मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

शुक्रबार, २९ वैशाख २०८०, २२ : ५७
शुक्रबार, २९ वैशाख २०८०

आज मिति २०८० साल वैशाख महिनाको २९ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. शरणार्थी प्रकरण

भुटानी शरणार्थीको नाममा ठगी धन्दा चलाउने गिरोहसँग साँठगाँठ देखिएको आशंकामा पूर्वसांसद आङटावा शेर्पामाथि प्रहरीले अनुसन्धान थालेको छ ।

२०७० मा रामेछाप–१ बाट संविधानसभा सदस्यमा निर्वाचित शेर्पा नेपाली कांग्रेसमा आबद्ध छन् । उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्न केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेको खुलेको छ । २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझी खोज्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संसद् सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ ।

२. एमालेमा प्रदेश खारेजीको प्रस्ताव

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा संघीयता अन्तर्गतको प्रदेश संरचना खारेजीको प्रस्तावले औपचारिक रूपमै प्रवेश पाएको छ । जारी केन्द्रीय कमिटी बैठकमा एमाले नेताहरु महेश बस्नेत, गोकुल बास्कोटा, देवी ज्ञवाली लगायतले संघीयताबारे पार्टीले पुनर्विचार गर्नुपर्ने र यसबारे बहस चलाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

३. मौद्रिक नीतिको त्रैमासिक समीक्षा

राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गरेको छ । कठिन वित्तीय स्थितिका बीच अर्थमन्त्री डा।प्रकाशशरण महतको समेत निरन्तरको दबाब र प्रभावमा सार्वजनिक मौद्रिक नीतिमा केन्द्रीय बैंकले केही लचकता अपनाएको छ ।

४. प्रचण्ड–लामिछाने वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् ।

५. प्रमको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ठाडो निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ । नयाँ स्टक एक्सचेन्जका लागि नीतिगत भ्रष्टाचार गर्दै अमुक व्यावसायिक घरानालाई लाइसेन्स सुम्पिन खोजिएको भन्दै तीव्र विरोध भए पनि प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि प्रक्रिया अघि नबढाउन निर्देशन दिएका हुन् ।

६. कोरोनाको जोखिम कति ?

जनसङ्ख्या मन्त्रालयले अवस्था हेरेर  कोरोनाभाइरस सङ्क्रमणको आपतकालको अवस्था सार्वजनिक गर्नुपर्ने इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीले बताएका छन् । विदेशबाट नेपाल आउनेहरूले कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउन पर्ने–नपर्ने, पीसीआर परीक्षण गर्नुपर्छ कि पर्दैन भन्नेबारे प्रस्ट धारणा बनाउनुपर्ने उनले बताए ।

७. साताको सेयर बजार

यो साता पनि सेयर बजार उत्साहजनक रहेन । वैशाख २४ गते १८ सय ६९.७३ अंकको बिन्दुबाट शुरु भएको नेप्से परिसूचक वैशाख २८ गतेसम्ममा ३१.१४ अंकले घट्दै १८ सय ३८.५९ अंकको बिन्दुमा झर्न पुगेको छ ।

८. शिक्षकमा अनाकर्षण

गत वर्ष स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा लड्न गन्यापधुरा गाउँपालिका–१ स्थित असीग्राम मावि, रुवाखोलाका शिक्षक चन्द्रबहादुर देउवाले राजीनामा दिए । ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा चुनाव लड्न शिक्षकबाट राजीनामा दिएका उनी २०४६ सालदेखि स्थायी प्रावि द्वितीय श्रेणी शिक्षकका रूपमा कार्यरत थिए ।

९. सरुवामा मनपरी

मन्त्रिपरिषद्ले अघिल्लो बुधबार ४४ जना सहसचिवको सरुवा गर्‍यो । सरुवा सूचीमा सहसचिव चक्रबहादुर बुढा पनि परे । सहसचिव बुढाले भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेको पाँच महिना मात्रै पुगेको थियो । रातोपाटीमा सरुवामा भएको मनपरीबारे एक सामग्री प्रकाशित छ ।

१०. यो पनि

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले सरकारमा रहेको जिम्मेवार व्यक्तिहरूले नेपाली नागरिकलाई भुटानी नागरिक र त्यसपछि भुटानी शरणार्थी बनाएर अमेरिका पठाएकोले यस घटनाको छानबिन निष्पक्ष हुनुपर्ने बताए ।

जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयन गरेपछि मात्र सरकारमा थप मन्त्री पठाउने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरबीच  भेटवार्ता भएको छ । शुक्रबार बंगलादेशको ढाकामा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच द्वीपक्षीय भेटवार्ता भएको हो ।

आफूमाथि जबरजस्ती करणी भएको तर जिल्ला अदालतले बलात्कारीलाई सफाइ दिएको भन्दै उच्च अदालत जनकपुर पुगेकी निहारिका राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले पनि आरोपितलाई सफाइ दिएको छ । बुधवार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रेखा थापा पाण्डे र सागर विष्टको संयुक्त इजलासले शिवराजको पक्षमा फैसला सुनाउँदै बलात्कारको अभियोगबाट श्रेष्ठलाई सफाइ दिएको हो ।

यस वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायले गर्नुपर्ने कार्य उल्लेख गरी ुएकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाु तयार गरिने भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७ औं बैठकले त्यस सम्बन्धी तयारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिम्मेवारी दिएको छ ।

यौन दुव्र्यवहारको आरोपमा खोटाङका डा।मदन राई पक्राउ परेका छन् । कृषि विज्ञ समेत रहेका राईलाई खोटाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप