शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

कैलालीमा ‘मिटरब्याज’को समस्या विकराल : मिटरब्याज पीडकको भागाभाग

उजुरी दर्ताको म्याद जेठ ७ सम्म, लिखित निवेदन दिइसकेकाले पुनः अनलाइन निवेदन दिनुपर्ने
शुक्रबार, २९ वैशाख २०८०, १६ : २९
शुक्रबार, २९ वैशाख २०८०

धनगढी । सरकारले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ गठन गरी पीडितहरूबाट निःशुल्क रूपमा उजुरी दर्ता गर्न आह्वान गरेपछि धमाधम उजुरी पर्न थालेको छ ।

यसैबीच, कैलालीमा पनि धमाधम उजुरी पर्न थालेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् । कैलालीमा मिटरब्याजीहरुको जालोले विकराल रूप लिएको पाइएको छ ।

जोशीका अनुसार शुक्रवार सम्ममा ५४ जना पीडितले अनलाइन उजुरी दर्ता गराएका छन्  । यसअघि ९५ जनाले उजुरी दर्ता गराएका थिए । तर लिखित उजुरी दिएका पुरानाले समेत अनलाइन उजुरी दर्ता गराउनुपर्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म उजुरी दर्ता गर्न सूचना जारी गरेको थियो । अब पुनः म्याद थप गरी जेठ ७ गतेसम्म कायम गरेको सूचना अधिकारी जोशीले जानकारी दिए । यसका लागि प्रशासन कार्यालयले सहायता कक्ष नै स्थापना गरेको छ ।

प्रशासनका अनुसार मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिमसमेत बढेको छ । साथै, गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठुलो लगानी असुल हुन नसकेपछि यसका लगानीकर्ताको भागाभाग मच्चिन थालेको छ ।

मिटर ब्याजमा भएको लगानीका कारण धनगढीमा केहीको घरजग्गै सखाप भएको छ । मासिक चर्को ब्याज रकम रहेको मिटर ब्याजबाट लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन छन् । एकै जनाले एक करोडदेखि तीन करोडसम्म डुबाएर भागेको पीडितले बताएका छन् । 

कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष जनप्रतिनिधि, प्रहरी प्रशासनमा धाउने क्रम बढेको छ । 

तीन थरीका मिटरब्याजी

मिटर ब्याजको कारोबारमा तीन वटा समूहको संलग्नता देखिएको छ । पहिलो समूहले बढी ब्याजको लोभमा आफूसँग भएको रकम दोस्रो समूहका मध्यस्थकर्तालाई दिन्छन् । दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन् ।

मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्ति सीमित छन् । पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिँदा ठगिएर पीडित भएका छन् । 

मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीका रूपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम २० प्रतिशत रकम कटौती गर्छन् । अनि, हरेक महिना पूरै साँवा रकमको १० देखि २५ प्रतिशतसम्म ब्याज असुली गर्छन् ।

बैङ्क, वित्तीय संस्था र सहकारी संस्थाले भन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका व्यक्ति यस्तो कारोबारमा फस्ने गरेका छन् ।

सामान्य मजदुरदेखि बजारका सम्पन्न व्यक्तिसमेत यस्तो कारोबारमा संलग्न छन् । मासिक रूपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर ठगीको मुद्दाका रूपमा प्रहरी, प्रशासन र अदालत जानेहरू बढेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप