विभिन्न माग राखी नेपाल शिक्षक महासंघले प्रदर्शन गर्ने
बिहीबार, २१ वैशाख २०८०, ११ : ०९

काठमाडौँ । नेपाल शिक्षक महासंघले विभिन्न माग अघि सारेर विरोध प्रदर्शन गर्ने भएको छ । यही वैशाख २९ गते माइतीघर मण्डलामा विविध माग राखी प्रदर्शन गर्ने भएको हो ।
महासंघले विद्यालय कर्मचारी र बाल कक्षाका शिक्षकको तलब वृद्धिको माग राखेको छ । त्यस्तै शिक्षकको तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब मिलान गर्नुपर्ने समेत माग अघि सारेको छ । त्यस्तै शिक्षकको तलब मासिकरुपमा भुक्तानी दिने प्रबन्ध गर्नुपर्ने माग राखेको छ ।
शिक्षामा गर्ने लगानी कुल बजेटको २० प्रतिशत कायम गराउनुपर्ने समेत माग राखेको छ ।
२०७५ चैत ४ पछि स्थायी भएका शिक्षकको लागि अविलम्ब योगदानमा आधारित पेन्सन पद्धति थालनी गर्न समेत महासंघले माग राखेको छ । उक्त मागबारे सरकार गम्भीर नबनेको खण्डमा कडा आन्दोलन गर्ने समेत महासंघले चेतावनी दिएको छ ।