मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : तानिन थाले ठुला माछा

बुधबार, २० वैशाख २०८०

काठमाडौँ । आज २०८० वैशाख २० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

पूर्वगृहसचिव पक्राउ

भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गर्ने गिरोहका सदस्यहरुको बयानका आधारमा पूर्वगृहसचिव पक्राउ परेका छन् । पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत टेकनारायण पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले सचिव पाण्डेलाई राजधानीको पेप्सिकोलाबाट पक्राउ गरिएको रातोपाटीलाई जानकारी दिए । प्रहरीले बुधबार पाण्डेलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

 

रायमाझीका बाबुछोराविरुद्ध वारेन्ट जारी

एमाले सचिव टोपबहादुर रायमाझीका बाबुछोराविरुद्ध वारेन्ट जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट बुधवार पक्राउ पुर्जी लिएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुजी जारी भएको रातोपाटीलाई बताए । 

बूढानीलकण्ठ सवारी दुर्घटना प्रकरण

‘हाई प्रोफाइल’ बुढानीलकण्ठ सवारी दुर्घटना प्रकरणमा काठमाडौँ जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटनले लापरबाहीपूर्वक सवारी चलाएर पैदलयात्रीको ज्यान लिएको ठहर गरेको छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले पृथ्वी मल्लले लापरबाहीपूर्वक सवारी चलाएर व्यक्तिको ज्यान लिएको कसुर ठहर गरेको हो ।

तीन जना मन्त्री नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सिफारिशमा तीन मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् । 

 

मन्त्रिपरिषद बैठक

सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीका खेलाडीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विजेता नेपाली टोलीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।  त्यस्तै अफिसियल टोलीलाई जनही ३–३ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । 

चालक शम्भु थापाको अन्त्येष्टि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरबाट  खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको उपचारका क्रममा मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

 माधवको गुनासै गुनासो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष नेपालले सरकार र गठबन्धनभित्र समेत आफ्नो दललाई बेवास्ता गरिएको बताउँदै गठबन्धनको भविष्यप्रति नै आशङ्का व्यक्त गरेका हुन्।

अनलाइनबाटै एनओसी जारी गर्ने तयारी

वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो ।

बढ्दै पर्यटक, थपिँदै उत्साह

 सन् २०२३ को सुरुवाती महिनाहरूमा नै विदेशी पर्यटकहरूको आगमनले उत्साह पैदा गरेको छ । वर्षको जनवरी, फेब्रुअरी, मार्च र अप्रिलमा मात्र ३ लाख २६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

लिम्बुवान आन्दोलनमा क्षयीकरण

 लिम्बुवान राज्यको माग गर्दै उठेको कोशी प्रदेश केन्द्रित आन्दोलन र गठन भएको पार्टीमा एकता र विभाजनको शृङ्खला अझै जारी छ । अहिलेको कोशी नाम खारेज गर्नुपर्ने मूल माग लिएर आन्दोलनको नेतृत्व गरिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केही दिन अगाडि विभाजन भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया