बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
माओवादीको कार्यतालिका

आफैले बनाएको कार्यतालिका पछ्याएनन् प्रचण्डले

बिहीबार, २८ वैशाख २०८०, ०५ : ३९
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । नयाँ वर्षमा धेरैले नयाँ सङ्कल्प गर्छन् । तर व्यवहारमा कत्तिको लागू गर्छन्, उत्तर आफैलाई सोधे हुन्छ, शायद कमैले । र, यो उदाहरण लागू हुन्छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको हैसियतमा नयाँ वर्ष २०८० सालको पहिलो दिन शुक्रबार बिहानै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगे । प्रधानमन्त्री प्रचण्डले पार्टी कार्यालयमै आयोजित कार्यक्रममा मन्त्रीसहित पार्टीका शीर्ष नेता र कार्यकर्तालाई नयाँ वर्षको शुभकामना सहितको  छोटो मन्तव्य राखेर टुङ्ग्याए ।

उनले आफूसहित मन्त्री, सल्लाहकार र विज्ञ सातै दिन कार्यतालिका बनाएर पार्टी कार्यालयमा उपस्थित हुने बचन दिए । आफू शुक्रबार उपस्थित हुने अरू मन्त्री र सल्लाहकार कार्यतालिका बमोजिम अनिवार्य उपस्थित हुने बताए । 

प्रधानमन्त्री निवास र सिंहदरबारमा भेटघाट हुँदा भिडभाड हुन थालेपछि पार्टी कार्यालयमै नेता कार्यकर्ता र सर्वसाधारण भेट्ने व्यवस्था मिलाएको बताए । 

वैशाख १ गतेदेखि सोमबारसम्म प्रधानमन्त्रीसहित मन्त्रीको कार्यतालिका बनाएको चौथो साता टेकेको छ । तर, पार्टीले गरेको निर्णयलाई उलङ्घन गर्दै प्रचण्ड नै कार्यतालिका बमोजिम पार्टी कार्यालय पुगेका छैनन् ।  

वैशाख १ गतेपछि कार्यतालिकाअनुसार प्रचण्ड पेरिसडाँडा गएकै छैनन् । कार्यतालिकाबाहेक अन्य कार्यक्रम हुँदा भने उनी त्यहाँ पुगेका छन् । प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सेनाले कार्यतालिका बमोजिम प्रधानमन्त्री उपस्थित नभए पनि पार्टी कार्यालय प्रायः उपस्थित हुने गरेको जिकिर गरे । 

‘पार्टीले बनाएको कार्यतालिका बमोजिम प्रधानमन्त्रीज्यू उपस्थित नभए पनि पार्टी कार्यालय पुग्नु भएको छ । नेता, कार्यकर्ता, सर्वसाधारणको गुनासो सुन्ने गर्नु भएको छ,’ तिमल्सेनाले भने,‘प्रधानमन्त्रीज्यू, पार्टी कार्यालयमै नपुगेको र पार्टीको निर्णय नै नमानेको भन्ने होइन ।’ पार्टीको औपचारिक बैठक पार्टी कार्यालयमै हुने भएकाले नियमित पेरिसडाँडा जाने गरेको तिमिल्सेनाले बताए ।

मन्त्रीहरूको समेत उत्साहजनक उपस्थित छैन

पार्टी महासचिव देवप्रसाद गुरुङले हस्ताक्षर गरेर गत चैत २८ गते सर्कुलर जारी गरेका थिए । पार्टीको निर्णयलाई संसदीय दलको बैठकले समेत प्रधानमन्त्रीसहित मन्त्री कार्यातालिका बनाएर पार्टी कार्यालयमा उपस्थित हुने निर्णय गरेको थियो । 

पार्टीको निर्णयबमोजिम आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत, सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, मंगलबार सल्लाहकार र विज्ञ उपस्थित हुने निर्णय भएको थियो । 

यस्तै, बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, बिहीबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शुक्रबार प्रधानमन्त्री प्रचण्ड र शनिवार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा उपस्थित हुने निर्णय भएको थियो । 

कार्यतालिका बमोजिम आइतबारदेखि शनिवारसम्म प्रधानमन्त्री र मन्त्रीले बेलुका ४ बजेदेखि ६ बजेसम्मको समय पार्टी कार्यालयमा पुगेर दिनुपर्ने व्यवस्था गरिएको छ । 

यद्यपि, गत आइतबारदेखि जेठ १६ गतेसम्म पार्टी कार्यालयमा हुने भेटघाट बन्द गरिएको छ । आगामी आर्थिक वर्षको बजेटको तयारीमा लाग्नुपर्ने भएकाले भेटघाटको कार्यतालिका स्थगित गरिएको हो ।

पार्टीको निर्णय बमोजिम गृहमन्त्री श्रेष्ठ बिहीबार तथा पर्यटन मन्त्री किराती सोमबार कार्यतालिका बमोजिम नियमित पार्टी कार्यालय उपस्थित हुने गरेका छन् । त्यहाँ पार्टी नेता, कार्यकर्ता र जनताको गुनासो सुन्ने गरेका छन् । 

त्यस्तै, सरकारी नियुक्ति लिएका पार्टीका सल्लाहकार विज्ञले मंगलबार पार्टी कार्यालय पुगेर भेटघाट र छलफल गर्ने गरेका छन् । 

पार्टीकै सञ्चार मन्त्री रेखा शर्मा भने २ दिन मात्रै कार्यतालिका बमोजिम पार्टी कार्यालय पुगेकी छन् । शर्मा गृह जिल्ला दाङ गएकाले कार्यतालिका बमोजिम उपस्थित हुन नसकेको स्वकीय सचिव जंग रोकाले बताए । 

पार्टीले निर्णय गरेको चार हप्ता भयो, जसमध्ये दुई पटक पार्टी कार्यालय पुगियो,’ शर्माका स्वकीय सचिव जंग रोकाले भने,‘त्यो बीचमा गृह जिल्ला दाङ गएकाले उपस्थित हुन सक्नु भएन । अब भेटघाट सुरु भएपछि नियमित जाने योजना छ ।’ 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत कार्यतालिका बमोजिम एक पटक मात्रै पार्टी कार्यालय पुगेका छन् । 

बस्नेत यो बीचमा भारत भ्रमणमा गएकाले कम उपस्थित भएको बताएका छन् । यस्तै सामान्य प्रशासन मन्त्री मोदीसमेत अमेरिका भ्रमणमा गएकाले एक पटक मात्रै पार्टी कार्यालय पुग्न भ्याएको बताए । 

‘कार्यतालिका बमोजिम पार्टी कार्यालयमा एक पटक मात्रै पुगे । त्यसपछि विदेश जानुपर्‍यो । त्यसैले कम उपस्थित भइयो,’ मोदीले भने, ‘अहिले भेटघाट स्थगित गरिएको छ । सुरु भएलगत्तै कार्यतालिका बमोजिम पार्टी कार्यालय पुग्छु ।’

कस्ता छन् पार्टी कार्यालयमा आउने गुनासा ?

पार्टी कार्यालयमा प्रधानमन्त्रीसहित मन्त्री, सल्लाहकार र विज्ञलाई तीन प्रकृतिका गुनासा आउने गरेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

‘सबैभन्दा बढी व्यक्तिगत समस्या जस्तै जागिर लगाइ दिनु प¥यो, सरुवा गरिदिनुपर्‍यो, बिरामी परेर आर्थिक सहयोग गरिदिनुपर्‍यो भन्ने आउँछन्,’ उपाध्यायले भने,‘बिरामी कोही आफै, कोही गोली लागेर घाइते भएका उपचार चाहियो भन्ने हुन्छन् । कतिपय आफन्त रोग लागेर थला परेकाले सहयोग चाहियो भन्ने हुन्छ ।’ 

यस्तै अर्को आफ्नो क्षेत्रको विकास निर्माण र योजना पार्न बजेट माग गर्न आउने गरेको उपाध्यायले बताए । यसरी बजेट माग गर्न गठबन्धनका नेता र पार्टीकै नेताहरू हुने गरेका छन् । तेस्रो गुनासो मिटरब्याजीबाट पीडित भएका, अन्य लेनदेनका विषय भएका समस्या बोकेर मन्त्रीलाई भेट्न आउने गरेका छन् । 

‘पार्टी कार्यालयमा आउने जस्तो सुकै गुनासो भए पनि मन्त्रीज्यूले ध्यानपूर्वक सुन्ने, केलाउने र समाधान गर्न सक्ने भए गर्नु हुन्छ,’ उनले भने, ‘यदि आफूबाट समस्या समाधान नहुने भएमा उपाय दिएर सुल्झाउने प्रयास गर्नुहुन्छ ।’ 

पार्टी कार्यालयमा मन्त्रीहरू आउन थालेपछि भेट्न आउनेको सङ्ख्यासमेत धेरै हुने गरेको छ । पार्टीको उक्त निर्णयले नेता कार्यकर्ता र सर्वसाधारणलाई समेत भेटघाट गर्न सहज बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप