मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

क्यानभासका चित्रहरु बोल्न थालेपछि चलचित्र बन्छ !

आइतबार, २४ वैशाख २०८०, २१ : १०
आइतबार, २४ वैशाख २०८०

कामाडौं । नेपाली फिल्म क्षेत्रमा निर्माण, व्यवसाय लगायत थुप्रै विषयमा छलफल र अन्तर्क्रिया हुने गर्छ । तर ‘चलचित्र र क्यानभास’ को विषयमा भने कहीँ कतै छलफल भएको पाइन्न ।

यही विषयलाई मध्यनजर गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ को विषयमा बहस भयो ।

बहसका क्रममा अधिकाम्स वक्ताले चलचित्र र चित्रकला एउटै विषय भएको औँल्याए । चलचित्रमा चित्रहरु चल्ने र चित्रकलामा नचल्ने भन्दै दुवै अभिव्यक्तिको माध्यम भएको बताए । उक्त अवसरमा क्यानभासका चित्रहरु चल्नथालेपछि चलचित्र हुने धारण समेत धेरैको थियो । चलचित्र र चित्रकला दुबैमा रंग र प्रकाश संयोजनको महत्वको विषय समेत प्रकाश पारिएको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले क्यानभास आफैमा अनेकथरी अर्थ बोकेको बस्तु भएको बताए । ‘क्यानभासको प्रारम्भिक स्वरुप सेतो हुन्छ । त्यहाँ जसले जे गर्दा पनि हुन्छ,’ उनले भने, ‘जुन पेन्टिङलाई तपाईँहरू अमूर्त भन्नुहुन्छ । त्यसको पराकाष्ठा नै क्यानभास हो ।’

‘क्यानभासमा रंग हुँदैन र हुन्छ पनि । रंग विहीन हुनु पनि एउटा रंग हो । प्रत्येक रंगको एक किसिमको प्रतीकात्मक बुझाइ हुन्छ’ उनले अगाडि थपे ‘चलचित्रकर्मीले रंगलाई कोरा रंगकै रुपमा मात्र बुझ्न हुँदैन । चलचित्र र रंगबीच प्रगाढ सम्बन्ध रहेको छ ।’ प्रत्येक चित्रकारले कोरेका चित्रहरु सल्बलाउन थाले भने अथवा बोल्न थाले भने त्यो चलचित्र हुने र चलचित्रको पनि प्रत्येक फेम स्थिर राखियो भने त्यो चित्र बन्ने उनको धारणा रहेको थियो ।

‘एउटा चलचित्र राम्रो हुनु र नराम्रो हुनुमा पनि रंगले महत्त्वपूर्ण अर्थ राख्छ । मानिसको मानसिकता पनि रंगसँग अभिव्यक्त गर्न सकिन्छ’ उनले भने ।

त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली कार्यक्रममा पावर प्वाइन्ट प्रिजेन्टेसन मार्फत ‘चित्रकलामा चलचित्र र चलचित्रमा चित्रकला’ विषयमा आफ्नो धारणा राखे । उनले चलचित्र र चित्रमा केही कुराको पनि भिन्नता नरहेको बताए । भने ‘चित्रकला स्थिर हुन्छ भने चलचित्र चलायमान हुन्छ । यी दुवै कला अभिव्यक्त गर्ने माध्यम हो ।’

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नीशा शर्माले चलचित्र पनि ललितकलाको विधामा पर्ने बताइन् । ‘एउटा कलाले जिन्दगी बताउन सक्छ । हेर्ने नजर चाहिन्छ’, उनले भनिन् ,‘चित्रकलाले सिमित व्यक्त र चलचित्रले धेरै व्यक्त गर्छ ।’ चित्रकला र चलचित्र दुवै कला र भावना ब्यक्ता गर्ने माध्यम भएको उनको धारणा रहेको थियो ।

उनले कार्यक्रममा राम्रो विषयको उठान गरेको भन्दै आगामी दिनमा पनि यस्ता विषयमा छलफल गर्न जरुरी भएको बताइन् । 

छायाँकार दिपक बज्राचार्यले चलचित्रको एलिमेन्ट्स र चित्रमा प्रयोग गर्ने एलिमेन्ट्स मिल्ने बताए । ‘कलर हार्मोनीमा हामीले काम गर्न सकेका छैनौं । कलर हार्मोनीको बारेमा बुझ्न कलर थ्योरीको बारेमा जान्नुपर्ने हुन्छ । कलर, कलर टेम्प्रेचर के हो भनेर चलचित्र मेकरहरुले बुझ्नुपर्छ’ उनले भने ।

चलचित्र निर्देशक रक्षा सिंह राणाले क्यानभासलाई आफूले एउटा भिजन भनेर बुझ्ने बताइन् । ‘आर्टिस्टले क्यानभासमा जे गर्छन् । चलचित्रमा गर्ने त्यही नै हो । माध्यम मात्र फरक हो’ राणाले भनिन् ।

कलाकार अशोकमान सिंहले रंग आफैमा संवेदनशील हुने बताए । उनले हरेक रंगले जीवनमा प्रभाव पारिरहेको धारणा राखे । चलचित्रमा प्रयोग गर्ने रंग र कलामा प्रयोग गर्ने रंग फरक हुने उहाँको धारणा थियो । चलचित्रमा भन्दा चित्रकलामा वास्तविक रंग देख्न पाइने उनले बिचार राखिन् ।

रंग संयोजक कपिल पराजुलीले इलेक्ट्रीकल्ली जेनेरेटेड कलर र प्राकृतिक कलर मिलाउन खोज्दा गाह्रो हुने गरेको धारणा राखे ।  ‘चित्रकलालाई नांगो आँखाले हेर्न सक्छौं तर चलचित्र त्यस्तो होइन्’, पराजुलीले भने, ‘चित्रकलामा बेस्ट गर्न सक्छौं । चलचित्रमा कम्प्रोमाइज हुन्छ ।’

कला निर्देशक निर्जल श्रेष्ठले क्यानभासै क्यानभासको संयोजन नै चलचित्र भएको बताए । ‘क्यानभास चल्दैन्, चलचित्र चल्छ । क्यानभासले मुलुकको वैभवता, सभ्याता र संस्कृति देखाउँछ’ श्रेष्ठले भने ।

निर्देशक छिरिङ रितार शेर्पाले चलचित्रमा लिबर्टी धेरै हुने र क्यानभासमा लिमिटेसन हुने धारणा राखे ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले कार्यक्रम समापन गर्दै आगामी दिनमा पनि यस विषयमा बहस गर्ने बताए । उनले चलचित्र र क्यानभासको विषयमा बहस र छलफल आवश्यक देखेर कार्यक्रम आयोजना गरेको बताए । 

कार्यक्रमको सञ्चालन भने यादव कुमार भट्टराईले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप