काठमाडौँ । ‘नुमाफुङ’ फिल्ममा एउटा पनि नृत्य छैन । तैपनि फिल्मले निकै चर्चा कमायो । यस फिल्मबाट निर्देशक नवीन सुब्बाको समेत पृथक् पहिचान बन्यो । तर बलिउड होस् वा कलिउडमा गीतसंगीत र नृत्य समावेश फिल्ममै दर्शकको स्वाद बसेको छ । ‘नुमाफुङ’ जस्ता फिल्म अपवाद हुन् ।
यसै क्रममा निर्देशक रेनशा राई रानाले भने नृत्य विधालाई नै मुख्य कथाको रूपमा उठाएर फिल्म निर्माण गरेकी छिन् ‘ज्याकी : आई एम ट्वान्टी वान’ । फिल्म आजबाट देशभर सार्वजनिक प्रदर्शनमा आएका छन् ।
पछिल्लो समय दर्शकले फिल्ममा कमेडी कथा रुचाएका छन् । त्यसैले, प्रेमकथा होस् वा सामाजिक विषय, अहिले निर्माताले कमेडी मिसाएर पस्किरहेका छन् । पछिल्लो समयका हिट फिल्म ‘कबड्डी ४’, ‘छक्का पन्जा ४’ यसका उदाहरण हुन् ।
रेनशाले भने ‘ज्याकी : आई एम ट्वान्टी वान’ नृत्य कथामा पस्किएकी छन् । नृत्य कथामा नै किन फिल्म त ?
‘म नृत्य निर्देशक हुँदै निर्देशनमा होमिएकी हुँ । मेरो लागि यो विधा नौलो होइन’, उनले भनिन् ‘नेपालमा अहिलेसम्म नृत्य विधा प्रमुख बनाएर कसैले पनि फिल्म बनाएको छैन ।’
फिल्ममा कसैले नसमेटेको विधा आफूले उठाएको उनले सुनाइन् ।
‘नृत्य विधाबाट आएको मानिसले अन्य विधाको फिल्म बनाएर चिप्लनु ठुलो कुरो होइन’, उनले च्यालेन्ज सुनाइन्, ‘तर आफ्नै विधाको फिल्ममा चिप्लनु भने राम्रो मान्न मिल्दैन । आफै पोख्त विधामा फिल्म बनाउँदा असफल भयो भने अरूले के भन्ने हुन् यो डर त छ ।’
रेनशा निर्देशित ‘ज्याकी आईएम ट्वान्टी वान’ प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले निर्माण गरेका हुन् ।
आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा धीरज र जसिताको अलावा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु बजाज, सुजाता राई, सूर्यमान लिम्बू, विकास जोशी, प्रदीप लामा, सुशान्त गौतम, नारायणदेवी प्रधान, रिजोन परियार, विकास जोशी लगायतको अभिनय छ ।
फिल्ममा रोहित शाक्य, स्वप्निल शर्मा, कालीप्रसाद बाँस्कोटाको संगीत, द वाईल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ ।
नृत्यमा भविष्य
माथि नै चर्चा गरियो, नेपाली फिल्ममा नृत्य नभएका फिल्म पाउन मुस्किल छ । तर नृत्य विधालाई नै कथा बनाएर अहिलेसम्म फिल्म बनेको पाइन्न ।
फिल्ममा नृत्य केवल दर्शक आकर्षण गर्ने मसलाको रूपमा मात्र प्रयोग हुँदै आएको छ । रेनशाले नृत्य विधालाई नै प्रमुख कथा बनाएर फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’ पस्किएकी छन् । उनले पस्किएको फिल्म दर्शकले आत्मसाथ गर्लान् त ?
दर्शकले फिल्म बुझ्लान् कि नबुझ्लान् आफ्नो डर र चिन्ताको विषय त्यही भएको रेनशाको भनाई छ । ‘नेपालमा नृत्यको विधाबाट पहिलो पटक फिल्म बनेको हो । त्यो कर्म मबाट भयो । त्यो हिसाबले म एकदमै एक्साइटेट पनि छु’, उनले भनिन्, ‘व्यवसाय के हुने हो नर्भस र डर लागिरहेको छ ।’
दर्शकलाई फिल्म बुझाउन उनले विभिन्न शैलीका प्रचार प्रसारसमेत गरेकी छिन् । फिल्मको ट्रेलर र टिजरमार्फत् उनले फिल्मको कथा ‘मोर देन डान्स’ भन्ने बुझाउन खोजेकी छन् । तर त्यसले मात्र पनि फिल्म बुझ्न सजिलो छैन ।
‘एउटा ब्यक्तिको नृत्य भन्दा पनि उसको सपनाको कथा हो ‘ज्याकी : आई एम ट्वान्टी वान’’, उनले थपिन्, ‘ट्रेलरले यो नृत्यकथा मात्र होइन । एउटा डान्सर कलाकारको कथा रहेछ, सपना देख्ने मानिसको कथा रहेछ भन्ने संकेत त दिएको छ नि ।’
आफू नृत्य विधाबाट आएकोले पनि यही विधाबाट कथा भन्न सजिलो भएकोले थिम नृत्य उठाएको उनको धारणा छ । योसँगै अन्यजस्तै मनोरञ्जनात्मक फिल्म भएको पनि उनी बताउँछिन् ।
‘मेरो फिल्मको कथाको मुख्य पात्र डान्सर नभएर कलाकार, पत्रकार वा गायक भएको भए पनि उतारचढावका कथा यही हुन्थ्यो’, रेनशाले भनिन्, ‘हाम्रो समाजमा अहिले पनि पढेर डाक्टर, इन्जिनियर, पाइलट, वकिल बन्छु भन्छन् । त्यो नर्मल हो । कसैले कलाकार, गायक, नृत्यकार बन्छु भन्दैनन् ।’ नृत्यमा करियर छैन भन्ने सोच फिल्मको रिलिजपछि परिवर्तन हुने उनी ठोकुवा गर्छिन् ।
नाम परिवर्तन
‘ज्याकी : आई एम ट्वान्टी वान’ रेनशा निर्देशित दोस्रो फिल्म हो । ‘इन्टु मिन्टु लण्डनमा’ बाट उनले निर्देशन यात्रा सुरु गरेकी थिइन् । कोरियोग्राफर हुँदै निर्देशनमा पाइला चालेकी उनको ‘इन्टु मिन्टु लण्डनमा’ फिल्मले दर्शकको मन जित्यो । उनको कामले पनि प्रशंसा पायो । त्यसैले फिल्मको सक्सेस पार्टीमै उनले यो फिल्म घोषणा गरेकी थिइन् । त्यही फिल्म अहिले बनेको हो ।
‘हरेक कुरोको एउटा समय हुन्छ । त्यो समय भन्दा धेरै पर गयो भने त्यो कुरो हामीले सेल गर्न गाह्रो हुन्छ,’ रेनशाले थपिन्, ‘आई एम ट्वान्टी वान भन्दा फिल्म केही खुम्चिएको महसुस भएकोले, सबै दर्शकलाई समेट्न नाम अलि परिवर्तन गरिएको हो ।’ फिल्मको नाम परिवर्तन भएपछि कथालाई झन् सुहाएको उनको भनाई छ ।
‘फिल्मको विषयमा अहिले जति दर्शक उत्सुक छन् । त्यति उत्सुकता ‘आई एम ट्वान्टी वान’ नाम मात्रै राखेको भए हुँदैन थियो । फिल्म हेर्दा ज्याकी किन थपियो भन्ने प्रश्नको जवाफ त्यसै मिल्छ’ रेनशाले नामबारे प्रस्ट्याइन् ।
यो फिल्मले आफ्नो करियरमा इँटा थप्ने उनको विश्वास छ । यसले उनको जीवनमा धेरै अर्थ समेत राख्छ रे ।
‘नेपालमा पहिलो पटक मैले डान्स जनरामा फिल्म बनाउन आँट गरे । मबाट एउटा नयाँ कामको थालनी भयो,’ रेनशाले अगाडि थपिन्, ‘मेरो आँटको सबैले प्रसंशा पनि गरेका छन् । भोलिका दिनमा यस्तै विषयमा फिल्म बन्यो भने परिवर्तनको म सुत्राधार पनि बन्छु ।’ फिल्मको रिलिज पछि नयाँ काम र दाम दिलाउने कुरोमा समेत उनी विश्वस्त छिन् ।
‘ज्याकीः आई एम ट्वान्टी वान’ को मुख्य भूमिकामा जसिता गुरुङ र धीरज मगर छन् । धीरजसँग उनले पहिले ‘इन्टु मिन्टु लण्डनमा’ काम गरेपनि जसितासँग पहिलो हो ।
धीरज र जसिता दुबै राम्रो डान्सर भने होइनन् । डान्सको विषयमा बनेको फिल्ममा उनीहरु किन त ? प्रश्न राख्न नपाउँदै रेनशाले उत्तर फर्काइन्, ‘उनीहरु पहिलेदेखि नै मेरो नजरमा परेका थिए । राम्रो गर्छन् भन्ने थियो, त्यो अपेक्षा पुरा पनि गरे ।’
‘१०/१५ वर्षसम्म डान्सर भएर बसेकासँग उनीहरूको नृत्य मेल खाएको छ । त्यसरी काम गर्न सक्नु राम्रो हो,’ उनले थपिन्, ‘उनीहरुले धेरै मिहिनेत गरेका छन् । म उनीहरूको अभिनय र नृत्यबाट सन्तुष्ट छु । उनीहरु राम्रो डान्सर भए कि भएनन्, त्यो निर्णय दर्शकले गर्नेछन् ।’
लेखक अभाव
रिलिज भएका अधिकांश नेपाली फिल्मले दर्शक पाएको छैन । नेपाली फिल्ममा दर्शक नहुनुको पहिलो दोष लेखकमाथि लाग्दै आएको छ । नेपालमा राम्रो लेखक नभएको धेरै फिल्मकर्मीको गुनासो छ । देशमा राम्रो लेखकको अभाव रहेको रेनशा पनि दोहोर्याउँछिन् ।
‘हाम्रो फिल्म उद्योगको सबैभन्दा कमजोर पक्ष भने लेखन हो । यहाँ राम्रा लेखकको कमी छ’, उनले भनिन्, ‘फिल्मको मेरुदण्ड भनेको स्क्रिप्ट हो । लेखनको कारण राम्रो फिल्म बन्न सकेको छैन ।’
लेखन राम्रो भए, राम्रो टिम बनाएर फिल्म राम्रो बनाउन सकिने उनको धारणा छ । भन्छिन्, ‘नेपालमा राम्रो राइटर नभएर ६० प्रतिशत निर्देशक आफै फिल्म लेख्छन् ।’ यो फिल्ममा पनि उनले लेखक सोमनाथ खनालसँग लेखनमा सहकार्य गरेकी छन् ।
लेखन मात्र होइन, फिल्म व्यवसाय नहुनुको दोष हिन्दी फिल्मलाई पनि दिने गरिएको छ । हलले हिन्दी फिल्मलाई धेरै शो दिएर नेपाली फिल्मको व्यवसाय घटाएको निर्माता निर्देशकहरुको जिकिर छ ।
तर रेनशा यो कुरो मान्न तयार छैनिन् । हल सञ्चालकसमेत रहेकी रेनशा भन्छिन्, ‘हिन्दी फिल्ममा उनीहरूको मिहिनेत देखिन्छ । त्यसमा दर्शक देखिनु भनेको उनीहरूलाई पत्याउनु हो, विश्वास गर्नु हो ।’ हामीले निर्माणमा सुधार्न सक्यो भने हिन्दीको दर्शक नेपालीमा पनि आउने उनको बुझाई छ ।
प्रतिक्रिया