सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

‘डाँफे’ र ‘मुनाल’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने तयारीमा नाष्ट

स्कुल पढ्ने विद्यार्थीले बनाए मुनाल, पृथ्वीलाई दिनको १६ चक्कर लगाउने
शनिबार, २३ वैशाख २०८०, १२ : ४५
शनिबार, २३ वैशाख २०८०

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले डाँफे र मुनाल नामका दुई भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपणको तयारी गरेको छ । 

यी भू–उपग्रह पृथ्वीको सतहबाट ४ सय किलोमिटरको दुरीमा रहने नाष्टका प्रवक्ता रवीन्द्रप्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए । यसले पृथ्वीलाई दिनको १६ चक्कर लगाउने र हरेक दिन १० मिनेट जति ‘एक्सेस’ पाउने उनले बताए । त्यो समयमा कमाण्ड दिने, स्याटेलाइटले पृथ्वीको खिचेको फोटो पठाउने काम हुने उनले बताए । 

भारतको बैंगलोरमा रहेको ‘इसरो’ नामक संस्थाले स्याटेलाइट निःशुल्क उडाइदिन्छु भनेर प्रतिबद्धता जनाएको र त्यसका लागि प्रक्रिया सुरु हुने क्रममा रहेको जानकारी दिए । 

२०७६ साल वैशाखमा पहिलोपटक प्रक्षेपण गरेको ‘नेपाली स्याट–१’ को विकसित रूपमा डाँफै रहेको उनले बताए ।  ‘नेपाली स्याट–१’ नानो भूउपग्रह झन्डै डेढ महिना अन्तरिक्षमा रहेर खसेको थियो ।

डाँफे भूउपग्रह निर्माणबारे प्रवक्ता डा. ढकालले भने–‘भूउपग्रहको पहिलो काम हामीले ‘नानो स्याटेलाइट–वान’ जापानमा बसेर बनायौँ । दुईजना मध्ये एकजना पिएचडी गर्दै गरेका र पिएचडी सक्नुभएका एकजना इन्जिनियर जापान गएर भूउपग्रह बनाउने काम गर्नुभएको थियो । त्यसमध्ये एकजना नाष्टकै कर्मचारी हुनुहुन्छ । जापान बसेर नेपाली स्याट वान बनाइसकेपछि उहाँहरू मध्ये डा.आभास मास्के फर्केर आउनुभयो । अहिले हामीले उहाँकै अग्रसरतामा ९ जना अरू इन्जिनियरलाई समावेश गरेर ‘डाँफे’ स्याटेलाइट बनायौँ । अहिले ‘डाँफे’ स्याटेलाइट उडाउने तर्खरमा रहेका छौँ ।’ 

झण्डै २ करोड हाराहारी लगानीमा सो भूउपग्रह निर्माण गरिएको हो । त्यसको खर्चका लागि नाष्टको लेटरहेड प्रयोग गरेर विभिन्न निजी बैङ्कहरूबाट सहयोग लिइएको थियो । डा.आभास मास्केले चलाइरहेको अन्तरिक्ष प्रतिष्ठान संस्थालाई नाष्टले आवश्यक कागजात दिएको, उडाउन लाग्ने खर्च नाष्टले बेहोर्ने, सो संस्थाले प्राविधिक दक्षता बढाउन तालिम दिने र प्राविधिक पाटो उनीहरूले हेर्ने समझदारीका आधारमा भूउपग्रह निर्माण गर्ने काम भएको प्रवक्ता ढकालले जानकारी दिए । 

निर्माण गर्न लाग्ने खर्च, टेष्ट गर्न लाग्ने खर्च व्यवस्थापनका लागि सिएसआर मोडेलमा गएको उनले बताए । स्याटेलाइट उढाउनका लागि नेपाल सरकारले १ करोड बजेट पनि दिएको छ तर स्याटेलाइट प्रक्षेपण गर्ने अन्तिम टुङ्गो भने लाग्न बाँकी रहेको उनले बताए । 

भूउपग्रह डाँफे सँगै नाष्टको सक्रियतामा मुनाल नामको भूउपग्रह बनाउने काम पनि सकिएको छ । मुनाल बनाउन डाँफे बनाउने इन्जिनियरको टोलीसँगै काभ्रेमा अध्ययन गरिरहेका माध्यमिक तहका विद्यार्थीको पनि सहभागिता रहेको छ । 

उनले भने–‘स्याटेलाइट बनाउने इन्जिनियर भन्दा अझ त्यहाँभन्दा पनि तल किन नओर्लने भनेर माध्यमिक तहका विद्यार्थीहरूलाई तिनै इन्जिनियरहरूले सिकाएर स्याटेलाइट बनाउने काम गरेका छौँ । स्याटेलाइटको बारेमा बहस गर्न सक्ने तहमा उनीहरु पुगिसकेका छन् । आफैले बनाएर हामीले भारतमा लगेर भूउपग्रह उडन योग्य छ कि छैन भनेर परीक्षण पनि गर्‍यौँ, त्यो सफल भएको छ । अव हामी उडाउने तयारीमा छौँ ।’ 

डाँफे स्याटेलाइट बनाउन झन्डै २ वर्ष समय लागेको र मुनाल स्याटेलाइट बनाउन झन्डै ९ महिना समय लागेको उनले बताए । डाँफे नाष्टको प्रयोगशालामा बनाइएको हो भने मुनाल काठमाडौँ विश्वविद्यालय भित्र रहेको एक माध्यमिक विद्यालयका विद्यार्थीको सक्रियतामा निर्माण गरिएको हो । स्कुलका विद्यार्थीहरू आवासीय रूपमा त्यहीँ बसेर काम गरेका हुन् । स्कुलको कक्षा सक्ने र ल्याबमा गएर काम गर्दै उनीहरूले स्याटेलाइट निर्माण गरेका हुन् । भूउपग्रह निर्माणमा विद्यार्थीको क्षमता र प्राविधिक जनशक्तिको कार्यदक्षता बढाउने उद्देश्यले विद्यार्थीलाई पनि सहभागी गराएको डा.ढकालले जानकारी दिए । 

नेपालले पहिलो पटक बनाएको ‘स्याट वान’ भूउपग्रहमा जे–जे फिचरहरू थिए, डाँफे र मुनालमा पनि तिनै फिचरहरू रहेका छन् । नेपाली स्याट वानमा रहेका फिचरहरूलाई अपग्रेड गरेको उनले बताए । स्याट वानमा एउटा क्यामेरा रहेकोमा अहिले २ वटा क्यामेरा राखिएको छ भने क्यामेराको रेजुलेशन पनि  बढाइएको छ । ग्राउन्ड कन्ट्रोल अर्थात् पृथ्वीबाट कन्ट्रोल गर्न सक्ने र त्यसलाई फेरी फर्काएर ल्याउन सकिने व्यवस्था गरिएको ढकालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप