ज्यान बचाउन परिवारसहित देश छाडेका पत्रकारको डायरी
राजधानी खार्तुमको आकाशमाथि जताततै धुवाँको कालो मुस्लो देखिनु सामान्य बनेको छ । धुवाँको त्यही कालो मुस्लोभित्र मेरो अनिश्चित भविष्यको बाटो पनि हराएको छ । तत्कालका लागि युद्धविराम भएका ओम्डुरमन र खार्तुम बाहरीजस्ता स्थानका बासिन्दा त यसअघि नै यस्ता कहालीलाग्दा दृश्यहरूको साक्षी बनिसकेका होलान् !
अवस्था निकै उदेकलाग्दो र त्रासयुक्त छ । विस्फोटका आवाजहरू मेरो छिमेकमा झनझनै नजिकबाट सुनिन थालेका छन् । सर्वसाधारणको अनुहारमा कोरिएका भयका रेखाहरु सहजै देख्न सकिन्छ । र्यापिड सपोर्ट फोर्स (आरएसएफ) का लडाकुहरूबाट भएका घटनाहरूको जानकारी पनि हामीलाई निरन्तर प्राप्त भइरहेकै छ ।
कुटपिट, कार चोरी र लुटपाटका घटनाहरू सामान्य बनेका छन् । यस्तै भयावह परिस्थितिका कारण म आफ्नो थातथलो छाड्ने हृदय विदारक निर्णय लिन बाध्य बनेको छु ।
एउटा सञ्चारकर्मीको नाताले युद्धभूमिमै डटेर समाचार सङ्कलन गर्नु मेरो दायित्व हो भन्ने कुरा पनि मैले राम्ररी बुझेको छु । युद्धभूमिको अवस्थालाई त्यही रूपमा बाँकी विश्वसम्म पुर्याउने आफ्नो दायित्वले मलाई नथिचेको पनि होइन । तर, यतिबेला म बाध्य छु । आफ्नो वरपरको परिस्थितिलाई हेर्दा म आफूलाई निरीह र असहाय पाउँछु । समाचार सङ्कलन र सम्प्रेषण गर्ने आफ्नो दायित्व पूरा गर्न मैले घरबाट बाहिर निस्कनु पर्छ । तर, अहिले त्यो अवस्था छैन । इन्टरनेटको अवस्था त झनै टिठलाग्दो छ । सञ्चारका सुविधाहरू अवरुद्ध बनेका छन् । समग्रमा भन्नु पर्दा अवस्था कतैबाट पनि आशालाग्दो देखिँदैन ।
सबैभन्दा ठुलो कुरा, मेरो परिवारको सुरक्षासँग जोडिएको छ । मेरो आफ्नो सुरक्षा र परिवारको सुरक्षाको विषयले त मलाई झनै निरीह बनाउँदै लगेको छ । मैले आफ्नो थातथलो छाड्ने अप्रिय निर्णय लिनुको पछाडि यस्ता थुप्रै कारणहरू छन् ।
हाम्रो यात्रा सुरु हुन्छ, गत अप्रिल २८ तारिखमा । हामी त्यो दिन अपराह्नतिर आफ्नो घर छाड्छौँ । सामान्यतः त्यो समयमा घटनाहरू केही कम हुने भएकाले पनि हामीले त्यही समय रोजेका हौँ । बसमा आफूजस्तै नियति भोगेका केही व्यक्तिसँग हाम्रो भेट हुन्छ । कुराकानीका क्रममा उनीहरूको गन्तव्य पनि इजिप्टको सीमा क्षेत्रतर्फ नै भएको थाहा पाउँछौँ ।
आफ्नो थातथलो छाड्ने हृदयविदारक निर्णय लिन बाध्य बनेको छु । एउटा सञ्चारकर्मीको नाताले युद्धभूमिमा डटेर समाचार संकलन गर्नु मेरो दायित्व हो भन्ने कुरा पनि मैले राम्ररी बुझेको छु ।
तर, हामीले यात्रा सुरु गरेको १० मिनेट पनि बित्न नपाउँदै अचानक आकाशमा युद्ध विमानहरू देखा पर्छन् । त्यसपछि एकाएक हाम्रो अत्यन्तै नजिकबाट आरएसएफका लडाकुहरूले पनि युद्ध विमानहरूलाई लक्षित गरी गोली चलाउन सुरु गर्छन् ।
हामी चढेको बस पनि रोकिन्छ । बस रोकिन नपाउँदै हतियारधारी व्यक्तिहरू बस घेर्न आइपुग्छन् । उनीहरू बसभित्र चढ्छन् र ध्यानपूर्वक हामीलाई नियाल्दै विभिन्न प्रश्न सोध्न थाल्छन् । खासगरी उनीहरू हामी कहाँबाट आएको र कहाँ जान लागेको भन्ने प्रश्न गर्छन् ।
हतियारधारी समूहका व्यक्तिले हामीतिर बन्दुक ताकेका छन् । यो देखेर मेरी श्रीमती र केटाकेटी निकै भयभीत बनेका छन् । अन्त्यमा बसभित्र सबै निरीक्षण गरिसकेपछि हतियारधारी समूहले हामीलाई त्यहाँबाट अगाडि बढ्ने अनुमति दिन्छ । तत्कालका लागि हामी जोगिएका छौँ । तर, हामी सबैलाई राम्ररी थाहा छ, अगाडि यस्ता थुप्रै कष्टदायी क्षणहरू हाम्रो प्रतीक्षामा होलान् !
बन्दुकधारीबाट अनुमति पाएपछि हामी तीव्र गतिमा अगाडि बढिरहेका छौँ । केही समयपछि हामी ओम्डुरमन जिल्लाको बाहिरी भाग छिचोल्छौं । हामीले पार गरेका थुप्रै भागका गल्लीहरू सुनसान देखिन्छन् ।
आरएसएफका थुप्रै गाडीहरू ओहोरदोहोर गरेको देखिन्छ । उनीहरूका कतिपय गाडी गल्ली वा घना रुखहरूको बीचमा पनि रोकेर राखिएको छ । सायद सेनाले गर्न सक्ने हवाई आक्रमणबाट जोगिन उनीहरुले आफ्नो गाडीलाई बाक्लो रुखहरूको बीचमा राखेका होलान् ! हामी कल्पनासम्म गर्न सक्छौँ । उनीहरू पनि सेनाले गर्न सक्ने सम्भावित हवाई हमलाको जवाफ दिन तम्तयार देखिन्छन् ।
हामी लगातार पश्चिमतर्फ अगाडि बढिरहन्छौँ । जतिजति पश्चिमतर्फ लाग्यो, त्यति नै अर्धसैनिक जवानहरु कम देखिन थालेका छन् । त्यसैले विस्तारै यस क्षेत्रको जनजीवन पनि सामान्य बन्दै गएको देखिन्छ । अब त थुप्रै खुला पसलहरू पनि देखिन थालेका छन् । अधिकांश पसल महिलाले चलाएको देखिन्छ । पसलमा ग्राहकको निकै भिड पनि देखिन्छ ।
पश्चिमतर्फ बढ्दै गर्दा ठुलो सङ्ख्यामा सार्वजनिक यातायातका साधन पनि देखिन्छन् । लाग्छ, अब क्रमशः शान्ति फर्किएको छ र जीवन पनि सामान्य बन्दै गएको छ । पक्कै पनि हामीले थुप्रै खतरनाक मोड र घुम्तीहरूलाई पछाडि छाडेर आएजस्तो अनुभव गर्न थालेका छौँ । हामीले आफ्नो थातथलो छोड्नुअघि कता जाने हो भनेर केही सूचना सङ्कलन गरेका थियौँ । यतिबेला लागिरहेको छ, हामीले प्राप्त गरेका सूचनाहरू सही रहेछन् ।
अन्ततः हामी खार्तुम र उत्तरी राज्यको सीमा क्षेत्रमा पुग्यौँ । यहाँ सुडानको सुरक्षाकर्मीहरूले लगाएको कुनै पनि चेकपोस्ट देखिँदैन । यहाँ मान्छेहरुले खचाखच भरिएका थुप्रै निजी सवारी साधन आवतजावत गरेको देखिन्छ । थुप्रै मान्छेलाई बोकेर ती सवारी साधन मेरोवे, डोंगोला, वाडी हल्फाजस्ता उत्तरी सहरहरूतर्फ अगाडि बढिरहेका छन् ।
हतियारधारी समूहका ब्यक्तिले हामीतिर बन्दुक ताकेका छन् । यो देखेर मेरी श्रीमति र केटाकेटी निकै भयभित बनेका छन् । अन्त्यमा बसभित्र सबै निरीक्षण गरिसकेपछि हतियारधारी समूहले हामीलाई त्यहाँबाट अगाडि बढ्ने अनुमति दिन्छ ।
हामी आफै पनि छिटोभन्दा छिटो वादी हल्फा पुग्न चाहन्छौँ । त्यसैका लागि हामीले आफ्नो थातथलो छोडेर २४ घन्टा लामो यात्रा तय गरिसकेका छौँ । हाम्रो यो यात्रा निकै कष्टप्रद थियो । कच्ची सडक, बाटोमा पर्ने थुप्रै खाल्डाखुल्डी, बन्दुधारी समूहको लगातारको सोधपुछ, मरुभूमिबाट उडेर आएका धुलोका कणहरु । हामीले थुप्रै प्रतिकुल स्थितिको सामना गरेर आफ्नो गन्तव्यसम्मको यात्रा छिचोल्यौँ ।
झमक्कै रात परेपछि हाम्रो बस डोंगोला शहरको एउटा क्याफेमा रोकियो । हामीले त्यहाँ केही बिछ्यौना भाडामा लियौँ र खुला आकाशमुनि निदाउने प्रयास गर्न थाल्यौँ । राति चिसोबाट जोगिन हामीसँग एउटा सामान्य ब्ल्यांकेटसम्म थिएन । रात जसोतसो काटियो र भोलिपल्ट हाम्रो अगाडिको यात्रा सुरु भयो ।
अन्ततः केही समयको यात्रापछि हामी वाडी हल्फा सहर पुग्यौँ । त्यहाँको अवस्था त झनै अस्तव्यस्त थियो । जीवनको अनिश्चित यात्रामा निस्किएका हजारौँ परिवार खुला आकाशमुनि थिए । होटलहरु निकै अगाडि नै भरिभराउ भइसकेका थिए । हजारौँ परिवार गाँस र बासका लागि भौँतारिइरहेका थिए । थुप्रै महिला र बालबालिका खुला चौर र सडक पेटीहरूमा सुतेका देखिन्थे । केहीले भने स्थानीय विद्यालयमा पनि आश्रय लिएका थिए ।
हाम्रो भेट एक ५० बर्सिया महिलासँग भयो । उनले आफू विगत चार दिनदेखि यस्तै दुःख सहेर दिनरात बिताइरहेको गुनासो गरिन् । चार दिनदेखि पर्याप्त खाना र पानीसमेत नपाएको उनले बताइन् । दिउँसोको तातो राप र रातको कठ्याङ्ग्रिने चिसोबाट जोगिन आफूसँग कुनै उपाय नभएको उनको गुनासो थियो । आफ्नो छोरा इजिप्टमा रहेको र छिट्टै नै छोराले भिसा पठाएपछि आफू पनि इजिप्ट जाने रहस्य पनि उनले खोलिन् ।
उनी एक प्रतिनिधि पात्र मात्र थिइन्, त्यहाँ सुनाउनका लागि हरेकसँग आआफ्नै कथा-व्यथा थिए । सीमा क्षेत्रको सहरमा पुगेपछि मैले सुडानका नागरिक मात्र होइन, अन्य थुप्रै राष्ट्रका व्यक्तिलाई पनि भेटेँ । त्यहाँ सुडानका अतिरिक्त भारत, यमन, सिरिया, सेनेगल, घाना र सोमालियाका थुप्रै मान्छे थिए । भेट भएका अधिकांश खार्तुमस्थित अन्तर्राष्ट्रिय विश्वविद्यालयका विद्यार्थीहरू थिए, जो छिटोभन्दा छिटो सुडान छाड्न चाहन्थे ।
घानाका एक युवाले खार्तुममा निकै कठिन परिस्थितिको सामना गरेको बताए । उनले आफू भाग्यवश एउटा विस्फोटनबाट जोगिएको पनि बताए । सुडान-इजिप्ट सीमा क्षेत्रमा थुप्रै यस्ता सहृदयीहरू पनि भेटिए, जसले त्रासबाट भागेर नयाँ भविष्यको खोजीमा भौँतारिएका हजारौँ अपरिचित ब्यक्तिका लागि आफ्नो घरको ढोका खोलेका थिए ।
थुप्रै स्थानीहरु आफ्नो खानासमेत बाँड्न तयार देखिन्थे । त्यसको सट्टामा उनीहरुले पैसाको चाहना राखेको पनि देखिएन । त्यसैमध्ये एक थिए, बादेरी हसन । वाडी हाल्फमा उनको ठुलो घर छ । उनले आफ्नो घरमा थुप्रै शरणार्थीलाई निःशुल्क आश्रय दिएका रहेछन् । ‘आज परिस्थितिले उनीहरुलाई साथ दिएको छैन । तर, आतपमा पर्दा हामीले उनीहरूको साथ छोड्नु हुँदैन,’ बादेरी हसन भन्छन् । यस्तो प्रतीत हुन्थ्यो, पृथ्वीबाट मानवता अझै हराइसकेको छैन ।
सुडान-इजिप्ट सीमाको अवस्था विरक्तिलाग्दो थियो । सयौं बस र निजी सवारी साधनहरूको लाम लागेको थियो । जताततै चर्को कोलाहलको अवस्था थियो । हिँडेर सीमा पार गर्नेहरूको सङ्ख्या पनि निकै ठुलो थियो । त्यहाँ भएको एउटा मात्र शौचालयको अवस्था पनि उस्तै थियो । अन्ततः यस्तै कठिन परिस्थितिहरूको सामना गर्दै भोलिपल्ट म पनि आफ्नो परिवारसहित सुडानको धर्ती छाडेर इजिप्टतर्फ लागेँ ।
हामीले सुडान छाड्दा अँध्यारो छिप्पिँदै थियो र मौसम पनि चिसो बन्दै गएको थियो । जब हामी चढेको फेरीले चर्चित नाइल नदी पार गर्दै थियो, हाम्रो अनुहारमा भने ठुलै सङ्कटबाट जोगिएर आएजस्तो खुसी छाएको थियो । तर होइन, आफ्नो थातथलो छाडेर हिँड्नु पर्दाको थोरै पीडा पनि हाम्रो मुहारमा थियो । आफ्नो श्रीमती र बालबच्चाको जीवन बचाउन पाएकोमा खुसी थिएँ । तर, आफ्नो अभिभावक, नातागोता र साथीभाइलाई त्रासपूर्ण वातावरणमा छाड्नु पर्दा मन अमिलो पनि भएको थियो ।
(सुडानमा चलिरहेको हिंसाका घटनाका कारण आफ्नो परिवारको जीवन बचाउन थातथलो छाडेर इजिप्टतर्फ लागेका बीबीसीका पत्रकार मोहमद ओस्मानको भोगाइ उनकै शब्दमा ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?