मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रलाई उत्साहित गर्ने गरी बजेट ल्याउन आवश्यक छ : पूर्वअर्थमन्त्री कार्की

सोमबार, २५ वैशाख २०८०, १२ : २८
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले निजी क्षेत्रलाई उत्साहित गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा जारी आगामी आर्थिक वर्षको विनियोजित विधेयकमाथिको छलफलमा बोल्दै कार्कीले लगानीको प्रतिफल आउने गरी निजी क्षेत्रलाई समेत उत्साहित गर्ने गरी बजेट ल्याइनुपर्ने बताए । 

हजारौं लाखौं युवाहरु विदेश पलायन भइरहेको अवस्थामा सरकारले बजेटमार्फत त्यस्तो जनशक्ति स्वदेशमा नै रोक्नेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनले बताए । युवाहरुमा पलायको नैरास्यतालाई न्यूनिकरण गर्दै देशमा नै केहीँ गर्न सकिन्छ भन्ने जनभावनाको विकास गर्नुपर्ने बताए ।  मुलुकभित्र भौतिक पूर्वाधारका साथै उर्जा, कृषि र पर्यटन क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने उनले बताए ।

कार्कीले स्रोतमा आएको सङ्कुचनका कारणले सरकारलाई हौसिएर बजेट बनाउने सुविधा नभएको बताए । सांसद कार्कीले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती रहेको अवस्थामा लोकप्रिय नभएर यथार्थपरक बजेट मुलुकलाई आवश्यकता रहेको जिकिर गरे । उनले अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने, बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सबल बनाउने विषयको समर्थन गरे । 

उनले भने,‘सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुँदैन । आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित रहनुपर्छ । स्रोतमा आएको सङ्कुचनका कारणले सरकारलाई हौसिएर बजेट बनाउने सुविधा छैन । अहिलेको अवस्थामा पपुलिष्ट होइन । यथार्थपरक बजेट मुलुकलाई आवश्यकता छ । यो पृष्ठभूमिमा सरकारको तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकतामा आर्थिक वृद्धिदर हासिल गर्ने, बेरोजगारलाई स्वरोजगार बनाउने र अर्थतन्त्रलाई सबल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । त्यसको स्वागत गर्न चाहन्छु । समर्थन गर्न चाहन्छु । हाम्रो मुलुक विकासको फड्को मार्ने अत्यन्तै सम्भावना भएको मुलुक हो । तर त्यस अनुसार सरकारले मुलुकलाई अगाडि बढाउन नसकेको यथार्थता हो । २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय सरकार स्थापना हुँदै गर्दा त्यसबेला प्रतिव्यक्ति एक सय ८० डलर नेपालीहरूको आय थियो । सन २०२१ सम्ममा त्यो आय १२ सय डलर पुगेको छ । यो गति सुस्त छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप