प्रदेश संरचनालाई सरकारको नीति कार्यक्रमबाट पुष्टि गर्न सुझाव
मकवानपुर । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले प्रदेश संरचनालाई सरकारको नीति तथा कार्यक्रमबाट पुष्टि गर्न जोड दिएका छन् । सोमबार बागमती प्रदेशसभा हलमा बसेको सर्वदलीय बैठकमा सहभागी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तारुढ र प्रतिपक्षी दलहरुका प्रतिनिधिले जनअपेक्षा अनुसारको योजना ल्याएर सरकारले प्रदेश संरचनाको औचित्यलाई पुष्टि गर्नुपर्ने बताएका हुन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट कस्तो बनाउने भन्ने सन्दर्भमा छलफल गर्न आयोजित सर्वदलीय बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टी र प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकारले विभिन्न योजनाहरुमा राम्रा काम गरे पनि सो विषयमा आम नागरिक अनभिज्ञ रहेको बताए । जसले गर्दा प्रदेश संरचनामाथि नै प्रश्न उठ्ने गरेको सांसदहरुको धारणा थियो ।
‘अहिले प्रदेश संरचनामाथि विभिन्न कोणबाट प्रश्नहरु उठिरहेको छ । प्रदेश संरचना आवश्यक छैन, देशले धान्न सकेन भन्नेहरुको जमात बढ्दो छ,’ बैठकमा सहभागी एक सांसदले भने, ‘प्रदेश संरचनाको औचित्य पुष्टि गर्ने गरी सरकारले जनअपेक्षा अनुसारको नीति तथा कार्यक्रम ल्याउन प्रदेशसभाकै दलका नेताहरुले जोड दिनु भएको छ ।’
सरकारले काम गरेर प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने भएकाले दिगो विकास र प्रभावकारी योजनाहरु ल्याउनुपर्ने बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुको भनाइ रहेको ती सदस्यले जानकारी दिए ।
प्रदेश सरकारले प्रदेशको विकासमा थुप्रै काम गरेको भए पनि सो विषय ओझेलमा परेको भन्दै चिन्ता प्रकरण गरिएको उनको भनाइ छ । ‘हामीले संघ सरकारको भन्दा पनि बढी र राम्रा काम गरेको पाइयो । बैठकमा ५ वर्षको कामको समीक्षा पनि भयो । प्रदेश सरकारको ५ वर्षे कार्यकालमा जनता लक्षित थुप्रै प्रभावकारी योजनाहरु पनि कार्यान्वयन भई पूरा भएको पनि देखियो,’ उनले रातोपाटीलाई बैठकमा भएको छलफलबारे जानकारी दिँदै भने, ‘तर, आम नागरिकहरुसम्म प्रदेश सरकारले गरेको सो कामको अपनत्व र प्रचार प्रसार हुन सकेको छैन ।’
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटलाई परिमार्जन गरेर जनअपेक्षालाई समेट्ने प्रकृतिको ल्याउनु पर्नेमा सांसदहरुले जोड दिएका थिए ।
सर्वदलीय बैठकले प्रदेशमा आवश्यक नीति तथा कार्यक्रमको विषयमा उपयुक्त प्रकृतिको योजनाहरु समेट्ने गरी छलफल भएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले बताए ।
बजेट कुन क्षेत्रलाई बनाउँदा प्रभावकारी हुन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको उनले बताए । ‘प्रदेशको नीति तथा कार्यक्रमको प्रभावकारिता र प्राथमिकताको विषयमा छलफल केन्द्रित भएको हो,’ उनले भने, ‘आगामी बजेटलाई विगतको तुलनामा परिमार्जित गरेर फरक र जनता लक्षित बनाउने र विशेष क्षेत्रहरुलाई प्राथमिकतामा राखेर काम गर्ने छलफल भएको छ ।’
जनताको आर्थिक विकासमा सरकारले जोड दिएको र सोही अनुसार सरकारले विशेष प्रकृतिका योजनाहरु आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने तयारी अनुसार सांसदहरुको राय लिइएको लामाले बताए ।
प्रदेशसभा सदस्य उत्तम जोशीका अनुसार सर्वदलीय बैठकमा प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा शैक्षिक स्तर वृद्धि, कृषि क्षेत्रको विकास र लगानीको वृद्धि, भौतिक पूर्वाधार विकासको विषयमा छलफल भएको थियो ।
प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा आर्थिक संकटलाई व्यवस्थापन गर्न केन्द्रित गर्ने गरी सुझाव प्राप्त भएको उनले बताए । कृषि उत्पादनलाई बढाउन उत्पादनमा आधारित अनुदानलाई सरकारले प्राथमिकता दिनुपर्ने, टुक्रे योजनाभन्दा ठुला योजनालाई जोड दिनुपर्ने जस्ता विषयमा सहभागीहरुले सुझाव दिएको उनको भनाइ छ ।
एक निर्वाचन क्षेत्र एक प्रभावकारी विशेष योजनालाई सरकारले अघि सार्नुपर्ने विषयमा छलफल भएको जोशीले बताए ।
उनले भने, ‘बैठकमा एक निर्वाचन क्षेत्र एक प्रभावकारी र विशेष योजनालाई सरकारले अघि सार्नुपर्ने, स्थानीय जनतालाई उपयुक्त हुने प्रकृतिको योजना सरकारले ल्याउनुपर्ने र सांसदहरुले पनि साना टुक्रे योजनालाई व्यवस्थापन गरी ठुला योजनाहरुलाई सिफारिस गर्नु पर्नेमा छलफल भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी
-
संसारभर महिलाहरूको अधिकार कसरी खोसिँदै छ ?
-
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने
-
बढ्दै मध्यपूर्व तनाव : अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा