शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

देशको विकास किन भएन र कसरी सम्भव छ ?

बुधबार, २७ वैशाख २०८०, ११ : ५४
बुधबार, २७ वैशाख २०८०

विश्वविख्यात सगरमाथा, विविध प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा सांस्कृतिक धरोहरले हामी सुसज्जित र सम्पन्न छौँ । यद्यपि हामीले उपलब्ध स्रोत र साधनको उपयोग गरेर विकासमा फड्को मार्न सकिरहेका छैनौँ । विकासका विभिन्न परिप्रेक्ष्यमा हाम्रो देशले वास्तवमा चुनौती अनुभव गरिरहेको छ । 

विकासका मूल क्षेत्रमध्ये पर्छन्– शिक्षा र स्वास्थ्य, तर यी दुवै गुणस्तरीय र सर्वसुलभ नभएका कारण देशको विकासमा बाधा परेको छ । शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न कानुनी व्यवस्थामा परिवर्तन गरी व्यावसायिक वातावरण कायम गर्नुपर्ने देखिन्छ । नेपालको कानुनी व्यवस्थामा समयानुकूल सुधार हुन नसक्दा व्यवसायमा लाग्नेहरू निराश हुँदै गइरहेका छन् । सरकारले नियमन नियामक संस्थाहरूको क्षमता विकासमा पनि जोड दिनुपर्छ । 

यस्ता प्रयासबाट  सरकारले सर्वप्रथम गुणस्तरीय र सर्वसुलभ शिक्षा र स्वास्थ्य सेवामा जोड दिन आवश्यक छ । 

विकासको गतिमा अवरोध खडा गर्न राजनीति दलहरू र शासन प्रणाली पनि जिम्मेवार छन् । पार्टीहरूबीचको सत्ता संघर्षले हरेक क्षेत्रमा भागबन्डाको राजनीति देखिन्छ । जसले गर्दा पालिकादेखि संघीय सरकारका काम–कारबाही प्रभावित भइरहेका छन्, संसाधनहरूको दुरुपयोग र अवसरहरूको अभाव बढिरहेको छ । रोजगारी र अवसरहरु नहुँदा युवाहरु विदेश पलायन हुने अवस्था सिर्जना भइरहेको छ । 

यस्तै, प्राकृतिक प्रकोपहरू (जस्तै : भूकम्प, बाढीपहिरो, डुबान, शीतलहर आदि)ले पनि हामीकहाँ विकासमा बाधा पु¥याइरहेका छन् । प्राकृतिक प्रकोपबाट जोगिन राज्यसँग पूर्वसावधानीसहितका कार्यक्रम हुनुपर्छ । 

यसका लागि वातावरण संरक्षण गर्ने खालका कार्यक्रम सरकारसँग हुनुपर्छ । यसले विकास गतिविधिहरूलाई लामो समयसम्म स्थिर र दिगो बनाउने आधार दिन्छ ।

वैज्ञानिक र प्राविधिक उन्नतिले विश्वभरका देशहरूले विकासमा फड्को बाँडिरहेका छन् । कृषि, पशुपालन र उद्योगका लागि नयाँ नयाँ आधुनिक प्रविधि आवश्यक हुन्छ । हामीकहाँ विज्ञान र प्रविधिमा जोड दिएको पाइँदैन । 

यस्तै विकासका लागि विभिन्न क्षेत्रमा वैज्ञानिक अनुसन्धान गर्न आवश्यक हुन्छ ।

सरकारले व्यावसायिक तथा आर्थिक समृद्धिका लागि स्थायी उपाय खोज्नुपर्छ । विज्ञान र प्रविधिका माध्यमबाट व्यवसाय र उद्योगहरुको वृद्धि गरेर रोजगारी बढाउन सकिन्छ ।  

यस्तै, प्राकृतिक सौन्दर्य, जैविक विविधिता र सांस्कृतिक सम्पदालाई उपयोग गरेर हामीले पर्यटन विकास गर्न सक्छौँ, यसमा राज्यको गतिशीलता देखिँदैन । 

योसँगै कुनै पनि देशले विकास गर्न सामाजिक न्यायलाई दुत्कार्न सकिँदैन । सामाजिक न्यायबाटै समाजमा सद्भाव र सहिष्णुता कायम गरिनुपर्छ ।

संक्षेपमा, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि आदिमा आएको परिवर्तनले नै देशको विकासमा गति दिने हो । 

विज्ञान र प्रविधिका माध्यमबाट रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । यी सबै कार्यका लागि सरकारले आफ्ना सबै संयन्त्रलाई चुस्त–दुरुस्त राख्नुपर्छ र सर्वप्रथम भ्रष्टाचार रोक्न आवश्यक छ । राज्य संयन्त्रले काम गर्दा कानुनी जटिलता छन् भने त्यसलाई हटाइहाल्नुपर्छ, नियम–कानुनहरु संसद्बाट ल्याइने हुनाले समृद्धिका सबै काममा दलहरू एकजुट हुने अभ्यास गर्न आवश्यक छ ।  विकासका लागि सर्वसाधारण, सरकार र विभिन्न सामाजिक संगठनहरूबी समन्वय र सहकार्य अत्यन्त महत्त्वपूर्ण हुन्छ, यसमा पनि राज्यले सहजीकरणको भूमिका निर्वाह गर्न सक्नुपर्छ । 

सरकारले सकारात्मक नीतिहरू बनाउन, आफ्ना काम–कारबाही पारदर्शी राख्न, सचेतना बढाउने कार्यक्रमहरू ल्याउन तथा अन्तर्राष्ट्रिय सहयोग लिने क्षमता विकास गर्नु समेत आवश्यक छ ।

समाजका विभिन्न घटकले देश विकासमा सहयोग र सहभागिता बढाउँदै आउनुपर्छ । सामाजिक न्यायसहितको विकासलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्न आवश्यक छ ।

(लेखक अमेरिकाको फेयरफाक्स भर्जिनियास्थित जर्ज मेसन विश्वविद्यालयमा माइक्रोबायोलोजी विषयमा पीएचडी गर्दै छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिल पाण्डे
सुनिल पाण्डे
लेखकबाट थप