मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

शुक्रबार, २२ वैशाख २०८०, २२ : २४
शुक्रबार, २२ वैशाख २०८०

आज मिति २०८० साल वैशाख महिनाको २२ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा समेटिएको छ –

रास्वपा प्रतिपक्षमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ ।  यस्तै हाल प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले पार्टी सरकारमा सहभागी नहुने र विपक्षी बेन्चमा बस्ने निर्णय भएको एक नेताले बताए । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।

प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

संसदमा २१ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ । प्रचण्डले यसअघि नै दोहोर्‍याएर विश्वासको मत लिएकामा तेस्रो पटक पनि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र  प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने व्यवस्था छ ।

हेलिकप्टर दुर्घटना

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ । शुक्रबार दिउँसो सिम्रिक एयरको ९एन-एजेजेट हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेसँगै प्राधिकरणले एयरको अन्य उडानमा समेत प्रतिबन्ध लगाएको हो ।

एयरको दुर्घटनाग्रस्त विमान र अन्य विमानहरूको समेत विस्तृत निरीक्षण र उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको जाँच तथा परीक्षण नभएसम्मका लागि सबै उडानमा प्रतिबन्ध लगाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

संखुवासभामा भएको दुर्घटनामा १ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन् ।

कांग्रेसको निर्णय

नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार नेता रिजाललाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।

मापदण्ड मिचेर ओपीडी शुल्क वृद्धि

नेपाल चिकित्सक संघले जेठ १ गतेदेखि लागू हुने गरी ओपीडी शुल्क बढाएको छ । नेपाल चिकित्सक संघ, निजी अस्पतालको छाता संस्था (अफिन) ले ओपीडी शुल्क बढाएका हुन् ।

शरणार्थी प्रकरण

नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा स्थानान्तरण गर्ने भन्दै संयुक्त राष्ट्रसङ्घको पहलमा धेरैजसो शरणार्थी अमेरिका पुगिसकेका छन् । केही भुटानी शरणार्थी अमेरिका पुग्न बाँकी छ भने केही शरणार्थीको प्रक्रिया नै सुरु भएको छैन । यहीबीचमा नेपालमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर भएको ठगीबारे रातोपाटीले थप सामग्री छापेको छ ।

बजेटबारे अर्थको तयारी

आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको तयारी तीव्र छ । मन्त्रालयगत बजेटको नीति तथा कार्यक्रम, सार्वजनिक सुझाव एवम् सुनुवाइसमेत समेटेर अर्थ मन्त्रालयले बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभामा पेश गर्दैछ ।

तर, बजेटको तयारी हुँदै गर्दा अर्थ मन्त्रालयमा एकाएक तरंगसमेत उत्पन्न भएको छ । बजेटको मुखमै अर्थमन्त्रीकै चाहनामा सचिव फेरिएसँगै वातावरण तरंगित हुन पुगेको हो ।

भिसा सेन्टरको नाममा चलखेल

नेपालमा साउदी भिसा सेन्टर खोल्नका लागि व्यवसायीहरू दौडधुपमा देखिएका छन् । त्यसका लागि उनीहरूले सरकारी प्रतिनिधिहरूलाई भेट्ने, मन्त्रीहरूसँग करोडौंको बार्गेनिङ गर्ने सम्मको गतिविधि गर्न थालेका छन् ।

नेपालस्थित साउदी दूतावास र केही व्यवसायीको मिलेमतोमा जाउलाखेलमा साउदी भिसा सेन्टर खोल्न लागिएको हो । त्यसका लागि मेनपावर व्यवसायीहरू अहोरात्र खटिएका छन् ।

बुद्धजयन्ती मनाइयो

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६७औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पु¥याएको योगदानको स्मरणमा उनीप्रति आराधना, ध्यान गरी मनाइन्छ ।

यो पनि...

प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ । एसएसपी बढुवा सिफारिसमा छुटाएपछि तिम्सिनाले वैशाख १७ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)को विधान अधिवेशन फेरि सर्ने निश्चित भएको छ ।

जेठ १ गतेका लागि तय भएको अधिवेशन सर्ने निश्चित भएको हो ।  जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले वैशाख २७ गते बस्ने कार्यकारिणी समितिको बैठकले अधिवेशनको नयाँ मिति तय गर्ने बताए ।

कोभिड-१९ अब ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’ नरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ । यो भनाईलाई महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख कदम मानिएको छ ।

रवि लामिछानेले उप–प्रधान एवं गृहमन्त्री नियुक्त भएसँगै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए ।

लामिछानेको निर्णय अनुसार हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन २०७९ पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो । समितिले डीएनए परीक्षण गर्न ५ जना शंकितको नमुना संकलन गरेर विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । तर, ती सबैको डीएनए परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिले थप तीन जनाको नमुना संकलन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप