काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को प्रयोगशालामा प्लास्टिकबाट तेल निकाल्ने प्लान्ट र उत्पादन भएका इन्धन (डिजेल) राखिएका छन् ।
नास्टले सन् २०१७ देखि प्लास्टिकबाट इन्धन उत्पादन गर्ने कामको परीक्षण सुरु गरेको थियो । यो परीक्षणका क्रममा एक किलो प्लास्टिकबाट १ लिटर इन्धन उत्पादन गर्न सकिने अवस्था रहेको नास्टका प्रवक्ता डा.रवीन्द्रकुमार ढकालले रातोपाटीलाई जानकारी दिए ।
प्लास्टिकबाट इन्धन निकाल्नका लागि नास्टसँग एउटा १ केजी प्लास्टिक अट्ने र अर्को १० केजी प्लास्टिक अट्ने प्लान्ट रहेको छ । जसबाट युरो ४, युरो ६ स्ट्यान्डर्डको इन्धन उत्पादन गर्न सकिने डा. ढकालले जानकारी दिए ।
‘हामीसँग एउटा १० केजी प्लास्टिक हालेर तेल निकाल्ने प्लान्ट र अर्को १ केजी प्लास्टिक हालेर तेल निकाल्ने प्लान्ट छ । यसबाट हामीले लागत अनुसार कति उत्पादन हुँदो रहेछ भनेर हिसाबपनि निकालिसकेका छौँ । यसरी हेर्दा हामीले १ किलो प्लास्टिकबाट १ लिटर जति इन्धन निकाल्न सक्छौँ’, उनले भने, ‘त्यो इन्धनभित्र डिजेलपनि हुन्छ, पेट्रोलपनि हुन्छ, मट्टीतेलपनि हुन्छ, त्यसलाई डिस्टिलेशन गरेर छुट्याउनुपर्ने हुन्छ । त्यो छुट्याइसकेपछि डिजेलको भागलाई डिस्टिलेशन गरेर युरो ४ र युरो ६ स्ट्यान्डर्डको तेल बनायौँ । त्यसको १० प्रतिशत, २० प्रतिशत र २५ प्रतिशत डिजेलमा मिसाउँदा डिजेल एक्लैले भन्दा यो तेल मिसाउँदा त्यसले बढी राम्रो ‘पफर्मन्स’ गरेको हाम्रो अनुभव छ ।’
डा ढकालले प्लास्टिकबाट उत्पादन भएको इन्धन सवारी साधनमा हालेर प्रयोग गर्दा त्यसबाट कस्तो नतिजा आउँछ भनेर परीक्षण गरिरहेको बताए ।
‘अहिले हामी के काममा बढी केन्द्रीत भइरहेका छौँ भने इन्धनको धुवाँमा बढी सुधार गर्नका लागि, इन्जिनमा बढी ‘पफर्मेन्स’ दिनका लागि अथवा त्यसले केही समस्या ल्याउँछ कि ल्याउँदैन भन्ने हिसाबको अध्ययन गरिरहेका छौँ’, उनले भने, ‘थापाथली र पुल्चोक इन्जिनियरिङ क्याम्पस र विद्यार्थीको सहकार्यमा यो परीक्षणको काम भइरहेको छ ।’
सो इन्धन गाडीमा राखेर चलाउन हानिकारक छ कि छैन भन्ने तहमा पुग्नका लागि तथ्य प्रमाण चाहिएको र त्यो तथ्य जुटाउने काममा लागिरहेको उनले बताए । यसको नतिजा आउन केही समय लाग्ने डा ढकालले बताए ।
पिभिसी पाइपबाट समेत न्यून गुणस्तरको तेल आउने भएपनि वातावरण प्रदूषण गर्ने ग्यासहरू निस्कने भएकोले सो पाइपलाई तेल निकाल्नका लागि छनौट नगरेको उनले बताए । यी बाहेक अन्य ५ थरीका प्लास्टिकबाट डिजेल निकाल्न सकिन्छ कि भनेर काम गरिरहेको पनि डा ढकालको भनाइ छ ।
‘सामान्यतया प्लास्टिक ७ थरीका हुन्छन् । यसमध्ये ४ थरी प्लास्टिक व्यवस्थापनका लागि हामीले विकल्प सोचिरहेका छौँ । एउटा पेट बोतल जुन रिसाइकल गर्दा पुनः पेट बोतल वा छाता बनाउँदा बढी फाइदा हुन्छ । तर यसबाट तेल निकाल्दा जम्मा २० प्रतिशतमात्र आउने भएकाले तेल निकाल्नका लागि पेट बोतल भने चयन गरेका छैनौँ’, उनको भनाइ छ ।
डा ढकालले अहिलेसम्म २० जनाभन्दा बढी विद्यार्थीहरूलाई प्लास्टिकबाट तेल निकाल्न सकिने बारेमा थेसिस गराइसकेको जानकारी दिए ।
सहरको फोहोरमा आउने प्लास्टिक व्यवस्थापनमा लाभदायी हुने
नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने कामलाई दिगो रूपमा अगाडि बढाउन खोजिरहेको छ । सहरी क्षेत्रमा रहेका महानगरपालिका तथा नगरपालिकामा उत्पादन हुने प्लास्टिकजन्य सामग्रीबाट इन्धन निकाल्दा दोहोरो फाइदा हुने प्रवक्ता डा.ढकाल बताउँछन् ।
उनले भने, ‘फोहोरमैलाको रूपमा रहेको प्लास्टिक कि त पोलिन्छ, कि त खोलामा बगाइन्छ, कि सिस्डोलमा लगेर गाडिन्छ । नेपालमा फोहोर प्लास्टिक व्यवस्थापन गर्ने यी तीन वटा काम हुन् । यी तीनवटै काम हानिकारक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यसरी प्लास्टिक व्यवस्थापन गर्दा त्यसमा भएको खर्चको मूल्य पुनः फिर्ता लिन सकिँदैन । रिसाइकल नहुने प्लाष्टिकजति सबैलाई हामीले तेलमा रूपान्तरण गर्न सक्यौँ भने यसबाट दोहोरो फाइदा लिन सकिन्छ ।’
प्लास्टिकबाट इन्धन निकालेर प्रयोग गर्न सकिने ठुलो क्षेत्र रहेको र त्यसका लागि नगरपालिकाहरुले सहयोग गर्नुपर्ने डा ढकालले बताए । त्यसका लागि नगरपालिकाहरुले फोहोरमैला संकलनको मोडेल बनाइदिनुपर्ने उनको भनाइ छ । जसअनुसार नागरिकले प्लास्टिकमात्रै छुट्याएर एक ठाउँमा राखिदिने व्यवस्था भए त्यसबाट इन्धन निकाल्ने काम सहज हुने डा ढकालले बताए ।
उनले भने, ‘फोहोरको रूपमा खेर गइरहेको प्लास्टिकबाट डिजेल बनाउने हो भने यसको लागतको ४० प्रतिशत ऊर्जा आन्तरिक रूपमा खर्च हुन्छ, ६० प्रतिशत नाफा लिन सकिन्छ । अहिले फोहोर व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले १५–१६ करोड खर्च गरिरहेको छ । त्यसको साटो प्लास्टिकबाट इन्धन निकाल्न ७–१० करोड हालिदिनुस् त, २५ वर्ष चल्ने मेसिन त आउँछ, प्लास्टिक जति सबै त्यहीँ व्यवस्थित हुन्छ । त्यति भएपछि २५ वर्षसम्म प्लास्टिक ओसार्दै करोडौं खर्च गर्दै सिस्डोल पुर्याउनु त पर्दैन ।’
यसबारेमा काठमाडौँ महानगरपालिकासँग पनि कुराकानी भइरहेको उनको भनाइ छ । तर, हालसम्म सकारात्मक जवाफ नपाएको डा ढकालले बताए ।
‘संसारका सहरहरूमा आफ्नो क्षेत्रबाहिर लगेर फोहोर व्यवस्थापन गर्ने चलन छैन, सहरको बिचैमा धुवाँ नआउने गरेर व्यवस्थापन गर्न सकिने प्रविधिहरू छन् । यस्तो गर्न सकिन्छ रे भनेर गफ गरेर मात्र त हुँदैन’, उनले भने, ‘प्रविधि ल्याउनुपर्यो, त्यसको परीक्षण गर्नुपर्यो । एउटा प्रविधि मन परेन भने ५ वटा प्रविधि ल्याउनुपर्यो । केही प्रविधि ल्याएर काठमाडौँ उपत्यकाको पाँच वटा ठाउँमा राखौँ न । परीक्षण गर्दा खेरै गएछ भनेपनि २ करोड रुपैयाँ जाँदा त्यो नगरपालिकाका लागि ठुलो कुरा हैन । नास्टको वैज्ञानिकले भनेको चित्त बुझेन भने अर्को प्रविधि ल्याएर हेरौँ, फोहोर व्यवस्थापन त भइहाल्छ ।’
नास्टले प्लास्टिकजन्य फोहोर व्यवस्थापनको मात्र नभई कुहिने फोहोर व्यवस्थापनको पनि परीक्षण गरिरहेको छ । कुहिने फोहोरबाट कोइला अर्थात ‘बायोचार’ बनाएर रासायनिक मल भन्दा गुणस्तरीय मलको रूपमा कृषि क्षेत्रमा प्रयोग गर्न सकिने प्रविधि रहेको डा ढकालले बताए ।
नास्टमा थेसिस गरिरहेका विद्यार्थीहरूले ललितपुरबाट कुहिने फोहोर संकलन गरेर त्यसको ‘बायोचार’ बनाएर त्यसको प्रयोबाट सयपत्री फूल फुलाएका छन् । बायोचार प्रयोग गरेको फूलको बोट अग्लो रहेको र बढी फुलेको छ । यस्तै बायोचार प्रयोग नगरेको सयपत्री फूलको बोट होचो र कम फूल फूलेको पाइएको छ ।
विद्यार्थीहरूले थेसिसको कामका लागि कुहिने फोहोरबाट बनेको बायोचार राख्दा र त्यो नराखिकन रोपिएको सयपत्री फूलमा कस्तो असर पर्छ भनेर अध्ययन गरिरहेको प्रवक्ता ढकालले जानकारी दिए । स्थानीय तह वा सरकारले यो फोहोर व्यवस्थापनका लागि यस्ता प्रविधिमा लगानी गर्ने हो भने लाभदायी हुने उनको भनाइ छ ।
प्रतिक्रिया