएको छ नि
त्यही धुलोबाट बाजेको करङ टेकेर उक्लिनु भएको तपाईं
भर्खरै केही भग्नावशेषबाट
नली हाड र खुट्टाहरूको उद्धार गरिएका छन्
धरहराजस्तै अग्ला नाकहरू विस्थापित भएका छन्
अझै सुकिला टाई र सुटहरू राहतको पर्खाइमा छन्
अझै केही चौडा छातीहरू त्यो धुलोबाट निकाल्न बाँकी छ ।
मैले जजसको लाश गाडेर अथवा जलाएर आएँ
अहँ कसैको हातमा कन्तुरको चाँदी र जमिनको लालपूर्जा देखिन
यसरी भाँच्छ निर्मोही बतासले सुनाखरीको हाँगा
हाँगा भाच्चिएपछि फूललाई पानी छम्किनुको कुनै अर्थ छैन
कृपया त्यो कृपया त्यो सातौँ तलाको झ्यालबाट
बाहिर नथुक्नु होला ।