लुम्बिनी प्रदेश : सरकार परिवर्तनमा हतार, संसदीय समिति गठनमा चुपचाप
बुटवल । लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको लागि हतार गरे पनि दलहरूले ‘मिनी संसद्’ मानिने संसदीय समिति गठन गर्नमा भने बेवास्ता गरेका छन् । झन्डै ५ महिनाको अवधिमा दलहरू सरकार परिवर्तनमा र मन्त्रीहरूको भागबन्डामा केन्द्रित हुँदै दौडधुपमा रहेपछि अहिलेसम्म एउटा पनि समिति गठन गर्न सकेका छैनन् ।
लुम्बिनी प्रदेशमा ६ संसदीय समिति गठन गर्नुपर्ने हुन्छ भने अर्को विशेषाधिकार समिति विगतमा रहे पनि अहिले राख्ने कि नराख्ने भन्ने अझै निर्णय भएको छैन । प्रदेशमा एमाले लीला गिरी मुख्यमन्त्री हुँदा माओवादीसहित दलहरूको सरकार बन्दा नेपाली काँग्रेसले समिति सदस्यहरूको नाम प्रदेश सभामा पठाएको थियो । त्यसबेला सार्वजनिक समितिको सभापति काँग्रेसलाई दिनुपर्ने हुँदा सरकारले नै प्रक्रिया अगाडि बढाउन चाहेको थिएन ।
एमाले र माओवादीले केही आन्तरिक छलफल गरेर नाम बुझाउने तयारी गरे पनि सरकार ढाल्ने र बनाउने खेल सुरु भएपछि कुनै पनि समिति सभापति चयन हुन सकेन । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुन मगरले संसदीय समिति गठनको लागि दलहरूसँग नाम मागे पनि अझै पूर्ण रूपमा नआएकाले थप प्रक्रिया अगाडि नबढेको जनाए ।
उनले सकभर सत्तापक्ष र प्रतिपक्षबीच छलफलबाट सभापति चयन भए राम्रो, नभए संसदीय पद्धतिअनुसार समितिका सदस्यहरूमध्येबाट निर्वाचन गराएर प्रक्रियामा अगाडि लैजाने बताए । तर त्यसको लागि पनि दलहरू सबै सदस्यहरूको नाम पुरा दिनुपर्ने हुन्छ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मेजय तिमिल्सिनाले समितिहरू चयन गर्ने बेलामा सरकार परिवर्तन हुन थालेपछि ढिलाइ भएको रातोपाटीलाई बताए । उनले भने, ‘हामीले सदस्यको लागि सबै नाम दिएका छौ तर सभापति चयन गर्ने बेला सरकार चेन्ज हुँदा अलि ढिला भयो । अव छिटै हुन्छ होला ।’
त्यसै गरी, माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि सरकार परिवर्तनले गर्दा ढिला भएको बताए । उनले सरकारमा जाने मन्त्रीहरूसँगै पार्टीले समितिको सभापतिको नाम पनि प्याकेजमा नै टुङ्ग्याउने क्रममा रहेको बताए ।
संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष विष्णु घिमिरे दलहरूले संसदीय समिति गठनमा बेवास्ता गर्दा सुशासन कायम गर्न चुकेको बताए ।
उनले लुम्बिनी प्रदेशमा विगत २ वर्षदेखि सरकार हेरफेर गर्दा सभापतिले दिएका प्रतिवेदन, विभिन्न उपसमितिले बुझाएका प्रतिवदेनहरु कार्यान्वयन ध्यान नदिएको बताउँदै दलहरू जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा स्वतन्त्रसहित १० दल रहेका छन् । सत्ता परिवर्तनसँगै समितिको सभापतिको लागि सङ्ख्या तलमाथि हुने हुँदा समितिमा दलहरूका आआफ्ना स्वार्थ छन् ।
एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भर्खर सरकार परिवर्तन भएकाले नेपाली काँग्रेसले सरकार विस्तारपछि समिति गठनको प्रक्रियामा जाने बताए ।
उनले प्रतिपक्षको रूपमा एमालेले पाउने सार्वजनिक लेखा समितिको सभापतिबाहेक अन्य समितिमा पनि ठुलो दलको हैसियतले पाउने बताए । एमाले अझै सभापति कसलाई पठाउने भन्ने छलफल गरेको छैन ।
प्रदेशसभाको समिति गठन गर्दा दलका सदस्यहरूबाट समावेशी तथा समानुपातिक गरी मिलाउँदै पहिला समिति सदस्य टुङ्ग्याउनुपर्ने हुन्छ । समितिमा बहुमत भएको दलले सभापति पाउँछ ।
प्रदेशमा उद्योग अर्थ पर्यटन समिति, प्रदेश मामिला तथा कानुन समिति, सार्वजनिक विकास समिति, सार्वजनिक लेखा समिति, भौतिक पूर्वाधार तथा विकास समिति, कृषि वन तथा वातावरण समिति गठन गर्नुपर्ने हुन्छ ।
कार्य व्यवस्था परामर्श समिति सुरुमै गठन भए पनि त्यसपछि अन्य समिति संसद्बाट गठन गर्ने हो । त्यसमा विशेषाधिकार समिति अहिल्यै गठन गर्ने कि नगर्ने भन्ने स्पष्ट छैन ।
यसअघि शङ्कर पोखरेल नेतृत्वको सरकारका पालामा गुल्मीका कमलप्रसाद श्रेष्ठलाई विशेषाधिकार समिति सभापति बनाइएको थियो । उक्त समितिको काम र औचित्य नभएको भन्दै धेरै आलोचना भएपछि नयाँ ऐनमा विशेषाधिकार समिति रहन सक्नेछ भनी उल्लेख भएकोले गठन गर्ने या नगर्ने दलहरूमा निर्भर हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
-
समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी
-
पेरुको ‘ग्राण्ड कल्चर रनवे’मा नेपालको प्रतिनिधि वसन्त र प्रशंसा
-
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै
-
नेपालीले विदेशमा पसिना बगाउँदा राष्ट्र बैंक ‘मालामाल’
-
सर्वसाधारणलाई जुत्ताको माला लगाउनेमाथि मुद्दा दर्ता