सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाश्चात्य दर्शन र यसको सार

सोमबार, २५ वैशाख २०८०, ११ : १३
सोमबार, २५ वैशाख २०८०

कुनै पनि तिथि–मिति प्रस्ट भन्न नसकिने र श्रुति स्मृतिबाट विकसित हुँदै आएको पूर्वीय दर्शन अधिकतम रूपमा वेदमा आधारित दर्शन थियो । अध्यात्म र जगतलाई सँगसँगै जोडेर पूर्वीय दर्शनको रूपमा उदाएको अवस्थामा समय व्यतीत हुँदै जाँदा दर्शनका विविध स्वरूप संसारमा देखापर्न थालेका हुन् । 

जगत् र जीवनलाई डोर्‍याउने वैज्ञानिक बाटो दर्शन भएकाले यसमा ठोस प्रमाण र वैज्ञानिक तवरले पुष्टि हुने खालका तर्क मात्र संसारमा दर्शनका रूपमा अस्तित्वमा आउन थालेका हुन् । दर्शन निकै बृहत् क्षेत्र ओगटेको विषयवस्तु र निकै पुरानो विधा हो भन्ने पूर्वीय वा पाश्चात्य दुवै दर्शनमा पाइन्छ । 

संसारको विकास र खासगरी शिक्षाको विकास नै दर्शनमा टेकेर सम्भव भएको हो भन्नेमा सबै सहमत छन् । दर्शनलाई सरसर्ती विभाजन गरी हेर्दा संसारमा पूर्वीय र पाश्चात्य दर्शन भनी दुई प्रकारका दर्शनको प्रचलित अवधारणालाई मान्ने गरिन्छ । ती दुई मान्यतामा आधारित दर्शनका पनि अनेक स्वरूपहरू छन् । यहाँ हामी पाश्चात्य दर्शनको बारेमा छोटकरीमा चर्चा गर्नेछौँ । 

पाश्चात्य दर्शनको अवधारणा 

दर्शन वास्तविक र सत्य ज्ञानको महत्त्वपूर्ण सिद्धान्त हो, जसले समग्र जीवन र जगत्को व्याख्या गर्दछ ।

यसबाट के बुझिन्छ भने दर्शन अनुसन्धानहरूको पनि अनुसन्धान हो, जसले प्रमाण र सत्यतथ्यको मात्रै व्याख्या गर्दछ, मनमा उत्पन्न हुने विभिन्न जिज्ञासा र तर्कहरूको समाधान दिन्छ । त्यसकारण दर्शनले कुनै पनि विषयवस्तुको व्याख्या र विश्लेषण गर्ने, कुनै पनि समस्यामाथि चिन्तनमनन गर्ने र सप्रमाण सिद्धान्त जारी गर्ने जस्ता कार्य गर्दछ भन्न सकिन्छ । 

दर्शनका पनि विभिन्न क्षेत्रहरू हुन्छन्, जस्तै ः सत्यको सिद्धान्तको व्याख्या गर्ने, ज्ञानका स्रोतको बारेमा व्याख्या गर्ने, मूल्यका सिद्धान्त र तर्कहरू पुष्टि गर्ने आदि । जसलाई तत्त्व मिमांसा (मेटाफिजिक्स), ज्ञानशास्त्र (एपिस्टेमियोलोजी), मूल्यशास्त्र (एक्जियोलोजी) र तर्कशास्त्र (लजिक) पनि भनिन्छ । 

पाश्चात्य दर्शन युरोपिय महाद्विप तथा पश्चिमी क्षेत्रबाट प्रतिपादित दर्शन हो भने एसिया तथा महाभारत क्षेत्र (भारत वर्ष वा पाकिस्तान, नेपाल, बंगलादेश र भारत) बाट प्रतिपादित र विकसित गरिएको दर्शन पूर्वीय दर्शन हो भनेर मानिएको छ । 

पूर्वीय क्षेत्रमा विकसित भएको पूर्वीय दर्शनको मुख्य आधार अध्यात्मलाई नै मानिएको छ । पाश्चात्य दर्शनमा अध्यात्म र वैज्ञानिक खोजी समेत भएर पुष्टि भएको छ । पूर्वीय दर्शन ठोस प्रमाणबिना आएको दर्शन भनी पश्चिमाहरूले पूर्वीय दर्शनलाई उपेक्षा गरिरहेको सन्दर्भमा पूर्वीय दर्शनका अध्येता स्वामी विवेकानन्दले पाश्चात्य मुलुकमा भएको कार्यक्रममा भाग लिई पूर्वीय दर्शनबारे तार्किक बहस गर्दै प्रवचन दिएपछि पश्चिमाहरूले पूर्वीय दर्शनको अस्तित्व स्विकारेको इतिहास पाइन्छ । 

वैज्ञानिक दर्शनको उद्गम स्थल मानिने पाश्चात्य क्षेत्रमा धेरै तर्कपूर्ण दर्शनहरू अस्तित्वमा आएका र हालसम्म ती दर्शनमै टेकेर संसार अघि बढिरहेको अवस्थामा पाश्चात्य दर्शनको पनि आफ्नो ठूलो महत्त्व रहेको छ । 

पाश्चात्य दर्शनको विकासक्रम

ऐतिहासिक र निकै महत्त्वको देश प्राचीन ग्रिस मानव सभ्यताको उद्गम स्थल पनि हो र पाश्चात्य दर्शनको पनि उद्गम र विकास स्थल हो । प्राचीन ग्रिसका नगर राज्यहरू लगायत फ्रान्स, इटाली र जर्मनी जस्ता देशमा नै पाश्चात्य दर्शनको उल्लेखनीय विकास भएको इतिहास पाइन्छ । 

पाश्चात्य दर्शन पनि निकै पुरानो समयदेखि नै विकसित हुँदै आएको परिप्रेक्ष्यमा पाश्चात्य दर्शनको विकासक्रमलाई मुख्य तीन चरणमा बाँडेर विश्लेषण गर्न सकिन्छ । 

प्राचीनकाल 

ईशापूर्व ६००–३०० को अवधिलाई पाश्चात्य दर्शनको प्राचीनकाल मानिएको छ । यतिबेला ग्रिस र रोमबाट विभिन्न विचारहरू प्रादुर्भाव भएको मानिन्छ । 

त्यतिबेला अस्तित्वमा आएका मुख्य दार्शनिकमा थेल्स्, पाइथागोरस, हेराक्लिटस, प्रोटागोरस, सोक्रेट्स, प्लेटो र एरिस्टोटल आदि अत्यन्तै लोकप्रिय छन् । दर्शनको क्षेत्रमा यी दार्शनिकको महत्त्वपूर्ण योगदान छ । दर्शनका चार क्षेत्र (मेटाफिजिक्स्, ज्ञान, मूल्य र तर्क) समेत यसै अवधिमा स्थापित भएका हुन् । 

यस समयमा आध्यात्मिक शास्त्रका साथै गणित, ज्यामिति, खगोलशास्त्र, विज्ञान, विधिशास्त्र, राजनीतिशास्त्र, तर्क, कला र मनोविज्ञानजस्ता विधाको उत्पत्ति भएकाले पाश्चात्य दर्शनमा प्राचीनकालको पनि निकै महत्त्व छ ।

मध्यकाल

३०० ईशापूर्व देखि सन् १४०० सम्मको अवधिलाई मध्यकाल मानिन्छ । यो अवधिमा प्राचीनकालमा जति पनि दर्शनको योगदान रहेको पाइँदैन । 

यस समयमा खासगरी क्याथोलिक धर्मदर्शनको सुरुवात भएका कारण वैज्ञानिक दर्शनको विकासक्रम अवरुद्ध भएको पाइन्छ । तैपनि यस समयावधिमा मुख्यतया प्लोटोनिस, सेन्ट अगस्टाइन र थोमस एक्विनास जस्ता दार्शनिकको प्रमुख योगदान छ ।

आधुनिक काल

सन् १४०० पछि पाश्चात्य दर्शनको चरम विकास भयो । यस आधुनिककालमा धेरै दार्शनिकले धेरै दर्शनको विकास गरे । वास्तवमा यस कालमा जीवन र जगत्का प्रत्येक विषयमा सम्बोधन भई दर्शनका चार क्षेत्रको पूर्ण विकास भएको छ । आध्यात्मिक दर्शनलाई चिर्दै निकै वैज्ञानिक र तर्कपूर्ण दर्शनले बढी स्थान पाएको हुँदा यो दर्शनको विकासका लागि चरम विकसित अवधि पनि हो ।

विभिन्न दर्शनका विचारका कारण संसारमा राजनीतिक तथा प्रविधियुक्त असंख्य परिवर्तन भएको देखिन्छ । यस अवधिमा देखापरेका मुख्य दार्शनिकमा कार्ल माक्र्स, जोन डिवे, हेगेल, रुसो, रेन डेस्कार्टे, फ्रान्सिस् बेकन, ब्रुच स्पिनोजा, जोन लक आदि हुन् । यस अवधिमा विभिन्न वाद अस्तित्वमा आए र ती वाद पनि परिष्कृत र परिमार्जित हुँदै आएका छन् ।

पाश्चात्य दर्शन र प्रमुख वादहरू

आदर्शवाद : सोक्रेट, प्लेटो, अगस्टाइन, रेन डेस्कार्टे, हेगेल, कान्ट, बर्कलीजस्ता दार्शनिकले प्रतिपादित र विकसित गरेको सबैभन्दा पुरानो पाश्चात्य दर्शन आदर्शवाद हो । 

यो दर्शन पूर्वीय दर्शनजस्तै अध्यात्मवादी वा ईश्वरको अस्तित्व स्वीकार गर्ने दर्शन हो । यसमा विचारलाई मान्ने तर वस्तुलाई कम महत्त्व दिने गरिन्छ । शरीरलाई भन्दा व्यक्तिको आत्मा र विचार प्रधानता मान्नु यस वादको मुख्य सिद्धान्त हो । 

