सानु भण्डारीको डायरीमा डा. इन्द्रजितले १ करोड ५० लाख लिएको रेकर्ड फेला
![सानु भण्डारीको डायरीमा डा. इन्द्रजितले १ करोड ५० लाख लिएको रेकर्ड फेला](https://npcdn.ratopati.com/media/news/indrajit-rai-2_7qZgusKw0J.jpg)
काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका डा. ईन्द्रजित राईले १ करोड ५० लाख रुपैयाँ लिएको भेटिएको छ ।
डा. राई मंगलबार ललितपुरको ठेचोस्थित सौखेलबाट पक्राउ परेका हुन् । पूर्वगृहमन्त्री राम बहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार समेत रहेका डा. ईन्द्रजित राईले १ करोड ५० लाख नगद लिएको भेटिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरीले यसअघि पक्राउ परेका सानु भण्डारीबाट बरामद गरेको डायरीबाट डा. राईले रकम लिएको खुलेको हो । ललितपुर महानगरपालिका वडा नम्बर–२३ का स्थानीय भण्डारीले आफ्नो डायरीमा ३ पटक डा. राईलाई नगद लिएको उल्लेख गरेका छन् ।
डायरीमा उल्लेख गरिएको विवरण अनुसार डा. राईले ५० लाख, ३५ लाख र ६५ लाख गरेर ३ किस्तामा १ करोड ५० लाख लिएको अनुसन्धान अधिकृतहरूले दाबी गरेका छन् । भण्डारीले आफ्नो डायरीमा रकम लिएको व्यक्तिको नाममा ‘डा. इन्द्रजित सर’ सम्बोधन गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरुसँगको बयानमा भण्डारीले उनलाई ५ करोड ५० लाख दिएको जिकिर गरेका छन् । समाचार तयार गर्दासम्म भण्डारीको बयान जारी छ ।
शरणार्थीको नाममा ठगीधन्दा चलाएको आरोपमा २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए ।
शरणार्थीको नाममा ठगीधन्दा चलाउने केशव दुलाल र सानु भण्डारीसँग डा. राईको ‘कनेक्सन’ देखिएको छ । रामबहादुर थापा गृहमन्त्री हुँदा उनको सुरक्षा सल्लाहकार रहेका डा. राईले ‘गृहमा मिलाउनुपर्छ’ भनेर रकम लिएको सानु भण्डारीले बयान दिएका छन् ।
ठगीमा संलग्न आरोपमा डा. राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । ५० वर्षीय भण्डारीले टोपाबहादुर रायाझीका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका छन् ।
नक्कली परिचयपत्र बनाएर आफूहरुलाई ठगेको आरोपमा १ सय ४५ जनाले प्रहरीमा उजुरी दिएका छन् । उजुरकर्ताको संख्या १ सय ४५ पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) डा. मनोज केसीले रातोपाटीलाई बताए ।
शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरु ठगिएको भन्दै पीडितहरुले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए । उजुरी परेपछि सो प्रकरणमा उच्च पदस्थहरु नै संलग्न भएको भन्दै अरोपीहरुले आफूलाई पक्राउ गर्नबाट रोकाएका थिए ।
आरोपीहरुले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनजङ्घा आरोहणको ७० वर्ष : ‘हीरक महोत्सव’ हुने
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली