शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

काकाकुल रेक्चा, पानीका लागि चौकीदार !

खानेपानीको अभावबारे प्रदेश सरकार र चौकुने गाउँपालिकालाई कारण देखाउ आदेश
बिहीबार, २८ वैशाख २०८०, २१ : ४०
बिहीबार, २८ वैशाख २०८०

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ मा पर्ने रेक्चा गाउँ वर्षौँदेखि पानीको चरम अभावमा गुज्रिरहेको छ । यो गाउँ शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीको सहज पहुँचमा छैन । दशकौँदेखि रेक्चावासीका दुःख र पीडा ज्यूँका त्यूँ छन् । विशेषगरी यो गाउँमा प्रमुख समस्या भनेको खानेपानीको हो ।

गाउँपालिकाको कार्यालयदेखि उत्तरतर्फ डाँडामा अवस्थित यो गाउँमा ८० घरधुरी छ । पहाडमाथि पनि गोलाकार फाँट छ, बीचमा खेतीयोग्य जमिन र किनारमा बस्ती छ । कृषि र पशुपालनका लागि उपयुक्त स्थान भए पनि यो गाउँ पानीको चरम अभाव भोगिरहेको छ । जसका कारण यहाँका नागरिक गाउँ छाड्न बाध्य छन् ।

१० वर्ष पहिले अछामको नारायणपुरबाट बसाई सरेर रेक्चा आएका कुलबहादुर शाही प्यास मेटाउने पर्याप्त पानी नहुँदा दिक्क छन् । पानीका कुवा छन् तर, कुवामा पर्याप्त पानी छैन । बिहान सबेरै उठेदेखि बेलुकी अबेरसम्म घरको एक जना कुवाको पानी भर्ने लाइनमा बस्नु दैनिकीजस्तै भएको उनी बताउँछन् ।

उनका अनुसार गाउँका अधिकांश पुरुष रोजगारीका लागि कालापहाड जान्छन् । घरको सबैजसो जिम्मेवारी महिलाको काँधमा हुन्छ । उमेरले ५० कटेकी नन्दा जैसीलाई बिहानीको सुरुवात नै पिउने पानीको जोहोबाट गर्नुपर्ने बाध्यता छ ।

उनी भन्छिन्, ‘मैले थाहा पाएदेखि यहाँ खानेपानीको समस्या यस्तै हो । कुवा भएर के गर्नु ? पहाडमाथिको टुप्पोमा भएर हो कि, कुवामा पानी पर्याप्त कहिल्यै हुँदैन ।’

१० जनाको संयुक्त परिवारमा रहेकी नन्दालाई कुवाको पानीले घरका सबैको प्यास मेटाउन मुस्किल हुन्छ । किनकि यहाँका प्रत्येक घरधुरीले प्रतिदिन जम्मा २ गाग्रीमात्र पानी पाउँछन् । त्यति पानीले परिवारका सदस्य र चौपायाको समेत तिर्खा टार्नुपर्ने हुन्छ ।

‘हामी यहाँ कस्तो परिस्थितिमा गुज्रिरहेका छौँ, त्यो हामी भोग्नेलाई मात्र थाहा छ,’ कुलबहादुर शाहीले थपे, ‘हाम्रालागि त राज्य पो कहाँ छ र ? गाउँमा सिंहदरबार आयो भन्थे, सिंहमात्र आयो कि क्या हो !’

रेक्चा गाउँभरि करिब १० वटा कुवा छन् । तीमध्ये ८ वटा अस्तव्यस्त छन् । शाहीका अनुसार पुग–नपुग २ गाग्री पानीले खाना पकाउने, पिउने, हातमुख धुने, शौचालयका लागि समेत प्रयोग गर्नुपर्ने बाध्यता छ ।

सरसफाई तथा नुहाईधुवाईका लागि करिब ३ घण्टाको पैदल यात्रा गर्नुपर्छ । पानीको अभावले महिलाहरुलाई निकै दुःख छ । महिनावारी हुँदा समेत सरसफाईका लागि पानी पाउँदैनन् महिलाहरु ।

अर्कोतर्फ कुवाको पानी दुषित हुने हुँदा मान्छेलाई विभिन्न खालका रोगको जोखिम पनि उत्तिकै छ । ‘अशुद्ध भए पनि पिउनैप¥यो, के गर्नु ? हाम्रा लागि राज्यले हेर्ने होइन,’ स्थानीय गजराज बिसी भन्छन् ।

कुवाको पानीको रेखदेखका लागि चौकीदार राखिएको हुन्छ । चौकीदारले प्रति घरधुरीबाट सिजन अनुसार एक पाथी अन्न लिन्छ । चौकीदारले प्रतिघर २ गाग्री पानीको पालो लगाउने र सोही अनुसार पानी भर्नुपर्ने नियम बनाइएको छ ।

कुवाको चौकीदार जगत शाहीले दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म पानी वितरण गर्ने गरेको बताए । पुसदेखि असारसम्म चौकीदार राख्ने गरिएको छ । अरू बेला इनार भरिएर पानी धेरै हुने भएपछि चौकीदार राखिँदैन तर, पानीको अभाव हुन थालेपछि पालो लगाउन चौकीदार राख्ने गरिएको उनको भनाइ छ ।

विवाह, व्रतबन्ध तथा मृत्यु संस्कार भएमा त्यस्तो घरधुरीमा केही बढी पानी दिने गरिन्छ । यहाँ खानेपानी मात्र नभई शिक्षा, स्वास्थ्य र यातायातको समेत सहज पहुँच छैन । जसका कारण पुस्तौँदेखि बस्दै आएकाहरु गाउँ छाडेर बसाई सर्न थालेका छन् ।

पाँच वर्ष अघिसम्म ११५ घरधुरी रहेको रेक्चामा अहिले ८० घरधुरी छन् । जसको प्रमुख कारण नै खानेपानीको अभाव मान्छन् वडा सदस्य तपेन्द्र बिसी ।

स्थानीय स्तरमा पानीको स्रोत नहुँदा त्यसको असर विद्यालयसम्म परेको छ । जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक शिवराम बुढा पर्याप्त मात्रामा पानी नहुँदा शौचालयमा समेत समस्या हुने गरेको बताउँछन् ।

आधारभूत तह कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा विद्यार्थी संख्या ७०–८० मात्र छ । अभावै अभावका कारण मान्छेहरु विस्थापित हुन थालेपछि विद्यार्थीको संख्या समेत घट्दै गइरहेको उनको भनाइ छ ।

अर्कोतर्फ यहाँ दैनिक उपभोग्य सामग्री ल्याउन पनि निकै टाढा पर्ने बिजौरा बजार पुग्नुपर्छ ।

पानीको योजनामा सरकारी बेवास्ता

पानीको चरम अभाव भएको रेक्चालाई सरकारले कहिल्यै प्राथमिकता लिएको छैन । स्थानीय सरकार बनेपछि पनि न पर्याप्त बजेटको व्यवस्था छ न कुनै आयोजनाका लागि प्रदेश र संघसँग पहल नै थालेको छ ।

अघिल्लो वर्ष प्रदेश सरकारले १ करोड २६ लाखको लागतमा लिफ्ट खानेपानी आयोजना सुरु गरेको थियो । एकातिर आयोजनाका लागि उक्त बजेट पर्याप्त भएन, अर्कोतिर विद्युतको पहुँच नहुँदा अहिले सो आयोजना नै अलपत्र छ ।

पानीको मुहानसम्म विद्युतको ट्रान्सफर्मर पु¥याउने सडकसमेत छैन । गाउँसम्म सहज सडक सञ्जाल नभएको पश्चिमको गाउँमध्ये रेक्चा पनि एक हो । चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले सडक निर्माणका लागि आवश्यक बजेट नभएका कारण तत्कालका लागि आवश्यक समस्या समाधान गर्न नसकिने बताए ।

गाउँपालिका र प्रदेश सरकारलाई १५ दिनभित्र कारण देखाऊ आदेश

गत चैत २ गते मानवअधिकारको टोली रेक्चा पुगेर स्थलगत अनुगमन गरेको थियो । त्यसपछि इन्सेकले रेक्चावासीले शुद्ध पिउने पानी नपाएको प्रतिवेदन तयार गरेको थियो । सोही प्रतिवेदनका आधारमा अधिवक्ता प्रकाश बाबु ऐडी र इन्सेक कर्णाली प्रदेशमा कार्यरत कार्यक्रम अधिकृत परिष्कृत पौडेलले उच्च अदालतमा रिट दायर गरेका थिए ।

रिट प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय र चौकुने गाउँपालिकालाई विपक्षी बनाई दायर गरिएको थियो । खडेरी सुरु हुने बित्तिकै रेक्चावासीले कि दूषित पानी पिउने त कि पानीकै कारण काकाकुल भई गाउँबाट विस्थापित हुनुपर्ने अवस्था रहेको रिटमा जिकिर गरिएको थियो ।

उक्त रिटमा बिहीबार उच्च अदालत सुर्खेतले विपक्षीलाई कारण देखाऊ आदेश जारी गरेको छ । १५ दिनभित्र प्राविधिक समेतको सहयोगमा दैनिक न्यूनतम खानेपानीको परिपूर्ति गर्न के कस्तो प्रबन्ध गर्न सकिन्छ भन्ने विवरण तयार गर्न आदेश जारी गरेको हो ।

Recha PIL

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप