सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाथीभरा देवीको महिमा र मिथक

शनिबार, ३० वैशाख २०८०, ०६ : ४२
शनिबार, ३० वैशाख २०८०

ताप्लेजुङ जिल्लाको पाथीभरा डाँडामा अवस्थित पाथीभरा मन्दिर पछिल्लो समय धेरै नै चर्चामा रहेको लोकप्रिय देवथान हो । समुन्द्र सतहबाट ३,७९४ मिटर उचाइमा रहेको र आवत जावत गर्न कठिन हुने भए यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । 

पाथीभरा लोकप्रिय हुँदै जानुमा मन्दिर रहेको स्थान, त्यहाँको वातावरणको साथै धार्मिक आस्थाको पनि त्यतिकै ठुलो भूमिका रहेको छ । 

दुई दशक अघिसम्म देवीको हाल देखिएको मूर्तिको स्थापना गरिएको थिएन । देवीको थानमा भक्तजनहरूले चढाएका मूल्यवान् सामग्री सुन, चाँदी, गरगहना र रुपैयाँ यत्रतत्र छरिएको हुन्थ्यो । 

चढाइएका ती सरसमान  कसैले लियो भने उक्त व्यक्तिलाई अनिष्ट हुन्छ भन्ने जनविश्वास रहिआएको हुँदा सामान्यतया कसैले पनि देवीथानमा चढाईएका समान लिने, छुने चलन थिएन ।  

पहिले पाथीभरामा कूनै पुजारी बस्दैन थिए । केही वर्ष यता आएर जिल्लावासीहरुको  पहलमा मन्दिरमा चढाइएको सबै प्रकारका जिन्सी तथा नगदको सङ्कलन गरी मन्दिर निर्माण गरिएको र धार्मिक पर्यटक स्थलको विकास गर्न केही वासस्थानसहित मन्दिरमा पुजारी पनि व्यवस्था गरिएको छ  ।

पाथीभरा देवीको स्थापनाको कथा

धार्मिक आस्था भएका जुनसुकै धर्म मान्ने व्यक्तिहरूले पनि निर्बाध रूपमा पाथीभरा गएर देवीको आराधना गर्दा मनोकाङ्क्षा पुरा हुन्छ भन्ने विश्वास गरिन्छ । 

यसरी देवी पाथीभराको स्थापना कहिले र कसरी हुन पुग्यो भन्ने कुरा जनमानसमा कौतुहलता हुने गर्दछ । परापूर्वकालबाट नै केही  किम्बदन्तीहरू सुनिँदै आएको पाइन्छ । 

एक किम्बदन्तीअनुसार एकजना भेडा गोठालोले अहिले स्थापना भएको पाथीभरा माताको मन्दिर वरिपरि सयौँको सङ्ख्यामा भेडा लगेर चराउने गर्दथे । सोही  समयमा एकदिन साँझ उनका सयौँको  सङ्ख्यामा रहेका भेडाहरू आफ्नो वासस्थानमा फर्केनन् । 

यसरी आफ्ना कुनै भेडा नफर्केपछि खोज्न दौडिए । तर जति खोज्दा पनि नभेटेपछि दुःखी भए । थकित भएका उनी रात परेपछि आफ्नो वासस्थानमा निदाएछन् । सोही रात उनलाई  देवी प्रकट भएर हालको मन्दिरस्थित क्षेत्रमा देवीको थान स्थापना गरे सबै भेडाहरू फर्किने र बाँकी जीवन सुखमय बन्ने सपना देखेछन् ।  

सपनाको कुरामा विश्वास गरेर भोलिपल्ट बिहान उनले सबै प्रक्रिया पुरा गरी शुद्ध मनले पूजा आराधना गरी, बलि चढाएर देवीको थानको स्थापना गरेछन् ।  त्यसको केही  समयपछि नै उनका हराएका सबै भेडा फिर्ता आएछन् । 

पछि बिस्तारै त्यो कुराको चर्चा गाउँभरि फैलिँदै गएछ ।  त्यही समयबाट प्रत्येक वर्ष त्यहाँ पूजा, आराधना गर्ने, सुखी जिन्दगीका लागि भाकल गर्ने र बलि चढाएर देवी खुसी  बनाउने परम्पराको थालनी भयो भन्ने विश्वास गरिन्छ । 

यद्यपि प्राणी मात्रको रक्षाको लागि प्राणीको बलि परम्पराको अन्त्य हुन पनि जरुरी छ । कतिपयले आफ्नो मनोकाङ्क्षा पुरा भएपछि परेवा लगेर उडाउनुका साथै साथै नगद, जिन्सी, सुन जस्ता मूल्यवान् गरगहना चढाउने गर्छन् । गएको एक वर्षमा पाथीभरामा नगद र जिन्सी गरी ७ करोड भेटी चढेको खबर छ । 

कसरी रहन गयो पाथीभरा नाम ? 

देवीको नाम पाथीभरा कसरी रहन गयो,  यस सन्दर्भलाई व्याख्या गर्नु भन्दा पहिले पाथीभरा हिमाललाई गहिरिएर नियाल्नु पर्ने हुन्छ, जहाँ देवीको उत्पत्ति भएको छ । 

पाथी अर्थात् धान, चामल, गहुँ, कोदो आदिको नाप लिन गाउँघरमा प्रयोग गरिने भाँडो हो । कतिपय गाउँमा अझै माना, पाथीको प्रयोग छँदैछ । पाथीमा खाद्यबस्तुको नाप लिदा त्यसमा भरी हुँदै जसरी चुली आकार बन्छ, त्यस्तै आकारमा देवीको मूर्ति स्थापना भएको स्थानको आकार देखिने हुँदा त्यो डाँडाको नाम पाथी जस्तै भरिएको अर्थात् पाथीभरा भएको हो । र, त्यहाँस्थित देवीको नाम पनि सोही नामबाट पाथीभरा देवी रहन गएको हो भन्ने विश्वास गरिन्छ । 

यहाँ नेपालबाट मात्र नभएर भारत, भुटान, बर्मालगायत विश्वका अन्य देशका तीर्थालु आउँछन् । पाथीभरा क्षेत्र धार्मिकस्थल मात्र नभएर हाइकिङ तथा ट्रेकिङको लागि पनि त्यतिकै महत्त्वपूर्ण गन्तव्यस्थल हो, जहाँ प्रशस्त प्राकृतिक सुन्दरता र रमणीय स्थल हेर्दै स्वर्गीय आनन्दको अनुभूति प्राप्त गर्न सकिन्छ । 

सामान्यतया चैत, वैशाख र दसैँको नौरथाको समयमा देवीको दर्शनको लागि जाने परम्परा रहँदै आएकोमा, देवीको बढ्दो लोकप्रियता र यातायातको सुविधा लगायतले गर्दा हाल बाह्रैमास देवीको मन्दिरमा भक्तजनहरूको भीड देख्न सकिन्छ । 

तर त्यहाँ सकेसम्म दिउँसो १२ बजेभित्रै जानु उपर्युक्त मानिन्छ । १२ बजेपछि जोडले चल्ने हावाका वेगले असर पार्छ । 

अन्य जनविश्वास 

पाथीभरा देवीले आस्था राख्ने सबै सदाचारीजनको कल्याण गर्छिन् भन्ने जनविश्वास रहेको छ ।  औषधी र अस्पताल नभएको समयमा देवीको आराधनाबाट सबै प्रकारका रोग निको हुने विश्वास गरिन्थ्यो, जुन अद्यापि कायमै छ । 

लामो समयसम्म बोली नफुटेका बालबालिकाहरू देवीको दर्शनपश्चात् बोली फुटेको, हिँड्न नसक्ने बालबालिकाहरू हिँड्न थालेको थुप्रै उदाहरण सुन्न र देख्न पाइन्छ । देवीको भक्ति, पूजा र आराधनाले सत्य र सदाचारको लागि शक्ति प्राप्त गर्न सकिन्छ भन्ने गहिरो धार्मिक आस्था रहेको पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा ढकाल
दुर्गा ढकाल
लेखकबाट थप