त्यसकारण यस सिद्धान्तमा भौतिक दुनियाँ, मानिसको शरीर सबै भ्रमपूर्ण हो र चेतना प्रमुख हो, जुन ज्ञान प्राप्तिको प्रमुख स्रोत ईश्वर हो भनी व्याख्या गरेको पाइन्छ । यसमा विचार प्रधान भएकाले यो दर्शनलाई बुद्धिवाद, विचारवाद, विवेकवाद वा आदर्शवाद भनिएको हो ।

प्रकृतिवाद : आदर्शवादी सिद्धान्तहरूको विरुद्धमा आएको यो दर्शन पाश्चात्य दर्शनका पिता थेल्सले ई.पू. छैटौँ शताब्दीतिर विकास गरेका हुन् । यो दर्शन मध्ययुगमा आध्यात्मिक विचार प्रधान भएको बखत आएकाले यो विचारले खासै उन्नति गर्न सकेको थिएन । 

१७औँ शताब्दीतिर धर्मविरोधी आन्दोलन सुरु हुन थालेपछि १८औँ शताब्दीतिर मात्र यो दर्शनले स्थान पाएको हो । यस समयमा रुसोले प्रकृतिवादलाई उचाइमा पु¥याउन प्रमुख भूमिका खेलेका हुनाले प्रकृतिवादका नायक रुसोलाई नै मानिन्छ । रुसोले प्रकृतिमा देखिएका र त्यहाँ विद्यमान रहेका विभिन्न वस्तु, घटना नै सत्य हुन् र ईश्वरको कुनै अस्तित्व तथा ठोस प्रमाण नभएकाले ब्रह्माण्डको रचना पनि प्रकृतिबाटै भएको हो भनी आफ्नो सिद्धान्तको पुष्टि गरेका छन् । 

यस दर्शनमा ज्ञानको प्रमुख स्रोत नै प्रकृति हो, जुन इन्द्रीयजन्य अनुभवबाट मात्र प्राप्त हुन्छ भन्ने मुख्य भनाइ पाइन्छ ।

यथार्थवाद : यो दर्शन न्युटन, ग्यालिलियो र बेकन जस्ता वैज्ञानिकको खोज र आविष्कारको परिणामले वैज्ञानिक तथ्य प्रमाणित भएपछि अन्धविश्वास हट्दै गएर मानिसमा आएको चेतनाको प्रतिफल स्वरूप आएको प्रकृतिवाद जस्तै वैज्ञानिक विचारमा आधारित दर्शन हो । 

यो दर्शनका पिताको रूपमा एरिस्टोटललाई मानिन्छ, तर १७औँ शताब्दीपछि मात्रै इरास्मस, जोन मिल्टन, जोन लक, बेकन र रसेल जस्ता थुप्रै दार्शनिकले यसको विकास गरेका हुन् । यस दर्शनले भौतिक वा दृश्यजगत् नै सत्य हो, जुन हामीले इन्द्रीयजन्य प्रत्यक्षीकरणबाट प्राप्त गर्दछौँ भन्ने मुख्य मान्यता राख्छ । 

त्यसकारण यो दर्शनले ज्ञान प्राप्तिको मुख्य स्रोत इन्द्रीयबाट हुने प्रत्यक्षीकरण, वातावरण र प्रयोगात्मक शिक्षा (अवलोकन, परीक्षण र प्रयोग) हो भन्दछ ।

प्रयोजनवाद : यो दर्शनलाई पुनर्संरचनावाद, प्रयोगवाद, साधनवाद र मानवतावादी दर्शन पनि भनिन्छ । प्रयोजनपरक र उपयोगितामा आधारित यो दर्शनमा सत्य सिद्धान्त त्यो हो जुन परिवर्तनशील, काम लाग्ने र अभ्यासपछि सन्तोषजनक परिणाम ल्याउने खालको हुन्छ भन्ने मुख्य मान्यता पाइन्छ ।

इ.पू. पाँचौँ शताब्दीतिर नै हिराक्लिटसले वास्तविकता पनि परिवर्तन हुन्छ भन्ने मान्यता राखेबाट वीजारोपण भएको यो सिद्धान्त आधुनिक सिद्धान्त हो । पछि प्रोटागोरस, डेस्कार्टे, चाल्र्स सेन्डर, विलियम जेम्स्, जोन डिवे आदिले यो दर्शनलाई प्रयोग र परिष्कृत गर्दै अमेरिका लगायत संसारका सबै देशमा फैलाएका हुन् । 

अमेरिकामा यो दर्शनको अभ्यास भएर त्यहाँको आर्थिक, सामाजिक र शैक्षिक अवस्थाको विकास भएकाले यो दर्शनलाई अमेरिकी दर्शन पनि भनेको पाइन्छ । अस्तु

(लेखक विद्यावारिधि शोधार्थी तथा मध्यविन्दु ब. क्याम्पसका प्राध्यापक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप