मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
व्यक्तिवृत्त

सुँगुर खानेले पढ्दैनन् भने, म पढ्नैका लागि काठमाडौं आएँ...

शुक्रबार, २९ वैशाख २०८०, ०७ : २६
शुक्रबार, २९ वैशाख २०८०

‘जनमुक्ति सेनामा महिला नभएको भए आज नेपाली सेनामा हामीले महिलालाई भेट्थ्यौँ र ? आज हामीले महिलाको हकहितमा जति उपलब्धि हासिल गरेका छौँ, त्यसमा समीक्षा गरौँ,’ माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष पार्वती थापाले भनिन्, ‘हामी जुनसुकै पार्टीमा लागेका हौँ, वा स्वतन्त्र रूपमा आन्दोलन गर्ने दिदीबहिनी हौँ, हामी सबै महिलाको हकहित र अधिकारका लागि लडेका हौँ । त्यसैले हामीले विभिन्न ठाउँबाट आन्दोलन गर्ने महिलालाई समान रूपमा हेर्नुपर्छ ।’

महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले १५ वैशाखमा ‘महिलाको काम र सामाजिक दृष्टिकोण : मिडियाको भूमिका’ विषयक छलफल गर्‍यो । जसको वक्तामध्येकी एक थिइन्, पार्वती थापा । बोल्ने क्रममा उनले हिजो जनयुद्ध लड्ने महिलाको बलिदानीलाई महिनावारीको रगतसरी ठानिएको गुनासो गरिन् । ‘जनयुद्धमा हिँडिरहँदा हामीलाई अछुत र अर्घेलो व्यवहार गरिन्थ्यो । फलानाको छोरी फलाना केटासँग हिँडिरहेकी थिई नि, त्यो त गतिली छैन भन्थे । यस्ता धेरै आरोप सहेर हामी जनयुद्धमा लागेका थियौँ,’ उनले भनिन्, ‘त्यसबाट हामीले जुन खालको उपलब्धि पायौँ, त्यसलाई हामीले क्यास गर्न सकेनौँ । किनभने विचारले हामी महिलालाई विभाजित गर्यो ।’ 

महिला अधिकारकर्मीले दलितको न्यायलाई पनि ध्यान दिनुपर्ने विचार उनले राखिन् । ‘महिलाको हक–अधिकारको कुरा गर्दा हामी महिलाले छुवाछुत गर्छौं कि गर्दैनौँ भन्ने पनि प्रश्न छ,’ उनले भनिन्, ‘म पानी चल्न मगरकै छोरी हुँदा पनि समाजमा बाहुन क्षेत्रीबाट छुवाछुत भोग्थेँ ।’

छलफल कार्यक्रममा अन्य वक्ताको भन्दा पार्वतीको भनाइ र भोगाइ पृथक् थियो । कार्यक्रम सकिएपछि मैले उनीसँग उनको राजनीतिक यात्राका बारेमा कुरा गरेँ ।

आज महिला, दलित लगायत उत्पीडित जातिले अन्यायविरुद्ध आवाज उठाउन थालेका छन् । मलाई कहाँनेर अन्याय भयो, कसरी अन्याय भयो, त्यसको विरुद्धमा कसरी विद्रोह गर्नुपर्छ, वा उजुरबाजुर गर्नुपर्छ– यी कुरा माओवादी आन्दोलनकै जगबाट आएको उनी बताउँछिन् । 

कुराकानीको सुरुमै उनले भनिन्, ‘जनयुद्धमा २५ सय हाराहारी महिलाले सहादत प्राप्त गर्नुभयो । आठ सयको हाराहारीमा बेपत्ता हुनुहुन्छ, तर उहाँहरूको बलिदानीलाई अन्य दलका महिला नेता, आन्दोलनकारी वा स्वतन्त्र अभियन्ताहरूले स्विकारेको अवस्था देखिँदैन । उनीहरू माओवादी हुन्, महिला आन्दोलनकारी होइनन् भन्ने खालको व्यवहार गरेको देखिन्छ ।’

त्यत्तिका महिलाले बलिदानी नगरेको भए, आफूहरू जनयुद्धमा नहिँडेको भए, यत्तिको परिवर्तन नहुने उनको विश्लेषण छ । ‘सहरिया भेगमा भन्दा ग्रामीण भेगका महिला लगायतको बुझाइ र चेतनामा आमूल परिवर्तन छ,’ उनी भन्छिन्, ‘यो परिवर्तनमा माओवादीमा लागेका महिलाको भूमिकालाई नकार्न सकिँदैन ।’

आज महिला, दलित लगायत उत्पीडित जातिले अन्यायविरुद्ध आवाज उठाउन थालेका छन् । मलाई कहाँनेर अन्याय भयो, कसरी अन्याय भयो, त्यसको विरुद्धमा कसरी विद्रोह गर्नुपर्छ, वा उजुरबाजुर गर्नुपर्छ– यी कुरा माओवादी आन्दोलनकै जगबाट आएको उनी बताउँछिन् । 

‘सुँगुर खानेले पढ्दैनन्’
पार्वती मुखिया माथवरसिंह थापाकी नातिनी हुन् । संयोग यस्तो छ, उनको जन्म भएको ठाउँ गोरखाको अस्राङ अहिले ‘भीमसेन थापा गाउँपालिका’मा परिणत भएको छ, मुख्तियार भीमसेन थापाको नाउँमा । यस्तै, उनको हजुरबुवाको नाम मुख्तियार माथवरसिंह थापासँग मिल्न जानु पनि संयोग मात्र हो, मुख्तियारहरू क्षत्री थापा हुन् भने पार्वतीका बाउबाजे मगर थापा । 

पार्वतीका बुवा जगतबहादुर थापा र आमा (रनकुमारी)दुवैको दुई दोस्रो विवाह हो । जेठी श्रीमतीको निधनपछि जगतबहादुरले रनकुमारीसँग दोस्रो विवाह गरेका थिए, उता रनकुमारीको पनि पहिलो पतिको निधन भएको थियो । जगतबहादुरकी जेठी पत्नीबाट दुई छोराहरू छन् । यसरी पार्वती घरमा कान्छी छोरी र कान्छी बहिनी भएर हुर्किन् ।

‘समाजका क्षेत्री–बाहुनले मगरहरूलाई यी सुँगुर खाने जातले पढ्दैनन् भनेर हेपिराख्थे, चोखो पानी चाहिने नाममा पँधेरामा र बाटोमा हिँड्दै गर्दा छुवाछुत गर्थे,’ पार्वती भन्छिन्, ‘पूजा गर्ने पानी हो, छोइन्छ, दायाँ लाग्, बायाँ लाग् भन्थे । मलाई लागिरहन्थ्यो– सुँगुर खाँदैमा हामीले किन पढ्न सक्दैनौँ ? मैले जसरी पनि पढ्छु ।’

साधारण कृषिकर्ममै जीवन बिताएका जगतबहादुर केही क्रान्तिकारी स्वभावका थिए । पञ्चायती शासनविरुद्ध आन्दोलनमा लागेका उनी बहुदलपछि भएको पहिलो स्थानीय निर्वाचनमा जनमोर्चाबाट वडाध्यक्षमा उठेका थिए, मात्र दुई मतले पराजित हुन पुगे । जगतबहादुरको छिटै निधन भएकाले पार्वती आमाको रेखदेखमा हुर्किन् । 

पहिले गाउँघरतिर पार्वतीलाई मुखियाकी नातिनी भन्थे । मुखिया खान्दान भएकाले जग्गा–जमिन प्रशस्त थियो, उब्जनीले खान पुग्थ्यो तर नगदको अभाव भइरहन्थ्यो । स्कुल पढ्दा खर्च जुटाउन उनले रक्सी पारेर बेच्थिन् । 

‘समाजका क्षेत्री–बाहुनले मगरहरूलाई यी सुँगुर खाने जातले पढ्दैनन् भनेर हेपिराख्थे, चोखो पानी चाहिने नाममा पँधेरामा र बाटोमा हिँड्दै गर्दा छुवाछुत गर्थे,’ पार्वती भन्छिन्, ‘पूजा गर्ने पानी हो, छोइन्छ, दायाँ लाग्, बायाँ लाग् भन्थे । मलाई लागिरहन्थ्यो– सुँगुर खाँदैमा हामीले किन पढ्न सक्दैनौँ ? मैले जसरी पनि पढ्छु ।’

उनले २०५२ को माघमा एसएलसी दिइन्, फागुनदेखि जनयुद्ध सुरु भयो । बुवा जनमोर्चामा आबद्ध भएकाले स्कुल पढ्दा (२०५० सालदेखि) पार्वतीलाई गाउँका मानिसले पार्टीमा आबद्ध गराएका थिए । एसएलसीको नजिता आउनुअघिको अवधिमा उनलाई जनयुद्धमा लाग्न धेरैले प्रेरित गरे । शंकर घिमिरे ‘शिशिर’, कृष्ण धिताल (हाल : सभामुख, गण्डकी प्रदेश), उनलाई पढाउने शिक्षक षडानन्द पाण्डे लगायतले उनलाई जनयुद्धमा जान प्रेरित गर्थे– उचाइ राम्रो छ, ड्रेस लगाएर बन्दुक बोक्दा सुहाउँछ । 

उनलाई जसरी पनि पढेर देखाउनु थियो । त्यतिबेलाको एसएलसी अर्थात् फलामे ढोका । उनले स्वनिर्णय गरिन्– एसएलसी फेल भए जनसेना बन्छु, पास भए सुटुक्क काठमाडौं गएर पढ्छु । 

भूमिगत
उनी सेकेन्ड डिभिजनमा एसएलसी पास त भइन्, यता आमाको इच्छा र आग्रह रह्यो– गोर्खा क्याम्पसमै पढ्नू । छोरी घरनजिकै भए आफूलाई सहज होला भन्ने आमाको आशा र अपेक्षा थियो । ‘गोर्खामै बसेर पढ्दा पार्टीमा लाग्नैपर्ने अवस्था आउला भन्ने मलाई लाग्यो,’ पार्वती भन्छिन्, ‘जसोतसो आमालाई मनाएर काठमाडौं आएँ । त्यसपछि खर्च जुटाउने चिन्ताले सताउन थाल्यो ।’

२०५५ मा उनीहरूले अन्य दलसँग मिलेर ८ मार्च मनाउने तयारी गर्दै थिए । त्यतिबेला माओवादीका भ्रातृ संगठनलाई प्रशासनले प्रतिबन्ध लगाउन सुरु गरिसकेको थियो, यसैले उनी पक्राउ परिन् । त्यतिबेला उनलाई १० दिन जेलमा राखियो । प्रहरीले पक्राउ गरेर लगेको थाहा भएपछि उनलाई जागिर खान समस्या भयो, माओवादीमा आबद्ध भनेर । 

काठमाडौंमा गर्जो टार्न उनले निजी विद्यालयमा पढाउन थालिन् । बिहानमा आफूले पद्म कन्या क्याम्पसमा पढ्ने, दिउँसो यज्ञ गार्गी विद्यापीठमा पढाउने । सुरुवाती दिन साधारण ढंगले बित्दै थियो, तर जाँच दिने बेला उनलाई स्कुलले छुट्टी दिएन, त्यसपछि जागिरै छाडेर जाँच दिइन् । आईए दोस्रो वर्ष पढ्नका लागि उनले अर्को बोर्डिङ स्कुल खोज्नुपर्यो । 

पहिलो वर्ष पढ्दा नै उनी कलेजमा माओवादीको विद्यार्थी संगठनमा आबद्ध भएकी थिइन् । गाउँदेखि जोडिएको राजनीतिसँगको नाताले उनलाई तान्दै लग्यो । यही क्रममा पार्टीका कल्पना धमला, यशोदा सुवेदी (गुरुङ) लगायतसँग उनको भेटघाट भयो । 

२०५५ मा उनीहरूले अन्य दलसँग मिलेर ८ मार्च मनाउने तयारी गर्दै थिए । त्यतिबेला माओवादीका भ्रातृ संगठनलाई प्रशासनले प्रतिबन्ध लगाउन सुरु गरिसकेको थियो, यसैले उनी पक्राउ परिन् । त्यतिबेला उनलाई १० दिन जेलमा राखियो । प्रहरीले पक्राउ गरेर लगेको थाहा भएपछि उनलाई जागिर खान समस्या भयो, माओवादीमा आबद्ध भनेर । 

यसपछि उनी पार्टीमा होल टाइमर भइन् र यशोदा सुवेदीसँग बस्न थालिन् । यसैबीच, २०५६ सालमा उनको विवाह भयो, पत्रकार चन्द्रमान श्रेष्ठ (जनदिशा दैनिकका पूर्वसम्पादक)सँग । राजनीति र पत्रकारितामा आबद्ध श्रीमान् भएकाले पार्वतीलाई राजनीतिक गतिविधिमा लाग्न समस्या भएन । २०५८ मंसिरमा संकटकाल लाग्यो र उनी पुसमा जेल परिन् । त्यतिबेला उनीहरूकी छोरी जन्मिसकेकी थिइन् । जेल जाँदा पार्वतीले सानी छोरीलाई पनि साथमै लगिन् । सुरुका ४५ दिन हनुमानढोकामा हिरासतमा राख्दा चिसोले छोरीलाई निमोनिया भयो । २१ महिना जेल बस्दा उनले दुःखले छोरी हुर्काइन् । उता उनका श्रीमान पनि जेल परेका थिए । 

२०६० सालको साउनतिर, उनलाई पार्टीले संगठन विस्तारका लागि काठमाडौंदेखिका पूर्वी जिल्लामा खटायो । योबीचमा छोरीलाई कहाँ राख्ने भन्ने समस्या उनीहरूलाई भयो । सुरुमा उनीहरूले आफन्तहरूलाई आग्रह गरे, तर आफन्त डराएर मानेनन् । माओवादीमा लागेका व्यक्ति र उनीहरूका छोराछोरीलाई संरक्षण दिनु सुरक्षाका हिसाबले सहज थिएन । सुराकीका आधारमा प्रहरीले कारबाही गर्न सक्थ्यो । 

काठमाडौं आएपछि पार्वतीको चिनजान शान्ता लामासँग भएको थियो, ललितपुरको मच्छेगाउँमा घर भएकी शान्ता र पार्वती असल साथी हुन पुगेका थिए । राजनीतिदेखि परै रहेकी शान्ताकहाँ छोरी राख्ने सोच पार्वतीले बनाइन् । शान्ताले पनि साथीको आग्रह नकारिनन् । 

छोरीलाई सुरक्षित राखेपछि पार्वती भूमिगत भइन्, प्राण हत्केलामा लिएर उनको राजनीतिक यात्रा अगाडि बढ्यो । सेना वा प्रहरीको फेला परे मर्ने–बाँच्ने टुंगो हुँदैनथ्यो । छोरी सानै भएकाले उनी जनमुक्ति सेनामा आबद्ध भइनन्, तर पाँच–सात जनाको टिममा उनीहरू गाउँगाउँमा खटिन्थे । पार्टीको विभिन्न संगठन बनाउने, तिनलाई परिचालन गर्ने र खासगरी जनमुक्ति सेनालाई व्यवस्थापन गर्ने जिम्मेवारी उनीहरूलाई हुन्थ्यो । 

यसरी हिँड्दा पार्वतीको टोली पनि पटकपटक सेनाको घेराबन्दीमा पर्‍यो । ‘माओवादी फलानो गाउँमा छ भन्ने थाहा पाए भने सेनाले सी आकारमा घेरा हाल्थे, माओवादीलाई भाग्न सजिलो होस् भनेर । सेना नभएको ठाउँतिरबाट हामी भाग्थ्यौँ । भाग्न नसक्नेहरू कोही सेनाको कारबाहीमा पर्थे, कोही आत्मसमर्पण गर्थे,’ पार्वती भन्छिन्, ‘साथीहरूले सहादत प्राप्त गरेको नजिकबाट अनुभूति गरेकी छु ।’ 

त्यतिबेला अहिलेजस्तो मोबाइल फोन थिएन । चितवनमा महिला सम्मेलनका लागि पुग्दा उनले एउटा पिसिओबाट छोरीलाई फोन गरेकी थिइन् । छोरी (स्वीकृति)ले फोनमा एकोहोरो भनिन्, ‘मामु ! मलाई कस्तो धेरै ऐय्या भयो, डक्टरले पानी नखेल, चिसो नखेल भनेको छ, तपाईं कहाँ जानुभएको ?’

उनीहरू गाउँगाउँमा हिँड्दा जनताको गोठमा बस्थे । जुन घरमा खाना खान्थे, त्यहीँ बस्दैनथे, अर्को गाउँमा पुग्थे । त्यहीँ बस्दा सेनाले घेरा हाल्ने खतरा हुन्थ्यो ।
एकपटक पार्वतीसहितको पाँचजनाको टोली काभ्रेको एउटा गाउँमा थियो । त्यहाँ जनमुक्ति सेनाको पाँचजनाको टोली बस्ने योजना थियो । पार्वतीको टिम अर्को गाउँमा गएर बस्यो । भरे, जनमुक्ति सेना बसेको गाउँलाई घेरा हालेर सेनाबाट आक्रमण भयो । जनमुक्ति सेना पाँचैजनाले सहादत प्राप्त गरे । त्यसपछि राति नै पार्वतीहरू बसेको गाउँमा सेना आइपुग्यो । ‘सेनाले हालेको सी आकारको घेरा तोडेर हामी जंगल छिर्यौँ,’ पार्वती भन्छिन्, ‘त्यस रात हामी भाग्दै भाग्दै फुल्चोकी टावरनेर आइपुगेका थियौँ । पाँचको मृत्यु भयो भन्ने खबर पार्टीमा पुग्यो, साथीहरूले हामी नै परेको ठानेका रहेछन्, हामी दुई दिनपछि पार्टीको सम्पर्कमा पुग्यौँ ।’

छोरीले चिन्न छाडिन्
सानो–सानो पाठो भेडीको माउबिना हिँड्दैन ।
बालखैमा भेडीगोठ हिँडेँ आमाले चिन्छ कि चिन्दैन !
चलचित्र ‘रहर’का लागि निर्देशक, लेखक तुलसी घिमिरे र कुसुम गजमेरले लेखेको ‘टुङ्गनाको धुनमा’ बोलको गीतका हरफ हुन् यी । 

यस गीतमा बालखैमा भेडीगोठ हिँड्ने छोरालाई आमाले नचिन्ने हो कि भन्ने चिन्ता छ, तर माओवादी पार्वती जनयुद्धमा हिँड्दा उनलाई छोरीले बिर्सिछन् । 

त्यतिबेला अहिलेजस्तो मोबाइल फोन थिएन । चितवनमा महिला सम्मेलनका लागि पुग्दा उनले एउटा पिसिओबाट छोरीलाई फोन गरेकी थिइन् । छोरी (स्वीकृति)ले फोनमा एकोहोरो भनिन्, ‘मामु ! मलाई कस्तो धेरै ऐय्या भयो, डक्टरले पानी नखेल, चिसो नखेल भनेको छ, तपाईं कहाँ जानुभएको ?’

जेल बस्दा उनको निमोनिया बिग्रेको थियो । उनी कहिलेकाहीँ मूर्छा परेर ढल्थिन् । फोनमा शान्ताले यो घटना निकै आत्तिएर सुनाइछन् । सन्तान वा परिवारलाई माया गरेर, भावनामा बहकिएर मुक्तिको लडाइँ हुँदैन– पार्वतीले मन बाँध्दै गइन् । छिटै व्यवस्था परिवर्तन हुनेमा उनलाई झिनो आशा थियो । 

छाडेर गएको पाँच–सात महिनापछि पहिलोपटक स्वीकृतिसँग उनको दोहोरो संवाद भएको थियो । उनले छाडेर जाँदा स्वीकृति ३० महिनाकी थिइन् । बेलाबेला फोनमा कुरा हुँदा उनले आमाको आवाज त चिन्थिन्, तर अनुहार बिर्संदै गइछन् । दुई वर्षपछिको तीजमा पार्वती छोरीलाई भेट्न उपत्यका आइन्, संकटकाल भएकाले गुन्यूचोली लगाएर चेलीजस्तै भएर आउनुपरेको थियो । यसपटक भने उनलाई छोरीले चिनिनन् । पार्वती भन्छिन्, ‘आफ्नै छोरीले आमा भनेर नचिन्दा कस्तो होला ? छाती चिरेर देखाउन नमिल्ने !’ 

यसले उनलाई चोट त दियो, तर तत्कालीन परिस्थिति हेरी छोरीले नचिन्नु राम्रै थियो । छोरीका माध्यमबाट प्रहरी प्रशासनले उनलाई पक्रने खतरा पनि रहन्थ्यो । 

बाह्रबुँदे सम्झौतापछि उनी जनआन्दोलनको नेतृत्व गर्न काठमाडौं आइन् । त्यतिबेला पनि सुरक्षाको डरले उनले छोरीलाई भेटिनन् । त्यतिबेला काठमाडौं आएकै रात उनी गिरफ्तारीमा परिन् । पक्राउ परेपछि मर्ने–बाँच्ने थाहा हुँदैनथ्यो । त्यतिबेला उनलाई ६ महिना राखेर छाडियो । 

सानोमा छोरीले एउटा मात्रै बाबु र एउटा मात्रै आमा हुन्छन् भन्ने नसोचेको पार्वती बताउँछिन् । उनको कलिलो मस्तिष्कमा परेछ– बाबुआमा दुई–दुईवटा पनि हुन्छन् । ‘सानोमा छोरीले आफ्नो दुई आमा र दुई बाबा भएको अरुलाई सुनाउँथिन्,’ पार्वती भन्छिन्, ‘बढ्दै गएपछि आफैँ बुझिन् ।’

शान्ति सम्झौतापछि उनलाई पार्टीले महिला संगठनको दक्षिण ब्युरो इन्चार्ज बनाएर बारा–पर्सा–रौतहतमा खटाएको थियो । गौर घटना भएपछि उनी काठमाडौं उपत्यका फर्किन् र काठमाडौं ५ नम्बर निर्वाचन क्षेत्रको इन्चार्ज भएर काम गर्न थालिन् । यता पहिलो संविधानसभाको निर्वाचन हुने भयो, महिलाले पर्याप्त टिकट नपाएपछि पार्वतीहरू डेलिगेसन गए । आफूहरू डेलिगेसन गएकैले तीन निर्वाचन क्षेत्रमध्ये एकमा महिला अनिवार्य हुनुपर्ने नीति पार्टीले लिएको उनी बताउँछिन् । 

पार्टीले उनलाई गोरखा क्षेत्र १ का लागि टिकट दियो । यो क्षेत्र कांग्रेसको गढ थियो, चिरञ्जीवी वाग्लेले कहिल्यै नहारेको क्षेत्र । यहाँ गुरुङ र मगर बढी भएकाले पार्वतीले जित्न सक्ने आकलन गरेर पार्टीले उनलाई टिकट दिएको थियो । ४० हजार ६०६ मत ल्याएर उनी निर्वाचित भइन् । त्यतिबेला सबैभन्दा बढी मत ल्याउनेमा उनी दोस्रो स्थानमा थिइन्, बाबुराम भट्टराईले ४६ हजार मत ल्याएर पहिलो स्थान ओगटेका थिए । 

छोरीले थर परिवर्तन गर्न नमान्दा...
पार्वतीकी छोरीलाई साथी शान्ताले आफ्नै छोरी बनाएर, आफ्नै थर लेखाएर पढाएकी थिइन् । सभासद् भएपछि पार्वतीको बसाइ बढी काठमाडौंमै भयो । योबीचमा छोरीसँग उनीहरू घुलमिल हुँदै गए । 

कक्षा ८ मा पढ्दा उनीहरूले छोरीको थर परिवर्तन गरेर श्रेष्ठ (बाबुको थर) लेखिदिए । ‘थर परिवर्तन गर्ने बेला बाबुछोरीको झगडा भयो,’ पार्वती भन्छिन्, ‘छोरीले भनिन्– जतिखेर मलाई तपाईंहरूको आवश्यकता थियो, त्यतिखेर तपाईंहरूलाई छोरीभन्दा पार्टी प्यारो भयो । मलाई उहाँहरू (शान्ताको परिवार)ले हेरविचार नगरेको भए के हुन्थ्यो ? अहिले आएर तपाईंहरूलाई किन थर चाहियो ?’

सानोमा छोरीले एउटा मात्रै बाबु र एउटा मात्रै आमा हुन्छन् भन्ने नसोचेको पार्वती बताउँछिन् । उनको कलिलो मस्तिष्कमा परेछ– बाबुआमा दुई–दुईवटा पनि हुन्छन् । ‘सानोमा छोरीले आफ्नो दुई आमा र दुई बाबा भएको अरुलाई सुनाउँथिन्,’ पार्वती भन्छिन्, ‘बढ्दै गएपछि आफैँ बुझिन् ।’

अहिले पार्वती र शान्ताको घर एकै ठाउँमा छ । आफूहरू दुई घर तर एक परिवार भएर बसेको पार्वती बताउँछिन् । आईए पास भएर राजनीतिमा लागेकी पार्वतीको पढाइ रोकिएको थियो । संविधानसभा सदस्य हुँदा उनले बिए पास गरिन्, अहिले एमए गर्दैछन् । यतिखेर ८२ वर्षीया आमा पनि पार्वतीसँगै छन् । 

‘अब महिलाहरू अधिकारका लागि आफैँ सचेत हुनुपर्छ । हामीले संविधान, नीति–नियम त बनायौँ, तर लुपहोल रहेछन्,’ उनले अन्तमा भनिन्, ‘पालिकामा पनि एकजना महिला र एकजना पुरुष हुनुपर्ने थियो, तर फरक दल हुँदा हामी त्यसबाट वञ्चित भयौँ । संघ र प्रदेशको निर्वाचनमा गठबन्धनले गर्दा हामीले पाएनौँ । राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला अवश्यक हुन्छ भन्ने हामीले ठानेका थियौँ, तर त्यहाँ ‘वा फरक समुदाय’ भन्नेमा टेकेर दलहरूले दुवै पदमा पुरुष पुर्याए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप