शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाणको राजनीतिमा ‘कालो बादल’

भ्रष्टाचारमा मुछिएपछि जसको राजनीति सकियो
बुधबार, २७ वैशाख २०८०, १६ : २७
बुधबार, २७ वैशाख २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको राजनीतिक भविष्यमाथि कालो बादल मडारिएको छ ।

भुटानी शरणार्थी प्रकरणमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको हो । सांगठनिक तहमा पकड भएका खाण भ्रष्टाचार र ठगी काण्डमा मुछिएपछि उनको राजनीतिक जीवन नै संकटतिर धकेलिएको छ ।

२०३० सालदेखि विद्यार्थी राजनीति प्रारम्भ गरेका खाणको राजनीतिक उचाइ लोभलाग्दो थियो । तर उनलाई अब माथि उठ्न कठिन देखिन्छ । राजनीतिक यात्राका क्रममा पञ्चायतकालमा करिब २ वर्ष जेलजीवन बिताएका उनी अब भ्रष्टाचार र ठगी प्रकरणमा प्रहरीको नियन्त्रणमा पुगेका छन् ।

खाणको राजनीतिक छलाङमा यो प्रकरणले ठूलो धक्का दिने पक्का छ । यसले कांग्रेसभित्रको आन्तरिक राजनीतिमा पनि उलटफेर हुने देखिन्छ । उनी कांग्रेस सभापति शेरबहादुर देउवा र उप–सभापति पूर्णबहादुर खड्काका दरिलो खम्बा मानिन्छन् ।

२०५० साल अघिसम्म देउवा र खाण दुवै गिरिजाप्रसाद कोइराला निकट थिए । कोइरालाविरुद्ध देउवा उभिएपछि खाणले पनि साथ दिए । देउवाले २०५९ मा नेपाली कांग्रेस विभाजन गरी कांग्रेस प्रजातान्त्रिक गठन गर्दा खाण देउवासँगै उभिए । देउवा नेतृत्वको पार्टीमा उनी केन्द्रीय सदस्य बनेका थिए । तत्कालीन समयमा खाण नेतृत्वको सिङ्गो तरुण दल कांग्रेस प्रजातान्त्रिकमा आएको थियो । त्यस यता उनी देउवाको भरोसायोग्य पात्रमध्येको एक थिए ।

१४ औं महाधिवेशनमा महामन्त्रीका सशक्त दाबेदार मानिएका खाण देउवालाई सभापतिमा दोहोर्‍याउने मूल्यमा केन्द्रीय सदस्यमात्र बने । देउवा सभापतिमा पनि दोहोरिन सफल भए । खाण पक्राउ परेसँगै देउवाको उत्तराधिकारीका रुपमा भावी सभापतिका रुपमा हेरिएका उपसभापति खड्कालाई समेत ठूलो झट्का लागेको छ । किनकि खड्काका मुख्य खम्बाका रुपमा पनि खाणलाई लिने गरिन्छ ।

खाणलाई गृहमन्त्री बनाउन खड्काले नै जोडबल गरेका थिए । देउवा समूहमा सातै प्रदेश र समावेशी क्लस्टरमा खाणको जबरजस्त पकड छ । कांग्रेसमा खाणलाई भावी सभापतिका रुपमा हेरिएको थियो ।

देउवा समूहमा खाण, प्रवक्ता प्रकाशशरण महत, एनपी साउद र ज्ञानेन्द्र कार्कीबीच व्यक्तित्वको लडाइँ थियो । नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि खाणको ‘लिगेसी’ साउदतिर सर्ने चार्चा कांग्रेस वृत्तमा छ । पार्टी राजनीति र मन्त्री बन्न पनि देउवा समूहमा उनीहरुबीच उछिनपाछिन चलिरहेको थियो ।

२०६१ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री बनेका खाण २०६६ मा सिँचाइ मन्त्री भएका थिए । त्यस्तै, २०७३ मा रक्षा मन्त्री भएका उनी २०७८ मा गृहमन्त्री बने । पार्टी राजनीतिमा उनको बलियो उपस्थिति थियो ।

२०४४ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष र २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष भएका उनी २०५६ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए । केवल ३० वर्षको उमेरमै २०४८ मा उनी पहिलो पटक सांसद बनेका थिए । २०४८ सालमा रुपन्देही–३ बाट निर्वाचित भएका खाण २०५१ को मध्यावधि निर्वाचनमा भने पराजित भए । २०५६ मा चुनावी प्रतिस्पर्धा गरेका उनी २०६४ रुपन्देही–३ बाटै निर्वाचित भएका थिए ।

२०७० मा सोही क्षेत्रबाट विजयी भएका खाण २०७४ मा खाण समानुपातिक सांसद बनेका थिए । गत मंसिर ४ मा भएको निर्वाचनमा भने गृहमन्त्री रहेकै अवस्थामा खाण रुपन्देही–३ मा पराजित भए । सरकारमा दोस्रो वरीयतासहित गृहमन्त्री बन्दा राजनीतिक रुपमा बढेको उचाइँ चुनाव हारेपछि छायाँमा परेको थियो ।

जसको सकियो राजनीति

शरणार्थी प्रकरणमा पक्राउपछि उनी कांग्रेसमा अर्को ‘खुमबहादुर खड्का’ बन्ने खतरा छ । कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री खड्काको नियती खाणका हकमा पनि दोहोरिन सक्छ ।

पदीय हैसियत दुरुपयोग गरी दुई करोड ३६ लाख रुपैयाँ गैरकानुनी रुपमा कमाएको अभियोगमा तत्कालीन कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खड्काविरुद्ध ०५९ सालमा मुद्दा दर्ता भयो । तर, ०६३ सालमा विशेष अदालतले १२ लाखमात्र स्रोत नखुलेको भन्दै खड्कालाई सफाइ दियो ।

यद्यपि, विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएपछि फैसला उल्टियो । ३० साउन ०६८ मा सर्वोच्चले खड्कालाई दोषी ठहर गर्दैै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार एक सय २२ रुपैयाँ बिगो जरिवानाको फैसला सुनायो । त्यसपछि कांग्रेसको राजनीतिमा उनको ‘कमब्याक’ हुन सकेन ।

कांग्रेसको १२ औं महाधिवेशनमा तेस्रो अधिक मत ल्याएर केन्द्रीय समितिमा निर्वाचित भए पनि कांग्रेसको राजनीतिमा खड्का किनाराकृत भए । २०७४ चैत १६ मा उनको निधन भयो ।

यस्तै कांग्रेसका पूर्व सह–महामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी पनि भ्रष्टाचारमा मुद्दामा पक्राउ परेका थिए । जोशीविरुद्ध २८ माघ ०६० मा विशेष अदालतमा तीन करोड ९३ लाख ६३ हजार पाँच सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दा दर्ता भयो ।

आयोगले अभियोगमा १३ वर्ष कैद सजाय र सोही बराबरको बिगो जरिवाना मागे पनि विशेष अदालतले ३० कात्तिक ०६३ मा सो प्रकरणमा फैसला गर्दै ‘अख्तियारले म्याद गुजारेर दर्ता गरेको’ कारण देखाएर मुद्दाको विषयवस्तुमा प्रवेश नै नगरी सफाइ दिएको थियो ।

पुनरावेदनका क्रममा १० साउन ०६६ मा अदालतले जोशीलाई २ करोड १६ लाखमात्रै स्रोत नपुगेको भन्दै बिगोसहित असुल गर्न र डेढ वर्ष कैद सजाय सुनायो । सो फैसलाविरुद्ध जोशी सर्वोच्च गए पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

सर्वोच्चमा मुद्दा अल्झिए झै जोशीको राजनीतिक यात्रा पनि उल्झनमा परेको छ । अहिले उनी कांग्रेस राजनीतिबाट अलग छन् ।

यता कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री चिरञ्जीवी वाग्ले पनि भ्रष्टाचार मुद्दामा मुछिएपछि उठ्न सकेनन् । उनीमाथि तीन करोड दुई लाख ५५ हजार रुपैयाँ भ्रष्टाचार अभियोगमा ०५९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । ७ साउन ०६१ मा विशेष अदालतले वाग्लेले दुई करोड ७२ लाख ५८ हजार भ्रष्टाचार गरेको ठहर गर्दै अढाई वर्ष कैद सजायसमेत सुनायो ।

त्यसविरुद्ध वाग्लेले सर्वोच्चमा पुनरावेदन गरे तर अदालतले ०६७ मा दुई करोड तीन लाख रुपैयाँ जरिवाना र १८ महिना जेल सजायको फैसला सुनाएपछि वाग्ले जेल परे । जेलबाट मुक्त भए पनि उनी गुमनाम छन् ।

jayprakash-gupta-

भ्रष्टाचार मुद्दा खेपेका कांग्रेस नेता तथा पूर्वसञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताको नियति पनि वाग्लेकोभन्दा भिन्न छैन । पदीय दुरुपयोग गरी दुई करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, ०६४ सालमा गुप्ताले विशेष अदालतबाट सफाइ पाए ।

विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि ०६८ मा सर्वोच्चले भ्रष्टाचार ठहर गर्दै बिगो भराउन र डेढ वर्ष कैद हुने फैसला सुनाएको थियो । सजाय भुक्तान गरेका गुप्ताको पनि राजनीति समाप्त भएको छ । कांग्रेस परित्याग गरी विभिन्न पार्टीबाट राजनीतिमा आउन चाहे पनि उनी असफल भए ।

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले सुदूरपश्चिमबाट देउवाको विकल्पमा अगाडि सारेका पात्र तारिणीदत्त चटौतको राजनीति पनि लाउडा काण्डमा मुछिएपछि सकियो ।

Tarini-datta-chataut

२०५६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका तारिणीदत्त चटौत लाउडा जहाज प्रकरणमा मुछिएका थिए । यस घटनामा अख्तियारले तत्कालीन पर्यटनमन्त्री चटौत लगायतविरुद्ध जेठ २०५८ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दा सर्वोच्च अदालतमा अहिले पनि विचाराधीन छ । यो आरोपसँगै चटौतको राजनीतिक यात्रामा भने ब्रेक लाग्यो । यद्यपि २०६४ सालको संविधानसभामा उनलाई समानुपातिकबाट सभासद बनाइएको थियो ।

१३औं महाधिवेशन अघि उनी कञ्चनपुरमै महाधिवेशन प्रतिनिधिमा पराजित भए । १४औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा पराजित भए । अहिले उनी गुमनाम जस्तै छन् ।

यस्तै कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री विजयकुमार गच्छदार पनि ललिता निवास प्रकरणमा दोषी मुछिए  । २०७४ मा आफ्नो नेतृत्वको लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका उनी अहिले गुमनाम छन् । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका गच्छदार २०७८ मा धरौटी बुझाएर रिहा भएका थिए ।

उनी २०७८ मंसिरमा भएको कांग्रेस महाधिवेशनमा उपसभापतिमा पराजित भए भने गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा पनि सुनसरी– २ बाट पराजित भए । हाल कांग्रेस केन्द्रीय सदस्य रहेका गच्छदारको राजनीति संकटको डिलमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप