स्टुडेन्ट एम्बेस्डरको काठमाडौं संस्करण सम्पन्न
काठमाडौं । विद्यार्थीलाई कला, संस्कृति र सम्पदाबारे जानकारी गराउने उद्देश्यले आयोजित स्टुडेन्ट एम्बेस्डरको काठमाडौं संस्करण सम्पन्न भएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजन र त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको सहकार्यमा सम्पन्न यस कार्यक्रममा विभिन्न विद्यालयका ३१ जना विद्यार्थीहरु सहभागी भएका थिए । साथै, सोही विद्यालयका सामाजिक विषय पढाउने शिक्षक र शिक्षिकाहरुले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।
बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा शुक्रबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरेको कार्यक्रममा काठमाडौं उपत्यकाका ६ वटा निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कक्षा ९ र १० को पाठ्यक्रममा उल्लेखित विषयलाई समेत समेटेर नेपाली कला, संस्कृति र सम्पदाको महत्व एवं यसको उपादेयताको बारेमा बताइएको थियो ।
कार्यक्रममा त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा.सोमप्रसाद खतिवडा, पूर्व विभागीय प्रमुख प्रा.डा. मदनकुमार रिमाल, सहप्राध्यापक डा. सन्ध्या खनाल पराजुली, उपप्राध्यापक डा. निर्मला पोखरेल र उपप्राध्यापक अभिजित थापाले आफ्नो प्रस्तुति दिएका थिए ।
त्यस्तै, इन्फो नामक संस्थाका पदाधिकारीले सम्पदा क्षेत्रमा प्रदूषणको असरबारे प्रस्तुतीकरण दिएका थिए भने वन उपभोक्ता महासंघको तर्फबाट तेस्रो दिन सन्दिप खनालले प्राकृतिक सम्पदामा जलवायु परिवर्तनको असर शीर्षकमा आफ्नो प्रस्तुतीकरण दिएका थिए ।
तीनदिनसम्म चलेको यो कार्यक्रमको पहिलो दिन केन्द्रीय विभागका प्राध्यापकहरुले प्रस्तुतीकरण दिएका थिए भने दोस्रो दिन पाटन दरबार क्षेत्र र पशुपति क्षेत्रमा अवलोकन भ्रमणको लागि लगिएको थियो । तेस्रो दिन विद्यार्थीहरुको बुझाइ परीक्षणको कार्यक्रम राखिएको थियो ।
यसरी कार्यक्रममा सहभागी भएकाहरुलाई संस्थाले स्टुडेन्ट एम्बेस्डरको संज्ञा दिएका छन् । उनीहरुलाई आफ्नो क्षेत्र वरपर रहेका सम्पदा संस्कृति र पुरातात्विक महत्वका धरोहरहरुको संरक्षणमा लाग्नको लागि प्रेरित गरिएको थियो । कार्यक्रम यो वर्षभरिमा देशका ८ ठाउँमा गर्ने लक्ष्य लिइएको आयोजक संस्थाले जनाएको छ ।