आज २०८० वैशाख २६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
नक्कली भुटानी शरणार्थी प्रकरण
नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीले कानुन अनुसार अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको छ । मङ्गलवार बसेको पार्टी सचिवालय बैठकले सचिव रायमाझीले विधि र कानुनसम्मत घटनालाई अनुसन्धान गर्न सघाउनुपर्ने निर्णय गरेको हो । एमालेले नेता रायमाझीलाई कारबाही गर्ने अनुमान गरिए पनि उनी अहिले नै दोषी देखिई नसकेकाले कारबाही गर्नबाट भने पछि हटेको छ । ‘एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो ।
मन्त्रिपरिषद्को निर्णय
सरकारले ४४ जना सहसचिवको पदस्थापन र सरुवा गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो । सरुवा र पदस्थापन हुने सहसचिवमा दीपकराज नेपाल, झक्क प्रसाद आचार्य, प्रदीप कुमार कोइराला, कमल राज ढकाल, बद्री नाथ गैह्रे, कमल प्रसाद भट्टराईलगायत रहेका छन् ।
दङ्ग हरिकृष्ण
कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कायममुकायम प्रधानन्यायाधीश आयोजक रहेको समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
कक्षा १२ को परीक्षा सुरु
आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेबाट १२ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षको परीक्षामा यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । त्यसका लागि १, ४५३ परीक्षा केन्द्रहरू तोकिएका छन् । परीक्षा जेठ ५ गतेसम्म हुनेछ ।
फैसला गर्नबाट पन्छिँदै न्यायाधीश
यदि मुद्दाको सबै अङ्ग पुगेको छ भने आवश्यक सुनुवाइ प्रक्रियापछि फैसला गर्नुपर्ने अदालत वा न्यायाधीशको कर्तव्य हो । तर कतिपय चर्चित मुद्दामा सबै अङ्ग पुग्दा पनि न्यायाधीशहरु यो वा त्यो कारण देखाएर आदेश र फैसला गर्नबाट पन्छिने गरेका छन् । एउटा यस्तै मुद्दामा भक्तपुर जिल्ला अदालतले पटकपटक अन्य आदेश गर्दै फैसला गर्नबाट पन्छिएको छ ।
भागबण्डा मिलेन
बागमती प्रदेशमा सरकार विस्तारको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ । मन्त्रालयको संख्या र पावर सेयरिङमा सत्ता गठबन्धन दलहरुबीच सहमति हुन नसकेको हो ।
श्रमिक पठाउने धन्दा
कन्सल्टेन्सीहरूले नै वर्किङ भिसामा कामदार बाहिर पठाउन थालेका छन् । जबकि कन्सल्टेन्सीहरूको काम विदेश पढ्न जाने विद्यार्थीहरूलाई सहजीकरण गरिदिने मात्र हो । नेपालको कानुनले वैदेशिक रोजगारमा नेपाली श्रमिक पठाउने अधिकार म्यानपावर व्यवसायीलाई दिएको छ । तर, कन्सल्टेन्सीहरूले नै युरोपतिर वर्किङ भिसामा कामदार पठाउन थालेका छन् । यसका लागि उनीहरूले लाखौँ असुल्ने गरेका छन् । राज्यले उनीहरूको नियमन गर्न सकेको छैन ।
सडक विस्तार
लामो समयदेखि पूर्व–पश्चिम राजमार्गको हेटौँडा बजार क्षेत्रको सडक विस्तार हुन सकेको छैन । सडक विस्तार नहुँदा सवारी चापका कारण दुर्घटनाको जोखिम उच्च छ । साँघुरो सडकका कारण बजार क्षेत्रको सुन्दरता हराउँदै गएको छ । बजार क्षेत्रमा सवारी पार्किङ अस्तव्यस्त अवस्थामा रहेको छ भने पैदलयात्रीका लागि उपयुक्त सडक पेटी पनि छैन ।
चुनौतीको चाङ
प्रदेशमा सरकार छिटो फेरिएको भनेर जनताको नजरमा संघीय संरचना आलोचित बनिरहेको छ । यसै क्रममा गण्डकीको मुख्यमन्त्री बनेका नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेलाई जनमुखी काम गर्ने चुनौती छ ।
दूग्ध व्यवसायमा सिन्डिकेट
कृषिमा विदेशी लगानी ल्याउने निर्णयको विरोध गरिरहेका डेरी व्यवसायीहरु भारतबाट काँचो दूध आयात खुलाउने ‘लविङ’मा जुटेका छन् । स्वदेशी उत्पादनले आन्तरिक आपूर्ति धान्न नसक्ने भन्दै भारतबाट काँचो दूध ल्याएर बजार माग धान्ने लक्ष्यसहित काँचो दूध ल्याउने उनीहरुले लविङ सुरु गरेका हुन् ।
प्रतिक्रिया