शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आइतबार, २४ वैशाख २०८०, २० : २१
आइतबार, २४ वैशाख २०८०

आज २०८० वैशाख २४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा नक्कली भुटानी शरणार्थीबारे संसदमा चर्चा; कसले के भने ?, झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएका १२ भारतीय पक्राउ, थपिए एक मन्त्री, नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर कहाँ हराए ?, प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्छ ?, बजेटको प्राथमिकता र सिद्धान्त संसदमा पेस, सरकार र सत्तारुढ दलकै कारण राजनीति अस्थिरता : ओली, संवैधानिक परिषद्को बैठकले गर्ला त प्रधानन्यायाधीश सिफारिस ? लगायत छन् ।

१. नक्कली भुटानी शरणार्थीबारे संसदमा चर्चा; कसले के भने ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदमा चर्चा भएको छ । आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा सांसदहरुले यो प्रकरणमा आवाज उठाएका हुन् । 

२. झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएका १२ भारतीय पक्राउ

झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । 

३. थपिए एक मन्त्री

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एक मन्त्री थपिएका छन् । आइतबार नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यलाई मन्त्री नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री आचार्यले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

४. नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर कहाँ हराए ?

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका सांसद टोपबहादुर रायमाझी भारत भागेको आशंका गरिएको छ । वैशाख २० गते साँझसम्म सम्पर्कमा रहेका रायमाझी त्यसपछि सम्पर्कमा रहेका छैनन् । 

 

५. प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्छ ?

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत लिनु पर्छ कि पर्दैन भन्नेबारे बहस सुरु भएको छ । 

 ६. बजेटको प्राथमिकता र सिद्धान्त संसदमा पेस

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सिद्धान्त र प्राथमिकता (कर विधेयक बाहेक) को प्रस्तावमाथि तीन दिन छलफल हुने भएको छ । आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदमा विनियोजित बजेटमाथिको सिद्धान्त र प्राथमिकता (कर विधेयक बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । यसलगत्तै सभामुख देवराज घिमिरेले उक्त प्रस्तावमाथि वैशाख २५ गते, २६ गते र २७ गते छलफल हुने घोषणा गरे । 

७. सरकार र सत्तारुढ दलकै कारण राजनीति अस्थिरता : ओली

नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकार र सत्तारुढ दलहरुकै कारण राजनीतिक अस्थिरता निम्तिएको आरोप लगाएका छन् । पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ मा भएको चुनावपछि वैशाख २४ गतेसम्म आइपुग्दा सरकार परिवर्तनका खेलहरु मात्र भएको आरोप लगाए ।

८. संवैधानिक परिषद्को बैठकले गर्ला त प्रधानन्यायाधीश सिफारिस ?

संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार साँझ ६ बजेका लागि संवैधानिक परिषद्को बैठक डाकेका छन् । शनिबार विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले ४८ घण्टाको समय राखेर परिषद्को बैठक बोलाएका हुन् । प्रधानन्यायाधीशमा सिफारिस गर्ने उद्देश्यले बैठक बोलाइएको भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमति बिना त्यो सार्थक हुनेमा आशंका उब्जिएको छ । 

९. सांसद लक्ष्मी महतो कोइरी निलम्बित

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हत्या आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएकोबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । 

 

१०. रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना

रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ । दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप