मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

सोमबार, २५ वैशाख २०८०, २० : ४७
सोमबार, २५ वैशाख २०८०

आज २०८० वैशाख २५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस, संसदमै अर्धनग्न भए सांसद अमरेशकुमार सिंह, रास्वपाले कारबाही गरेका ढाकाकुमारलाई सर्वोच्चबाट राहत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु, प्रचण्ड नेतृत्वको सरकारलाई प्रतिपक्षबाट कति चुनौती ?, कांग्रेसमा गगनको ‘विद्रोही’ स्वर, ओलीको दाबी : नयाँ र पुरानो पार्टी पनि एमाले नै, रवि लामिछानेविरुद्ध फेरि मुद्दा दर्ताको तयारी लगायत छन् ।

१. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस
संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको परिषदको बैठकले सर्वसम्मतिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । 

२. संसदमै अर्धनग्न भए सांसद अमरेशकुमार सिंह
प्रतिनिधिसभा बैठक चलिरहेको समयमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह अर्धनग्न भएका छन् । बोल्नका लागि आफूलाई समय नदिइएको भन्दै उनी आफू बसेको स्थानमै सर्ट र गन्जी फुकालेर अर्धनग्न भएका हुन् । 

३. रास्वपाले कारबाही गरेका ढाकाकुमारलाई सर्वोच्च बाट राहत
राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य बनेका ढाकाकुमार श्रेष्ठलाई सर्वोच्च अदालतको सोमबारको आदेशले केही समयका लागि राहत मिलेको छ । सर्वोच्च अदालतले उनको सांसद पद गुम्ने गरी भएको कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो ।  

४. विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु
सोमबारदेखि संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।  

५. प्रचण्ड नेतृत्वको सरकारलाई प्रतिपक्षबाट कति चुनौती ?
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिपक्षका रुपमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेमकिपा लगायतको दलको सामना गर्नुपर्ने भएको छ । विपक्षी दलहरुले सरकारका राम्रा कामको समर्थन गर्ने बताउँदै आए पनि कतिपय विषयमा सरकारलाई घेर्ने रणनीति बनाउने प्रस्ट देखिएको छ । 

६. कांग्रेसमा गगनको ‘विद्रोही’ स्वर
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार फेसबुक र ट्वीटरमा ‘अब त अति भयो’ भनेर स्टाटस लेखेपछि पार्टीभित्र तरङ्ग पैदा भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले लगातार बेवास्ता गरेपछि महामन्त्री थापाले सार्वजनिक रुपमा आक्रोश पोखेका हुन् ।

७. ओलीको दाबी : नयाँ र पुरानो पार्टी पनि एमाले नै 
नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नयाँ र पुरानो पार्टी पनि एमाले नै रहेको बताएका छन् । सोमबार राष्ट्रिय युवा संघ नेपालको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले बुढो विचार बोकेर हिँड्नेहरु नयाँ हुन नसक्ने बताए ।

८. रवि लामिछानेविरुद्ध फेरि मुद्दा दर्ताको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । सिन्धुलीका युवराज सफलले लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गर्दै रिट निवेदन बोकेर सोमबार सर्वाेच्च पुगेका हुन् ।

९. कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलन घोषणा
कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरिएको छ । कोशी प्रदेश नाम खारेजी र पुनः नामकरणको माग गर्दै आन्दोलित प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो ।   

१०. टुकुचा खोला अतिक्रमण गरिएको जग्गाको लगत कट्टा गर्न महानगरको पत्राचार
काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र पठाएको छ । पत्राचारका लागि महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले आज निर्णय गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप