राष्ट्रिय सभामा उठ्यो ५ सय र हजारका नोट प्रतिबन्ध गर्नुपर्ने आवाज
काठमाडौँ । राष्ट्रिय सभा सदस्य कमला पन्तले ५ सय र हजारका नोटलाई प्रतिबन्ध गर्नुपर्ने माग गरेकी छन् । सोमवार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
पन्तले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने धारणा राखिन् । उनले सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्न सक्ने काममात्रै बजेटमा उल्लेख गर्नुपर्ने बताइन् । पन्तले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘हामी बिरालो बाँधेर श्राद्ध गर्नेतिर नजाऔँ । ठ्याक्कै के गर्ने हो त्यो भनौँ, किसानको उत्पादन राज्यले किन्छ भन्ने हो भने किसानले उत्पादन बढाउँछ । सडकमा लगेर उत्पादन पोख्ने भए किन बढाउने ? राजश्व सङ्कलनको समस्या के हो ? किन भएन राजश्व सङ्कलन ? यसलाई रोक्ने कुरा के हो ? रोक्नेतिर जाऔँ । भन्सारमा कहाँ चुहावट, अर्थमन्त्रीलाई जानकारी छैन भन्ने कुरामा म विश्वास गर्दिन । बोरामा बाँधेका पैसाहरूलाई ५ सय र हजारका नोटलाई ब्यान्ड गरौँ। यदि हामीले समस्या बुझेका छौँ र सकिन्छ र हिम्मत छ भने यत्ति गर्न सके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दा किन जहिल्यै नकारात्मक गर्छ, रुन्चे कुराले हुन्छ ।’
सदस्य पन्तले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्ने कुराको खोजी गर्न आवश्यक रहेको बताइन् ।