कैलालीका सामुदायिक वनमा देखिन थाले बाघ
धनगढी । कैलाली जिल्लास्थित सामुदायिक वनमा पाटे बाघ देखिन थालेका छन् । जिल्लाको धनगढी, भजनी, हसुलियालगायत क्षेत्र आसपासका सामुदायिक वनमा बाघ देखिन थालेका हुन् ।
यसैबीच केही दिनयता भजनी क्षेत्रमा रेडियो कलर जडान भएको पाटे बाघ देखा परिरहेको छ । भजनी नगरपालिका–५ स्थित कालिका सामुदायिक वनसहित आसपासका क्षेत्रमा पाटे बाघ देखा परिरहेको हो ।
मानव बस्ती क्षेत्र नजिक बाघ आएपछि सुरक्षा सतर्कता बढाइनुका साथै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ । डिभिजन वन कार्यालयले बाघको निगरानी गर्ने कार्य पनि गरिरहेको छ ।
विगत १५-२० दिनयता सो क्षेत्रमा बाघको ओहोरदोहोर भइरहेकाले कुनै किसिमको मानवीय क्षति हुन नदिनका लागि सतर्क पारिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।
उनले भने, ‘हामीले बाघको निगरानी पनि गरिरहेका छौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा तीन वटा स्वचालित क्यामेरा राखेर बाघको निगरानी गर्ने कार्य भइरहेको छ ।’
बाघ देखा परिरहेको क्षेत्रमा तीनतिर मानव बस्ती छ । अहिले खेतमा रहेको उखु काटिएपछि त्यो बाघ भजनी नगरपालिका–५ स्थित नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको कालिका सामुदायिक वनमा बस्न थालेको जनाइएको छ । गुलरियाघाटको सशस्त्र प्रहरीको बेस क्याम्प नजिक माछा पोखरी किनारमा सुतेको अवस्थामा बाघ देखिएको थियो । यसैगरी, ‘क्यामेरा ट्रयाप’ गर्दा त्यसमा पनि बाघ परेको छ ।
फोटोमा देखिएको रेडियो कलर जडित बाघ सम्भवतः पोथी रहेको प्रमुख रिजालले बताए । उनका अनुसार बाघ बस्ती नजिक आए पनि सम्भवतः नरभक्षी होइन । तर, सावधान रहन आवश्यक छ । बाघले सामुदायिक वनमा एउटा निल गाई र गाई मारेर खाएको जनाइएको छ । त्यसको गर्दनमा रेडियो कलर देखिएकाले डार्ट गरेर (लट्ठयाएर) फेरि छोडिएको बाघ हो । बाघ बूढो, बिरामी भएर सिकार गर्न नसकेपछि वा आफ्नो क्षेत्रबाट लखेटिएपछि मानव बस्ती क्षेत्रतिर आउने गरेको बताइन्छ ।
बसन्ता करिडोरको भजनी क्षेत्रमा विगतमासमेत बाघ आए पनि तिनको फोटो भने सङ्कलन हुन सकेको थिएन । गत, पुस–माघमासमेत बसन्ता, रामपुर, हसुलिया क्षेत्रमा रेडियो कलर जडित बाघ देखा परेको थियो । बाघहरू डमरु हुर्काउनका लागि बसन्तासहित भजनी क्षेत्रमा आउने गरे पनि पहिलो पटक क्यामेरा ट्रयापमा पारिएको सामुदायिक वन समन्वय समिति भजनीका भूतपूर्व अध्यक्ष एवम् संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउँछन् ।
‘संरक्षण क्षेत्रबाहिर बाघ आउँछन् भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि भएको छ’, उनले भने,‘बसन्ता कोरिडोरमा प्रायः बाघको ओहोरदोहोर भइरहन्छ ।’ बाघको ‘मुभमेन्ट’ बस्तीको अलि नजिक भइरहेकाले सबैलाई सावधान रहन वन कार्यालयले आग्रह गरेको छ । उद्धार गरेर बाघ राख्नका लागि नेपालमा अब खाली ठाउँ छैन । त्यसैले जहाँबाट आएको हो, त्यहिँ नै फर्कन दिने रिजालले बताए ।
‘कुनै मानवीय क्याजुअल्टी नहोस् भनेर सावधानी बढाएका छौँ’, उनले थपे, ‘बाघ जहाँबाट आएको हो, पछि त्यतै फर्किन्छ । तर, यहाँ बस्दासम्म सबै होसियार रहनु पर्दछ ।’
हप्ता दिन अगाडि मात्रै कञ्चनपुरमा बाघले महिलाको ज्यान लिएको थियो । सो क्षेत्रमा एक महिनाको अवधिमा मान्छेमाथि शृङ्खलाबद्ध रूपमा आक्रमण भई तीन जनाको ज्यान गएपछि बाघलाई नियन्त्रणमा लिएर काठमाण्डौं चिरियाखाना पुर्याइएको छ । अब नेपालमा बाघ राख्नका लागि कतै पनि ठाउँ नरहेकाले यो बाघलाई उसको पुरानै स्थानतिर जान दिने रिजालको भनाइ छ ।
उनका अनुसार सो बाघ सम्भवतः भारतको दुधुवा नेशनल पार्कबाट आएको हो । तर, त्यसको लोकेसन ट्र्याकभन्दा बाहिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सेना प्रमुखले भने– नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा
-
खुमलटारमा संकास्पद बस्तु फेला
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन