सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

राम्रो काम गर्दा घण्टी बज्दैन : स्वास्थ्यमन्त्री बस्नेत

आइतबार, २४ वैशाख २०८०, ०७ : ५३
आइतबार, २४ वैशाख २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका जनताको आशीर्वाद र साथले मन्त्री बन्ने अवसर पाएको भन्दै खुसी व्यक्त गरेका छन् । शनिबार नेपाली कांग्रेस क्षेत्र नं. १ द्वारा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. ४ आयोजित सामाजिक सञ्जाल प्रयोगकर्ता भेटघाट कार्यक्रममा बस्नेतले आफू मन्त्री बनाउनुमा सिन्धुपाल्चोक २ को विशेष योगदान रहेको बताए । 

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बस्नेतले सिन्धुपाल्चोकमा अधिकांश बाटो कांग्रेसले बनाएको बताए । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको अधिकांश योजना कांग्रेसले दिएको उनको भनाइ छ ।बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेसले जितेका कारण कक्षा १२ सम्म निःशुल्क शिक्षा गरिएको मन्त्री बस्नेतले बताए।

उनले भने, ‘कांग्रेसले जित्दा मात्रै विकास हुँदो रहेछ । हुन त कांग्रेसले जितेका केही पालिकामा काम गर्न बाँकी छ । क्रमशः हुनेछ ।’ यस्तै सुर्तीजन्य पदार्थमा कर बढाएर वीर अस्पताल र सातै प्रदेशमा स्वास्थ्य सेवा सुलभ बनाउने बताए । उनले स्वास्थ्य बीमामा बजेट  घटेको भन्दै त्यसलाई बढाउन आफू लागिपरेको उनले बताए । 

विगतमा एमाले सरकारले बजेटको सुनिश्चितता नहुँदै ठाउँ ठाउँमा हचुवाको तालमा अस्पतालको शिल्यान्यास गरेको भन्दै अवस्था हेरेर आफू अगाडि बढ्ने स्वास्थ्यमन्त्री बस्नेतको भनाइ छ । यस्तै नारा लगाएको भरमा र गफ लगाएको भरमा विकास नहुने उनले बताएका छन् । कोरोना र भूकम्प, बाढीपहिरोका बेला कांग्रेसका नेता कार्यकर्ता सबैभन्दा धेरै काम गरेको मन्त्री बस्नेतले बताए ।

सिन्धुपाल्चोक २ ले आफूलाई झण्डै १२ हजार मतको अन्तरले विजयी बनाएको भन्दै मन्त्री बस्नेतले भने, ‘मेरो निश्चित रुपमा अलिक बढि दायित्व त्यहाँ छ । म कहिल्यै ढाँट्ने मान्छे पनि होइन । भनेको काम गर्ने मान्छे हुँ । विकासको हिसाबले अलिक बढी दुःख गर्नुपर्ने अवस्था छ । म त्यो काम पूरा गर्छु । क्षेत्र नं.१ ले अभिभावक बिहीन छैन भनेर नभन्नु होला । मलाई दुई पटक यी १ नं.ले जिताएर पठाएको हो ।’

मन्त्री बस्नेतले राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने गरेर आफूले खाका बनाउन लागेको बताए । त्यो अभियानमा सबैलाई समेट्ने उनको भनाइ छ । तातोपानी नाका मसानघाट बनेर बसेको भन्दै मन्त्री बस्नेतले सिन्धुपाल्चोक जिल्लालाई सशक्त बनाउनेगरी योजना बनाउन लागेको सुनाए ।

मन्त्री बस्नेतले २ नं. क्षेत्रमा यही वर्ष अत्याधिक बजेट आउने बताए । उनले हेलम्बी, मेलम्ची क्षेत्रको विकासमा कुनै कमी नहुने बताए । मेलम्चीमा बेलिब्रिज बनाउने भनेर बजेट ल्याएका बेला एमाले र शेरबहादुर तामाङले सारा शक्ति लगाएर पुल बनाउन नदिएको बताए ।

उनले भने, ‘मेलम्चीको पुल बनाउन लागेको छु । प्रक्रिया फेरि प्रक्रिया अगाडि बढेको छ । नेपाली सेनाले पुल बनाइदिन्छु भनेको छ । बाढी कटान रोक्नका लागि छुट्टै कार्यालय स्थापना गरेर काम गरिरहेका छौँ ।’

मन्त्री बस्नेतले सामाजिक सञ्जालबाट कांग्रेसले गरेका कामको जानकारी जनतासम्म पुर्‍याउन सकिएको बताए । उनले सामाजिक सञ्जालबाट प्रचार गरेका कारण कांग्रेस सिन्धुपाल्चोकमा पहिलो पार्टी बनेको बताए । कांग्रेस नेता बस्नेतले भने, ‘साथीहरूको मनोबल बढाउने गरेर सबैभन्दा धेरै काम मैले गर्नुपर्छ । त्यो भूमिका मैले खेलेको हुँ । तर, म एउटाले गरेर हुन कुरा केही पनि होइन । तपाईहरू वडादेखि टोलदेखि जिल्लासम्म सबैको सक्रिय भूमिका रह्यो ।’

मन्त्री बस्नेतले कांग्रेसले जित्दा विकास हुँन्छ भन्ने कुराको सन्देश दिनुपर्ने बताए । देशका धेरै ठाउँमा घण्टी बजेको भन्दै सिन्धुपाल्चोकमा घण्टीको भोट नआएको उनको भनाइ छ । उनले भने, ‘राम्रो काम गर्ने हो भने घण्टी पनि बज्दैन । जनतालाई काम गरेर देखाउनुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै मन्त्री बस्नेतले देशमा  हावाबाजी सिर्जना गर्ने काम भइरहेको बताए ।  ‘समाजप्रतिको दायित्व के हो ? जनताप्रतिको दायित्व के हो ? विकास कसरी गर्नुपर्ने हो ? जनताको सुख, दुः खमा साथ कसरी दिनुपर्ने हो ?, उनको प्रश्न छ, कसरी दिएको छ ? यसमा कुनै पनि किसिमको मतलब नहुने गरि एउटा हावाबाजी देशमा सिर्जना भइरहेको अवस्था छ ।’

हावाबाजीले दिन प्रतिदिन नेपालको राजनीतिलाई धमिलाउँदै जाने मन्त्री बस्नेतको दाबी छ । ‘जसले आफ्नो दायित्व, आफ्नो भूमिका, आफ्नो कर्तव्य, केही पूरा नगरिकन जनताप्रति त्यसतो भूमिका पाउन थालेपछि मान्छेहरू खाली फण्डाबाज गर्नतिर लाग्दा रहेछन्,’ उनले भने । यस्तै कांग्रेसले जितेका केही ठाउँमा कांग्रेस घट्न लागेको भन्दै  बस्नेतले चिन्ता व्यक्त गरे ।

उनले कांग्रेस घटाउन काम गर्नेहरूको नाम सार्वजनिक गर्न नपरोस् भनेर चेतावनी पनि दिए । आकाशबाट खसेर आएको भनेर जनप्रतिनिधिले अहँकार गर्दा पराजय हुने निश्चित रहेको भन्दै मन्त्री बस्नेतले विकासको काम गर्नुपर्ने बताए । उनले भने, ‘जनताले परिवर्तन खोजेका छन् । हामी जनताले खोजेको परिवर्तनमा सम्वाहक बन्न सकेनौँ भने पाराजय निश्चित छ । सामाजिक सञ्जालमा आफूले गरेका काम राख्नुपर्छ ।’

कार्यक्रममा कांग्रेसका पूर्व केन्द्रीय सदस्य विष्णुबिक्रम थापा, जिल्ला सभापति जंगबहादुर तामाङ, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, बागमती प्रदेशकी प्रदेश सांसद मसिना खड्कालगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप