मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

बिहीबार, २८ वैशाख २०८०, २१ : २३
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । आज मिति २०८० साल वैशाख महिनाको २८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. बालकृष्णप्रति कांग्रेस नरम

नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल कारबाही नगर्ने भएको छ । बिहीबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले नभागेर खाणले अनुसन्धानमा सहयोग गरेको निष्कर्ष निकालेको हो ।

२. ईश्वर पोखरेलको रजाइँ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचन आयोगको गाडी प्रयोग गर्ने गरेको पाइएको छ । सरकारी गाडीमा निजी नम्बर प्लेट राखेर पोखरेलले चढिरहेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने पोखरेल निर्वाचन आयोगले उपलब्ध गराएको टाटा स्ट्रोम जिपमा निजी नम्बर प्लेट बा १२ च ५२११ राखेर रजाइँ गर्ने गरेका हुन् ।

३. एमाले बैठक

नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझी कहाँ छन् भन्ने पार्टीलाई कुनै जानकारी नभएको प्रष्टीकरण दिएका छन् ।

बिहीबारको केन्द्रीय कमिटी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेता गुरुङलाई टोपबहादुर रायमाझी कहाँ छन् भनेर प्रश्न गरेका थिए । जवाफमा गुरुङले सम्पर्कमा नआएकैले उनलाई कारवाही गरिएको बताए । उनले भने, ‘गन्ध आउँदैन कसरी थाहा पाउनु ?’

४. रेशम चौधरीलाई उन्मुक्तिको तयारी

टिकापुर घटनाका आरोपित रेशम चौधरी र  मधेश आन्दोलनका भएको व्यक्ति हत्याका आरोपित लक्ष्मी महतो कोइरीको मुद्दा फिर्ता लिन सरकारले संसदमा विधेयक दर्ता गराएको छ ।

सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ केही दिनअघि संसद सचिवालयमा दर्ता गरेको हो ।

 संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक केही दिनअघि नै दर्ता गरेको हो । तर संसद सचिवालयको वेवसाइटमा केही समस्या आएको कारण विधेयक वेबसाइटमा भने राखिएको छैन ।

५. आयोगको निर्देशन

निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष ०७८–०७९को लेखा परीक्षण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा ९१० बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षणको प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्थाको स्मरण समेत गराएको छ ।

६. एम्बुलेन्स निगरानी

देशभर सञ्चालित एम्बुलेन्सको निगरानी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गर्न थालिएको छ । मन्त्रालयले देशभर सेवा दिइरहेका एम्बुलेन्सलाई केन्द्रबाटै एम्बुलेन्स ट्रयाकिङ गर्न थालेको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई (एचईओसी) प्रमुख डा समीर कुमार अधिकारीले बताए ।

७. ब्याजदर घटाउने निर्णय

नेपाल बैंकर्स संघको बैठकले जेठदेखि लागू हुने गरेर कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । हाल बसिरहेको संघको बैठकमा जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको हो । संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जेठदेखि कर्जाको ब्याज घट्ने जानकारी दिए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘कर्जाको ब्याज बिस्तारै घट्दै आइरहेको छ । जेठमा पनि घट्ने सहमति भइसकेको छ ।’

८. खेल समाचार

फ्रेण्ड्स क्लवमाथि ४–१ सहज जित निकाल्दै जावलाखेल राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा बिहीवार सम्पन्न खेलमा जावलाखेलले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खान पुगेको थियो । यसजितसँगै जावलाखेल समग्रमा ४–१  को नतिजा निकाल्दै शीर्ष स्थानमा फर्किएको हो ।

९. सामान्य प्रशासनको निर्णय

सरुवा तथा पदस्थापन भएर पनि रमाना नलिने कर्मचारीलाई सरकारले विभागीय कारबाही गर्ने भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई परिपत्र गर्दै यस्तो चेतावनी दिएको हो ।

१०. यो पनि..

चितवन मेडिकल कलेज बीडीएस चौथौँ वर्ष फस्र्ट फेजको आन्तरिक परीक्षा चलिरहेको थियो । बुधबार बिहान आन्तरिक परीक्षामा सहभागी थिइन्– सिम्रन थापा ।

परीक्षा दिइरहेको बेला परीक्षा हलबाट सो परीक्षामा सम्मिलित शिक्षकले जबरजस्ती मानसिक तनाव दिई निकालिदिए ।  त्यसपछि उनी कलेज नजिकै रहेको आफ्नो कोठामा गइन् । चिट चोरेको आरोपमा शिक्षकले उनलाई परीक्षा हलबाट निकालिदिएको थियो । त्यसपछि आफ्नो कोठामा गएकी थापा झुण्डिएको अवस्थामा फेला परिन् ।

नेकपा एकीकृत समाजवादीका भातृ सङ्गठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । सो पार्टी निकट मोर्चाहरूले बिहीबार राजधानीको माइतीघर मण्डलामा शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाल समाजवादी पार्टी (नेसपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउनुपर्ने बताएको छ । पार्टी अध्यक्ष बाबुराम भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन आग्रह गरेका छन् ।

नेपाल एयरलायन्सले शहरी क्षेत्रमा उडान भर्ने लक्ष्यसहित थप २ वटा जहाज किन्ने तयारी सुरु गरेको छ । यसअघि, दुर्गम क्षेत्रमा उडान भर्ने लक्ष्यसहित ३ वटा जहाज किन्ने तयारी अघि बढाएको थियो । दुर्गममा उडान भर्ने जहाज किन्ने विषयमा गठन भएको अध्ययन समितिले प्रतिवेदन बुझाएपछि थप २ जहाज खरिद प्रक्रिया अघि बढाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप