बुधबार, १६ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली युवा महोत्सवबाट २० बुँदे घोषणापत्र जारी

सोमबार, २५ वैशाख २०८०, २० : ३०
सोमबार, २५ वैशाख २०८०

सुर्खेत । आइतबारबाट सुरु भएको ‘कर्णाली युवा महोत्सव’ २० बुँदे घोषणापत्र जारी गर्दै   सम्पन्न भएको छ । महोत्सवमा अन्तरक्रिया तथा छलफलबाट आएका सुझावहरूको आधारमा २० बुँदे घोषणापत्र जारी गरिएको हो । 

उक्त घोषणापत्र सरोकारवाला निकायलाई हस्तान्तरण गरिने युवालयका कार्यकारी निर्देशक सञ्जीव अधिकारीले बताए । समुन्नत कर्णालीका लागि साझा अठोट भन्ने नारासहित उक्त महोत्सव आयोजना गरिएको थियो ।

कर्णाली प्रदेश युवा परिषद् गठन, प्रदेश युवा नीति निर्माण, कर्णाली प्रदेशमा सीमान्तकृत समुदायभित्रका दलित, मुस्लिम तथा अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने युवा समूहहरूलाई लक्षित गर्दै उच्च शिक्षा तथा प्राविधिक शिक्षाको निःशुल्क व्यवस्था गरी रोजगारीको सुनिश्चितता गर्ने, युवाहरूको स्वरोजगार अभिवृद्धिका लागि स्थानीय तहसँगको समन्वयमा प्रदेश मन्त्रालयको पहलमा तालिम तथा वित्तीय साक्षरता कक्षाको सुनिश्चितता, सहुलियत रूपमा उचित पुँजी प्राप्त गर्न सकिने संयन्त्रको व्यवस्था गर्न पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।

डिजिटल माध्यमबाट गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिबाट जोगाउन सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न सरोकारवालहरुसँग पहल गर्ने, युवाहरुलाई कुलतबाट जोगाउन नीतिगत व्यवस्था गर्दै आवश्यक सचेतीकरणका कार्यक्रमहरु आयोजना गर्न पहल गर्ने, स्थानीय तथा प्रादेशिक तहको योजना तर्जुमा गर्दा अनिवार्य रूपमा युवाको सहभागिता गराउन पहल गर्ने, प्रदेश भित्रका युवा समूहहरूको क्षमता विकास र संस्थागत विकासमा सहयोग र आबद्धताको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ । 

साथै यौनिक तथा अल्पसंख्यक समुदायको पहिचान गर्न चेतनामूलक कार्यक्रम गरी रोजगारीको व्यवस्था गर्न नीति निर्माणको पहल गर्ने, युवाहरूको मनोभावनाको मध्यनजर गर्दै पढाइमा सहजताका लागि कोष स्थापना गर्ने र पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न स्थानीय तथा प्रादेशिक सरकारलाई आग्रह गरिने पनि युवालयका निर्देशक सञ्जीव अधिकारीले बताए । 

उनले भने,‘ सबै प्रकारका अपांगत भएका युवाहरु, यौनिक तथा लैंगिक अल्पखंख्यक युवाहरु एवं पछाडि पारिएका युवाहरूको संरक्षण तथा विकासका लागि आवश्यक व्यवस्था गर्ने लगायतका प्रतिबद्धताहरु घोषणापत्रमा समेटिएका छन् ।’ 

युवा सम्मेलनको समापनमा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले प्रदेश सरकारले युवाहरूको हितमा हुनेगरी निर्णय गर्ने बताए । प्रदेशको स्रोतसाधनलाई समुचित प्रयोगमार्फत् रोजगारीको बाटो सिजर्ना गर्दै विदेशिन बाध्य युवालाई स्वदेशमा स्थापित हुनेखालको नीति निर्माणमा प्रदेश सरकार लाग्ने उनले बताए ।

महोत्सवमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा आबद्ध एक सयभन्दा बढी युवाहरु सहभागी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप