सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्री छनोटमा आपत्ति जनाउँदै गगन थापाले भने-अब त अति भयो

आइतबार, २४ वैशाख २०८०, १९ : २०
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्री छनोटमा आपत्ति जनाएका छन्। कांग्रेसबाट ९ जना मन्त्री बन्दा आफूलाई उपेक्षा  गरिएपछि महामन्त्री थापाले असन्तुष्टि जनाएका हुन् । उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको बताए ।

आइतबार फेसबुकमा उनले लेखेका छन्,"कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !" 

कांग्रेस सभापति शेरबहादुर देउवा निकट ६ जना मन्त्री बन्दा नेता शेखर कोइराला पक्षका ३ जना मन्त्री बने । महामन्त्री थापाले सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परिवारलाई मन्त्री बनाउन चाहेका थिए । तर कांग्रेसका ९ जना मन्त्री सरकार पुग्दा महामन्त्री गगन थापा पनि ‘पावर एक्सरसाइज’भन्दा बाहिर रहे । पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धनबाट भत्काएर कांग्रेसलाई सत्तामा कमब्याक गराउन निर्णायक भूमिका खेलेका थापा मन्त्री छनोटमा प्रभावहीन बने ।

मन्त्री छनोटमा सभापति देउवा र नेता शेखर कोइरालाको दोहोरो उपेक्षा भोग्नु परेको उनको गुनासो छ । चैत १७ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भयो । खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकास मन्त्री नियुक्त भए ।

वैशाख ३ मा एनपी साउद परराष्ट्रमन्त्री भए भने वैशाख २० मा उपसभापति धनराज गुरुङ कानुन, मोहन बस्नेत स्वास्थ्य र डिगबहादुर लिम्बु खेलकुद मन्त्री बने । आइतबार कांग्रेसका सुरेन्द्र आचार्य महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारीसहित सरकारमा सामेल भएका छन् । विभिन्न चरणमा गरी देउवाले प्रचण्ड नेतृत्वको सरकारमा आफू निकट ६ र नेता शेखर कोइराला निकट ३ जनालाई मन्त्री बनाए ।

उपसभापति खड्का, नेता महत, साउद, रिजाल, बस्नेत र गुरुङ देउवा पक्षीय हुन् भने अर्का उपसभापति गुरुङ, जिल्ला सभापति लिम्बु र नेता आचार्य कोइराला निकट मानिन्छन् । आचार्य राष्ट्रपति रामचन्द्र पौडेलका नातेदार पनि हुन् । आचार्यलाई मन्त्री बनाउनुको पछाडि राष्ट्रपति पौडेलको भूमिका रहेको कांग्रेस वृत्तमा चर्चा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप