आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
मिडिया

‘गल्ती सच्याउँदा मिडिया र पाठकबीचको सम्बन्ध बलियो बन्छ’

समाजको ठूलो हिस्साको विश्वास जित्नु नै मिडियाका लागि चुनौती
मङ्गलबार, २६ वैशाख २०८०, १० : ४८
मङ्गलबार, २६ वैशाख २०८०

नेपालमा पछिल्ला केही वर्षयता थुप्रै ऐतिहासिक उतारचढाव भएका छन् । पक्कै पनि नेपाली सञ्चार क्षेत्र त्यसका साक्षी हुन् । यति मात्र होइन, नेपालमा भएका थुप्रै महत्त्वपूर्ण घटनाक्रममा यहाँको सञ्चार क्षेत्रले आफूलाई प्रमाणित गरेर पनि देखाएका छन् । गणतन्त्रको घोषणा, संविधान निर्माण प्रक्रिया र विभिन्न तहका निर्वाचनलाई सफल बनाउन पनि नेपाली मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रशस्त उदाहरण छन् । 

भारतमा जस्तै नेपालको संविधानले पनि प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । नेपाली सञ्चार क्षेत्रका लागि यो गतिलो अवसर पनि हो र हाम्रो शक्ति पनि त्यही नै हो । प्रेस स्वतन्त्रता भनेको सञ्चार क्षेत्रले उपभोग गर्ने अधिकार मात्र होइन, सञ्चारकर्मीको काँधमा आएको निकै ठूलो जिम्मेवारी पनि हो । त्यसैले मिडिया पारदर्शी हुन जरुरी छ र कुनै गल्ती गर्दा सच्याउन पनि आवश्यक छ । यसरी गल्ती सच्याउँदा मिडिया र पाठकबीचको सम्बन्ध बलियो बन्छ । 

दक्षिण एसियाली क्षेत्रको एउटा सदस्यको हैसियतले मैले भन्नुपर्ने हुन्छ, संविधानद्वारा प्रदत्त प्रेस स्वतन्त्रता वास्तवमा जनताको अधिकार हो । त्यसैले यसको प्रयोगबाट समाजको ठूलो हिस्साको विश्वास जित्नु नै मिडियाका लागि चुनौती बनेको छ । 

दक्षिण एसियाली क्षेत्रमा थुप्रै समस्या र चुनौती उस्तै प्रकारका छन् । त्यसैले एकअर्का साझा समस्यामाथि छलफल गर्नु सान्दर्भिक हुन्छ । दक्षिण एसियाली क्षेत्रमा उस्तै परिवेश र समस्याको सामना गर्नुपर्ने हामी सञ्चारकर्मीका लागि यो गतिलो अवसर हो । 

यो मिडिया मेलाको विषय नै मलाई मन परेको छ । यो विषय पनि गम्भीर छ, ‘विश्वास र आत्मसमीक्षा’ । स्वतन्त्र प्रजातान्त्रिक मिडियाको सञ्चालनमा यी तत्त्वको विशेष भूमिका हुन्छ । यसले हामीलाई के पनि स्मरण गराउँछ भने हामी कथा होइनौँ र हामी कहिल्यै कथा बन्नु हुँदैन । हामीले केही ठूलो उद्देश्यका लागि काम गर्छौं । आफूले आफैँलाई चौथो अंग वा जेसुकै भनौँ, तथ्य के हो भने हामीले गर्ने भनेको जनताकै लागि हो ।

वर्ष २०२३, पत्रकारका लागि ठुल्ठूला अवसरको समय । मैले यहाँ पत्रकार र पत्रकारिता भन्ने शब्दलाई व्यापक अर्थको रूपमा प्रयोग गरेको छु । 

हामीले दिमागमा के राख्नुपर्छ भने पत्रकार र पत्रकारितालाई सकेसम्म व्यापक तरिकाले परिभाषित गर्नुपर्छ । यस्तो किनभने हामी यही युगमा बाँचिरहेका छौँ । 

अमेरिकामा एउटा यस्तो कानुनको मस्यौदा छ, जसको उद्देश्य पत्रकारलाई निगरानी, जासुसी र सरकारको तर्फबाट कुनै पनि नियन्त्रणबाट जोगाउनु हो । दुर्भाग्यवश, अमेरिकाको प्रतिनिधिसभाले ‘प्रेस एक्ट’ नाम दिएको यो मस्यौदालाई पारित गर्दा समेत यसको कानुन बन्न सकेको छैन । दुईवटा घटनाका कारण यस्तो मस्यौदा बनाइएको थियो । एउटा निगरानीको समस्या थियो भने अर्को सरकारी निकायले पत्रकार र मिडिया हाउसलाई दिने दबाब थियो । पत्रकारको कर्तव्य आफ्नो स्रोतलाई जोगाउनु पनि हो । अमेरिकामा प्रेस स्वतन्त्रतालाई जोगाउने इच्छाबाट उत्प्रेरित भएर कानुनको एउटा मस्यौदा बनाइएको छ । जसमा राज्यको शोषणबाट पत्रकारलाई जोगाउनु रहेको छ । 

मैले यहाँ यो कुरा किन पनि भनेँ भने, यसमा पत्रकारको परिभाषा छ जुन मलाई निकै उपयोगी लाग्यो । एकपटककोे मेरो अनुभव साझा गर्न चाहेँ । केही महिनाअघि मलाई तमिलनाडुको चेन्नईमा आयोजित एक कार्यक्रममा वक्ताका रूपमा बोलाइएको थियो । उनीहरू ‘एसोसिएसन अफ क्यामरा पर्सन अफ डिजिटल मिडिया च्यानल’ थिए । यसलाई किन यस्तो साँघुरो बनाएको भनेर प्रश्न सोधेँ । खासमा के रहेछ भने तमिलनाडु जर्नालिस्ट युनियनले उनीहरूलाई आफ्नो क्षेत्रको भनेर गन्दै नगन्ने रहेछ । नेपालमा यस्तो समस्या छ छैन मलाई थाहा छैन, तर हामीले जुन खतरा र चुनौतीको सामना गर्छौं, त्यो लगभग उस्तै हुन्छ । अमेरिकाको ड्राफ्ट प्रेस एक्टले पत्रकारलाई यसरी परिभाषित गर्छ – एक व्यक्ति जसले स्थानीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय घटनाहरू वा सार्वजनिक हितका अन्य विषयहरू सार्वजनिक गर्न नियमित रूपमा समाचार सङ्कलन गर्ने, तस्बिर लिने, अभिलेख राख्ने, लेख्ने, सम्पादन गर्ने, प्रतिवेदन तयार गर्ने, अनुसन्धान वा प्रकाशन गर्ने काममा चिन्तित रहन्छ । 

यो परिभाषाले हामीले गर्ने सबै कामको जानकारी दिन्छ । प्रिन्ट मिडिया, टेलिभिजन वा डिजिटल प्लेटफर्म लगायतका मिडियामा पूर्णकालीन वा फ्रिलान्स (स्वतन्त्र ढंगले) काम गर्ने सबै पत्रकार सुरक्षित रहनुपर्छ । 

अवसरको कुरा गर्दा हामी चुनौतीबारे पनि बोलिरहेका हुन्छौँ । हामीले दिमागमा के राख्नुपर्छ भने पत्रकार र पत्रकारितालाई सकेसम्म व्यापक तरिकाले परिभाषित गर्नुपर्छ । यस्तो किनभने हामी यही युगमा बाँचिरहेका छौँ । 

हामीले सीमित स्रोत–साधनमार्फत जनतालाई सुसूचित गराउन सक्छौँ । अहिले प्रत्येक प्रसारण मिडियाको आफ्नै वेबसाइट छ । त्यो वेबसाइटले धेरै नाफा कमाइरहेको नहुन पनि सक्छ, तर यसले पाठकमा पक्कै पनि वृद्धि गरिरहेको हुन्छ, पत्रपत्रिकाको तुलनामा । भारतकै कुरा गर्नुपर्दा इन्डियन एक्सप्रेसकै कुरा गरौँ । यसको मास्टरहेडले विरासत बोकेको छ । यसको प्रिन्ट सर्कुलेसन अलि कम होला, तर यसको सबैभन्दा ठूलो वेबसाइट छ । प्रत्येक टिभी च्यानलको वेबसाइट छ । 

मिडिया हाउसले आर्थिक समस्यालाई कसरी सम्बोधन गरिरहेको छ भन्ने कुराले एउटा मिडिया हाउस कत्तिको स्वतन्त्र छ भनेर निर्धारण गर्छ । तपाईं जति सरकारी विज्ञापन, अनुग्रहमा कम निर्भर हुनुहुन्छ, त्यति नै तपाईं स्वतन्त्र बन्न सक्नुहुन्छ ।

पत्रपत्रिकाले रेकर्ड गरेर भिडियो युट्युबमा हालिरहेका छन् । टिभी च्यानलले धेरै कथालाई लेखनमा उतारेर फोटो भिडियो बनाई आफ्नो वेबसाइटमा हाल्छन् । अनलाइन मिडियाले कथालाई लेखेर प्रकाशित गरिरहेकै छन्, तर भिडियोमा मानिसको रुचि दिन प्रतिदिन बढिरहेको छ, प्रविधिले यतिसम्म गरिसकेको छ । तर यो दुःखको कुरा हो, विश्वभरिका पत्रकारले पाउने धम्कीमा पनि वृद्धि भइरहेको छ । 

एक पत्रकारको रूपमा चुनौती र अवसरलाई मैले चारवटा पाटोमा छुट्ट्याएको छु ।

विशेषतः आर्थिक पाटोलाई हामी सबैले स्वीकार गर्नैपर्छ । सानो गैरनाफामूलक उद्यम गरिरहेका हुन् वा कान्तिपुरजस्तो ठूलो मिडिया हाउस चलाइरहेका, सबैलाई आफ्ना पत्रकारलाई पैसा दिन गाह्रो भइरहेको हुन्छ । मिडिया हाउसले आर्थिक समस्यालाई कसरी सम्बोधन गरिरहेको छ भन्ने कुराले एउटा मिडिया हाउस कत्तिको स्वतन्त्र छ भनेर निर्धारण गर्छ । तपाईं जति सरकारी विज्ञापन, अनुग्रहमा कम निर्भर हुनुहुन्छ, त्यति नै तपाईं स्वतन्त्र बन्न सक्नुहुन्छ । तपाईं कुनै पनि कम्पनीको स्पोन्सर्स र विज्ञापनबाट जति टाढा बस्नुहुन्छ, तपाईं त्यति नै राम्रो हुनुहुनेछ ।

यस्तै, तपाईं आफ्ना पाठक र दर्शकको सब्सक्रिप्सन, दान, योगदानमा जति धेरै भर पर्नुहुन्छ वा स्वतन्त्र मिडियालाई जोगाउनुपर्छ भनेर सोच्ने नागरिक समाजको सर–सहयोग लिनुहुन्छ, मिडिया त्यति नै स्वतन्त्र हुन सक्छ ।

यो जवाफ हो भन्ने हामीलाई थाहा छ । तर यसलाई लागू गर्न कति सजिलो छ भन्ने प्रश्न उठ्छ । नेपालका केही साथीसँग मैले एक–दुई दिन भयो यसबारे कुरा गरेको । उत्तर अमेरिका र युरोपका केही भागमा ‘पे–वाल’लाई वेबसाइटको व्यावहारिकताको जवाफका रूपमा हेरिएको छ । तपाईंले आफ्ना पाठकलाई समाचारका लागि केही रकम तिर्न बाध्य पार्नुपर्छ । भारतमा केही यस्ता उदाहरण छन्– ‘बिजनेस स्ट्यान्डर्ड’, ‘द हिन्दू’ले यसबारे परीक्षण गरिरहेका छन् । ‘द मर्निङ कन्टेक्स्ट’लगायत केही वेबसाइटको ‘पे–वाल’ निकै उत्कृष्ट छ । यिनीहरूले ढिलै भए पनि केही सफलता हात पारिरहेका छन् ।

आत्मसमीक्षा गर्दै हामीले आफूले आफैँलाई कडा रूपमा सोध्न जरुरी छ — के हामीले त्यस्ता सामग्री तयार पारिरहेका छौँ, जसलाई मानिसले महत्त्व दिन्छन् र जुन पढ्नका लागि मानिस पैसा तिर्न समेत तयार छन् ?

भिन्न व्यक्तित्व, भिन्न आवाज भएका वेबसाइट वा पत्रपत्रिकालाई धेरैले रुचाएको देख्दा अचम्म मान्नुपर्दैन । मैले यहाँ ‘हिन्दू’को पनि कुरा गर्नैपर्छ । पक्कै पनि ‘हिन्दू’ पत्रिका पनि त्यही श्रेणीमा पर्छ । सायद ‘बिजनेस स्ट्यान्डर्ड’ पनि त्यसमै पर्छ । तपाईंले पस्किने सामग्रीको गुणस्तरका आधारमा तपाईंले पाठकको लोयल्टी पाउनुहुन्छ भने तपाईंले आफ्ना सामग्रीलाई पैसा लिएर बेच्न सक्नुहुन्छ । 

अर्को खालको चुनौतीमा मलाई लागेका दुई चारवटा महत्त्वपूर्ण कुरा भन्न चाहन्छु ।

समाचार कक्षले कहिलेकाहीँ गलत समाचार सम्प्रेषण गर्न सक्छ, तर त्यसका लागि समाचार कक्ष पारदर्शी हुनुपर्छ । समाचार डिलिट गरेर उम्कनुखोज्नु हुँदैन ।

समाचार कक्षमा विविधता 

हामी सबै विविधता भएको समाजमा बस्छौँ । समाचार कक्ष साँच्चै नै राम्रो बनाउने हो भने त्यहाँबाट यस्ता कथा निस्कनुपर्‍यो जसले मानिसलाई छुने गर्छ । त्यो समाचार कक्षले बाहिर भएको विविधतालाई प्रतिबिम्बित गर्न सक्नुपर्छ । केही समयअघि भारतीय समाचार कक्षमा जातसम्बन्धी अनौपचारिक सर्वेक्षण गरिएको थियो । यसको नतिजा अनपेक्षित थिएन । सम्पादक र सुपरभाइजर लेभलका पत्रकारहरू लगभग सबैजसो सहरका थिए, ‘माथिल्लो जात’का थिए । आदिवासी, जनजातिका साथै धार्मिक अल्पसङ्ख्यकको सङ्ख्या निकै कम थियो । उच्च पदमा महिलाको उपस्थिति पनि निकै कम थियो । माथिल्लो तह अझै पनि पुरुषप्रधान छ । यहाँ माथिल्लो जातको वर्चस्व छ । तपाईंले मानिसको भित्री कथा ल्याउन समाचार कक्षलाई विविध बनाउन निकै आवश्यक छ । अमेरिका, बेलायतमा यस्ता कुरालाई निकै ध्यानमा राखिन्छ । यो विषयमा हामी अमेरिका र बेलायतभन्दा निकै टाढा छौँ । यसबारे हामीले आत्मसमीक्षा गर्नैपर्छ ।

यस्तै, समाचार कक्षले कहिलेकाहीँ गलत समाचार सम्प्रेषण गर्न सक्छ, तर त्यसका लागि समाचार कक्ष पारदर्शी हुनुपर्छ । समाचार डिलिट गरेर उम्कनुखोज्नु हुँदैन । तपाईंको प्रकाशित गर्नुभएको समाचारमा केही परिवर्तन गर्नुभएको छ भने केमा परिवर्तन गरियो र किन गरियो भनेर जानकारी दिनुपर्छ । कहिलेकाहीँ निकै साधारण परिवर्तन गरिएका हुन सक्छन्, त्यो ठिकै छ । तथ्यमै परिवर्तन गरिएको छ भने त्यसबारे पाठकलाई जानकारी दिनैपर्छ । यो पाठकसँग एक प्रकारको सम्बन्ध विकास गर्ने तरिका पनि हो । 

अन्य चुनौतीमा आर्टिफिसियल इन्टेलिजेन्सको कुरा पनि आउँछ । यस्तै, पत्रकारले पाउने धम्की पनि एक प्रकारको चुनौती हो । भारतमा पनि कतिपय पत्रकार जेलभित्र छन् भने कतिको हत्या समेत गरिएको छ । 

(भारतीय अनलाइन समाचार पोर्टल ‘द वायर’का संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले ‘हिमाल मिडिया मेला २०२३’ राखेको मन्तव्यको भावानुवाद ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सिद्धार्थ वरदराजन
सिद्धार्थ वरदराजन
लेखकबाट थप