विश्वविद्यालयमा विद्यार्थी र शिक्षकले बढी राजनीति गरे : मन्त्री राई
विराटनगर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विश्वविद्यालयहरूलाई बढी राजनीतिकरण गरिएको बताएका छन् । राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको भन्दै मन्त्री राईले भागबण्डाले विश्वविद्यालयमा विकृति आएको बताए ।
पूर्वाञ्चल विश्वविद्यालय परिसरमा शुक्रबार आयोजित सात सय ५० सिट क्षमताको सभाहल शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले विश्वविद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले बढी राजनीति गर्दा विश्वविद्यालयलाई घाटा भइरहेको बताए ।
अन्य देशमा राजनीतिक व्यक्तिलाई विश्वविद्यालयको पदाधिकारी बनाउने परिपाटी नरहेको उल्लेख गर्दै मन्त्री राईले नेपालमा पनि यसलाई बिस्तारै कम गर्दै लैजाने बताए । आफू मन्त्री बनेको एक महिनाको अवधिमा शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरी सुधार गर्नुपर्ने धेरै कुराहरूको विषयमा जानकारी लिएको उनले बताए ।
अहिले पनि शिक्षा क्षेत्र सुधारका लागि कतिपय ऐन कानुन बन्न नसकेकाले आउँदो अधिवेशनमा रोकिएका ऐनलाई पेश गर्ने मन्त्री राईले जानकारी दिए । विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको छलफलमा धेरै विश्वविद्यालयमा समस्याको चांङ रहेको तर पूर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले समस्या भन्दापनि धेरै उपलब्धि हासिल गरेको आफूले पाएको उनले बताए ।
विश्वविद्यालयहरुले सधैँ अनुदानको भरमा चल्नेभन्दा पनि आत्मनिर्भर बन्ने चेष्टा गर्नुपर्ने मन्त्री राईको सुझाव छ । उच्च शिक्षाको लागि विदेशीने प्रवृत्तिको अन्त्य गर्न विदेश उत्तम स्वदेश खत्तम भन्ने सोचलाई बदल्न विश्वविद्यालयहरुले समय सापेक्ष गुणस्तरिय शिक्षाको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए । २३ वर्षदेखि शिक्षक दरबन्दी मिलान गर्न नसकिएको जनाउँदै बालकक्षा, राहत र करार शिक्षकको समेत समस्या कायमै रहेको मन्त्री राईले बताए ।
विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला र रजिष्टार नीलमणी पोखरेलले चिकित्सा शिक्षा सञ्चालनको लागि सरकारबाट अनुमति पाएसँगै मेडिकल कलेज सञ्चालनको लागि थप साधन स्रोत आवश्यक पर्ने भएकाले उपलब्ध गराइदिन आग्रह गरे ।
आगामी शैक्षिक शत्रदेखि एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी गरेको विश्वविद्यालयलाई सबैको साथ सहयोगको आवश्यकता रहेको उनीहरूको भनाइ छ । लामो समयदेखि मेडिकल कक्षा सञ्चालनको अनुमति कुरेर बसेको विश्वविद्यालयले यसैवर्ष मात्र अनुमति पाएको भन्दै सबैको साथ सहयोग भए आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने पदाधिकारीहरूको भनाइ छ ।
यसैबीच पूर्वाञ्चल विश्वविद्यालयमा सुविधासम्पन्न सभाहल बन्ने भएको छ । विश्वविद्यालय परिसरमा बन्न लागेको सात सय ५० सिट क्षमताको सभाहलसँगै बैंकिङ कारोबारलाई सहज बनाउन नबिल बैंकको शाखा कार्यलयको पनि शिलान्यास गरिएको छ । नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सभाकक्ष बनाइदिन लागेको हो ।
सभाकक्ष र बंैकको शाखा कार्यलयको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सह–कुलपति अशोक राई र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता