साउदी भिसा सेन्टर खोल्न व्यवसायीहरूको दौडधुप, करोडौंको बार्गेनिङ
काठमाडौँ । नेपालमा साउदी भिसा सेन्टर खोल्नका लागि व्यवसायीहरू दौडधुपमा देखिएका छन् । त्यसका लागि उनीहरूले सरकारी प्रतिनिधिहरूलाई भेट्ने, मन्त्रीहरूसँग करोडौंको बार्गेनिङ गर्ने सम्मको गतिविधि गर्न थालेका छन् ।
नेपालस्थित साउदी दूतावास र केही व्यवसायीको मिलेमतोमा जाउलाखेलमा साउदी भिसा सेन्टर खोल्न लागिएको हो । त्यसका लागि मेनपावर व्यवसायीहरू अहोरात्र खटिएका छन् ।
भिसा सेन्टरको नाममा सिण्डिकेट लाद्ने र मनपरी ढंगबाट शुल्क असुल्ने धन्दामा केही व्यवसायीहरू लागेका छन् ।
विशेष गरी जाउलाखेलमा रहेको अक्सफोर्ड इन्टरनेशनल प्रालिका प्रमुख ईश्वर जिसी, लक्की एचआर सोलुसन प्रालिका प्रमुख विष्णु काप्रीलगायतका व्यवसायी भिसा सेन्टर खोल्न लागि परेका हुन् ।
भिसा सेन्टरको नाममा उनीहरूले डकुमेन्ट तथा पासपोर्ट सङ्कलन गर्न खोजेको तथा त्यसका लागि उनीहरूले प्रति कामदार ३ हजार रुपैयाँ अतिरिक्त शुल्क तोक्न लागेको स्रोतले जनाएको छ ।
साउदीको भिसा सेन्टर केही महिना अगाडि बंगलादेशमा पनि खुलेको थियो । तर, व्यवसायीको आन्दोलनपछि तत्काल बन्द भएको थियो । साउदी सरकारको कुनै अनुमति बिना नै उक्त भिसा सेन्टर खोलिएको थियो । त्यसपछि व्यवसायीले चर्को आन्दोलन गरेपछि बन्द भएको थियो ।
नेपालमा समेत खोल्न लागिएको भिसा सेन्टर साउदी सरकारको अनुमति बेगर दूतावास र केही व्यवसायीको मिलेमतोमा खोल्न लागिएको स्रोतको दाबी छ ।
साउदी दूतावासमा भीडभाड भयो, दूतावासले कन्ट्रोल गर्न सकेन जस्ता विभिन्न बहाना बनाएर भिसा सेन्टर खोल्ने कुरा चलिरहेको हो । त्यो भिसा सेन्टर होइन, कलेक्सन सेन्टरको रूपमा खोल्न खोजिएको हो ।
‘पासपोर्ट बुझाउने, डकुमेन्ट बुझाउने काम हुनेछ । त्यो कलेक्सन सेन्टरले डकुमेन्टहरू दूतावासमा बुझाउँछ । त्यसपछि साउदी दूतावासले भिसा लगाएर दिन्छ ।’ स्रोतले भन्यो ।
त्यस्तो गर्दा प्रति व्यक्ति ३ हजार थप शुल्क लाग्नेछ । त्यो भनेको श्रमिकबाट अतिरिक्त भार हो ।
जिसी र काप्रीको मेनपावर कम्पनीमा जावलाखेलमा छ । त्यसैले, उनीहरूले सेन्टर आफ्नो हात पार्नका लागि मरिहत्ते गर्दै आएका छन् । यसका लागि उनीहरूले राजनीतिक दलका प्रभावशाली नेताहरूसँग समेत राम्रो कनेक्सन बनाउँदै आएका छन् ।
हालै सम्पन्न वैदेशिक रोजगारी व्यवसायी संघको अधिवेशनमा जिसी अध्यक्ष पदका उम्मेदवार थिए तर पराजित भएका थिए । व्यवसायीहरूले यो विषयमा तत्काल छानबिन गरी व्यवसायीको हित विपरीत कार्य गर्नेलाई कारबाही गर्न मागसमेत गरेका छन् ।
‘यो विषयमा व्यवसायीहरूबीच समेत गहन छलफल चलिरहेको छ । तर, जिसी, काप्री लगायतको समूहले विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पार्ने, आर्थिक चलखेल गर्ने जस्ता कार्य तीव्र गतिमा थालेका छन्,’ स्रोतले भन्यो ।
जिसीले यसका लागि दूतावाससँग निकट सम्बन्ध बनाएर उनीहरूलाई आर्थिक प्रलोभनमा पार्ने काम गरेको स्रोतको भनाई छ । मेनपावर व्यवसायीहरूले भने यस्तो नगर्न सचेत गराउँदै आएका छन् ।
वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिव सुजित कुमार श्रेष्ठले यसरी भिसा सेन्टर खोल्नु भनेको व्यवसायी र कामदारमाथि सिण्डिकेट लगाउने काम हुने बताए । व्यवसायीहरूको चाहना न्यूनतम लागतमा कामदारलाई वैदेशिक रोजगारीमा पठाउने भन्ने भएपनि अतिरिक्त भारका लागि अनेकन प्रपञ्च रच्ने काम भइरहेको उनको भनाई छ ।
पहिले नै खोलियो कतार भिसा सेन्टर
यसअघि २०७६ जेठ १५ गते नै कतार भिसा सेन्टर खोलिएको थियो, जहाँ कामदारले सुविधा भन्दा पनि दुःख पाइरहेको व्यवसायी तथा श्रमिकहरूको भनाई छ ।
‘कतार भिसा सेन्टरले दिनमा २०० जनाको मात्र एप्लिकेशन लिन्छ । जबकि दिनमा ५०० जनाको एप्लिकेशन सबमिट हुन्छ । त्यो बाहेकका लागि अर्को बाटो खोज्नुपर्ने हुन्छ । यसमा थप पैसा खुवाएर काम गराउनुपर्ने अवस्था हुन्छ,’ स्रोतले भन्यो ।
कतार भिसा सेन्टरले विभिन्न नाममा १२ देखि १५ हजार रुपैयाँ शुल्क असुल्ने गरेको छ । उक्त भिसा सेन्टर व्यवसायी हेम गुरुङले खोलेका हुन् । त्यस्तै, मलेसियाको समेत दर्जन बढी ठाउँमा भिसा सेन्टरको नाममा श्रमिक लुट्ने अड्डा खुलेका छन् ।
कतारी भिसा सेन्टर खोल्नका लागि व्यवसायीहरूले ठूलै चललेख गरेका थिए । उनीहरूले बालुवाटारलाई प्रभाव पार्नका लागि अनेकन प्रयास गरेका थिए । अन्तिममा उनीहरूको चलखेल सफल भयो र भिसा सेन्टर खोल्न सफल भए ।
उक्त भिसा सेन्टरको तत्कालीन श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्टले नै उद्घाटन गर्ने गरी कार्यक्रमसमेत तय गरेको थियो । तर, चलखेल भएको थाहा पाएपछि श्रम मन्त्री विष्टले नै भिसा सेन्टरका विषयमा प्रष्ट धारणा नभएसम्म खोल्न रोक लगाएका थिए ।
उक्त भिसा सेन्टर खुलाउनका लागि शुरुमा पूर्व श्रमराज्य मन्त्री तथा हिमालय मेनपावर प्रालिका सञ्चालक टेकबहादुर गुरुङ, कतारस्थित नेपाली दूतावासका राजदूत रमेश कोइराला, एसओएस सभिर्स म्यानपावर प्रालिका सञ्चालक हेमजंग गुरुङलगायत केही व्यवसायीले लविङ गरेका थिए ।
उनीहरुको लविङलाई प्रधानमन्त्री कार्यालय र श्रम मन्त्री गोकर्ण विष्टले वेवास्ता गदै आएका थिए । तर, पछि उनीहरूले भिसा सेन्टर खोलेरै छोडेका थिए ।
भिसा सेन्टर खोलेपछि कतारका लागि २५ डलर अतिरिक्त शुल्क तिर्नुपर्छ । त्यो भन्दा पहिला मलेसियामा ओएससीका नाममा ७ सय रुपैयाँ, साउदी, ओमान, बहराइन र कुवेत जाने कामदारले गाम्काका नाममा १० अमेरिकी डलर तिर्दै आएका छन् ।
यो विषयमा मेनपावर व्यवसायी काप्रीले भिसा सेन्टर खोल्ने लागेको विषयमा आफूलाई जानकारी नै नभएको बताए । जिसीसँग भने सम्पर्क हुने सकेन ।
यसअघि समाचारमा विष्णु काप्री हुनुपर्नेमा ऋषिप्रकाश शर्मा हुन पुगेकाले सच्याइएको छ : सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विषाक्त समाजमा बाँच्न डर लाग्छ, मर्न डर लाग्दैन’
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ
-
जाडोमा स्विमिङ गर्न सकिने ‘रिफ्रेस रिक्रिएसन सेन्टर’ सञ्चालनमा, ९ करोड लगानी
-
‘अब हाँस्छ अमेरिका २’ सँगै ‘अब सुन्छ अमेरिका’ आयोजना हुने
-
१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा
-
लामिछानेको निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा