बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
समाचार

म्यानपावर व्यवसायीलाई फेरि सिण्डिकेटको डर !

भिसा सेन्टरको नाममा भिसा कलेक्सन सेन्टर खोल्ने तयारी, मोटाउँदै छन् सीमित व्यवसायी
बिहीबार, २८ वैशाख २०८०, १३ : ००
बिहीबार, २८ वैशाख २०८०

काठमाडौं ।  एक समय थियो, वैदेशिक रोजगारीमा सीमित व्यवसायीको पहुँच थियो । राजनीतिक पहुँच र आर्थिक चलखेल गर्न सक्ने म्यानपावर व्यवसायीको हालीमुहाली थियो । 

विस्तारै त्यो सिण्डिकेट तोडियो । अन्य म्यानपावर व्यवसायीहरूले समेत सहजता पाउन थाले । सरकारले समेत सहज बनाइदिएपछि अन्य व्यवसायीहरूले समेत काम गर्ने वातावरण बन्न थाल्यो । एकाधिकार कम हुँदै गएपछि ती व्यवसायी विरक्तिन थाले ।

तर, अहिले फेरि केही व्यवसायीहरू त्यस्तै खालको सिण्डिकेटतर्फ लाग्न थालेका छन् । सो कार्यप्रति म्यानपावर व्यवसायीहरू नै चिन्तित बनेका छन् । केही म्यानपावर व्यवसायीहरूले सम्बन्धित देशले गर्दै आएको काम आफैं गर्ने कोसिसमा लागेका छन् । युएईको भिसा सेन्टर नेपालमा स्थापना गर्न केही व्यवसायीहरू सक्रिय देखिएका छन् । 
त्यस्तै युएईकै द सेक्युरिटी इन्ड्रस्टी रेगुलरटी एजेन्सी (सिरा) लाई समेत नेपालमा ल्याउन खोजिरहेका छन् । उनीहरू नेपालमा आउनु त राम्रो हो । तर, त्यसका लागि सीमित म्यानपावर व्यवसायी लाग्नुले सिण्डिकेट भित्र्याउने खेल भएको व्यवसायीहरूको बुझाई छ । 

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव सुजित कुमार श्रेष्ठले सम्बन्धित देशले गर्दै आएको काम नेपालमा ल्याउन खोजिएको बताए । डिपिएस ट्रेनिङ (डिपार्टम्यानट प्रोटेक्टिभ सिस्टम) दिने कम्पनीले गर्दै आएको काम नेपालमा ल्याउन खोजिरहेको र त्यस्तो गरेपछि उनीहरूले नेपालमा आफ्नो एकाधिकार लाद्ने र श्रमिकहरूलाई लाखौं रूपैयाँ असुल्ने योजना बनाइरहेको उनको भनाई छ ।  

सेरा कम्पनीले नेपालबाट गएका श्रमिकहरूलाई दुबईमा पुगेर तालिम दिने र त्यही प्रमाणपत्र दिने गर्दै आएको छ । हिजोका दिनमा हामीले कामदारहरू पठाउँथ्यो । त्यहाँ गएपछि कम्पनी आफैंले लाइसेन्स दिन्थ्यो । तर, व्यवसाय तथा बाहिरको चलखेलले सरकारी निकायमै चलखेल गरेर त्यो सर्टिफिकेशन नेपालबाटै दिलाउने र ट्रेनिङ दिलाउने भन्ने कुरा भइरहेको छ । त्यसको लागि २ हजार दिराम चार्ज लिने भन्ने कुरा छ ।’

नेपालले जतिसक्दो कम लागतमा कामदार पठाउनुपर्ने भन्ने मान्यता रहेको तर सीमित स्वार्थमा लागेका व्यवसायीहरू बढी पैसा असुल्ने धन्दामा लाग्न थालेको उनको भनाई छ । यसरी उक्त कम्पनीले गर्दै आएका काम नेपालमा गर्ने हो भने हिजोको दिनमा कम्पनीले बेहोर्दै आएको आर्थिक भार अब नेपाली श्रमिकको टाउकोमा थुपारिने उनको भनाई छ ।  

यसका लागि केही व्यवसायीहरू सक्रिय रहेको देखिन्छ । उनीहरूको राजनीतिक भेटघाटसमेत बाक्लिएको छ ।

भिसा सेन्टर कि भिसा कलेक्सन सेन्टर ?
त्यस्तै केही व्यवसायीहरूले साउदी भिसा सेन्टर खोल्नसमेत दौडधुप बाक्लो बनाएका छन् । नेपालस्थित साउदी दूतावास र केही व्यवसायीको मिलेमतोमा जाउलाखेलमा साउदी भिसा सेन्टर खोल्न लागिएको हो । त्यसका लागि म्यानपावर व्यवसायीहरू अहोरात्र खटिएका छन् । 

विशेष गरी जाउलाखेलमा रहेको अक्सफोर्ड इन्टरनेशनल प्रालिका प्रमुख ईश्वर जिसी, लक्की एचआर सोलुसन प्रालिका प्रमुखविष्णु काप्री लगायतका व्यवसायी भिसा सेन्टर खोल्न लागि परेका हुन् ।

 साउदीको भिसा सेन्टर केही महिना अगाडि बंगलादेशमा पनि खुलेको थियो । तर, व्यवसायीको आन्दोलनपछि तत्काल बन्द भएको थियो । साउदी सरकारको कुनै अनुमति बिना नै उक्त भिसा सेन्टर खोलिएको थियो । त्यसपछि व्यवसायीले चर्को आन्दोलन गरेपछि बन्द भएको थियो । 

उनीहरूले भने यस विषयमा आफ्नो कुनै पनि संलग्नता नरहेको प्रष्ट पारेका छन् । आफूले यस्तो कामबारे सोच्नसमेत नसक्ने जिसीको भनाई छ । तर, अन्य व्यवसायीहरूले भने उनीहरूले राम्रै चलखेल गरिरहेका बताउँछन् । 

भिसा सेन्टरको नाममा कलेक्सन सेन्टर खोल्ने र डकुमेन्ट तथा पासपोर्ट सङ्कलन गर्ने गरी कार्य अगाडि बढाउन खोजेका हुन् । त्यसका लागि उनीहरूले प्रति कामदार ३ हजार रुपैयाँ अतिरिक्त शुल्क तोक्ने गृहकार्यमा छन् । 

साउदीको भिसा सेन्टर केही महिना अगाडि बंगलादेशमा पनि खुलेको थियो । तर, व्यवसायीको आन्दोलनपछि तत्काल बन्द भएको थियो । साउदी सरकारको कुनै अनुमति बिना नै उक्त भिसा सेन्टर खोलिएको थियो । त्यसपछि व्यवसायीले चर्को आन्दोलन गरेपछि बन्द भएको थियो । 

नेपालस्थित साउदी अरेबियाको दूतावासले भीएफएस प्रणालीबाट भिसा प्रदान गरेर सेवा प्रवाह गर्ने विषयमा व्यवसायीहरूसँग छलफल अगाडि बढाएको छ । नेपाली व्यवसायीहरूले एकलौटी रूपमा कलेक्सन सेन्टर खोल्न लबिङ गरिरहेका बेला दूतावासले भीएफएस प्रणालीबाट सेवा प्रवाह गर्ने विषयमा छलफल थालेको हो । 

यसबारे नेपालका लागि साउदी राजदूत साद अबुहैमेद र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलबीच मंगलबार दूतावासमा छलफल भएको थियो । 
छलफलमा राजदूत अबुहैमेदले साउदी सरकारले पनि निकट भविष्यमा भीएफएस प्रणालीबाट भिसा प्रोसेसिङ गर्ने गरी तयारी गरेको बताएका थिए । 

छलफलमा राजदूत अबुहैमेदसँग व्यवसायीले सिण्डिकेटको विषयसमेत उठान गरेका थिए । तर, त्यसमा उनले व्यवसायीको चिन्ता र चासोबारे जानकार रहेको भन्दै भीएफएस प्रणालीमा कुनैपनि नेपाली व्यवसायी र नेपाली कर्मचारीको संलग्नता नरहने र पूर्ण रूपमा साउदी सरकारको नियन्त्रणमा रहने प्रष्ट पारेका थिए ।  

साथै, भिसा प्रोसेसिङ शुल्कको हकमा नेपालमा रहेका युरोपेली मुलुकका भीएफएस प्रणाली सरह सेवा शुल्क लिने उनले जनाएका थिए । 

केही व्यवसायीहरूले स्वास्थ परीक्षण गराउने स्वास्थ्य संस्थाहरूको समेत सिण्डिकेट कायमै छ । तत्कालीन श्रममन्त्री गोकर्ण विष्ट वैदेशिक रोजगारीमा देखिएको सिण्डिकेटका विरुद्धमा सक्रिय भएर लागेका थिए । उनले एकैदिन ४८ जना व्यवसायीलाई पक्राउ गरेका थिए । 

वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव कुन्छा दोर्जे डिम्दोङ्गले सीमित व्यवसायीको स्वार्थका कारण यो क्षेत्रमा सिण्डिकेट लाद्ने प्रयास भइरहेको बताए । 
विगतमा अन्य देशका भिसा सेन्टरको नाममा श्रमिकहरू मर्कामा पर्दै आएको उनको भनाई छ । मलेसिया लगायतका देशमा यसअघि नै भिसा सेन्टर सञ्चालनमा छन् । तर, सेन्टरमा सीमित व्यक्तिलाई अवसर प्रदान गर्ने गरिएको र अन्यले सेवा लिन पैसा बुझाउनुपर्ने अवस्था रहेको उनको भनाई छ । 

व्यवसायीहरूले विगतदेखि नै यो क्षेत्रमा हुने गरेको विभिन्नखाले सिण्डिकेटको अन्त्य हुनुपर्ने माग राख्दै आएका छन् । दुबईमा मात्र नभएर अन्य देशमा समेत मागको डिमाण्ड, डिमाण्ड एप्रुभ लगायतका विषयमा सीमित व्यवसायीको सिण्डिकेट देखिन्छ । त्यसका लागि उनीहरूले राम्रै चलखेल गर्दै आएको महासचिव डिम्दोङ्गको भनाई छ । 
केही व्यवसायीहरूले स्वास्थ परीक्षण गराउने स्वास्थ्य संस्थाहरूको समेत सिण्डिकेट कायमै छ । तत्कालीन श्रममन्त्री गोकर्ण विष्ट वैदेशिक रोजगारीमा देखिएको सिण्डिकेटका विरुद्धमा सक्रिय भएर लागेका थिए । उनले एकैदिन ४८ जना व्यवसायीलाई पक्राउ गरेका थिए । 

मलेसिया जाने कामदारमाथि थप आर्थिक भार थोपरेर ठगी गर्ने व्यवसायी तथा उनीहरुका सहयोगीलाई पक्राउ गरिएको थियो । पक्राउ पर्ने अधिकांश वैदेशिक रोजगारीको स्वास्थ्य परीक्षण गर्ने मेडिकलका सञ्चालक र व्यवस्थापकहरु थिए । 

निश्चित मेडिकल सेन्टरमा मात्र स्वास्थ्य परीक्षण गराउनुपर्छ र उनीहरुले महँगो शुल्क असुल्छन् । जुन अहिले पनि यथावतै छ । सीमित व्यवसायीको स्वार्थका कारण अहिले पुनः व्यवसायीहरू विभिन्नखाले सिण्डिकेटको सिकार बन्न थालेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप