सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
समाचार

नर्स आत्महत्या प्रकरण : प्रेमी भनिएका डाक्टर प्रहरी नियन्त्रणमा

मङ्गलबार, १९ वैशाख २०८०, १५ : ४७
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । शनिवार अपराह्न मृत अवस्थामा भेटिएकी युवती अनुमा श्रेष्ठका प्रेमी भनिएका सुजन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै अनुमाको परिवारले प्रेमी ढकाल तथा उनका बुवाविरुद्ध प्रहरी वृत्त बालाजुमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए ।

अदालतले दुई जनाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले सुजनका बुवालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान थालिने बताए । 

लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय अनुमाले शनिवार प्रेमी सुजनको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन् । मृतककी काकी सिर्जना श्रेष्ठका अनुसार अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि प्रेमी सुजन र उनका बुवाले विवाहका लागि अस्वीकार गरेका थिए । पेशाले अनुमा स्टाफ नर्स हुन् भने सुजन डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे ।

सिर्जनाका अनुसार अनुमाको सोह्रखुट्टेमा कोठा थियो भने सुजनको घर बालाजु बोहोराटारमा रहेको थियो । अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् ।

अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेम सम्बन्ध, विवाहका लागि भएको प्रयास र केटापक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् ।

अनुमाको शवसँगै भेटिएको ‘सुसाइड डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरा समेत समावेश छ । सोही कुरा र आरोपलाई प्रमाणका रूपमा लिएर प्रेमी ढकाल र बुवाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप