ज्योतिषशास्त्र : राशि होइन, नक्षत्रको फल हेर्नुपर्छ
विज्ञानको विकासले मानव जीवन अत्यन्तै सहज बन्दै आइरहेको छ । विज्ञानको उच्चतम खोजले नयाँ नयाँ विषय पत्ता मात्र लगाएको छैन, अपितु मानव जीवनसम्मको पहुँच सहज बनाएको छ । आज विज्ञानका सामु परम्परा र वैदिक विषयहरूले अन्धविश्वास भन्ने आक्षेप खेप्नुपरेको छ । आधुनिक विज्ञान प्रकृतिमा प्राप्त स्रोतहरूको अध्ययन, अनुसन्धान र मानवोचित उपयोगमा केन्द्रित छ । प्राकृतिक स्रोतबाट अधिकतम मानवोपयोगी खोज अनुसन्धान गर्न सफल भइरहेको आधुनिक विज्ञानमा आकर्षण बढ्दै गर्दा मानव सभ्यतामा चल्दै आएका वैदिक र मौलिक परम्परा छायामा पर्दै आएका छन् ।
ऋषिमुनिको पालादेखि चल्दै आएको ज्योतिषशास्त्रप्रति पनि मानिसको प्रथम धारणा नकारात्मक नै रहने गरेको पाइन्छ । तर, जब मानिस शारीरिक तथा मानसिक रूपमा कमजोर हुन थाल्छ, तब आध्यात्मिक र मौलिक परम्पराको खोजीमा लाग्छ । यी र यस्ता मानवीय स्वभाव कस्ता व्यक्तिमा हुन्छ भन्ने वैदिक ज्योतिषले पहिले नै अनुसन्धान गरिसकेको छ । यद्यपि मानिस ज्योतिषशास्त्र एउटा यस्तो विज्ञान हो, जसमा प्रकृति र ब्रह्माण्डका हरेक घटना र परिघटनाको पूर्वनिर्धारित ज्ञानको प्रसारित गर्छ भन्ने तथ्यलाई स्विकार्न चाहन्न ।
लाखौँ किलोमिटर टाढा रहेका ग्रह नक्षत्रहरूसँग मानिसको सम्बन्ध हुन्छ भन्ने कुरा काल्पनिक लाग्न सक्छ । यस्ता विषय अध्ययन, अनुसन्धान र शास्त्रसम्मत तर्कका आधारमा तथ्यसम्म पुग्न सकिन्छ । ज्योतिषशास्त्रले नक्षत्रहरूका आधारमा तथ्यगत विश्लेषण गरेको हुन्छ । सौर्यमण्डलमा रहेका अनेक ग्रह उपग्रह र नक्षत्र ताराहरूका आधारमा गणना गरी ज्योतिषशास्त्रले घटना परिघटनाको पहिचान गरेको हुन्छ । ज्योतिषशास्त्रका अथाह विधामा नक्षत्र र नक्षत्रहरूको गणना एउटा सानो विधा हो । सूर्यलाई केन्द्र बनाएर अनेक ग्रह–उपग्रह परिक्रमा गरिरहेका छन् । पृथ्वी, मंगल, बुध, बृहस्पति, शुक्र, शनिजस्ता ग्रह सूर्यको परिक्रमा गर्छन् भने चन्द्रमाले पृथ्वीलाई परिक्रमा गरिरहेको छ । जसरी पृथ्वीलाई चन्द्रमाले उपग्रहका रूपमा परिक्रमा गरिरहेको छ, त्यसरी अन्य ग्रहका पनि उपग्रह छन् ।
वैदिक ज्योतिषमा नवग्रहका रूपमा राहु र केतु पनि समावेश गरिएको छ, तर छायाका रूपमा मात्र लिइन्छ, जसको आफ्नो भौतिक रूप छैन । सौर्यमण्डलमा देखिने ग्रह र ताराहरू विभिन्न आकृति र रूपमा रहेका छन् भने तिनीहरूको बनावटमा पनि विभिन्न फरक–फरक तत्व रहेको विज्ञानले पुष्टि गरिसकेको छ । विस्तृत चर्चा सम्भव छैन, तर सूर्य र चन्द्रमाबाट पृथ्वीका प्राणी एवं वनस्पति प्रभावित भइरहेको हामी सबैले प्रत्यक्ष भोग्दै आएका छौँ । व्यावहारिक रूपमा हेर्दा सबैले थाहा पाउने सूर्य र चन्द्रको प्रभावसँगै यदि गुरुत्वाकर्षण नहुने हो भने पनि ब्रह्माण्डको तालमेल सायदै हुन्थ्यो होला । सूर्यको प्रकाश र ताप, चन्द्रको शीतलता, बृहस्पतिको गुरुत्वाकर्षण अनुभवजन्य नै छ ।
वैदिक ज्योतिषमा नक्षत्रको खेल सबैभन्दा महत्त्वपूर्ण मानिएको छ । हरेक मानिसको जन्मदेखि मृत्युसम्म गरिने सोह्र संस्कार नक्षत्रका आधारमा तय गरिन्छ भने हरेक कुराको मुहूर्तमा पनि नक्षत्रकै महत्त्वपूर्ण भूमिका छ ।
यी सबै चर्चाको कारण ज्योतिषशास्त्रको जीवन र जगत्मा प्रत्यक्ष प्रभाव छ भन्ने हो । आकाशका ग्रह र ताराहरूका आधारमा गणना गरी तय गरिएको ज्योतिषशास्त्रको सबैभन्दा सूक्ष्म आधार नक्षत्र मण्डलको गणना नै हो । नक्षत्रको गणना र पहिचानविना ज्योतिष सार्थक हुँदैन । नक्षत्रहरूको सूक्ष्म अध्ययन गरेर मात्र ज्योतिषीहरूले गणित र फलित विश्लेषण गर्ने गर्छन् । जन्म कुण्डली निर्माणदेखि त्यसमा ग्रहहरूको स्थान तय र भविष्य कथनमा नक्षत्रको प्रमुख भूमिका रहन्छ । नक्षत्रहरूकै आधारमा हरेक ग्रहहरूको अवस्था निर्धारण हुन्छ । ग्रहहरूको स्थान, सबल, निर्बल लगायत अवस्थाको आधारमा भविष्य तय या निर्धारण हुने भएकाले यो सानो आलेखमा नक्षत्रको चर्चा समेट्ने प्रयास गरिएको छ ।
वैदिक ज्योतिषमा नक्षत्रको खेल सबैभन्दा महत्त्वपूर्ण मानिएको छ । हरेक मानिसको जन्मदेखि मृत्युसम्म गरिने सोह्र संस्कार नक्षत्रका आधारमा तय गरिन्छ भने हरेक कुराको मुहूर्तमा पनि नक्षत्रकै महत्त्वपूर्ण भूमिका छ । जन्म समयमा चन्द्रमा जुन नक्षत्रमा छ त्यही नक्षत्रका आधारमा जन्म राशि, नामकरण र अन्य विषय तय गरिन्छ ।
सम्पूर्ण भचक्रमा २७ नक्षत्रलाई आधार बनाइएको छ । यिनै २७ नक्षत्रले हरेकको नामकरणदेखि भविष्य तय गर्छन् । प्रचलनमा २७ नक्षत्रलाई प्राथमिकतामा राखिएको छ, तर कुनै कुनै विषय प्रसङ्गमा एक अभिजित नक्षत्रलाई समेत समेटेर २८ नक्षत्र गणना गर्ने गरिन्छ ।
आखिर नक्षत्र के हो त ? त्यसैले शास्त्रमा भनिएको छ– न क्षरति, न सरति इति नक्षत्र । अर्थात् नचलोस् न हल्लियोस् त्यही नक्षत्र हो । जब व्यक्तिको जन्म हुन्छ, त्यो नक्षत्र नै उसको जीवनको आधार तय गर्ने नक्षत्र बन्छ । नक्षत्रलाई बुझ्नुअघि हामीले पहिले पृथ्वी र यसको गतिका बारेमा जानकारी राख्नुपर्छ । पृथ्वीले अन्य ग्रहहरू जस्तै सूर्यको परिक्रमा गर्छ र आफ्नो कक्षमा पश्चिमबाट पूर्वतर्फ घुम्छ । यसरी घुम्दा एकातिर सूर्यको किरणसहित दिन र अर्कोतर्फ अन्धकार या रात हुन्छ । पृथ्वीका दुई भाग छन्, एकातिर उत्तरी ध्रुव र अर्कातिर दक्षिणी ध्रुव । एकातिर उज्यालो आकाश र अर्कातिर अँध्यारो आकाश हुन्छ । यसरी दुवैतिर आकाशमा फरकफरक समयमा देखिने ताराहरू समूहको अवस्थालाई ज्योतिषशास्त्रले नक्षत्र नामकरण गरेको छ । यी अथाह तारा आकृतिमध्ये ज्योतिषशास्त्रले २७ ताराहरूको समूहलाई नक्षत्र मण्डलमा समेटेको छ ।
वैदिक ज्योतिषमा नक्षत्रलाई व्यक्तिको जन्म समयको गणनाबाट सुरु गरिन्छ । जन्म समयमा चन्द्रमा कुन नक्षत्रमा छ सोको आधारमा सम्पूर्ण जन्मकुण्डली तयार हुन्छ । भचक्रका २७ नक्षत्रहरूलाई अश्विनी, भरणी, कृतिका, रोहिणी, मृगशिरा, आद्र्रा, पुनर्वसु, तिष्य, अश्लेषा गरी पहिलो चरणमा समेटिएको छ भने मघा, पूर्वफाल्गुनी, उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, विशाखा, अनुराधा, ज्येष्ठा गरी दोस्रो चरणमा र तेस्रो चरणमा मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपदा, उत्तरभाद्रपदा र रेवती नक्षत्र गरी नामकरण गरिएको हो ।
नक्षत्रकै आधारमा १२ राशिको निर्धारण गरिएको छ । २७ नक्षत्रलाई १२ राशिमा विभाजन गरी प्रत्येक सवा दुई नक्षत्रले एक राशि निर्माण गरेका छन् ।
यी तीन चरण प्रत्येक नौ ग्रहलाई पालैपालो नक्षत्र स्वामी बनाइएको छ । यसरी एक ग्रहलाई तीन नक्षत्रका स्वामी बनाइएको हो भने नक्षत्रलाई चार चरणमा विभक्त गरी २७ नक्षत्रलाई १०८ चरणमा विभाजन गरिएको छ । प्रत्येक नक्षत्रलाई चार अक्षर दिइएको छ र त्यही चरणमा परेको अक्षर हाम्रो नामको पहिलो अक्षर हुन्छ । हरेक नक्षत्रका आफ्नै कथा छन् । नक्षत्रका अलग अलग स्वभाव र गुण छन् ।
जन्म समयमा जुन नक्षत्र हुन्छ, त्यही नक्षत्रले जीवनको कथा तय गर्छ । नामाकरणसँग उसको जीवनभरको दशा, अन्तर दशा तथा घटना परिघटना यसैले तय गर्छ । प्रत्येक नक्षत्रका स्वामी ग्रह उनीहरूको अवस्था र दूरीका आधारमा जीवनमा के–कस्ता घटना हुने भन्ने तय हुन्छ । आकाशमा देखिने अनेक तारामध्ये गणनाका लागि तय गरिएका २७ नक्षत्रहरूको तारा समूहसँगै अन्य तारा पनि आधुनिक विज्ञानले अध्ययन अनुसन्धान गरिरहेका छन् । खगोलको अध्ययनबाट आएका निष्कर्ष पनि ज्योतिषशास्त्रलाई थप प्रमाणित गर्ने नै देखिन्छ ।
नक्षत्रकै आधारमा १२ राशिको निर्धारण गरिएको छ । २७ नक्षत्रलाई १२ राशिमा विभाजन गरी प्रत्येक सवा दुई नक्षत्रले एक राशि निर्माण गरेका छन् । सम्पूर्ण भचक्रको ३६० डिग्रीलाई १३ डिग्री २० मिनेटका दरले २७ भागमा बाँडिएको छ । त्यसमा पनि एक नक्षत्रलाई चार भाग गरी प्रत्येक भागमा ३ डिग्री २० मिनेट दिइएको छ । प्रत्येक नक्षत्रका अलग अलग देवता र अलग अलग स्वामी ग्रह छन् ।
सूर्य चन्द्रमा मंगल राहु बृहस्पति शनि बुध केतु शुक्र
कृतिका रोहिणी मृगशिरा आद्र्रा पुनर्वसु तिष्य अश्लेषा अश्विनी भरणी
अइउए ओवाविबु वेवोकाकी कूघङछ केकोहाही हुहेहोडा डिडुडेडो चुचेचोला लिलुलेलो
उत्तराफाल्गुनी हस्ता चित्रा स्वाती विशाखा अनुराधा ज्येष्ठा मघा पूर्वफाल्गुनी
टेटोपापी पुषणठ पेपोरारी रुरेरोता तितुतेतो नानिनुने नोयायियू मामिमूमे मोटाटिटू
उत्तराषाढा श्रवण धनिष्ठा शतभिषा पूर्वभाद्रपदा उत्तरभाद्रपद रेवती मूल पूर्वाषाढा
भेभोजाजी खिखूखेखो गागीगूगे गोसासिसू सेसोदादी दूथझञ देदोचाची येयोभाभि भूधाफाढा
प्रत्येक तीन तीन नक्षत्रको एउटा ग्रहले स्वामित्व लिएका छन् भने राशि निर्माणमा पनि प्रत्येक दुई नक्षत्रका चार–चार चरण र अर्को एक नक्षत्रको एक चरण गरी नौ चरण समावेश गरिएको छ । गणनाको सहजताका लागि अश्विनी भरणी पूरै र कृतिकाको एक भाग मेष राशिमा पर्छ । कृतिकाको बाँकी तीन भाग, रोहिणीको चार भाग र मृगशिराको थप दुई भाग वृष राशिमा पर्छ । अब मृगशिराको बाँकी दुई भाग आद्र्रा पूरै र पुनर्वसुको तीन भाग मिथुन राशिमा पर्छ भने पुनर्वसुको एक भाग तिष्य र अश्लेषा पूरै कर्कट राशिमा पर्छ । यसरी प्रत्येक नौ नक्षत्रले चार राशि निर्माण गर्छन् भने २७ नक्षत्रले १२ राशिको निर्धारण गर्छन् । एक राशिमा तीन नक्षत्र समेटिने र प्रत्येक नक्षत्रका अलग अलग स्वामी ग्रह हुने भएकाले राशि एउटै भए पनि नक्षत्रको चरण फरकका कारण प्रभाव पनि फरक हुन्छ ।
नक्षत्रको गुण र स्वभावका आधारमा ध्रुव, चर, उग्र, मिश्र, मृदु, तिक्ष्ण, दारुण जस्ता संज्ञा दिइएको छ । ध्रुव संज्ञक नक्षत्रमा रोहिणी, उत्तरफाल्गुनी, उत्तरषाढा, उत्तरभाद्रपद पर्छन् भने चर संज्ञक नक्षत्रमा स्वाती, पुनर्वसु, श्रवण, धनिष्ठा र शतभिषा नक्षत्र पर्छन् । पूर्वषाढा, पूर्वफाल्गुनी, पूर्वभाद्रपद, भरणी र मघा नक्षत्र उग्र संज्ञक हो भने विशाखा र कृतिका मिश्र संज्ञक नक्षत्र हो । त्यसरी नै हस्ता, अश्विनी, तिष्य नक्षत्र क्षिप्र संज्ञकमा पर्छ भने मृदु संज्ञक नक्षत्रमा मृगशिरा, रेवती, चित्रा र अनुराधा पर्छन् र मूल, ज्येष्ठा, आद्र्रा र अश्लेषा तिक्ष्ण अर्थात् दारुण समूहमा पर्छन् । विभिन्न कार्यहरूका लागि नक्षत्रको स्वभाव अनुसार मुहूर्त तय गरिन्छ । स्थायी कार्यका लागि ध्रुव संज्ञक, द्रूत कार्यका लागि चर संज्ञक, आक्रामक कार्यका लागि उग्र नक्षत्रहरूको उपयोग गर्नुपर्छ ।
मुहूर्त विचारमा नक्षत्रलाई सूक्ष्म विश्लेषण गरी नक्षत्रको स्वभाव अनुसारको कार्य स्वभाव तय गरिन्छ । मुहूर्त चिन्तामणि, मुहूर्त विचार, मुहूर्त विज्ञानजस्ता शास्त्रहरूले नक्षत्रलाई उध्र्वमुख, अधोमुख, तिर्यङ्मुख, अन्धलोचन, मन्दलोचन, मध्यलोचन, सुलोचन गरी विभाजन गरी विश्लेषण गरिएको पाइन्छ ।
र, अन्त्यमा ज्योतिषीय गणना नक्षत्रकै आधारमा गरिने र हरेक कार्यमा नक्षत्रलाई नै आधार बनाइन्छ । जन्मदेखि मृत्युपर्यन्तका सम्पूर्ण कार्यहरूमा नक्षत्रको स्वभाव अनुसारको मुहूर्त तय गरी गरिन्छ । जुन नक्षत्रमा जन्म भयो त्यही नक्षत्रले नाम र दशा तय गर्छ । नक्षत्रका देवता र स्वामी ग्रहको स्वभाव अनुसार व्यक्तिको स्वभाव र व्यवहार हुन्छ । जन्म नक्षत्रका आधारमा शुभ अशुभ नक्षत्र र दशा ज्ञात हुन्छ । जन्म नक्षत्रलाई जन्मतारा भनिन्छ भने नौ तारालाई जन्म, सम्पत, विपत, क्षेम, प्रत्यरी, साधक, बध, मित्र र अतिमित्र तारा तय हुन्छ । यी तारा र तारापतिका आधारमा दशा अन्तरदशाका फलहरूको विश्लेषण गरिन्छ । त्यसैले राशिफल हेर्ने हाम्रो बानी भए पनि नक्षत्रका आधारमा फलादेश गर्दा सत्य नजिक पुग्न सकिने हुँदा राशिफल होइन नक्षत्र फल हेर्नुपर्छ ।
(लेखक दक्षिण एसियाली ज्योतिष महासंघका सहमहासचिव हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान
-
नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो
-
‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
-
समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी
-
पेरुको ‘ग्राण्ड कल्चर रनवे’मा नेपालको प्रतिनिधि वसन्त र प्रशंसा
-
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै