शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
वेथिति

मदन भण्डारी राजमार्ग बेहाल, ठेकेदार सांसदको खोजी

बिहीबार, २१ वैशाख २०८०, ११ : ४९
बिहीबार, २१ वैशाख २०८०

सुर्खेत । पश्चिम सुर्खेतका जनताको भाग्य र भविष्य बोकेको मदन भण्डारी राजमार्ग (बड्डीचौर–बेनिघाट) बेहाल अवस्थामा छ । यसबारे सामाजिक सञ्जालमा चर्को बहस भइरहेको छ ।

केही दिनदेखि परिरहेको वर्षाका कारण सडकमा सवारी साधन त के, पैदल यात्रुलाई समेत कठिन भइरहेको छ । जसका कारण पश्चिमका नागरिकले सो सडक निर्माणको जिम्मा लिएका ठेकेदार–सांसदको खोजी गरिदिन आग्रह गरिरहेका छन् ।

उक्त सडकखण्ड अन्तर्गत बड्डीचौर–खम्बागाडेसम्मको झण्डै १३ किलोमिटर सडक कालोपत्रे गर्न जयदेवी जेभी बाँकेले १४ असार ०७९ मै जिम्मा लिएको हो । उक्त कम्पनी प्रतिनिधिसभा सदस्य दिक्पाल कुमार शाहीको हो । कांग्रेसका शाही गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा दैलेख–२ बाट निर्वाचित भएका थिए ।

२४ असार ०८१ मा कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य राखिएको सडकमा १० महिना बितिसक्दा पनि कामले गति लिन सकेको छैन । कालोपत्रेका लागि ४२ करोड ४७ लाख ६१ हजार बजेट छ ।

संघीय सरकारले मदन भण्डारी राजमार्ग नामकरण गरी स्तरोन्नतिको काम जारी राखे पनि निर्माण कार्य ढिलाइ भएको भन्दै कर्णाली प्रदेश सरकारले बड्डीचौर–विद्यापुर खण्डको बड्डीचौर–खम्बागाडेसम्मको करिब १३ किलोमिटर कालोपत्रेको काम सुरु गरेको थियो ।

photo  (1)

यद्यपि ठेकेदार सांसद शाहीले राजनीतिको आडमा काममा तदारुकता नदेखाएको आरोप सुर्खेत पश्चिमका नागरिकहरूले लगाइरहेका छन् । सडकमा पैदल यात्रा गर्न समेत गर्न कठिन भएको भन्दै स्थानीय जनता ठेकेदार तथा सांसद शाहीप्रति आक्रोशित बनिरहेका छन् ।

स्थानीयले ठेकेदार सांसद शाहीको खोजीमा सहयोग गर्न सामाजिक सञ्जालमार्फत आग्रह गरिरहेका छन् । जीवन ढुंगाना नाम गरेका स्थानीयले सडकको कुरूप अवस्थाको तस्बिर शेयर गर्दै लेखेका छन्, ‘जिम्मेवारीवोध नभएकालाई माननीय बनाए ।’

स्थानीय हरिस खनालले लेखेका छन्, ‘दैलेखका ठेकेदार सांसद शाहीलाई खोजी दिन अनुरोध गर्दछु, पश्चिम सुर्खेत ।’

पञ्चपुरीका स्थानीय कमल न्यौपानेले सडक नबन्दा नागरिकलाई ओहोर–दोहोर गर्न निकै सास्ती भोग्नुपरेको बताए । ‘हामीले वर्षौंदेखि घाम लाग्दा धुलो–धुँवा खानुपरेको छ भने अलिकति पानी पर्‍यो कि हिलोका कारण पैदल यात्रा गर्न कठिन हुन्छ,’ उनले रातोपाटीसँग भने, ‘राजनीतिक दलहरूले यही सडकको नाम भजाएर पटक–पटक चुनाव जितेर सत्तामा पुगे, तर पनि जनताले भोगिरहेको सास्तीबाट हामीले मुक्ति पाएनौँ ।’

उनले राजनीतिक दल र सत्ताको आडमा रहेर ठेकेदार कम्पनीले विभिन्न बहानामा ढिलासुस्ती गरिरहेको आरोप लगाए ।

photo  (3)

पश्चिम सुर्खेतका बराहताल, पञ्चपुरी र चौकुने गाउँपालिकाको मेरुदण्डमा रूपमा रहेको यो सडकको ट्रयाक खोलिएको तीन दशक बितिसकेको छ । केन्द्रले आवश्यक बजेट विनियोजन नगरिदिँदा सोही क्षेत्रका प्रदेशसभा सांसद विन्दमान विष्ट अर्थमन्त्री भएका बेला प्रदेश सरकारबाटै बजेटको बन्दोबस्त मिलाएका थिए ।

सोही बजेटले ०७९ साउनमा तत्कालीन सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले डोजर चलाएरै सो खण्डको कालोपत्रेको निर्माण कार्य सुरुवात गरे । ठेकेदारसमेत रहेका कांग्रेस नेता शाहीले उक्त सडकको काम समयमै सम्पन्न गरेर जनताको भोग्नुपरेको समस्या समाधान गर्ने अपेक्षा सबैको थियो । तर, सत्ता र राजनीतिक दलको आडमा रहेर ठेकेदार कम्पनीले लक्ष्य अनुसार काम नगरेको स्थानीयको आरोप छ ।

बराहताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुन मगर भन्छिन्, ‘हिलोले निकै समस्या छ हजुर ! आवत–जावतमा समस्या छ, केही दिन हामी आफै पनि सडकका कारण यात्रा गर्न सकेनौँ । निकै अप्ठ्यारो छ ।’

उनका अनुसार वन भएको ठाउँ बाहेक अन्त विवाद छैन । आफूहरूले वन नभएको ठाउँमा असार अघि नै सडक कालोपत्रे गरिसक्न भनेको उनले बताइन् ।

कम्पनीका प्रतिनिधि एवं ठेकेदार सांसद शाहीका छोरा सन्देश शाहीले काम भइरहेको दाबी गरे । यद्यपि ३ किलोमिटर सडकपछि जंगल भएको र त्यसको वातावरणीय प्रभाव मूल्याङ्कन नगरेकाले समस्या भइरहेको उनको भनाइ छ ।

साथै स्थानीयसँग पटक–पटक भएको विवाद लगायतका कारण सडकको काममा ढिलाइ भएको उनले बताए । ‘काम गर्ने भनेर नै त्यहाँ पुगेको हो तर, सुरुमै विवाद भयो,’ उनले भने, ‘सुरुवातमै सडक आसपासका घरहरू भत्किने सम्भावना भयो । पछि सबै निकाय बसेर जुन सडक छ, त्यसैलाई मानेर अघि बढ्नुपर्ने भयो, फेरि डिजाइन गर्दा २ महिना लाग्यो, त्यसपछि पनि विवादले नै केही महिना धकेलियो ।’

photo  (2)

सडक निर्माणको काममा ढिला हुनुका पछाडि पूर्वाधार विकास निर्देशनालयको र मदन भण्डारी आयोजना कार्यालयको पनि कमजोरी छ । निर्देशनालयले अहिलेसम्म साइड ‘क्लियर’ गरिदिएको छैन । निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले निर्देशनालयकै केही कमजोरी रहेको बताउँछन् ।

‘ठेक्का लगाउनेले आफूले गर्नुपर्ने काम पूरा नगरिदिँदा काम गर्नेलाई समस्या हुन्छ नै,’ उनले भने, ‘अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कनको काम भएको छैन । अझै दुई महिना कामले अग्रसरता नपाउने जस्तो छ ।’

१० महिनासम्म ठेकेदारले ३४ सय मिटरमा सुरुवाती कटिङमात्र गर्न सकेको छ । यस्तै नाला र स्ट्रक्चर बनाउने काम सुरु भएको छ । यही गतिमा काम अघि बढे लक्ष्य अनुसार काम सम्पन्न हुने छाँटकाँट देखिन्न ।

असारसम्म नाला र ग्राभेलको काम हुने धितालको आकलन छ । उनले असारसम्म ग्राभेल बनाई पश्चिमका जनतालाई आउन–जाने वातावरण बनाइने बताए । त्यसपछि जंगल कटानीको काम अघि बढ्ने छ । अहिलेसम्म जंगल कटानीको अनुमतिसमेत लिइएको छैन ।

उसो त यो सडकको स्तरोन्नतिको दुई वर्षअघि नै संघीय सरकारले सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको थियो । तर, संघीय सरकारले सडक निर्माणमा चासो देखाएन । त्यसपछि प्रदेश सरकारले अपनत्व लिएको हो । जेनतेन सवारी साधन चल्ने उक्त सडकमा स्तरोन्नतिको काम सुरु भएपछि सामान्य वर्षा हुँदा पनि गाडी नै बन्द गर्नुपर्ने अवस्था आउने गरेको गाडी चालकहरूले बताउने गरेका छन् ।

यो सडक अन्तर्गत चौकुने गाउँपालिकाको गुटु खोला, पञ्चपुरी नगरपालिकाको विजु खोला, बराहतालको बिउरेनी खोलामा तीन वर्ष अघिदेखि पुल बनाउने काम सुरु भए पनि अहिलेसम्म सम्झौता अनुसार काम भइरहेको छैन । सडकको दुरावस्थाले सडक दुर्घटनाको जोखिम उत्तिकै छ ।

पश्चिमका जनताको मन अझै रमाएन

कर्णालीको प्रदेश राजधानी रहेको जिल्ला हो सुर्खेत । तर विकासका दृष्टिकोणले जिल्लाको पश्चिमी भेग निकै पछि छ । पश्चिमको विकासको महत्त्वपूर्ण मेरुदण्ड भनेको यही सडक हो । सडकको ट्रयाक खोल्नुभन्दा पहिला यो पश्चिमका जनताले पैदल हिँड्ने बाटो थियो । पश्चिमका जनता यही बाटो पैदल यात्रा गरेर जिल्ला सदरमुकाम आउँथे ।

०४९ सालमा ट्रयाक खुलेको यो सडकमा ०५१ सालदेखिनै गाडीहरू चल्न सुरु भएका हुन् । तर, जीर्ण सडक र सडक सास्तीले दिने दुःख र कष्टका कारण पश्चिम सुर्खेतका जनताको मन अझै रमाउन सकिरहेको छैन । द्वन्द्वकालमा स्तरोन्नति भनेर कनिका छराई शैलीमा सडकका लागि बजेट छुट्याइन्थ्यो । त्यो बजेट सडक स्तरोन्नतिमा खर्च कहिल्यै भएन ।

बजेट गाउँसम्म कहिल्यै नपुगेको त्यस क्षेत्रका अगुवाहरू बताउँछन् । जिल्लामै उपभोक्ता समिति बनाउने र बाँडेर बजेट खाने गरेको उनीहरूको भनाइ छ । राजनीतिक दलहरूका कारण विनियोजित बजेट जिल्लामै दुरुपयोग हुने र गाउँसम्म नपुग्दा सडकले गति लिन सकेन । यो क्रम ०७४ सम्म नै रह्यो ।

संघीयतापछि ०७५ सालमा सडकलाई मदन भण्डारी राजमार्ग नामकरण गरियो । तर, पनि केन्द्रीय सरकारले प्राथमिकता दिएन । यही क्षेत्रबाट सांसद बनेका नवराज रावत स्वास्थ्य राज्यमन्त्रीसमेत बनेका थिए । तर, उनले पनि सडक विकासमा ध्यान नदिएको नागरिकहरूको गुनासो छ ।

photo  (1)

यो सडक सुदूरपश्चिमका कैलाली र डोटीदेखि कर्णालीको राजधानी वीरेन्द्रनगरसँग जोड्ने सिधा राजमार्ग हो । बड्डीचौर–बेनिघाटसम्म ९४ किलोमिटर लम्बाई रहेको यो सडकलाई देखाएर नेताहरूले राजनीति गरिरहेको बुद्धिजीवीहरू बताउँछन् ।

स्थानीय सरकार बनिसकेपछि गाउँ–गाउँमा नयाँ सडक बनेका छन् तर, मुख्य सडकको अवस्था ज्युँका त्युँ हुँदा जनताले समुचित सुविधा पाउन सकेका छैनन् ।

यो सडक अन्तर्गत बाबियाचौर बजारमा पालिकाले कालोपत्रे गरेको छ । यही क्षेत्रबाट ०४८ यता ०५४ सम्म कांग्रेसका शिवराज जोशी सांसद बने । उनी मन्त्री पनि बने तर आफ्नो क्षेत्रको सडक विकासबारे कहिल्यै ध्यान दिएनन् ।

शान्ति प्रक्रियापछि ०६४ मा माओवादीका नरबहादुर विष्ट, कांग्रेसका तप्तबहादुर विष्ट, नवराज रावतले चुनाव जिते । तर, उनीहरूले पनि सडक विकासको लागि आवश्यक पहल नलिएको स्थानीयले बताउने गरेका छन् ।

क्षेत्र नम्बर २ बाट कांग्रेसकै हृदयराम थानी अहिले प्रतिनिधिसभा सदस्य छन् । यो सडक पूर्वी सुर्खेतको सिमाना सल्यानको काल्चेदेखि सुदूरपश्चिमको बेनीघाटसम्म २ सय ३२ किलोमिटर छ । अहिले सुर्खेत –१ का सांसद तथा उपप्रधान एवं रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्कालाई लक्षित गर्दै सामाजिक सञ्जालमा प्रश्न उठाइने गरिएको छ । खड्काले पूर्वी क्षेत्रको विकासमा ध्यान दिए पनि पश्चिम क्षेत्रलाई बेवास्ता गर्ने गरेको पश्चिमवासीको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप