बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
बूढानीलकण्ठ सवारी दुर्घटना प्रकरण

पृथ्वी मल्ल विदेश पुगेपछि उल्टियो जिल्ला अदालतको फैसला

कम्तीमा ३ वर्षको कैद सजाय हुने
बुधबार, २० वैशाख २०८०, १४ : २१
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । ‘हाई प्रोफाइल’ बुढानीलकण्ठ सवारी दुर्घटना प्रकरणमा काठमाडौँ जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटनले लापरबाहीपूर्वक सवारी चलाएर पैदलयात्रीको ज्यान लिएको ठहर गरेको छ । मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले पृथ्वी मल्लले लापरबाहीपूर्वक सवारी चलाएर व्यक्तिको ज्यान लिएको कसुर ठहर गरेको हो ।

२०७६ मङ्सिर २८ गते सडकपेटी हिँडिरहेकी ४० वर्षीय लीला देवकोटालाई मल्लले चलाएको कारले ठक्कर दिँदा मृत्यु भएको थियो । सो मुद्दामा यसअघि काठमाडौँ जिल्ला अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा ३ बमोजिमको कसुर गरेको भन्दै ६ महिना कैद र २ हजार रुपैयाँ मात्रै जरिवाना गरेको थियो । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा ३ मा ‘कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ’ भन्ने व्यवस्था गरिएको छ । यो भनेको लापरबाही वा जानाजान नभएर भवितव्य दुर्घटना भएको अर्थ लगाउँछ । 

अत्यधिक मदिरा सेवन गरी मल्लले चलाएको सवारीसाधनले ठक्कर दिँदा २०७७ सालमा बुढानीलकण्ठ क्षेत्रमा सडक पेटीमा हिँडिरहेकी लीला देवकोटाको मृत्यु भएको थियो । त्यस घटनालाई लापरबाही भन्दै जिल्ला सरकारी वकिल कार्यालयले १० वर्षसम्म कैद सजायको मागदाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

तर काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीले उक्त मुद्दालाई लापरबाही नभई भवितव्य भन्दै प्रतिवादीलाई ६ महिना मात्रै कैद र २ हजार रुपैयाँ मात्रै जरिवानाको फैसला सुनाएका थिए । उक्त फैसलामा कैफियत भएको भन्दै न्यायाधीश पाण्डेलाई कारवाहीस्वरुप न्याय परिषद् काजमा तानेर छानबिन गरिएको थियो । छानबिनको प्रतिवेदन वा कारबाही नहुँदै न्यायाधीश अधिकार उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । 

Prithi Malla 01Prithi Malla 02

भएको के थियो ?

काठमाडौँको गोठाटार स्थायी घर भएका २१ वर्षीय (तत्कालीन समयमा) पृथ्वी मल्ल अध्ययनका लागि अमेरिका गएका थिए । तर केही समयको बिदामा मल्ल २०७६ साल मङ्सिरको २३ गते नेपाल फर्किए । नेपाल फर्किएको चौथो दिन अर्थात् मङ्सिर २७ गते मल्ल घुमघाममा निस्किए । साथी करिश मास्केलाई साथमा लिएर मल्ल बा १४ च ६१२३ नम्बरको कार चलाएर उनी घुमघाममा निस्किएका थिए । सुरुमा मल्ल र मास्के नक्साल नारायणचौरमा रहेको जिम हलमा पुगे । त्यहाँ केही समय बिताए । अनि साँझ ७ः३० बजेतिर बालुवाटारमा रहेको पलेञ्ज गार्डेन रेस्टुरेन्टमा गएर खाना खाए ।

साँझ ९ बजेतिर मल्ल र मास्के ठमेलमा रहेको केसिज रेस्टुरेन्टमा साथीहरू भेट्न पुगे । त्यहाँ उनीहरूले मदिरा पनि सेवन गरे । त्यसपछि उनीहरू रातको १ः३० बजेको समयमा ठमेलस्थित नाइट क्लब एलओडी पुगे । एलओडीमा मदिरा पिउँदै बसेका उनीहरू बिहान ४ः३० बजे ठमेलमै रहेको सेनेट क्लबमा गए र त्यहाँ केटी साथीहरू परमिता राणा र मनीषा महर्जनलाई लिएर बूढानीलकण्ठस्थित ग्रिनभ्याली पार्क रिसोर्टतिर लागे ।

मदिराले मातिएको अवस्थामा मल्ल आफैले कार चलाएर अन्य ३ साथीसहित बूढानीलकण्ठस्थित ग्रिनभ्याली रिसोर्टमा पुगेका थिए । त्यहाँ पुगेर पनि उनीहरूले निरन्तर मदिरा सेवन गरे । बिहान केही नास्ता गरेपछि उनीहरू त्यहाँबाट घरतर्फ फर्किए । तर मदिराले मातिएका मल्लले आफ्नो कारलाई नियन्त्रणमा राख्न सकेनन् र बूढानीलकण्ठमा विपरीत दिशाको फुटपाथमा हिँडिरहेकी ४० वर्षीय लीला देवकोटालाई ठक्कर दिए । घटनामा गम्भीर घाइते बनेकी लिलाको उपचारकै क्रममा मृत्यु भयो ।

यता दुर्घटनाको साक्षी रहेका परमिता राणा र मनिषा महर्जन त्यहाँबाट भागे । पृथ्वी मल्ल र उनका साथी करिश मास्के त्यहीँ बसे । प्रहरी आएपछि उनीहरूलाई पक्राउ गरियो । मल्लसँग नेपाली लाइसेन्ससमेत थिएन । आफूसँग अमेरिकाकै अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स भएको कारण कार चलाएको बयान मल्लले दिएका थिए ।

सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको सवारी ज्यान मुद्दामा १० वर्षसम्म कैद सजायको माग दाबी लिइएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को संशोधन २०७५ को दफा १६१ मा ज्यान मरेमा हुने सजायको उल्लेख गरेको छ । उक्त ऐनको दफा १६१ को उपदफा २ मा लापरबाहीपूर्वक सवारी चलाएर कसैको ज्यान गएमा हुने सजायबारे उल्लेख गरिएको छ । उक्त दफामा भनिएको छ,

‘(२) कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरूप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’

मल्लले लापरबाहीपूर्वक सवारी सधान चलाएर सडक पेटीमा हिँडिरहेकी महिलाको ज्यान लिएको कारण उक्त घटना लापरबाही भएको भन्दै सोही दफा अनुसार मल्ललाई १० वर्ष कैद र एक लाख रुपौयँ जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरिएको थियो । तर कठमाडौं जिल्ला अदालतले भने अभियोगको दफा नै परिवर्तन गरी भवितव्य दुर्घटना भन्दै ६ महिना मात्रै कैद र २ हजार रुपौयँ मात्रै जरिवाना गराएको थियो । 

उक्त फैसलामा चित्त नबुझाएर सरकारी वकिल कार्यालय २०७९ असोज ७ गते पुनरावेदनको रिट लिएर उच्च अदालत पाटनमा पुगेको थियो । त्यसको एक महिनापछि २०७९ कात्तिक १७ गते पृथ्वी मल्ल पनि पूर्ण सफाइको माग गर्दै उच्च अदालत पाटन पुगेका थिए । 

६ पटक पेशीमा चढेको उक्त रिट दुई पटक हेर्न नमिल्नेमा प¥यो भने दुई पटक वादी तथा प्रतिवादीको तर्फबाट स्थगित गरिएको थियो । २०७९ फागुन ३० गतेको पेशीमा न्यायाधीशहरु जनक पाण्डे र विमल सुवेदीको इजलासले प्रत्यर्थी झिकाउने आदेश दिएको थियो भने मंगलबारको सुनुवाइपछि जिल्ला अदालतको फैसला उल्टाई लापरबाहीपूर्वक सवारी चलाएको ठहर गरेको हो । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को संशोधन २०७५ को दफा १६१ को उपदफा २ बमोजिमको कसुर गरेको ठहर भएपनि सजाय निर्धारण भने भइसकेको छैन । सजाय निर्धारणका लागि आगामी जेठ ७ गतेका लागि पेशी तोकिएको छ । तर त्यसभन्दा पहिले नै सजायपूर्वको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिल कार्यालय र प्रतिवादीको कानुन व्यवसायीलाई ७ दिनको समय दिइएको छ । सजायपूर्वको प्रतिवेदन प्राप्त भएपछि प्रतिवादीलाई कति वर्ष सजाय गर्ने र कति जरिवाना तिराउने भन्ने निर्धारण हुनेछ । 

कानुनतः ३ वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्नुपर्नेछ । सोही व्यवस्था अनुसार सजाय निर्धारणका लागि अर्को पेशी तोक्न लागिएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को संशोधन २०७५ को दफा १६१ को उपदफा २ मा हुने सजायमा तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म कैद सजाय हुने व्यवस्था छ । सामान्यतः अदालतले सजायको न्यूनतम अवधि र अधिकतम अवधिको मध्यविन्दुलाई आधार मानी सजाय निर्धारण गर्ने गरेका छन् । 

पृथ्वी मल्ल अमेरिकामा

उच्च अदालत पाटनले मल्ललाई लापरबाहीपूर्वक सवारीसाधन चलाइ व्यक्तिको ज्यान लिएको कसुरमा दोषी ठहर गरेपछि कानुन अनुसार मल्ल कम्तीमा ३ वर्ष जेलमा बस्नुपर्ने हुन्छ । तर मल्ल करिब ९ महिना कारागारमा बसी थुनामुक्त भइसकेका थिए । पछि काठमाडौँ जिल्ला अदालतले ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएपछि मल्ल फैसला कार्यान्वयन भइसकेको भन्दै अमेरिका गएका थिए । 

तर उच्च अदालतले लापरबाहीको कसुरमा दोषी ठहर गरेपछि मल्ल अब कम्तीमा पनि थप २ वर्ष ३ महिना कैदमा बस्नुपर्ने हुन्छ । तर उनी अमेरिका पुगिसकेको कारण तत्काल फैसला कार्यान्वयन हुने सम्भावना ज्यादै न्यून छ । 

अब उच्च अदालतको फैसला लगत्तै मल्ल सर्वोच्च अदालतमा जाने वा फैसला कार्यान्वयनमा जाने हुनुपर्छ । मल्ल अमेरिकामा भएको कारण उनलाई पक्राउ गरी थुनामा राख्न सहज छैन । त्यसका लागि फैसलाको प्रतिसहित इन्टरपोलमार्फत डिफ्युजन नोटिस पठाएर नेपाल ल्याउनुपर्ने हुन्छ । फैसला कार्यान्वयनका लागि आफैँ नेपाल आएमा भने प्रहरीलाई टाउको दुखाई हुने छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप