नेपाल कतिवटा ढुंगाबीचको तरुल कि गोलभेडा ?
काठमाडौँ । पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ भनी कुन विम्ब वा प्रतीकका रूपमा भने ? यस्तो भाष्य, विम्ब वा प्रतीकको प्रयोग गर्नुपर्ने प्रयोजन के थियो ? यसको जवाफ खोज्न तत्कालीन देश, काल र परिस्थिति केलाउनुपर्ला । करिब अढाइ सय वर्षअघिको त्यस प्रतीकमा आज के कति परिवर्तन आएको छ ? यसलाई बुझ्न वर्तमान अवस्था नै केलाउनुपर्छ ।
हिमाल मिडिया प्रालिको आयोजनामा भएको ‘हिमाल मिडिया मेला– २०२३’को पहिलो दिन (२० वैशाखमा) ‘बदलिँदो भूराजनीतिबीच मिडियाको सन्दर्भ’ विषयक छलफल गरियो । हिमाल साउथ एसियनका सम्पादक रोमन गौतम सहजकर्ता रहेको छलफलका वक्ता सुधीर शर्मा (कान्तिपुर दैनिकका प्रधानसम्पादक)ले यतिखेर नेपाल खासगरी तीनवटा ढुंगाबीचको तरुलको रूपमा रहेको अर्थात् अमेरिका थपिएको भनाइ राखे । ‘अहिले झट्ट हेर्दा भारत र अमेरिका एकातिर, चीन अर्कोतिर जस्तो देखिएको छ, त्यसका प्रभावहरू यहाँ देखिने जस्तो भाछ,’ उनले भने, ‘गहिरिएर हेर्दा दुईवटा ढुंगा होइन, तीनवटा ढुंगा नै भएको जस्तो देखिन्छ । उनीहरूका आ–आफ्ना रुचि छन् । हाम्रा लागि चुनौती थपिएका छन् जस्तो लाग्छ ।’
यसबाहेक पनि अन्य हस्तक्षेप बढेको विम्बस्वरूप शर्माले साना वा ठूला ढुंगामा गिटी समेत मिसाए । ‘ढुंगा धेरैवटा हुन थाले, ढुंगा पनि भो, गिटी पनि भो, ठुल्ठूलो ढुंगा, सानो ढुंगा त्यो टाइपको स्थितिमा हामी जान थालेका छौँ,’ उनले भने, ‘ठोस रूपमा भन्ने हो भने भारत, चीन र पश्चिमका मुलुक खासगरी अमेरिकाको नेपालमा एक खालको प्रभाव, एक खालको रुचि नभएको होइन ।’
दुई ढुंगाबीचको तरुलको प्रसंगमा छलफलका अर्का वक्ता कनकमणि दीक्षित (हिमाल मासिकका प्रकाशक)ले ठुल्ठूलै तीनवटा चट्टान आएको र तरुल अहिले गोलभेडा भइसकेको भनाइ राखे । ‘हामीले तरुल ठान्थ्यौँ, मलाई लाग्छ त्यो अहिले आएर गोलभेडा भा’छ । एकदम कमजोर, थिलथिलो भइसकेको, कुनै बेला फुटिहाल्ला भन्ने खालको अलि पाकेको गोलभेडा बन्न पुग्या छ नेपाल, भूराजनीतिक हिसाबले,’ उनले तरुल र गोलभेडालाई परिभाषित समेत गरे, ‘तरुल भन्दा के बुझिन्छ भने, चनाखोपनले उत्तर र दक्षिणलाई मिलाउँदै र सम्हाल्दै अगाडि बढ्ने । गोलभेडा भन्याचाहिँ फ्यात्त बस्छ ।’
नेपाल गोलभेडा भइसकेको भन्ने दीक्षितको भनाइप्रति शर्माको असहमति रह्यो । ‘हामी टमाटरै भइसक्यौँ जस्तो मलाई लाग्दैन, तरुलचाहिँ तरुल नै छौँ,’ शर्माले भने, ‘तरुललाई ठेलमठेल चाहिँ भइरहेको छ । तरुलको क्यारेक्टर नै एकदमै ढुंगासुंगा, चट्टानलाई छिचोलेर निस्कने र आफ्नो अस्तित्व जोगाउने हो ।’
नेपालले भारतसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुराको ‘वेल डिफाइन’ र त्यसको ‘प्राक्टिस’ हामीले वास्तवमा अहिलेसम्म राम्ररी गर्नै नसकेको शर्माको भनाइ थियो । ‘सात सालदेखि २०१७ सम्मको संक्रमणमा टंकप्रसाद र बिपी कोइरालाको नाम आउँछ, उनीहरू दुईले अलि स्वतन्त्र ढंगले अगाडि बढ्न एउटा खालको प्राक्टिस गरे,’ उनले भने, ‘महेन्द्रको एउटा खालको प्रयोग भयो, तर त्यो प्रयोग डेमोक्रेटिक नभएकाले असफल भयो ।’
छलफलमा सुधीरले खासगरी २००७ सालदेखि यताका नेपाल, भारत, चीन र अमेरिकाको सम्बन्ध केलाएका थिए । उनको बुझाइमा, अमेरिका कहिले भारतसँग त कहिले चीनसँग मिलेर आउँथ्यो । खम्पा विद्रोहमा उसको नेपालप्रतिको प्राथमिकता अलि बढी देखियो, यद्यपि त्यो छद्म रूपमा थियो, देखिने गरी थिएन । ‘अहिले चीनसँग अमेरिकाको नयाँ शीतयुद्ध सुरु भएको छ । त्यसको प्रभावहरू यहाँ देखिन थालेको छ । यी तीनवटैका नयाँ आकांक्षालाई बुझ्नुपर्ने, ट्याक्कल गर्नुपर्ने र अगाडि बढ्नुपर्ने चुनौती हामीलाई छ,’ शर्माले भने, ‘हाम्रो स्थिति हेर्दा मलाई लाग्छ– हामी राज्यको रूपमा अलिकति कमजोर भएका छौँ । पहिले पनि यो खालको स्थिति आउँदा ट्याकल गर्न सक्ने क्षमता थियो । अहिले हामी कुवाको भ्यागुतोजस्तो स्थितिमा छौँ, धेरै बाहिर हेर्न सकिरहेका छैनौँ । यी चुनौतीलाई हेर्न नीतिहरू बनाउने र त्यसलाई कार्यान्वयन गर्नेमा जान सकेका छैनौँ । यसमा मलाई लाग्छ, हाम्रो क्षमतै नभएको होइन । तर, क्षमताहरूलाई सदुपयोग गर्ने कुरामा अलिकति कमी भएको हो जस्तो लाग्छ ।’
आफूले भने अनुसारको राजनीति र विश्वदृष्टिकोण नेपालले अपनाउनुपर्ने भन्ने २००७ सालदेखिकै भारतको धारणा अझै कायम रहेको शर्माको भनाइ थियो । ‘एक चीन नीतिलाई नेपालले मानिदिनुपर्ने र उसले नेपालको स्वतन्त्रलाई रक्षा गर्छु भनिदिने उपक्रम पहिलेदेखि नै चलिआएको छ । नेपालप्रति चीनको प्रमुख रुचि भने तिब्बतलाई लिएरै हो,’ उनले भने, ‘यसबाहेक अहिले खासगरी सन् २००८ देखि चीनले दक्षिण एसिया र विश्वभरि नै आफ्नो सक्रियता बढाउन खोजेको छ । त्यसको प्रभाव अहिले हामीकहाँ पनि देखापर्न थालेको छ ।’
शर्माका अनुसार, नेपालसँग राम्रो सम्बन्ध हुनुपर्छ भन्ने हक भारतलाई छँदै छ । उसको एउटा पुरानै आग्रह छ– तिमीहरूले चीनसँग धेरै घनिष्ठ सम्बन्ध राख्न हुँदैन । शर्मा भन्छन्, ‘यसमा केही वर्षयता आधारभूत रूपमा नयाँ चिज थपिएको छ, त्यहाँको सत्तारुढ दलको वैचारिक वा सांस्कृतिक जुन आग्रह छ राजनीतिक मिसिएको हिन्दुत्वको, जुन अहिले जोडिएर आएको छ भारतको नीतिमा ।’
नेताहरूले आफ्नो ‘इन्ट्रेस्ट’का लागि नेपालको भूराजनीतिलाई दाउमा राखेको’ धारणा दीक्षितको थियो । ‘कतिसम्म देखिएको छ भने, नेपालभित्रको आफ्नो राजनीतिक सुरक्षाका लागि मुख्यतः नयाँदिल्ली र बेइजिङसँगको आफ्नो सम्बन्धलाई जारी राख्छन्– कसैको राखी बाँधेर होस् वा अन्य किसिमले उनीहरूलाई सम्पर्कमा राखिराख्ने गर्छन् । त्यो सम्पर्क मुलुकका लागि होइन, आफ्नो राजनीतिक यात्राको सुरक्षाका लागि गरिन्छ,’ दीक्षितले भने, ‘योभन्दा गद्दारी, गद्दारी शब्द प्रयोग गर्न मन छैन तर गरिहालेँ, योभन्दा नराम्रो के हुन सक्छ ? एउटा स्वाभिमानी देश, दक्षिण एसियाको सबैभन्दा पुरानो राज्य–राष्ट्र, अहिले पनि सम्भावनायुक्त छ तर सम्भावनालाई हासिल गर्न पाइरहेको छैन । नेतृत्व पंक्ति एकदम कमजोर भएको छ ।’
चीन पहिलेभन्दा एक्टिभिजम् (सक्रियतावाद)बाट एडभेन्चुरिजम् (दुस्साहस)तर्फ गएको दीक्षितको धारणा थियो । यसको उदाहरणका रूप उनले ‘एमसीसीको विषय, कृष्णबहादुर महराको ५० करोडको टेप–काण्ड र नेपालका तथाकथित कम्युनिस्टहरूलाई एक बनाउने चीनको चाहना’लाई प्रस्तुत गरेका थिए ।
दीक्षितका अनुसार, अहिले पश्चिमा मुलुकहरू नेपालमा चीनको डर वा हाउगुजीले अझ बढी हाबी छन् । भारतको इन्टरभेन्सनिजम् (हस्तक्षेपवाद) बारेमा हाम्रा मिडिया, हाम्रा विश्लेषक गणले कुरा गर्दैनन् । ‘भारतका धुवाँदार विश्लेषक भन्नेहरू पनि नेपालमा नाकाबन्दी भारत सरकार वा राज्यले गरेको भन्न रुचाउँदैनन्,’ उनले संविधान घोषणापछि भारतले नाकाबन्दी गरेको स्मरण गर्दै भने, ‘लैनचौरबाट फोन कल आउला भनी स्विच अफ गरी–गरीकन संविधान पारित गर्नुपर्ने अवस्था थियो । अहिले हामी त्यही अवस्थातिर फर्किरहेका छौँ । सरकार बनाउने सन्दर्भ, सरकार गठबन्धनको सन्दर्भ, तलका देखि माथिसम्मका पदहरूको परिपूर्तिमा इन्फ्लुयन्स छ, यो गर्न दिएको हाम्रै नेताहरूले हो । नेताहरूलाई रोक्न मिडियाले राम्ररी फलोअप गरेन, च्यालेन्ज गरेन । खालि हामी यति भन्छौँ कि यस्ता कुरा लेख्न प्रमाण हुँदैन ।’
पृथ्वीनारायणको उपदेश
सुधीरका कुरामा दीक्षितले केही असहमति राख्दै र दीक्षितका कुरामा सुधीरको केही असहमति रहँदै, सुधीर थोरै आशावादी र दीक्षित अलि निराशावादी देखिँदै अगाडि बढेको छलफलको स्पष्ट चित्र यही थियो– नेपाल तीन वा योभन्दा बढी ढुंगाबीचको तरुल वा गोलभेडा हो ।’
पृथ्वीनारायण शाहको उपदेश भन्छ – उप्रान्त यो राज्य दुई ढुंगाको तरुल जस्तो रहेछ ।
यहाँ उप्रान्तको अर्थ ‘अलिपछि’ भन्ने पनि हुन्छ । पृथ्वीनारायणले ‘जस्तो’ विशेषण लगाएर राज्यलाई तरुलको गुणसँग तुलना गरेका छन् । यस प्रतीकात्मक भनाइमा भय भेटिन्छ — आखिर तरुल न हो, कुहिएर जान सक्छ, कोही कसैले खान पनि सक्छ, दुई ढुंगाबीच कहिलेसम्म रहने ?
तरबारका भरमा राज्यहरू जितेका पृथ्वीनारायणलाई डर थियो, अर्को कसैले तरबारकै भरमा राज्य खोस्ने त होइन ! अर्कोतिर, पृथ्वीनारायणकै समयमा नेपाल दुई ढुंगा (चीन र भारत) बीचको ‘तरुल’ मात्रै थिएन, एउटा ढुंगामा इस्ट इन्डिया कम्पनी नामको अर्को ढुंगो खप्टिइसकेको थियो ।
इतिहासकार बाबुराम आचार्यको पुस्तक ‘चीन, तिब्बत र नेपाल’मा उल्लेख छ, ‘यता नेपालमा जुन समयमा पृथ्वीनारायणले काठमाडौं उपत्यकाभित्रका तीनवटा राज्यलाई आर्थिक नाकाबन्दी गरेर बसिरहेका थिए, त्यसै समयमा इस्ट इन्डिया कम्पनीका अंग्रेज पदाधिकारीहरू मुर्सिदावाद रियासतका नबाबका उत्तराधिकारीका रूपमा वर्तमान नेपालका विजयपुर र मकवानपुर राज्यका तराई क्षेत्रहरूमा सहज रूपमै उपस्थित हुन आइपुगेका थिए ।’
यसबाहेक त्यतिबेला पृथ्वीनारायणले तिब्बतलाई स्वतन्त्र राज्यका रूपमा स्वीकार गरेको देखिँदैन । उपदेश अनुसार, पृथ्वीनारायणलाई दूरदर्शी वा भविष्यवेत्ता मान्नुपर्ने हुन्छ, अर्थात् उनलाई थाहा थियो– तिब्बत पछि गएर चीनकै हुनेछ । अर्कोतिर, धर्मशास्त्रहरूमा कतिपय श्लोक वा प्रसंग पछि थपिएका हुन् भन्ने गरिएजस्तै पृथ्वीनारायणको उपदेशमै पछिल्लो समय प्रश्न नउठाइएको होइन ।
जेहोस्, पृथ्वीनारायणको उपदेश भन्छ– चीनबादशाहसित ठूलो घा (मेलमिलाप, सन्धि) राख्नू । दख्खिनका समुद्रका बादशाहसित घा त राख्नू, तर त्यो महाचतुर छ, हिन्दुस्थान दबाइराखेछ, सरजमीनमा परिरहेछ । हिन्दुस्थान जम्यो (मिल्यो) भने कठिन पर्ला भनी किल्ला खोज्न आउनेछ । सन्धिसर्पन हेरी गढी तुल्याई राख्नू र रस्तारस्तामा भाँजा हालिराख्नू । एक दिन त्यो बल आउनेछ । जाई (गई) कटक (लडाइँ नगर्नू, झिकी कटक गर्नू ।’
ज्ञानमणि नेपालको पुस्तक नेपालनिरुक्त अनुसार ‘पृथ्वीनारायण उत्तर भोटतर्फ बढ्ने, भोट राज्यमा हात हाल्ने कुरामा विरोध गर्दथे, भोटसँग सुमधुर सम्बन्ध स्थापना भइरहोस् भन्ने चाहना राख्तथे’ । उनले यस्तो चाहना राखे पनि तिब्बतसँग हाम्रो युद्ध भएरै छाड्यो ।
यतिखेर देशका राष्ट्रिय मिडिया प्रकाशक र प्रधानसम्पादकले जस्तो चिन्ता राखेका छन्, त्यो प्रकारको चिन्ता पृथ्वीनारायणकै पालामा थियो, फरक यही हो– पात्र, प्रवृत्ति, परिस्थिति र मनस्थिति फरक थिए, अर्थात् अमेरिकाको ठाउँमा इस्ट इन्डिया कम्पनी थियो, मनसाय पनि फरक थियो ।
भारतको नेपालमाथिको हस्तक्षेपको कुरा गर्दा, प्रजातन्त्र नै ‘दिल्ली सम्झौता’को रूपमा आएको र भारतले राजाको सचिव (चिफ सेक्रेटरी) बनाएर इन्डियन सिभिल सर्भिसका अफिसर गोविन्दनारायणलाई पठाएको जगजाहेरै छ ।
पारवाहन अधिकार, सीमाको स्पष्टता (नीतिगत पनि) आदि विषयले देशको शक्तिलाई जनाउँछ । आफूलाई सधैँ तरुल मान्ने र अरुलाई ढुंगा मान्ने हो भने ढुंगाले दिने आकार–प्रकारलाई हामीले स्विकार्दै जानुपर्ने हुन्छ ।
हाम्रो आफ्नो माटो छ र स्पष्ट बाटो (विधान) छ, हामी हाम्रो माटोलाई उर्वर बनाउन, माटो अनुसारको सामाजिक न्याय स्थापित गर्न अगाडि बढ्नुपर्छ । मिडियाको भूमिका माटोलाई उर्वर बनाउनेमा हुनुपर्छ । राज्य बलियो हुन माटो उर्वर हुनैपर्छ । हो, माटोलाई कसैले छेउछाउबाट अतिक्रमण गर्दैछ भने मिडियाले आफ्नो स्पष्ट चित्र दिन सक्नुपर्छ । हिजो पुर्खाले ‘तरुल’ भनिदिए, हामी त्यसमै अड्कने होइन, बरु हामीले यसमा नयाँ भाष्य दिन सक्नुपर्छ ।
कुनै अर्को शक्तिशाली देशले हान्छ, खान्छ, हाम्रो अस्तित्व नामेट पार्छ, त्यसैले तिमीहरूले मैले भनेबमोजिम गर । जे गर्नुपर्छ म गर्छु भन्दै ‘अर्को शक्ति’को हाउगुजी देखाएर नागरिकमाथि शासन गर्ने वा सामाजिक न्याय स्थापित हुन नदिने प्रवृत्ति र नीति उहिले राजा–महाराजाहरूको रहन्थ्यो । यस्तो प्रवृत्ति र नीति विश्वव्यापी रूपमा थियो । अहिले विश्वको चेतनाले फड्को मारिसकेको छ । नागरिक र देशका हक–अधिकार अनुरूप नचल्नु, त्यसलाई नबुझ्नु हाम्रो कमजोरी हुन जान्छ । अधिकारको कुरा गर्दा, शारीरिक तौल वा आकार–प्रकारका रूपमा व्यक्तिले र भूगोलको नापका आधारमा देशले सम्मान पाउने वा थिचोमिचो सहने भन्ने हुँदैन ।
प्रकाशक दीक्षितको चिन्ता ठीक हो, मिडियाले ‘सफ्ट पावर’का रूपमा भूराजनीतिका विषय ‘कभरेज’ गर्नुपर्छ । उनले भनेजस्तै गोलभेडा वा तरुल भयौँ भनी कुहिन तयार हुने मानसिकतातिर भने हामी जानु हुँदैन ।