आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
संस्मरण

जेके गुरु र मेरो शैक्षिक गन्तव्य

शनिबार, २३ वैशाख २०८०, ०७ : ०५
शनिबार, २३ वैशाख २०८०

२०७९ को सहिद दिवसको दिन दिउँसोतिर फेसबुकको वालपेपरमा जगदीशकुमार श्रेष्ठ अर्थात् जेके सरको फोटो आँखामा ठोक्कियो । सुरुमा त जेके सर होइन कि भन्ने पनि लाग्यो । 

फोटो जुम गरेर हेरेँ, मेरा आँखा गलत थिएनन् । उनी तेह्रथुम म्याङ्लुङका चिरपरिचित जेके सर नै थिए । सम्भवत बाइस वर्षपछि मैले उनलाई फोटोमै भए पनि देख्न पाएँ । 

फेसबुकमा जेके सरको फोटो म्याङ्लुङका कृष्णमान तुम्बाहाम्फेले राखेका थिए । उनी २०१५ सालको संसदीय निर्वाचनबाट निर्वाचित सांसद तेजमान तुम्बाहाम्फेका सुपुत्र हुन् । 

तेह्रथुमे ढाकाको टोपी, आँखामा कालो फ्रेम भएको सेतो चस्मा, नर्थ फेसको सेतो ज्याकेट, ज्याकेटभित्र खैरो स्वीटर, त्योभित्र सेतो सर्ट, सर्टभित्र नीलो टिसर्ट लगाएका जेके सर तिघ्रामाथि दुवै हातका औँला कापे पारेर काठको पुरानो मोडलको बेन्चमा बसेका थिए । देब्रेतिर बसेका थिए कृष्णमान । पृष्ठभूमिमा थियो किराना पसल । पसलमा चिजबल, हर्लिक्स, बिस्कुट, दुई पोका नीला मास्क, अगरबत्ती, पुरानो खालको तराजु स्पष्ट देखिन्थे । पुरानो प्रचलनको किराना पसलको पृष्ठभूमिमा बसेका जेके सरलाई देखेर विगतका थुप्रै पल प्रतिपलहरूले मेरो दिमाग अचानक हल्लाए । 

जेके सरसँग पहिलो भेट

मैले जेके सरलाई पहिलो पटक देखेको २०५२ सालको सुरुतिर हो । पिप्लेको हिमालय स्कुलमा ७ कक्षा उत्तीर्ण गरेपछि मैले दैनिक आइजाइमा ८ किलोमिटर पैदल हिँडेर तेह्रथुम बजारको सिंहबाहिनी माविमा पढ्ने निर्णय गरेको थिएँ । पाटीगाउँको भञ्ज्याङबाट टुक्रे बजार, ढलेको वर, सुवेदीको बारी, कालो वन, कोप्चेको भीर, ढुङ्गा अड्काउने, वन कार्यालय हुँदै बसपार्क पुग्दा लगभग तीन किलोमिटर बाटो पार हुन्थ्यो । बसपार्कबाट सिंहबाहिनी माविसम्म एक किलोमिटर बाटो छिचोल्नु पर्दथ्यो । बेलुका घर फर्किंदा पनि सोही बाटो हिँड्नुको विकल्प थिएन । 

हुन त मेरो घरबाट १५ मिनेटको पैदल दूरीमा कालिका मावि पनि थियो । तर, त्यहाँको पठनपाठन र वातावरण सिंहबाहिनी माविको स्तरमा थिएन । त्यसैले, मैले एक्लै भए पनि सिंहबाहिनी मावि पढ्ने निर्णय गरेँ । 

१२ वर्षको फुच्चे केटो बाघ लाग्ने जङ्गल र बाटाका दायाँबायाँ असङ्ख्य चिहानघारी कटेर कसरी दैनिक आइजाइ गर्ला भन्ने पीरको पहाड बुबाआमा दुवैका मनमा थियो । तर मेरो ईच्छाका अगाडि उहाँहरू दुवैजना तगारो बन्नु भएन । 

जेके सरलाई मैले सिंहबाहिनी मावि कक्षा ८ मा पढ्दादेखि निकै नजिकबाट चिन्ने अवसर पाएँ । मझौला कदका जेके सर कक्षाकोठाका सबै विद्यार्थीहरूलाई उत्तिकै महत्त्व दिन्थे । अगाडि बसेको र पछाडि बसेको विद्यार्थीमा उत्तिकै ध्यान पुर्याउँथे । 

अचम्म लाग्दो कुरा के थियो भने उनी विद्यार्थीको नाम मात्र होइन, अभिभावकको नामसमेत मुखाग्र पार्थे । 

उतिबेला सिंहबाहिनी माविमा म्याङ्लुङ, तम्फुला, साब्ला र पिप्ले गरी चार गाउँ विकास समितिका विद्यार्थीहरू पढ्न आउँथे । जेके सरले पढाएका बेला कक्षाकोठामा हल्लाखल्लाको अलिकति पनि गुञ्जायस हुँदैनथ्यो । जेके सरका जुम्ल्याहा छोराछोरी प्रज्ञा र राजन पनि हाम्रो कक्षामा थिए । उनीहरूलाई कक्षामा जेके सरले प्रश्न सोधेका बेला हामी रमाइलो महसुस गर्दथ्यौँ । 

म्याङ्लुङ बजारका स्थानीयबासी जेके सरको घर राजन ढुङ्गानाको कपडा पसलको ठीक अगाडि थियो । टिफिनको समयमा म प्रकाश अधिकारी, तेजप्रसाद अधिकारी र खगेन्द्र खत्रीसँग उनको घरको छेउछाउ हुँदै धेरै पटक हिँडेको छु । 

जेके सरको घरको पेटीमा गुरुआमा र सरकी आमा बाती काडेर बस्नुहुन्थ्यो । उतिबेला म्याङ्लुङ बजारमा घरबाहिर बसेर बाती काड्ने महिला खुब भेटिन्थे । जेके सरको घर हुँदै पर नगेन्द्र भण्डारीको होटल थियो । त्यो होटल उतिबेला चिया र नास्ताका लागि खुब चल्तीमा थियो । 

म्याङ्लुङका विभिन्न सरकारी कार्यालयहरू र विद्यालयका सर, मिसहरूको चियानास्ता खाने भण्डारीको होटल अखडा थियो । बजार डुल्न आउने बूढापाकाहरू पनि त्यहाँ बसेर चियाको स्वादमा गफ गरिरहेका भेटिन्थे । भण्डारीको चियानास्ता पसलबाट पर ज्ञान आर्ट हुँदै हामी भिरगाउँलेको पाथीभरा होटलको बाटो एक फन्का लगाएर स्कुल फर्किन्थ्यौँ । 

मैले हिमालय माध्यमिक विद्यालय पिप्ले हुँदै त्रिभुवन विश्वविद्यालय पढ्दासम्म भेट्टाएका दर्जनौँ शिक्षक क्षिक्षिकाहरूमध्ये एकजना आदर्श शिक्षक थिए जेके सर । 

गफ चुटेर घण्टी बिताउनेदेखि विद्यार्थीले प्रश्न सोध्दा उत्तर नजानेर झर्किने शिक्षकहरूका कक्षा लिएका अनुभवहरू पनि छन् मसँग । राजनीति गर्न पाए आफ्नो जिम्मेवारी बिर्सने र कक्षाकोठामा फरक राजनीतिक विचारधारा बोकेका अभिभावकको रिस उनका छोराछोरीहरूलाई देखाउने शिक्षकहरूका अनुहारहरू पनि नजिकबाट देखेकै हो । 

तर जेके सरमा न त घमण्ड थियो, न त भेदभावको कुनै पनि सङ्केत । उनी पेसाप्रति व्यवसायिक थिए, दत्तचित्त थिए र कर्तव्यपरायण थिए ।

मोबाइलमा कुराकानी

तिथिमिति स्पष्ट सम्झिन सकिनँ । हुन सक्छ २०७७ सालको आधातिर मैले जेके सरलाई उनको मोबाइलमा फोन गरेर करिब तीस मिनेट कुराकानी गरेको थिएँ । २०५५ सालको एसएलसी दिएको एउटा विद्यार्थीलाई उनले २२ वर्षपछि पनि बिर्सेका रहेनछन् । 

‘तपाईं पोतेको ढुङ्गानेरबाट आउनुहुन्थ्यो उद्धव भाइ’ जेके सरले टेलिफोनमा भनेका थिए । म उनको स्मरण शक्तिबाट विद्यालय पढ्दादेखि नै प्रभावित थिएँ । यो पटक उनले त्यसको पुनर्पुष्टि गरिदिए ।  

म्याङ्लुङ बजारका व्यवसायी रामजी ढुङ्गानाकी छोरी वन्दना ढुङ्गानाले उनको मोबाइल नम्बर दिएकी थिइन् । वन्दनासँग मैले सिंहबाहिनी माविमा ९ र १० कक्षासँगै पढेको थिएँ । 

जेके सरसँग उतिबेलाका विभिन्न विषयमा मीठा कुराकानी भए । म्याङ्लुङ बजार, सिंहबाहिनी मावि र त्यससँग जोडिएका स्थान र व्यक्तिहरूका बारेमा खुलेर कुराकानी गर्याैँ गुरु चेलाले । 

सिंहबाहिनी माविमा उतिबेला लीलाबहादुर तुम्बाहाम्फे प्रधानाध्यापक थिए । कतिपयले उनलाई एलबी सर पनि भन्थे । उनले हामीलाई इतिहास विषय पढाए । 

म अहिले पनि सम्झिन्छु– बेलायतको गौरवमय क्रान्ति, पहिलो र दोस्रो विश्वयुद्धका कारण र परिणामहरू, राणा शासनको उदय र अन्त्यका कारणहरू लीला सरले पढाएका विषयहरू हुन् । 

उदाहरणहरूले भरिपूर्ण पढाउने कला

जेके सरले कक्षा ८, ९ र १० मा शिक्षा विषय पढाए । उनको पढाउने कला उदाहरणहरूले भरिपूर्ण हुन्थ्यो । विषयवस्तुको मुख्य कुरा कालोपाटीमा लेखेर त्यसलाई चकले गोलो घेरा कोरेर कण्ठस्थ बनाउँथे । विषयवस्तुको पुनरावृत्ति, प्रश्नोत्तर र छलफल विधि उनका प्रमुख रोजाइमा पर्दथे । 

भनिन्छ– असल कलाकारको हातमा बिग्रेको वाद्ययन्त्र पनि ठीकसँग बज्छ, खराब कलाकारको हातमा नयाँ वाद्ययन्त्र पनि बिग्रन्छ । जेके सर बिग्रेको वाद्ययन्त्रलाई ठीकसँग बजाउन सक्ने असल कलाकार थिए । 

जेके सरलाई फोटोमा हेर्दा तगडा नै देखेँ । उनको अनुहारको चाउरीपनाले उमेर ढल्किँदै गएको आभाष हुन्छ । उनका जुम्ल्याहा छोराछोरी प्रज्ञा र राजन कहाँ छन् होला ? घरको बाहिर काठको कुर्सीमा बसेर बाती काड्ने गुरुआमा कस्ती हुनुभयो होला ? थुप्रै जिज्ञासा छन् मनको वरिपरि । 

खैरो रङको कपडाको पाइन्ट, सेतो सर्ट, सर्टको अगाडि टाँकवाला हाफ स्वीटर, ढाका टोपी र गोल्डस्टार जुत्ता जेके सरको पहिचान थियो । स्वीटरमा साना दुईवटा गोजी हुन्थे । त्यसबाट चक निकालेर लेखेको मैले २, ४ पटक देखेको छु । 

अधिकांश सर मिसहरू चकको प्याकेटमा सानो डस्टर बोकेर कक्षाकोठामा छिर्ने चलन थियो । हिजोआज जस्तो मार्कर बोर्ड वा डिजिटल बोर्डहरू कल्पना बाहिरका कुरा थिए । फुर्तिलो स्वभावका जेके सर कक्षाकोठामा प्रश्न सोध्दा अर्काेतिर हेर्दै आउँथे ता कि उनले कसलाई प्रश्न सोध्ने हुन् अनुमान गर्न सकिँदैनथ्यो । 

सञ्जयकुमार झा र धरणीधर यादवले गणित, तेजबहादुर कार्की, विद्यानन्द झा र सुवास निरौलाले विज्ञान, ललितचन्द्र क्षेत्री, लोकबहादुर तुम्बाहाम्फे र दिलकुमार श्रेष्ठले अङ्ग्रेजी, उमानाथ भट्टराई र खेमनाथ निरौलाले नेपाली विषय पढाए । मञ्जु श्रेष्ठ र शारदा सुवेदीले इतिहास र भूगोल विषय पढाइन् । 

त्यो बेला सिंहबाहिनी माविको पढाइ जिल्लाभरिमै अब्बल थियो । प्रायजसो एसएलसीमा जिल्ला प्रथम सिंहबाहिनी माविकै विद्यार्थी हुने गर्दथे । त्योबेला सिंहबाहिनी मावि, कालिका मावि जिरिखिम्तीको पनि एसएलसीको परीक्षा केन्द्र थियो । यो पैदल एक घण्टाको दूरीमा थियो । 

वरिपरि माविहरू थिएनन् । सोल्माको रत्न मावि, जलजलेको शङ्कर मावि, ओयाक्जुङको मेले मावि, पौँठाकको जनप्रिय मावि, श्रीजुङको श्रीजुङ मावि र मोराहाङको गौखुरी मावि सदरमुकामबाट पैदल चारदेखि छ, सात घण्टाको दूरीमा थिए । 

जिल्लाका अरू माविका तुलनामा सिंहबाहिनी माविको गरिमा र महत्त्व निकै माथि थियो । विद्वान् गुरु र गुरुआमाहरूको त्यो समूहले सिंहबाहिनी माविको शैक्षिक स्तरलाई निकै उचाइमा पुर्याएको थियो । 

जेके सरलाई मैले कहिलेकाहीँ वन कार्यालय तल्तिरको बाटोमा हिँडेको भेट्थेँ । गडी वनको भीरको टुप्पामा बनाइएको पाथीभरा मन्दिर दर्शन गरेर फर्किरहेका जेके सरलाई म श्रद्धा गर्दै नमस्कार गर्थें । 

उनी कुनै बेला टुँडिखेलको शुक्रबार बजारमा तरकारी किनिरहेका भेटिन्थे । माथि तेह्रथुम अस्पतालको डाँडाबाट सिंहबाहिनी मन्दिर हुँदै केदार ढुङ्गानाको घरको कुइनेटाबाट उनी घरतिर झरिरहेको पनि भेटिन्थे । कुनैबेला सानो टिनको बाल्टिन बोकेर माथि जिल्ला विकास समितितिर आफ्नो गाईगोठ आइजाइ गरेको पनि देखेको छु । 

जेके सरको जीवनमा एउटा ठूलो विपत्ति आइलागेको झलझली याद छ मलाई । म्याङ्लुङ बजारमा भीषण आगलागी भयो । त्योबेला बजारको मुख्य व्यापारिक केन्द्रका ८६ वटा घर जलेर खरानी भए । त्योबेला उनका तीनवटा घर सखाप भए । आफू बसेको घर आँखाअगाडि खरानी हुँदा अरूजस्तै जेके सरको सिङ्गो परिवारले अकल्पनीय कष्ट सहनु पर्याे । 

दैवी विपत्तिका अगाडि कसैको केही नलाग्ने रहेछ । दिन, महिना र वर्षहरू बित्दै जाँदा म्याङ्लुङको जनजीवन सामान्य बन्दै गयो । म २०७१ को हिउँदतिर पछिल्लो पटक म्याङ्लुङ पुगेको थिएँ । खरानीले खाएको बजार जुरुक्कै उठेको थियो । जेके सरको दिनचर्या पनि बजारको परिवर्तित स्वरूपसँगै सायद बदलिँदै गएको हुनुपर्छ । 

सिंहबाहिनी मावि पढ्न सुरु गर्दा म १२ वर्षको थिएँ । २०५५ को एसएलसीसँगै मैले त्यहाँबाट बिदा लिएँ । वन कार्यालय नजिकै बुद्धलक्ष्मी श्रेष्ठको होटलमा दैनिक नास्ता खाएँ । बुद्धलक्ष्मीलाई म कान्छी भाउजू भन्थेँ । उनको बोलीवचन, आनीबानी र संस्कारले मलाई मनभित्रैबाट छोएको थियो ।

 धनकुटा माइती भएकी कान्छी भाउजूका हातले बनाएको नास्ताको स्वाद अहिले पनि मेरो जिब्राका टुप्पामा झुन्डिएको छ । पिप्लेका मेरा छिमेकी शेरबहादुर श्रेष्ठकी कान्छी बुहारी र रामकुमार श्रेष्ठकी जीवनसङ्गिनी हुन् उनी । 

जेके सरलाई म विद्यालयबाट त्यति टाढा खाजा खान जान्छु भन्ने कुरा थाहा रहेछ । एक दिन उनले १० कक्षाको सेक्सन ए बाहिर त्यो बारेमा सोधेका थिए । मैले त्यसको कारण भिरगाउँले नेवारकी साहिँली बुहारी हुन् भनेको थिएँ । 

उनले एक दिन होटलमा काम गर्ने ढाँडेको लिम्बू केटासँग ‘केटाकेटीलाई नपाकेको चना दिए पनि हुन्छ’ भनेको वाक्य मेरै कानले सुनेपछि मैले बुबालाई आग्रह गरेर पाथीभरा होटलमा खाजा खान छोडेको थिएँ । पाथीभरा होटलका सञ्चालक बमबहादुर श्रेष्ठ आँखामा राख्दा नबिझाउने व्यक्ति थिए । उनकी बुहारीको वचनले मेरो मन दुखेको थियो । जेके सर छक्क परेका थिए, त्यो कुरा सुनेर । 

सिंहबाहिनी मावि पढ्दाका थुप्रै साथी को कहाँ छन् ? अचेल  सम्पर्कमा भेटिँदैनन् । सुनील गुरागाई अमेरिका छन् भनेको सुनेको छु । मेघनाथ अधिकारी चिनियाँ ज्वाइँ भएको र उतै व्यवसायमा रमाएको केही महिनाअघि मात्र सुनेँ । वन्दना ढुङ्गाना काठमाडौँतिर घरजम गरेर बसेको थाहा छ । 

टुँडिखेल  छेउकी अम्बिका रेग्मी, साब्लाका पुस्करकुमार रिजाल र खगेन्द्र सुवेदी, तम्फुलाका प्रकाश अधिकारी र तेजप्रसाद अधिकारी, म्याङ्लुङ बजारकै सुजनकुमार भण्डारी के कसो गर्दैछन् थाहा छैन । चुनु अधिकारीलाई कहिलेकाहीँ फेसबुकमा देख्छु । महेश कोइराला धरानतिरै हुनुपर्छ । 

केउरेनीका डोलेश्वर रेग्मी र रोहित रेग्मी मोरङ नेताचोकतिर छन् भन्ने सुनेको छु । रेग्मी बन्धुका केउरेनीको बेँसी खेतका आँप र बारीका मेवाको स्वाद म गाढा गरी सम्झिन्छु । भुवनप्रसाद गुरागाईंसँग गत वर्ष विराटनगरमा भेट भएको थियो । नागदहका यामबहादुर श्रेष्ठलाई घरी घरी फेसबुकतिर देख्छु । 

जेके सरले देखाएको पथमा हिँड्नु मेरो दायित्व हो । उनी र उनीजस्तै गुरुहरूको अमूल्य योगदानको तागतले मेरो शैक्षिक जीवन स्नातकोत्तर तहसम्म उक्लिन पायो । 

पहाडी भेगको ग्रामीण जनजीवनका चुनौतीहरूसँग पौँठेजोरी खेल्दै औपचारिक शिक्षालाई निष्कण्टक रूपमा अगाडि बढाउनु नील आर्मस्ट्रङलाई चन्द्र धरातलमा पाइला हाल्नुजस्तै चुनौतीपूर्ण कुरा हो । मैले त्यो चुनौती गुरुहरूकै ज्ञानको बलमा पार गरेँ । अझै जँघारहरू बाँकी छन् ठिक अघिल्तिर । 

म जेके सरको दीर्घायूको कामना गर्दछु । उनको उत्तराद्र्धको जीवन शान्त, सौहाद्र्र र सुखपूर्वक बितोस् । ईश्वरले इच्छा गरे उनको र मेरो भौतिक भेट हुनेछ । त्योबेला म लेखेर नभ्याइएका अरू धेरै कुराहरू जेके सरलाई सुनाउने छु । उनका अनुभवी कुराहरू सुनेर मेरा कान पवित्र र  जीवन धन्य बनाउने छु ।

हाल : ताचिकावा, टोकियो, जापान 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उद्धव लुइटेल
उद्धव लुइटेल
लेखकबाट थप