सङ्कटपूर्ण स्थितिमा मुलुकको अर्थतन्त्र, ३ प्रतिशत बढीले आर्थिक वृद्धिदर खुम्चिने सङ्केत
काठमाडौँ । मुलुकको आर्थिक स्थिति निकै कमजोर अवस्थामा पुगेको केन्द्रीय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानले देखाएको छ । मंगलबार जारी कार्यालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान तथ्याङ्कले यस वर्षको आर्थिक वृद्धिदर, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) जम्मा २.१६ प्रतिशत मात्र हुने अनुमान गरेको हो ।
यद्यपि, यस्तो अनुमान चालु आर्थिक वर्षको ६ देखि ९ महिनासम्मको आर्थिक क्षेत्रहरूसँग सम्बन्धित यथार्थ आँकडा तथा सूचनाहरूका आधारमा तयार गरिएको कार्यालयले जनाएको छ ।
प्राप्त तथ्याङ्क अनुसार यस वर्ष वास्तविक आर्थिक वृद्धिदर (उपभोक्ता मूल्यका आधार) मा १.८६ प्रतिशतले मात्र वृद्धि हुने तथ्याङ्क कार्यालयले जनाएको छ । यो कोभिड–१९ कालपछिको तेस्रो वर्षको सबैभन्दा कमजोर स्थिति हो ।
आर्थिक वर्ष २०७६/७७ मा तीव्र कोभिड–१९ को सङ्क्रमणकाबीच लामो समय लकडाउन हुँदै गर्दा आर्थिक गतिविधि ठप्प हुँदा आर्थिक वृद्धिदरको स्थिति माइनस (ऋणात्मक) मा गएको थियो । आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋणात्मक भएको थियो । तर, कोभिड लगत्तै उठेको अर्थतन्त्र एकै वर्ष ४.१ प्रतिशतको विन्दुले वृद्धि हुँदै आर्थिक वर्ष २०७७/७८ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.५ प्रतिशतले वृद्धि हुन पुगेको थियो । गत आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ५.३ प्रतिशत पुगेको थियो । तर, चालु आर्थिक वर्षमा भने यस्तो आर्थिक वृद्धिदरको ग्राफ स्वात्तै घटेर २.२ प्रतिशतको हाराहारीमा रहने तथ्याङ्क कार्यालयको अनुमान छ ।
कोभिड–१९ को प्रभाव हालसम्म कायम रहिरहेको अवस्थामा पछिल्लो समय विश्व परिवेशमा शक्ति राष्ट्र रुस र युक्रेनबीचको युद्धले निम्त्याएको सङ्कट, विश्वव्यापीरुपमा आपूर्ति शृङ्खलामा परेको प्रभाव तथा पेट्रोलियम पदार्थ लगायतको वस्तुमा भएको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्रमा समेत परेको तथ्याङ्क कार्यालयको भनाइ छ ।
आर्थिक वृद्धिदरको ग्राफ (१२ वर्षको)
कुन क्षेत्रको योगदान कति रहनेछ ?
–सेवा क्षेत्र
तथ्याङ्क कार्यालयका अनुसार यस वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सेवा क्षेत्रको योगदान अधिकतम ६२.४ प्रतिशत रहने छ । यद्यपि, तुलनात्मक रूपमा सबैजसो वर्षहरूमा यहीँ क्षेत्रको योगदान उच्च नै रहँदै आएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ६१.२ प्रतिशत हाराहारी रहेको सेवा क्षेत्रको योगदान यस वर्ष १.२ प्रतिशतले बढ्ने अनुमान तथ्याङ्क कार्यालयको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धिदर स्थिर मूल्यमा २.३३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । आयात तथा आन्तरिक औद्योगिक उत्पादनहरूमा आएको गिरावटले थोक तथा खुद्रा व्यापारमा ऋणात्मक वृद्धि दर रहेको र यातायात तथा भण्डारण सेवामा पनि न्यून वृद्धिको कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धिदरमा गत आर्थिक वर्षको तुलनामा कमी आएको हो ।
–प्राथमिक क्षेत्र
यस्तै, प्राथमिक क्षेत्रको योगदान यस वर्ष १.४ प्रतिशतले बढेर २४.६ प्रतिशत पुग्ने अनुमान तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा प्राथमिकताप्राप्त क्षेत्रको जीडीपीमा योगदान २५.२ प्रतिशत रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा प्राथमिकता प्राप्त क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि दर स्थिर मूल्यमा २.६९ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा धान लगायतका वर्षे वालीको उत्पादनमा वृद्धि भएता पनि हिउँदे बालीको साथै दूध, अ(डा तथा मासुको उत्पादनमा भएको सामान्य ह्रासले गर्दा यस क्षेत्रको उल्लेखनीय वृद्धि हुन नसकेको तथ्याङ्क विभागको भनाइ छ ।
–द्वितीय क्षेत्र
र, द्वितीय क्षेत्रको योगदान यस वर्ष १२.९ प्रतिशत रहने प्रक्षेपण छ । यस क्षेत्र अन्तर्गत उद्योग, विद्युत्, ग्याँस, वाष्प तथा वातानुकूलित आपूर्ति सेवा, पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापहरू र निर्माण क्षेत्र पर्दछन् । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धिदर स्थिर मूल्यमा ०.५६ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । खासगरी उद्योग र निर्माण क्षेत्रमा आएको गिरावटको कारणले गर्दा यस क्षेत्रको कुल मूल्य अभिवृद्धिदरमा गत आर्थिक वर्षको तुलनामा कमी आउने देखिएको हो ।
जलविद्युत र पर्यटनको क्षेत्रमा आक्रामक वृद्धि
यद्यपि, चालु आर्थिक वर्षमा प्राथमिकता प्राप्त क्षेत्र जलविद्युत र सेवा उद्योग क्षेत्रको पर्यटन क्षेत्रको योगदानमा भने आक्रामक वृद्धि हुने देखिएको छ । आर्थिक वर्षको ६ देखि ९ महिनाको तथ्याङ्कलाई हेर्दा यी क्षेत्रको योगदान क्रमशः १९.३६ प्रतिशत र १८.५६ प्रतिशत हुने देखिएको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो समय जलविद्युतको उत्पादन आन्तरिक खपत र निर्यात बढेसँगै यो क्षेत्रको आर्थिक वृद्धिमा तीव्रता आएको हो । अघिल्ला दुई आर्थिक वर्ष २०७६/७७ र २०७८/७९ मा क्रमशः ४.१८ प्रतिशत र ५३.३५ प्रतिशत रहेको जलविद्युत क्षेत्रको आर्थिक वृद्धिदर यस वर्ष पनि थप १९.३६ प्रतिशत हाराहारी हुने तथ्याङ्क कार्यालयले अनुमान गरेको हो ।
यस्तै, कोभिड–१९ पछि ह्वातै बढेको पर्यटन गतिविधि तथा पर्यटक आगमनले होटल तथा पर्यटन क्षेत्रको आर्थिक वृद्धिदर समेत बढेको तथ्याङ्क कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पर्यटन क्षेत्रको जीडीपीमा योगदान क्रमशः १०.७३ प्रतिशत र १२.६१ प्रतिशत रहेको थियो ।
आधारभूत मूल्यका आधारमा यस वर्ष करिब २.१६ प्रतिशतले मात्र आर्थिक वृद्धिदर कायम हुने अनुमान गर्दै गर्दा यता राष्ट्रिय पुँजीमा थप करिब ५ खर्ब रुपैयाँ थपिने भएको छ । तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षको अन्तसम्ममा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आधार ५३ खर्ब ८१ अर्ब पुग्नेछ । यो अघिल्लो वर्षको भन्दा ५ खर्ब ३० अर्ब रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा यस्तो जीडीपीको आकार ४८ खर्ब ५१ अर्ब रुपैयाँ रहेको थियो । तथापि, उपभोक्ता मूल्यका आधारमा भने जीडीपीको आकार ४२ खर्ब ७७ अर्ब रुपैयाँ बराबर मात्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर- १२ का वडाअध्यक्ष कामत पक्राउ
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता