मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका टप १० समाचार

मङ्गलबार, १९ वैशाख २०८०, २० : ३८
मङ्गलबार, १९ वैशाख २०८०

आज २०८० वैशाख १९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

भुटानी शरणार्थीलाई नक्कली परिचयपत्र

नेपालीलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका डा. ईन्द्रजित राईले १ करोड ५० लाख रुपैयाँ लिएको भेटिएको छ । डा. राई मंगलबार ललितपुरको ठेचोस्थित सौखेलबाट पक्राउ परेका हुन् । पूर्वगृहमन्त्री राम बहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार समेत रहेका डा. ईन्द्रजित राईले १ करोड ५० लाख नगद लिएको भेटिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

विधान अधिवेशनको तयारी

जनता समाजवादी पार्टी नेपाल यतिबेला विधान अधिवेशनको तयारीमा जुटेको छ । जेठ १ गतेदेखि हुने विधान अधिवेशनको तयारी लगभग पूरा भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । बस्नेतका अनुसार विधानको मस्यौदा तयार भइसकेको छ । त्यसका लागि मागिएको सुझाव लगभग सबै प्रदेशबाट प्राप्त भइसकेको बताउँदै उनले बैठक बसेर त्यसलाई अन्तिम रुप दिइने जानकारी दिए ।

जनमत पार्टीको योजना 

संघीय सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाइसकेको जनमत पार्टी फेरि सरकारमा जाने तयारीमा छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले त्यसका लागि पार्टीभित्र र बाहिर परामर्श गर्न थालेका छन् । अध्यक्ष राउतले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् । सरकारको विषयमा राउतले सत्ता गठबन्धन दलहरुसँग पनि छलफल गर्ने बताइएको छ ।

कोइरी निलम्बित

हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले रातोपाटीलाई जानकारी दिए । 

लामिछानेका सवारी चालक थापाको मृत्यु

घरको छतबाट लडेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

मिटरब्याजी सम्बन्धी अध्यादेश

सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष  मिटरब्याजी पीडितको समस्या समाधान गर्न अध्यादेश पठाउने निर्णय गरेको हो । 

दार्चुला हिमपहिरो

दार्चुलाको हिमाली क्षेत्रमा आएको हिमपहिरोमा परेका १२ जनामध्ये सात जनालाई प्रहरीले उद्धार गरेको छ । पाँच जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । 

एसिया कपमा स्थान पक्का

एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो । 

अदालतमा मुद्दा, कलेजमा मनपरी भर्ना

डाक्टर छवि पन्थीले स्नातकोत्तर तह पढ्नका लागि चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षा दिए । उनको ९८ नम्बरमा नाम निस्कियो । त्यही आधारमा पूर्ण छात्रवृत्तिमा पढ्न पाउँथे तर, पाएनन् ।

सिंहदरबारमा गाउँ ?

सरकार बजेट बनाउने तरखरमा छ । बजेटमा समावेश गर्नुपर्ने योजनाहरु मन्त्रालयगत रुपमा अर्थ मन्त्रालयले मागेको छ । अहिले सिंहदरबारभित्र अधिकांश मन्त्रालयमा बजेट पारिदिन भन्दै आउने सांसद, नेता तथा कार्यकर्ताहरुको ताँती लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप