लिम्बुवान आन्दोलनमा क्षयीकरण : कुमार लिङ्देनले व्यहोरे दर्जनौँ विभाजन
विराटनगर । लिम्बुवान राज्यको माग गर्दै उठेको कोशी प्रदेश केन्द्रित आन्दोलन र गठन भएको पार्टीमा एकता र विभाजनको शृङ्खला अझै जारी छ । अहिलेको कोशी नाम खारेज गर्नुपर्ने मूल माग लिएर आन्दोलनको नेतृत्व गरिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केही दिन अगाडि विभाजन भयो ।
कोशी प्रदेशमा पहिचानको पक्षमा आन्दोलन चलिरहेको बेला त्यही आन्दोलनको नेतृत्व गरिरहेको एउटा दल विभाजित हुँदा पहिचानवादी आन्दोलनको भविष्यबारे चिन्ता प्रकट भइरहेको छ ।
उक्त पार्टीको नेतृत्व कुमार लिङ्देनले गर्दै आएका थिए । लिङ्देनलाई कारबाही गरेको घोषणा गर्दै सो पार्टीका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ नेतृत्वको बहुमत टिम नागरिक उन्मुक्तिमा मिलेको घोषणा गरिएको छ ।
गुरुङ आफ्नो समूह बहुमतमा रहेको दाबी गर्छन् । यता कुमार लिङ्देन भने लोकतान्त्रिक राष्ट्रिय मञ्चले कसैसँग एकीकरण नगरेको बताउँदै दुई प्रतिशत कार्यकर्तामात्रै आफ्नो पार्टीबाट गएको दाबी गर्छन् ।
तर, लिम्बुवान आन्दोलनकै वकालत गर्दै आएको कुमार लिङ्देनको पार्टी विभाजन भएको यो पहिलो पटक होइन । अहिलेसम्म उनको पार्टी दर्जनौं पटक विभाजित बनेको छ ।
२०६२ सालमा कुमार लिङ्देन, सन्जुहाङ पालुङ्वा र खगेन्द्र माखिमको अगुवाइमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान राज्यपरिषद् गठन) भएको थियो । तर, २०६४ सालको निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विषयमा विवाद हुँदा सो पार्टी विभाजित बन्यो ।
लिङ्देनले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भाग लिँदा पालुङ्वा समूहले भने बहिष्कार गरेको थियो ।
२०६५ सालमा पालुङ्वा समूहबाट रामभक्त कुरुम्बाङ र पदम अधिकारी निष्कासित बने । रामभक्त कुरुम्बाङलाई संयोजक बनाएर अर्को लिम्बुवान पार्टी ‘संघीय लिम्बुवान राज्य परिषद् एकता संयोजन समिति’ गठन भयो । सो पार्टीले वीर नेम्वाङको लिम्बुवान मुक्ति मोर्चासँग एकीकरण ग¥यो । उक्त पार्टीको अध्यक्ष नेम्वाङ बनेका थिए ।
सो पार्टी पनि एक वर्षसम्म सग्लो रहन सकेन । नेम्वाङले एकलौटी रूपमा लिम्बुवान मुक्ति मोर्चालाई निर्वाचन आयोगमा दर्ता गरेको भन्दै कुरुम्बाङ कार्यवाहक अध्यक्ष रहेको अर्को लिम्बुवान मुक्ति मोर्चा नेपाल निर्वाचन आयोगमा दर्ता भयो ।
उता लिङ्देनले नेतृत्व गरेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् २०६५ सालमा पुनः विभाजन भयो । मिसेकहाङ थाम्सुहाङद्वारा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्यपरिषद् क्रान्तिकारी निर्माण भयो । त्यसको दुई वर्षपछि कुमार लिङ्देनले पुनः विभाजन व्यहोर्नु प¥यो । २०६७ सालमा कुमार लिङ्देनको मञ्च सम्बद्ध लिम्बुवान राज्यपरिषदबाट राजकुमार नाल्बो अलग भए । त्यही वर्ष महासचिव सूर्य माखिमको नेतृत्वमा फेरि पार्टी विभाजन भयो ।
पटकपटकको विभाजन र टुटफुट व्यहोरिरहेको बेला २०७१ सालमा भने लिङ्देनले राहतको सास फेर्न पाए । विगतमा आफूसँगै छुट्टिएर विभिन्न चिरामा विभाजन भएका पाँच पार्टीले उनै लिङ्देनसँग एकताको हात बढाए । परिणाम स्वरुप २०७१ साल साउन १९ गते सन्जुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्, कुमार लिङ्देनको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्यपरिषद्, वीर नेम्वाङको लिम्बुवान मुक्ति मोर्चा, रामभक्त कुरुम्बाङको समूह, कमल छाराहाङ्को संघीय गणतान्त्रिक पार्टी र संघीय लिम्बुवान राज्यपरिषद्बीच एकता हुँदै ‘संघीय लिम्बुवान पार्टी’ गठन भयो ।
पुनः लिङ्देनले संघीय लिम्बुवान पार्टीबाट अलग हुँदै २०७२ असार २३ गते पुनः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई बिउँताएर निर्वाचन आयोगमा दर्ता गरे ।
उता, संघीय लिम्बुवान पार्टीको अध्यक्ष सन्जुहाङ पालुङ्वा बने । पालुङ्वालाई २०७४ जेठ १ गते कारबाहीको घोषणा गरेको खगेन्द्र माखिमको समूह संघीय लिम्बुवान पार्टी नेपाल बनाउँदै संघीय समाजवादी फोरम नेपालसँग एकता गर्न पुग्यो ।
अहिले पनि सन्जुहाङ पालुङ्वाले नेतृत्व गरेको संघीय लिम्बुवान पार्टी र जनमुक्ति पार्टीहरु एकताको प्रक्रियामा छन् । पार्टीको नाम भने टुङ्गिएको छैन ।
तर, कुमार लिङ्देनले नेतृत्व गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च भने पुनः विभाजन भएको छ । विभाजन भएको ज्ञानबहादुर गुरुङको नेतृत्वको बहुमत पक्षले नागरिक उन्मुक्ति पार्टीसँग २०८० साल वैशाख १८ गते एकताको घोषणा गरेको छ ।
समस्या लिङ्देन मै भएको अन्यको आरोप
लिम्बुवान आन्दोलनमा लागिरहेका पदम अधिकारी कुमार लिङ्देनकै कारण पार्टी पटकपटक विभाजन भएको र यसको जवाफ उनैले दिनुपर्ने बताउँछन् । उनले भने, ‘संसदमा प्रतिनिधि पठाएपछि कुमार लिङ्देनको पार्टी पटकपटक टुटफुट र विभाजन भयो । त्यसले उहाँको इमानदारितामा प्रश्न उठेको छ ।’
उनका अनुसार २०६२ सालमा गठन भएको मञ्चको अध्यक्षमण्डलमा आलोपालो भन्ने थियो । तर त्यो कार्यान्वयन नभएको उनको भनाइ छ ।
अधिकारी भन्छन्, ‘सन्जुहाङ पालुङ्गाले नेतृत्व गरेको संघीय लिम्बुवान राज्य परिषदमा पनि बहुलठ्ठीपन देखिन्छ । त्यहाँ पनि पार्टी विभाजन भयो । पार्टीको केन्द्रीय समितिमा अल्पमत हुँदा पनि नेतृत्व नछोडेपछि रामभक्त कुरुम्बाङको नेतृत्वमा एउटा टिमले विद्रोह ग¥यो ।’
लिम्बुवान आन्दोलन बढ्दै जानुपर्नेमा खुम्चिँदै गएको उनको भनाइ छ । ‘यसको कारण भनेको विचार शून्यतामा आधारित आन्दोलन भयो । भावनात्मक आन्दोलनलाई राजनीतिकरण गर्न सकिएन । विचार बिना पार्टी बन्दैन,’ उनी भन्छन्, ‘भावना भनेको एकछिन मात्रै हुन्छ । यो आन्दोलनको सैद्धान्तिकरण भएन । नेतृत्वको संगठनात्मक सिद्धान्त र विधिको कुरा भएन । मुद्दामा अन्तिम लक्ष्य पनि भएन ।’
उनी लिम्बुहरुमा पनि गोरखालीहरुको औपनिवेशिक चरित्र मिसिएको कारण पहिचानको आन्दोलनलाई क्षति पुगेको दाबी गर्छन् । ‘अब स्वदेशवादी विचार र लक्ष्य सामुदायिक समाजवाद हुनुपर्छ । त्यसले मात्रै पहिचानलाई स्थापित गर्दछ,’ उनले भने, ‘अहिले भएको विभाजन विधि निर्माणको प्रक्रिया हो । असफल भएको कुमार लिङ्देनको नेतृत्वबाट बाहिर निस्किएर अर्को आन्दोलन गर्ने उद्देश्यका साथ आउनु सकारात्मक छ ।’
कुमार लिङ्देनसँग छुट्टिनुको कारण बताउँदै ज्ञानबहादुर गुरुङले निर्वाचनमा पटकपटक लडे पनि पार्टी सानो हुँदै जानुको कारण खोजी नभएको बताए । ‘कुमार लिङ्देनसँग विगत २०४९ सालदेखि २०८० साल वैशाख १२ सम्म हामी साथ थियौं । अरु फुट्नेहरु १८ औं पटक फुटे । फुट्दा खाली कुमार लिङ्देनसँग फुटेका हुन्,’ उनी भन्छन्, ‘हामी फुट्नका लागि र फुटाउनका लागि लागेका होइनौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको म पनि संस्थापक हुँ । यसलाई राजनीतिक रूप दिनुपर्छ र राजनीतिक शक्तिको विकास गर्नुपर्छ भन्ने हेतुले आएका हौं ।’
उनी विचार नफुटेको भन्दै पहिचानको आन्दोलनलाई तलमाथि हुन नदिने दाबी गर्छन् । ‘संघीयता, गणतन्त्र र पहिचानको विषयलाई हामी तलमाथि हुन दिँदैनौं । हामी त्यसमा निरन्तरता दिइरहन्छौं,’ गुरुङले भने, ‘हामीले पटकपटक चुनाव लड्यौं । तर, मत घट्दै घट्दै गइरहेको छ । यसको जिम्मा अध्यक्षले लिनुपर्छ भन्यौं हामीले । निर्वाचन सकेको यतिका दिन भइसक्यो त्यसको समीक्षा हुन सकेको छैन ।’
उता, लिङ्देन भने चुनावमा असहयोग गर्ने र पहिचानको आन्दोलनमा असहयोग गर्नेहरुले पार्टी छोडेर गएको दाबी गर्छन् । ‘पार्टीभित्र भ्रम छरेर एउटा सानो समूहमात्रै बाहिरिएको हो,’ उनले भने, ‘दुई वर्षदेखि उनीहरु निष्क्रिय थिए । पहिचानको आन्दोलनमा पनि असहयोग गरिरहेका थिए । निर्वाचनमा पनि उनीहरुको असहयोग रह्यो ।’
कोशी प्रदेशमा पहिचानको आन्दोलनका शृङ्खला संक्षेपमा
– २०३५ सालमा पाँचथरको पाम्बोङमा वीर नेम्वाङद्वारा लिम्बू भाषा स्कुल खोलेर भाषिक आन्दोलन सुरु
– २०४३ सालमा नेम्वाङ अध्यक्ष रहेको लिम्बुवान मुक्ति मोर्चा गठन
– २०५५ सालमा भक्तराज कन्दङ्वाद्वारा लिम्बुवान सरोकार मञ्च गठन
– २०५६ सालमा कन्दङ्वाले नेतृत्व गरेको समूह माओवादीमा समाहित बन्दै लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा गठन
– २०६२ सालमा कुमार लिङ्देन, सन्जुहाङ पालुङ्वा र खगेन्द्र माखिमको अगुवाइमा संघीय लिम्बुवान राज्य परिषद् गठन
– २०६३ सालमै चन्द्रबहादुर योङहाङको नेतृत्वमा पल्लो किराँत राष्ट्रिय मञ्च गठन । (हाल अस्तित्वमा नरहेको)
– २०६४ सालमा कुमार लिङ्देनद्वारा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् गठन । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लिङ्देन सहभागी । सन्जुहाङ पालुङ्वा समूहद्वारा बहिष्कार ।
– २०६५ सालमा पालुङ्वा समूहबाट रामभक्त कुरुम्बाङ र पदम अधिकारी निष्कासित । रामभक्त कुरुम्बाङलाई संयोजक बनाएर अर्को लिम्बुवान पार्टी ‘संघीय लिम्बुवान राज्य परिषद् एकता संयोजन समिति’ गठन । वीर नेम्वाङको लिम्बुवान मुक्ति मोर्चासँग एकीकरण । नेम्वाङ बने अध्यक्ष । नेम्वाङले एकलौटी रूपमा लिम्बुवान मुक्ति मोर्चालाई निर्वाचन आयोगमा दर्ता गरेको भन्दै कुरुम्बाङको विरोध । कुरुम्बाङ कार्यवाहक अध्यक्ष रहेको अर्को लिम्बुवान मुक्ति मोर्चा नेपाल निर्वाचन आयोगमा दर्ता ।
– २०६५ सालमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् पुनः विभाजन । मिसेकहाङ थाम्सुहाङद्वारा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् क्रान्तिकारी निर्माण ।
– २०६७ सालमा कुमार लिङ्देनको मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषद पुनः विभाजन । राजकुमार नाल्बोद्वारा उक्त पार्टीबाट अलग । महासचिव सूर्य माखिमको नेतृत्वमा फेरि पार्टी विभाजन । नाल्बो लोकतान्त्रिक फोरममा आबद्ध ।
– २०७१ साल साउन १९ गते सन्जुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्यपरिषद्, कुमार लिङ्देनको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्यपरिषद्, वीर नेम्वाङको लिम्बुवान मुक्ति मोर्चा, रामभक्त कुरुम्बाङको समूह र कमल छाराहाङ्को संघीय गणतान्त्रिक पार्टी, संघीय लिम्बुवान राज्यपरिषद्बीच एकता हुँदै ‘संघीय लिम्बुवान पार्टी’ गठन
– २०७२ असार २३ गते आफैं अध्यक्ष भएको संघीय लिम्बुवान पार्टीसहित अन्यलाई मिलाएर कुमार लिङ्देनद्वारा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दर्ता ।
– २०७४ जेठ १ गते संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सन्जुहाङ पालुङ्वालाई कारबाहीको घोषणा गरेको खगेन्द्र माखिमको समूहद्वारा संघीय समाजवादी फोरम, नेपालसँग एकता ।
– २०७३ सालमा कुमार लिङ्देनको नेतृत्वमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टी गठन ।
– २०८० सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पुनः विभाजन । ज्ञानबहादुर गुरुङको नेतृत्वमा बहुमत सदस्य लिएर नागरिक उन्मुक्ति पार्टीसँग एकताको घोषणा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप
-
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