आज २०८० वैशाख २७ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
कर्णालीमा कुपोषण
कर्णाली प्रदेशमा कुपोषणको स्थिति भयावह रहेको प्रदेश योजना आयोगको तथ्याङ्कले देखाएको छ । हरेक सूचकाङ्कमा पछि रहेको कर्णालीका लागि कुपोषण पनि प्रमुख चुनौती बनेको छ । आयोगको तथ्याङ्क अनुसार कर्णालीका झण्डै ४० प्रतिशत नागरिक बहुआयामिक गरिबीको रेखामुनि छन् ।
शिवराजलाई सफाइ
कुमारी आमाको नामले परिचित निहारिका राजपुत प्रकरणको जबर्जस्ती करणी मुद्दामा उच्च अदालत जनकपुरले आरोपित शिवराज श्रेष्ठलाई सफाई दिएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रेखा थापा पाण्डे र सागर बिष्टको संयुक्त इजलासले शिवराजको पक्षमा फैसला सुनाएको हो ।
वीकरण नगरी सञ्चालनमा कन्सल्टेन्सी
२०७४ सालदेखि शैक्षिक परामर्श संस्था नवीकरण नै नगरी सञ्चालनमा रहेका छन् । यसरी नवीकरण नहुनुमा उनीहरूको कमजोरी हैन, राज्यको उदासीनता देखिन्छ । ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३’ अन्तर्गत दर्ता भएका संस्थाहरू हाल नवीकरण बिनै सञ्चालनमा छन् । संघीयता लागू भएसँगै उनीहरूको नवीकरण तथा स्वीकृतिको काम ठप्प बनेको हो ।
कानुन विनै २ अर्ब अनुदान
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट विना कानुन र कार्यविधि २ अर्ब अनुदान वितरण गरेको पाइएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७-२०७८ को बजेट भाषणमा एकीकृत अनुदान नीति र कानुन बनाएर अनुदान वितरणका गर्न बजेट विनियोजन गरेको थियो । तर कानुन नबनाएर १ अर्ब ९८ करोड ६१ लाख रुपैयाँ कृषि अनुदानको नाममा वितरण गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
वर्तमान आर्थिक चित्र
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बुधबार राष्ट्र बैंकले आर्थिक् वर्ष २०७९–८० को ९ महिनाको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक स्थिति झल्काउने रिपोर्ट सार्वजनिक गरेको हो । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेकोछ । यस्तै आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको बैंकले जनाएको छ ।
खाणको राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको राजनीतिक भविष्यमाथि कालो बादल मडारिएको छ । भुटानी शरणार्थी प्रकरणमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको हो । सांगठनिक तहमा पकड भएका खाण भ्रष्टाचार र ठगी काण्डमा मुछिएपछि उनको राजनीतिक जीवन नै संकटतिर धकेलिएको छ ।
झिटीगुण्टा नियमावली संशोधन
सरकारले झिटीगुण्टा नियमावली संशोधन गरेसँगै अलपत्र परेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न बाटो खुलेको छ । यसअघि, झिटीगुण्टा नियमावली बाधक बन्दा करोडौंको लगानीमा तयार भएको एमडीएमएस प्रणाली अलपत्र परेको थियो । तर, मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले सोही नियमावली परिवर्तन गरेसँगै अलपत्र बनेको एमडीएमएस लागू गर्न बाटो खुलेको हो ।
आगोले जलेर चारजनाको मृत्यु
आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भूमिकास्थान नगरपालिका–२ ढाकाबाँगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ नै शोकमा डुबेको हो ।
अध्यादेश स्वीकृत
प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ । सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ¬का तर्फबाट अर्थमन्त्री डा प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बाबुराम र विप्लवको ताकेता
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा निर्माणका लागि ताकेता गरेका छन् । एमाले बाहेकका पार्टीलाई जोड्नेगरी बनाउने भनिएको समाजवादी मोर्चा बनाउन ढिला हुन थालेपछि अध्यक्षद्वय भट्टराई र चन्दले ताकेता गरेका हुन् ।
प्रतिक्रिया