जनप्रशासन क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी
काठमाडौँ । बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
क्याम्पसमा आर्थिक अनियमितता भएको, स्ववियु फण्डको दुरुपयोग गरेको, विद्यार्थीको धरौटी र छात्रवृत्ति बापतको रकम हिनामिना गरेको आरोप लगाउँदै विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।
स्वतन्त्र विद्यार्थी नेपाल, अखिल क्रान्तिकारी, अनेरास्ववियू र नेपाल विद्यार्थी संघले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।
प्रोफेसरले कपि जाँचे बापतको पारिश्रमिक रकम हिनामिना गरेको आरोप समेत विद्यार्थीहरूले लगाएका छन् ।
आर्थिक अनियमितता तथा सार्वजनिक अधिकारको चरम दुरुपयोग सम्बन्धमा क्याम्पस प्रमुख र लेखा शाखाको कर्मचारी संलग्नता रहेको उनीहरूको आरोप छ ।
विद्यार्थीहरूले २० वैशाखमा विज्ञप्ति जारी गर्दै ५ बुँदे माग अघि सारेका थिए । उनीहरूले यस्तो कार्यमा संलग्न सम्पूर्ण दोषीहरूलाई छानबिन समिति बनाई निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका थिए । तर, दुई दिनको अल्टिमेटम दिँदा समेत विद्यार्थी संगठनको संयुक्त मागप्रति क्याम्पस प्रमुख र प्रशासनको कुनै प्रतिक्रिया नआएपछि तालाबन्दी गर्नुपरेको स्वतन्त्र विद्यार्थी नेपालका अध्यक्ष नितेश बस्नेतले जानकारी दिए ।
शान्तपूर्ण तवरबाट समस्याको समाधान नखोजेको भन्दै असक्षम क्याम्पस प्रमुख र प्रशासनको गैरजिम्मेवारीपनका विरुद्ध क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा अनिश्चित कालका लागि तालाबन्दी गरिएको उनको भनाई छ ।